हवाईयात्राः ललिपुरको लगनखेलदेखि अमेरिकाको मासाच्यूसेटसम्म

चित्रबहादुर के.सी. तिमिल्सिना ‘अकेला’

२०७५ कार्तिक ९ गते अर्थात २६ अक्टुवर, २०१८ को बिहान थियो । समयको अनुकूलतालाई हेरी अमेरिकाको निमित्त मेरो यो सातौं पटकको यात्रा, उडान–यन्त्र (जहाज) टर्की एयरलाइन्स थियो । बिहान ५.०० बजे त्रिभुवन विमानस्थल पुग्नु पर्ने समय तोकिएको र सूर्योदयको समय बिहान ६.३० बजेको हुनाले बाहिरतिर निष्पट्ट अंध्यारो थियो ।

निश्चित समयमा पुग्नु पर्ने वाध्यता र मेरो नित्यकर्म– नुहाई, धुवाई, पूजापाठ र ब्रेकफाष्ट तयार गर्ने लगायतका कामहरु सकाउनु पर्ने भएकोले म बिहान ठीक ३.०० बजे उठेंं । मलाई साथ दिनका निमित्त हिजो राती निरन (कालीदास के सी मेरो कान्छा सालाभाइ) आएर बैठक कक्षमा सुतिरहेका थिए । मैले उनको नींदलाई खल्बल्याउन चाहिनँ ।

ब्रेकफाष्ट तैयारीको सबै काम सकेर पूजा कोठामा पसें । त्यतिवेला बिहानको ४.०० बजिसकेको थियो । पूजा कोठामा शंख र घण्टी बज्न थालेपछि उनको निद्रा खुलेछ । दुई घण्टासम्म उनलाई अत्तोपत्तो भएन रे ! पूजा सकेर पहिले नै तैयार गरी राखेको ताजा फलपूmल र हल्का ब्रेक फाष्ट खाएँ ।

ड्राईफ्रुट (देशीवदाम, काजु, ओखर, नरिवल, किसमिस र छोहराको मिश्रण) र ओट सिरियल खान नभ्याइएकोले जिपलक्मा राखेर हैण्डक्यारी व्यागमा राखें । निरनले उठेर बाथरुमको काम सकिसकेका थिए । मलाई एयरपोर्ट पुगाउने गाडीवाला छिमेकी भाइ, सुमन महर्जन र निरन दुबैले मेरा लगेजहरु तल गाडीमा लोड गरी सकेका थिए । बिहानको ०५.०५ बजिसकेको थियो । हतार …कति ? पूजाकोठामा गएर भगावान्को दर्शन गरी पञ्चामृत खाएर नियम पूर्वक व्याग बोकी तल गाडिमा पुगें । घरमा बस्नु हुने सबैसंग बिदा भएँ । छिमेकी बन्धुवान्धवहरु भ्mयालबाट मेरो शुभयात्राको कामना गर्दै थिए । मैले धन्यवाद दिंदैगर्दा हाम्रो गाडी मूलद्वारबाट अगाडि बढ्यो ।

सूर्योदय हुन अझै बाँकी रहेकोले चक्रपथमा सवारी चाप बिलकूलै थिएन भन्दा पनि हुन्छ । सुमन भाइले आफनो गाडीको गति बढाए । बिहानको ०५.२० मा एयरपोर्ट पुगियो । हतार गर्दै लगेज राखि सुमन भाइलाई सामान बढी हुन गयो भने फिर्ता लैजानु पर्छ एकछिन बस्नु म काउण्टर पुगेर सामान पठाएर बोर्डिङ पास लिई इम्मिग्रेशन पुगेर कल नगर्दासम्म यतै रुक्नु, अनि घरतिर हेर बिचार गरी दिनु है भाइ…वाई भन्दै भित्र प्रवेश गरें ।

