अमेरिका पटकपटक गइयो रमाएर, यसपटक लठ्ठी समाएर

चित्रबहादुर केसी तिमिल्सिना

अमेरिकाको पहिलो यात्रा सन २००३ को जुलाई तेश्रो हप्तामा गरेको थिएँ। यतिवेला मेरो आफ्नै शारिरीक अस्वस्थताका कारण यो पटक अलि भिन्दै किसिमको महशुस भैरहेछ । मेरो दाहिने घुँडा जो शरीरको चौथो अंग शूद्रमा गनिन्छ अति दुःखेर अपर्झट यात्रा गर्नु पर्ने परिस्थिति आई पर्यो । आज यो नवौं पटकको यात्रा- २८ जेष्ठ, २०७९, अर्थात् (११ जुन २०२२) शुक्ल द्वादशी तिथि शनिबार नेपाल गौरव यात्राको दिन । यही वाक्यलाई साकार तुल्याउन संयोग जुरेको छ आजको यो अमेरिका यात्रा ! बिहान २.३५ बजे भक्तपुर केन्द्र विन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएछ ! केही अत्तोपत्तो भएन । कारण यताको तैयारी गर्दा राती १२.१५-२०बजे सुतिएको थियो, अति गहिरो निद्राले गर्दा ३.१५ बजेको रत्नावती थापा (मेरा साली बहिनी) को फोन आएर बिउझिएँ । कुरा उही भू-कम्पको, मैले त्यस बारेमा पूर्ण अनभिज्ञता जनाएँ ।

टर्किश एयरलाइनको काठमाडौ, स्तान्बुल टर्की, बोष्टन यू एस जाने हाम्रो यो टिकट २३५६९५०८२६७४१-७४२नं को अस्ति मात्र निश्चित भएको थियो । आफ्नो नित्य कर्म सकेर ०७.४० को उडान भेटाउनु पर्ने । के हो नित्य कर्म ? मनतातो पानी (१लिटर) पिउने, सुचीनिची, पन्चाड्०ग पूजा आदि कर्म सकेर कमसेकम २ घण्टा अगाडि विमान स्थल पुग्नु पर्ने वाध्यता ! अति हतारमा यो काम सकेर सह-यात्री सडि्०गनीलाई बिउँझाउने काम गरें। त्यति वेलासम्म मैले स्नानको काम सकि सकेको थिएँ । तब बगैंचाबाट फूल ल्याई पूजा गर्ने काम थालें । आजको पूजाको अबधी २०/२२ मिनटको रह्यो कालिदास के सी (निरन मेरो साला भाइ) आफ्नो निजी कार लिएर बेलुका देखिनै बस्न आएको हुनाले हामी सवार हुन निमित्त अन्य सवारी साधनको कुनै जरुरी परेन । हाम्रो शुभ साइतका साथ मेरो घुँडाको शीघ्र उपचार र स्वास्थ्य लाभको कामनाका निमित्त पाँच परिवार जम्मा थिए त्यहाँ। सबैसंग शुभकामना लिई श्रीमती पद्मा वती र म एयरपोर्ट तिर लाग्यौं । निरन घर कुरुवा बस्ने भए, हामी एयरपोर्ट पुगाउन चालकको काम वीरबहादुर घलान् पन्चकन्या स्टीलका स्टाफ भाइ (जो हाम्रो घरमा वास बस्नु हुन्छ) ले गर्नु हुने भयो ।अनि लगेजको लोड अन-लोडका निमित्त अर्का भाइ सत्य नारायण ठाकुर जाने मनशायले गाडि भित्र बसी सकेका थिए । यसरी हामी बिहान ठीक ५.१५ बजे शुभ मुहूर्तमा अमेरिकाको लागि सबैसंग शुभकामना लिई घरबाट प्रस्थान भएका थियौं ।त्रिभुवन एयरपोर्ट काठमाडौको हाम्रो टर्किश एयरको प्रवेश द्वार पुगाएर उनीहरु दुबै जना घरतिर फर्किए ।

हाम्रो निमित्त प्रस्थान समय अति साँगुरिएकोले हामी टिकट काउण्टर पुग्यौं । निश्चित गरेको तौल बमोजिमका लगेज, हाते झोला जाँच गराए पछि बोर्डिड्०पास सहित लगेज ट्याग मिल्यो ।त्यो लिई अध्यागमन पुगेर प्रस्थान अनुमति र सुरक्षा जाँच गराए पछि जहाजको प्रतिक्षा कक्ष पुग्यौं । त्यहाँ प्रस्थान गर्ने द्वार खुली सकेको थियो । हामी जाने जहाजका यात्रुहरु प्रतिक्षा कक्षबाट प्रस्थान भई रहेको अवस्था थियो, हामी पनि बसमा चढी जहाजको भरेंड्०सम्म पुग्यौं !

