विश्व बैंक भन्छ, ‘कोरोना खोपले सन् २०२१ मा विश्व अर्थतन्त्र ४ प्रतिशतले बढ्छ’

सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ४ प्रतिशतले वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ । कोभिड १९ विरुद्धको प्रारम्भिक खोप अभियान व्यापक बन्दै जाने अनुमानका आधारमा बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

तर, नीति निर्माताहरु महामारी रोक्नेतर्फ प्रतिबद्धताका साथ नलागेको र लगानी बढाउने खालको सुधार नगरेको खण्डमा अर्थतन्त्रको पुनरुत्थान मन्द रहने विश्व बैंकले उसको जनवरी २०२१ ग्लोबल इकोनोमिक प्रस्पेक्टसमा उल्लेख गरेको छ ।

सन् २०२० मा ४.३ प्रतिशतको संकुचनपछि विश्व अर्थतन्त्र पुनः विस्तार भइरहे पनि ठूलो संख्यामा मानिसको ज्यान लिएको र बिरामी बनाएको यो महामारीले लाखौं मानिसलाई गरिबीमा धकेलेको छ । यसले आर्थिक गतिविधि र आम्दानीलाई लामो समयसम्म घटाउन सक्ने आशंका उसले गरेको छ ।

तत्कालको उच्च नीतिगत प्राथमिकता कोभिड १९ नियन्त्रण र तीव्र तथा व्यापक स्तरको खोप परिचालन सुनिश्चित गर्नु रहेको छ । आर्थिक पुनरुत्थानलाई सघाउन सरकारी ऋणमा कम निर्भर चीरस्थायी वृद्धि लक्षित पुनःलगानी चक्रलाई सहजीकरण गर्नुपर्ने आवश्यकता विश्व बैंकले औंल्याएको छ ।

‘विश्व अर्थतन्त्र मन्द गतिको पुनरुत्थानको चरणमा प्रवेश गरेको जस्तो देखिएका बेला अझै कमजोर विश्वव्यापी पुनरुत्थानले पकड कायम गर्ने र सशक्त वृद्धिको जग बसाउने कुरो सुनिश्चित गर्न प्रयासरत नीति निर्माताहरुले जनस्वास्थ्य, ऋण व्यवस्थापन, बजेट नीति, केन्द्रीय बैंकिङक र संरचनागत सुधारका क्षेत्रमा कठिन चुनौतीहरुको सामना गरिरहेका छन्,’ विश्व बैंकका ग्रुप प्रेसिडेन्ट डेभिड मालपासले भने, ‘महामारीको असरलाई जित्न र लगानीका अवरोधहरुलाई प्रतिवाद गर्न, व्यावसायिक वातावरण सुधारतर्फ महत्वपूर्ण काम गर्नुपर्ने, श्रम र उत्पादन बजार लचकता बढाउनुपर्ने र पारदर्शिता र सुशासनलाई बलियो बनाउनुपर्ने आवश्यकता छ ।’

सन् २०२० मा विश्वको आर्थिक गतिविधिमा देखिएको कोल्याप्स यसअघि पूर्वानुमान गरिएकोभन्दा थोरै कम गम्भीर देखिएको छ । यसको मुख्य कारण उन्नत अर्थतन्त्रमा आएको कम संकुचन र विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रको सशक्त पुरुत्थान हो । त्यसको विपरीत अन्य बहुमत उदीयमान बजार तथा विकासशील अर्थतन्त्रमा आर्थिक गतिविधिमा खाएको अवरोध भने अनुमान गरेभन्दा बढी घातक रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

अल्पकालीन परिदृश्य अझै अनिश्चित रहे पनि वृद्धिका विभिन्न परिणामहरु अझै सम्भव रहेको विश्व बैंकको प्रतिवेदनमा औंल्याइएको छ । खराब सम्भावनातर्फ हेर्दा खोप अभियानमा ढिलाइ भएको खण्डमा संक्रमण अझै बढ्ने र विश्व अर्थतन्त्रको विस्तार १.६ प्रतिशतमा सीमित रहन सक्ने बताइएको छ । महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्न सकेको र तीव्र गतिमा खोप अभियान सञ्चालन गर्न सकेको खण्डमा विश्वव्यापी वृद्धि ५ प्रतिशतको नजिकै पुग्ने बताइएको छ ।

यो वर्ष अमेरिकी अर्थतन्त्रको वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्र ३.६ प्रतिशतले खुम्चने अनुमान छ । युरो क्षेत्रमा यो वर्षको वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान छ । सन् २०२० मा युरो क्षेत्रको अर्थतन्त्र ७.४ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ । जापानी अर्थतन्त्र ५.३ प्रतिशतले खुम्चिएको छ, सन् २०२१ मा जापानी अर्थतन्त्रले २.५ प्रतिशतको प्रगति हासिल गर्ने अनुमान छ ।

चीन सहित उदीयमान बजार र विकासशील अर्थतन्त्रको समग्र जिडिपी सन् २०२१ मा ५ प्रतिशतले बढ्ने अनुमान छ । सन् २०२० मा यस क्षेत्रको अर्थतन्त्रमा २.६ प्रतिशतको संकुचन आएको थियो । चीनको अर्थतन्त्र भने २०२१ मा ७.९ प्रतिशतले विस्तार हुने अनुमान छ । अघिल्लो वर्ष यसको वृद्धि २ प्रतिशत थियो । चीनबाहेकको उदीयमान बजार र विकासशील अर्थतन्त्र भने सन् २०२१ मा ३.४ प्रतिशतले विस्तार हुने अनुमान छ । सन् २०२० मा यस क्षेत्रको अर्थतन्त्रमा ५ प्रतिशतले संकुचन आएको छ ।

न्यून आय भएका अर्थतन्त्रको गतिविधि भने सन् २०२१ मा ३.३ प्रतिशतले बढ्ने अनुमान छ । अघिल्लो वर्ष यस क्षेत्रमा ०.९ प्रतिशतको संकुचन आएको थियो ।

(आर्थिक पत्रकार नवराज अधिकारीको सहयोगमा )

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button