
मैले कुकुर त बेच्न सकिन, मान्छेहरु कसरी आफ्नै छोरी बेच्दा हुन् ?
लघुकथाः कुकुर र प्रश्न
श्रीरामसिंह बस्नेत
उसले कुकुर बेच्यो । कुकुर बेचेको पैसा खल्तीमा राखेर हिंडेपछि उसलाई आफ्नो हात रित्तोभएको महसुस भयो । दुई दिनदेखि कुकुर च्यापेर हिंडेकोले कुकुर बेचेपछि हात रित्तिएको थियो ।
साँझ साथीको डेरामा आयो, भात खायो, सधैं झैँ अलिकति भात उसले कुकुरलाई छुट्याउन बिर्सेन । तर कुकुर बेचिसकेको थियो । ऊ एक क्षण ट्वाल्ल प¥यो र छुट्याएको दुई गाँस भात बाहिर सडकमा बसिरहेको भुस्याहा कुकुरलाई दियो ।
ऊ राति राम्ररी सुत्न सकेन । कुकुरकै याद आई रह्यो । कुकुर किन्ने घर मालिक्नीलाई कुकुर जिम्मा लगाएर बाटो लागे पछि कुकुर निकै बेर कुईं कुईं गरिरहेको उसले सुनेको थियो । तर घरबाट आउने बेलामा उस्की बुढीले ‘कुकुर बेचेपछि पछाडि फर्केर नहेर्नु, माया लाग्छ’ भनेकी थिई, त्यसैले उसले फर्केर हेर्न सकेन ।
जसोतसो उसले रात काट्यो । भोलिपल्ट यताउती टहलिंदा टहलिंदै उसका खुट्टा अनायासै हिजो आफूले कुकुर बेचेको ठाउँतिर अघि बढे ।
बार्दलीमा बाँधेर राखेको कुकुर उसलाई देख्नासाथ सिक्री नै चुँडाउँछ कि जस्तो गरी कराउन थाल्यो । कुकुर धेरै कराएकोले घर मालिक्नीले बाहिर हेरिन् । अघिल्लो दिन कुकुर बेचेर गएको मानिसलाई आँगनमा देखेर उनले भनिन्– ‘यसले त केही पनि खान मान्दैन, हिजोदेखि कराएको कराएै छ ।’ उसले कुकुरलाई एकछिन छोडिदिन र केही खानेकुरा ल्याइदिन भन्यो । घर मालिक्नीले त्यसै गरिन् ।
कुकुर पुच्छर हल्लाउँदै एकै सासमा बार्दलीबाट आँगनमा पुग्यो र उसको खुट्टामा लुटपुटिन थाल्यो । उसले यताउति हेरेर कुकुर काखी च्यापी त्यहाँबाट कुलेलम ठोक्यो । घर मालिक्नी कुकुरको लागि खानेकुरा लिएर तल आउँदा त कुकुर पनि थिएन, कुकुर बेच्ने मान्छे पनि गायब । दैलोमा हिजो कुकुर किन्दा आफूले दिएको हजार हजारको नोट पो थियो । यो देखेर उनी जिल्ल परिन् र नोट टिपेर माथि उक्लिन् ।
ऊ जसरी गाँउबाट कुकुर च्यापेर सहर आएको थियो, त्यसैगरी गाँउ फर्कियो । सहरमा कुकुर बेचेर पाएको पैसाले घरका लागि अत्यावश्यक सामान किनमेल गरी ल्याउँछु भनेर हिंडेको ऊ जस्तो गएको थियो त्यस्तै फर्कियो । उसको हातमा किनमेलका कुनै झोला नभए पनि कुकुर जस्ताको त्यस्तै फर्किएर आएको देखेर उसका केटाकेटी लगायत घरका सबै खुशी भए ।
अहिले उसको मनमा एउटा प्रश्नले भने निरन्तर घोचिरहेको छ– ‘मैले कुकुर त बेच्न सकिन, मान्छेहरुले कसरी आफ्नै छोरी बेच्दा हुन् ?’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

