
मिखाइल गोर्वाचोभ, जसलाई देश बिनाको राष्ट्रपति भएर सत्ताबाट बाहिरिनुपरेको थियो
(सोभियत संघका तात्कालिन राष्ट्रपति तथा राजनेता मिखाइल सेर्गेइभिच गोर्वाचोभको ९१ बर्षको उमेरमा अवसान भएको छ । ती महान आत्मालाई यो लेख समर्पण गर्दैछु्र ।श्रद्वा सुमन अर्पण गर्दछु दिवंगत गोर्वाचोभलाई, एकजना गेम चेन्चरलाई । –लेखक)
गोर्वाचोभ राजनीतिक खलपात्र कि राजनेता ?
ससाङ लामा
न्युयोर्क
सोभियत संघमा भएको तथाकथित समाजवादी ब्यवस्था अन्तर्गत सोभियत समाजले बेहोर्नु परेको भ्र्ष्टाचार, घुसखोरी, ब्यक्तिपुजा र वाक स्वतन्त्रतामा लागेको बन्देज आदि अनेकानेक नकारात्मक कुराहरुलाई हटाउन, गोर्वाचोभले पेरेस्त्रोइका (पुनर्संरचना) र ग्लास्नस्त (खुलापन)को नारा अगाडि सारी सोभियत समाजमा ब्यापक सुधारको अभियान चालेका थिए । गोर्वाचोभको उदय र पतनको साछी म पनि थिएँ ।
मास्को लुमुम्वा विश्वविद्यालयमा म अध्ययनरत्त थिएँ । सोभियत संघमा भएको उथलपुथललाई मैले नजिकैबाट नियालेको थिएँ । सच्चा प्रगतिवादीहरुले गोर्वाचोभको महत्वकाँक्षी प्रयासलाई साथ र समर्थन गरेका थिए भने, जडसुत्रवादी तथाकथित कम्युनिष्टहरुले उनलाई बिखण्डनवादी भने र भन्दै आइरहेका छन् ।
वास्तवमा गोर्वाचोभले सोभियत समाजलाई समय सुहाउँदो नयाँँ उँचाइको समाजवादमा लान खोजेका थिए तर सोभियत ओली मार्काहरुले अनेक तिगडम रचेर उनलाई सत्ताच्युत गरिछाडे । युरोप र अमेरिका त सोभियत संघ तहसनहस भएको निकै पहिलेदेखि हेर्न चाहिरहेका थिए । ब्रेझनेभकालिन पुरानै हैकम चलाएर गोर्वाचोभले एकछत्र शासन चलाउन सक्थे, संयन्त्र रेडी नै थियो तर उनले चुनौती मोलेर सुधार कार्यमा हाम्फाले । सोभियत समाजलाई उनले यति खुल्ला गरे कि त्यो प्रत्युत्पादक सावित भयो । फलामे पर्दाभित्र राखिएको समाज एकाएक पर्दाबाहिर निस्केपछि थेगी नसक्नु भयो । अन्तत्वगोत्व सोभियत संघ नै १५ टुक्रा भयो ।
यस दुःखदायी एेतिहासिक घटनाले एउटा राम्रो शिक्षा दिएकै हुनुपर्छ– जबर्जस्तीको गठबन्धन दिगो हुँदैन । पेरेस्त्रोइका र ग्लास्नस्त (रिकन्स्ट्रक्सन एन्ड ओपननेस) को माध्यमबाट सोभियत संघलाई आमुल परिवर्तन गर्न खोज्ने मिखाइल गोर्वाचोभ अन्तत्वगोत्व देश बिनाको राष्ट्रपति भएर सत्ताबाट निस्कनु परेको थियो । उनलाई देश टुक्र्याएको, सिआइएको एजेण्ट जस्तो निकृष्ट लाञ्छना लगाइएको थियो । सोभियत समाजमा विद्यमान विकृति, विसंगति र विकारलाई यथास्थितीमै राखी शासन सत्ता चलाएको भए, गोर्वाचोभ जमेर बस्ने थिए । तर उनले राजनीतिज्ञ भएर होइन कि राजनेता भएर सोचे्र । आफ्नो क्यारियरलाई चुनौती दिए । छद्मभेषी कम्युनिष्टहरुले उनलाई असहयोग गरी उनको मिसनलाई नै असफल बनाए ।