टर्की एयरलाइन्सको काउण्टर यात्रुहरुले खचाखच भरिएको थियो । बि.सं. २०५८–२०६१ सालसम्म त्यो जहाजका निम्ति त्यस्तो किसिमको यात्रु भीडको जानकारी थिएन । १४ बर्षपछिको यो अवस्था हेर्दा पर्यटन छेत्रमा निकै प्रगति भएको अनुभूति भयो । यूरोपीयन र बृटिश नागरिकहरुले सबै काउण्टर भरिभराउ थिए । नेपाली र भारतीय जम्मा १५÷१६ जना पुगाउन पनि मुस्किल थियो । इकोनोमी क्लासको लाइनमा लामबद्ध भई काउण्टर पुग्न मलाई २५ मिनट लागेको थियो ।

काउण्टरमा पुगे पश्चात आफनो पासपोर्ट टिकट काउण्टर कर्मचारीलाई दिएर लगेज काँटामा (लगेज तौल गर्ने मेशिनमा) राखि दिएँ । १ लगेज २३ के.जी. बराबरका २ वटा लगेज र ८ के.जी. को १ हैण्डक्यारी व्याग लैजान पाउने नियम रहेछ । दुई लगेजमा ४९ के.जी. र हैण्ड क्यारी व्यागमा १० के.जी.को तौल भैदियो । २ के जी कम्प्यूटर व्यागमा राखि दिएं । काउण्टर कर्मचारीले मेरो अवस्थालाई मध्यनजर गरी सबै सामानहरु स्वीकृति दिए । बीचमा कतै जाँचबुझ भए तपाई आफै जिम्मेवार हुनु हुनेछ भन्दै मेरो नामको काठमाडौ–बोष्टनको ट्याग लगाई बोर्डिङ पास दिए । ती काउण्टर कर्मचारीलाई धन्यवाद दिएँ ।

माथि अध्यागमन कक्ष जाने इलेवेटर (इलेक्ट्रिक भरेङ) नजिक पुगें । तब सुमन भाइलाई फोन गरी बिदा दिएँ । अध्यागमन कक्षमा नेपालीहरुको लाइनमा बैदेशिक रोजगारिमा जाने युवाहरुको ठूलो जत्था थियो । मलाई कस्तो बिडम्बना लाग्यो । यूरोपीयन र बृटिश नागरिकहरुको तल एयरलान्स काउण्टरमा जस्तै भीड । हाम्रो देशको दक्ष जनशक्ति विदेशमा आफनो खून पसीना सुकाउन जान लामवद्ध थिए । कहिले फेरिएला यो देशको अवस्था ? कहिले पाउने होलान् ती नेपाली युवाले स्वदेशी रोजगारी र बैदेशिक यात्री बन्ने अवसर ? यस्तै सोच्दै रहँदा मेरो पालो पनि डेस्क नजिक पुग्यो । अध्यागमन कार्ड र पासपोर्ट बुझाई दिएँ । काउण्टर कर्मचारीले मेरो अनुहार नियालेर प्रस्थान अनुमति छाप लगाई दिए । त्यहाँदेखि थोरै अगाडि पर्ने सेक्यूरिटी जाँच कक्ष पुगें । त्यहाँ पुगेर आफ्नो जुत्ता, पेटी, मोबाइल, घडी, ल्यावटप, धातुका बस्तु (चावी, सिक्कासमेत) सबै सामान छुट्टै ट्रेमा र हैण्डक्यारी व्याग एक्स–रे मेशिनमा जाँच गर्न पठाई दिएँ । म वाकथ्रो गेट हुंदै अगाडि (एक्स–रे मेशिन पछाडि) पुगेर आफना सबै सामानहरु लिई बोर्डिङ पासमा सेक्यूरिटी जाँचको छाप लगाई यात्रु प्रतिक्षा कक्षतिर लागें ।