त्यतिबेला सोभियत संघमा समाजवाद काममा भन्दा नारामा बढी सिमित थियो । केही कामै भएका थिएनन् भन्न मिल्दैन । दोस्रो विश्वयुद्वमा खरानी भएका ठुलाठुला शहरहरु छोटो समयमै खडा गरेका थिए । भौतिक संरचना खडा नगरेको होइन तर मानविय मुल्य र मान्यताको हुनसम्म उपेक्षा भएको थियो । राज्यप्रति जनताको अपनत्व थिएन, जे गर्दैछु, रूसीहरुको लागि गर्दैछु भन्ने ठनाइ थियो्र अनि जब गोर्वाचोभले पेरेस्त्रोइका (पुनर्संरचना) र ग्लास्नस्त (खुलापन) ल्याए, दबिएका इतर रुसीहरु जुर्मुराए । दशकौँ कुण्ठामा बाँचेका गणराज्यहरु सोभियत संघबाट निस्की स्वतन्त्र भएको, अलग देश भएको दिनदिनै घोषणा हुँदैगर्दा म त्यहीँ थिएँ ।
देश टुक्रिनुमा गोर्वाचोभको दोष नभएर त्यतिबेलाको सोभियत समाजमा भएको ब्यापक भष्ट्राचार, घुसखोरी, ब्यक्तिपुजा र वाक स्वतन्त्रतामा लागेको बन्देज र जाती जाती बीचको बैमनष्यता आदि थिए । भाईचाराको नारा खुबै घन्किन्थ्यो तर वास्तवमा भित्री मनदेखि त्यो थिएन । एकताको नारा लगाइन्थ्यो तर भावनात्मक सम्बन्ध चिसो थियो । देश टुक्रिनुलाई यति नै काफी थियो । पत्रकार प्रदिप भट्टराई ओलीलाई गोर्वाचोभ पथमा हिँडेको भन्छन् । व्यक्ति पुजामा रमाउने ओली ब्रेजनेभवादी हुन् । प्रदिप मात्र नभएर नेपालका कतिपय राजनीतिक विश्लेषकहरु गोर्वाचोभको सत्कार्यलाई बिखण्डनकारीको रुपमा हेर्छन् । त्यो सरासर गलत हो ।
गोर्वाचोभले आदर्शवादी, नमुनाको समाजवाद निर्माण गर्ने सत्प्रयास गरेका थिए । तर ब्रेझ्नेभवादी, एल्त्सिनवादीहरुले हुल बाँधेर गोर्वाचोभलाई सत्ताबाट गलहत्याएका थिए । तथाकथित कम्युनिष्टहरुले गोर्वाचोभलाई सत्तोसराप गर्ने नै भए । कारण उनकै सुधार अभियानले गर्दा उनीहरुको खाइपाइ आएको भाग खोसिएको थियो । गोर्वाचोभ राजनीतिक खलपात्र थिएनन् । उनको दुर्दृष्टिष्टी नपुगेको हुनसक्छ, स्थितिलाई आँकलन गर्न नसकेको हुनसक्छ तर नकारात्मक यथास्थितिलाई आँखा चिम्लेर त्वम् शरणम गरेनन् । यस कुरामा उनलाई जश दिनुपर्छ ।
अर्को हेक्का राख्नुपर्ने कुरो के छ भने, विश्वकै राजनीतिक ईतिहासमा कलंकको रुपमा रहेको बर्लिन पर्खाल भत्काइनु र त्यतिबेलाको शित युद्व समाप्त हुनु गोर्वाचोभको सुधारले ल्याएको तार्किक निष्कर्ष हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