हाम्रो अन्तर्रािष्ट्रय विमानस्थलको र विदेशी व्यक्तिगत एयरपोर्टका यात्रु प्रतिक्षालयहरु हेर्दा आपूm पुगेका कुनैपनि मुलुकका ती एयरपोर्टसंग दाँज्न मिल्दैन । फेरी सोच्दछु, आफनो देशको भौगोलिक स्थिति र व्यवस्थाले गर्दा सधैं हाम्रो देश यत्तिमै खुम्चि रहने होला कि केही परिवर्तन भएको देख्न पाइएला ? यात्रु प्रतिक्षा कक्षमा गुचुमुच्च थुप्रिएको यात्रुको भीड । चिया, कफी पिउनलाई पनि लाइन बस्नु पर्ने । लामबद्ध भएर चक्लेट कफी किनेर लिई पिउँदै घरमा निरनलाई फोनबाट त्यहाँसम्म पुगेको जानकारी दिएँ । एयरलाइन्स्को उडान निश्चित समयमा उड्ने स्क्रीनमा देखाई रहेको थियो । तैपनि २० मिनट ढिलो गरी एयरलाइन्सले उडान भरेको थियो । ३५० भन्दा बढी यात्रु, यो एयरलाइन्सले कतिधेरै यात्रुहरु बोकेको होला लाग्दथ्यो ।

एयरलाइन्स वाइड बडीको हुनाले दस जनाको एक लाइन थियो । बीचको चारजनामा म बस्ने सीट डी २५ नं. कोरिडोरको छेउमै थियो । बायाँपट्टि अमेरिकन जोडी र दायाँ कोरिडोर र पल्लो सीटमा जर्मनी केटी । सिटवेल्ट बाँधी सकेर अगाडी रहेको स्क्रीनमा जहाजको उडान स्थिति हेर्न निमित्त टि.भी. खोलें । यसरी करिब ४० हजार फिट उचाईमा हाम्रो जहाज उड्न थाल्यो ।

उडानभर जहाजमा तैनाथ भएका स्त्री तथा पुरुष परिचारिकाहरुले समयानुकूल खानपिनमा राम्रो सेवा प्रदान गरेका थिए । हामीले टिकट खरिद गर्दा जुन किसिमको खाना खाने भनिन्छ सोही किसिमको खाना हामीलाई त्यहाँ जहाजमा उपलब्ध हुन्छ । खासगरी दुई किसिमका खाना साकाहारी र मांसाहारी अर्थात हिन्दु र क्रिश्चियन । हिन्दु खानामा साकाहारी भोजन खानेका निमित्त अण्डा र माछा पनि आउन सक्छ । त्यसैले हिन्दु साकाहारीका निम्ति जहाजमा दिइने बिभिन्न किसिमका फलपूmलको रस, चिया, कफिबाहेक खाद्य पदार्थ उपयुक्त नहुन सक्ने हुनाले यात्राभरका लागि स्वयमले जोहो गर्नु उचित हुन्छ ।

खानपिन, निद्रा–तन्द्रा छिचोल्दै हाम्रो जहाज टर्कीको स्तान्बुल विमानस्थलमा उत्रने तरखरमा लाग्यो । ठीक ७ घण्टा १० मिनटमा जहाज ल्याण्ड भयो । यात्रुलाई जहाजबाट बाहिर उत्रिन ३५ मिनट लागेको थियो । कुनै कुनै ट्रान्जिट प्यासेन्जरहरु अर्को जहाज भेटाउन हतार गरिरहेका देखिन्थे । स्तान्बुल एयरपोर्टको हालको बिमानस्थल पनि निकै ठूलो छ । निकट भविष्यमा १८ लाख यात्रुहरु दिनमा आवत जावत गर्न सक्ने क्षमताको अर्को एयरपोर्ट निर्माण हुन गैरहेको छ । नेपालबाट अमेरिका जाने यात्रुहरुका निमित्त करिब एकआध घण्टा लाग्न सक्छ । त्यसैले समयमा आफनो उडान गर्ने कक्ष वरपर गएर बस्नु पर्ने हुन्छ ।

५०० एम एल वाटर बोटलको १ यूरो, १ गिलास कफिको ५ यूरो र १ ब्रेड, केक वा क्रुसानको ४ यूरो पर्दो रहेछ । साधारण खाजा पानी खायो भनेपनि १० ११ यूरो लाग्दो रहेछ । एयरपोर्ट कर्मचारीहरु उर्दू र स्पानीस भाषा बोल्छन् । त्यहाँ अंग्रेजी भाषीहरु कम्ति हुँदा रहेछन् । ट्रान्जिट यात्रुहरु आ–आफना गन्तव्यमा पुग्न यताउता लम्किरहेका देखिन्थे । म पनि लामो हिंडाई पछि माथिल्लो तलामा पुगेर नं. २३० गेटमा पुगें । जहाँबाट अमेरिका जान निमित्त सेक्यूरिटी जाँच गरी जहाजमा प्रवेश गर्नु पर्दथ्यो । मलाई त्यहाँसम्म पुग्न १ घण्टा ४० मिनट लागेको थियो । अब म स्तान्बुल टर्कीबाट बोष्टन यूएसका निमित्त यात्रा गर्न टर्की एयरको आफनो सीट एफ १९ नं.मा पुगें । कोरिडोरको सीट प्राप्त भएकोले निकै सजिलो लाग्यो । सहयात्री जोडी भारतीय बोष्टन निबासी थिए ।

स्तान्बुल सहर मैले कल्पना गरेको भन्दा भिन्दै देखिएको थियो । मेरो सोचाई संकुचित ठहरियो किनभने त्यो सुन्दर यूरोपको पनि भाग थियो । हाम्रो यात्रा शुरु हुन थाल्यो । परिचारिकाले उडानको स्थिति बारे बताउन थालिन् । उडान समय बोष्टन पुग्न १० घण्टा ३० मिनट लाग्ने स्क्रिनमा देखियो । अरु कुरा– उडानभर खानपिनका परिकारमा केही स्तरबृद्धि भएको महशुस हुन्थ्यो । यसरी काठमाडौ देखि स्तान्बुल टर्की हंँदै यू एस बोष्टनको लोगन विमानस्थलमा विमान अवतरण भयो ।

हाम्रो उडान समय जम्मा १७ घण्टा २५ मिनट मात्र लागेको थियो । मेरा निमित्त यही नै आकाश मार्गको सबैभन्दा छोटो मार्ग ठहरियो । धेरै पटक आवतजावत गरिसकेको स्थान हुनाले अध्यागमन छिटो पुगें । स्वचालित मेशिनमा पासपोर्ट राखि विवरण भरे पछि प्राप्त कागज पूनः पासपोर्टमा राखेर अध्यागमनका कर्मचारीसम्म पुगेपछि उसले वेलकम भन्दै छाप लगाई दियो । तत्पश्चात सम्बन्धित व्यागेज वेल्ट एक तलामुनि पुगेर आफनो लगेजहरु चेक गरी ट्रलीमा राखि ग्रीन च्यानल हुंदै बाहिरिएँ ।

हजारौंको संख्यामा लोगन एयरपोर्टमा यात्रुहरुको आउने जानेक्रम निरन्तर भइरहन्छ । सबैका लागि सम्पूर्ण सुविधा सम्पन्न छ । यसरी मेरो यस पटकको यात्रा ललितपुरको लगनखेलदेखि अमेरिकाको मासाच्यूसेट राज्यको राजधानी बोष्टन स्थित लोगन विमानस्थलमा टुंगियो ।

मलाई पिकअप गर्न त्यहाँ पुगेका भतिज विरोचन थापालाई फोन गरें । उनी कार पार्क गरी पर्खि बसेका रहेछन् । तुरुन्त मेरो ट्रली साम्ने आई पुगे । उनको कारमा सामान राखेर हामी रोड–आइल्याण्डतर्फ हुईंकियौं । जहाँ छोरा ओशु बिक्रम क्षत्री तथा श्रीमती पद्मावती के.सी. प्रतिक्षारत थिए । अतः यात्रा जो सुकैले गर्न सकिछ, यदि यही हवाई मार्गद्धारा यात्रा गर्ने अवस्था आएमा वा मनशाय रहेमा यसै किसिमको तौर तरिका अप्नाउँदा जो सुकैलाई सजिलो हुन सक्ला भन्ने मलाई लाग्यो ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button