बसले जहाजको भरेड्० नजिक पुगाएर यात्रुहरु ओह्राल्यो ! म बसबाट ओर्लने क्रममा सतर्कता अप्नाउँदै गर्दा गोडाले भर नदिंदा अनिश्चित स्थानमा पाइला टेक्न पुगें । तब गोडाको पीडाले चौथिको चन्द्रमा देखाई हाल्यो । गोडा चलाउन गाह्रो भयो । हाते झोला र ल्यावटव थियो । तैपनि खोच्याउँदै भरेड्० सम्म पुगेर त्यो जहाजसंग जोडिएको भरेड्०लाई ढोगें । मेरो आकाश मार्ग आनन्दमय बनाई देउ भगवान् ? मलाई सिंडी चढ्न मुस्किल भईरहेको थियो ! आफूलाई साह्रो गाह्रो भैरहेको वेला टाढा यात्रा गरी रहंदा कुनै मानव हृदय भएका जो कोहीले आफन्तको भूमिकामा आएर सहयोग गर्दा कति महत्व राख्दो रहेछ ! अरुका त्यस्ता सद्भाव र सत्कर्महरु याद गर्दा आफूमा आई परेका मानसिक क्षमतामा विकृति ल्याउने खालको स्थिति पनि भुलेको अनुभूत हुँदो रहेछ।
पद्मासंग सहयोग लिन पनि सहज थिएन ! उनको साथमा हाते र खाद्ये झोला-( बदाम, काजु, किसमिस, ओखर, छोहरा, नरिवल र पेस्ताको मिश्रण जो दैनिक मात्रा मिलाएर खाने गरिन्थ्यो ) त्यो समेत करिब १५ किलो थियो । उनलाई पनि त्यसैले पुरा बोझ बनाएको हुनाले मैले भरेड्०मा उनीबाट सहयोग लिन नसक्ने अवस्था ! यसैवेला बुबालाई गाह्रो भए जस्तो छ भन्ने पछाडि बाट आवाज आयो । तब एक अपरिचित युवाले मेरो हाते झोला लिई दिए । उनले मेरो र आफ्नो थप झोला बोकेर जहाज भित्र प्रवेश गराए । सीटमा पुगाई माथिको बक्समा राख्न पनि उनैले मद्दत गरे ! धन्यवाद भाइ बाहेक मैले उनलाई केही दिन सकिन ! यत्तिकै थाह लाग्छ कति गर्विलो र खंदिलो छ हाम्रो हिन्दु संस्कार भनेर ! यस्तै कुरा तोकिएको आफ्नो कक्षमा पुगि सकेपछि र आफना झिटी झाम्टा थन्क्याएर सीट वेल्ट कस्ने वेलासंम सोचिरहें । अब जहाज निश्चित समयमा पुसरले जहाज घचाड्दै लग्यो । तब बिहान ठीक ०८.०५ मा हामी नेपालको पवित्र भूमि छाडेर आकाश मार्गमा सवार भयौं । जय शम्भु भोले नाथ !

काठमाडौ देखि स्तान्बुल, टर्कीसम्मको ७.४० घण्टाको यात्रा भनिएकोमा मौसमका कारण ०८.१० मा पुग्यौं । जहाज भित्र यात्रुहरु लाई प्रदान गरिने खानपान र सरसुविधा दिने कुरामा कुनै कमी भएको अनुभव भएन । हामी स्तान्बुल उत्र्यौं । २ घण्टा हाम्रो स्तान्बुलमा ट्रान्जिट बस्ने समय घटेर १.३० घण्टा भएको थियो । तैपनि स्तानबुल टर्की- बोष्टन यू एसका लागि ट्रान्जिट कक्षतिर लाग्यौं । यो एयरपोर्ट अत्याधुनिक र निकै स्तरीय छ । सन २०२० मा निर्माण संपन्न भएको यो एयरपोर्टमा एक हजार नेपालीले काम गरेको कुरा सन २०१८को यात्रामा रहेका वेला सुनेको थिएँ ।

एसीया र यूरोप महादेशमा पर्ने हुनाले यो एयरपोर्टको पनि व्यस्तता निकै भएको पाइन्छ । निश्चित समयमा हाम्रो सुरक्षा जाँच भएपछि हामी बोष्टनको लागि जहाजमा प्रवेश गर्यौं । लगेज बोष्टन एयरपोर्टमा लिने ट्याग त्रिभुवन यएरपोर्ट काउण्टरले हाम्रो पासपोर्ट मै टाँसी दिएको थियो । अब हाम्रो टिकट नं २३५६९५०८२६७४२ को १०.३० घण्टा समय लाग्ने उडान शुरु भयो । यो लामो उडान अबधीमा पनि आफूले माग गरे अनुसारका खानपिनका वस्तुहरु परिचारिकाले उपलब्ध गराएका थिए । ठीक तोकिएको समयमा हामी Boston स्थित Logan International Airport US (लोगन विमान स्थलमा) उत्रियौं । अध्यागमन पुगेर सैयौंको लाइनमा लाग्यौं । पहिलो प्राक्थमितामा ह्वील चियरवाला दोश्रोमा जेष्ठ नागरिक त्यसपछि अन्यलाई भिसा लिने अवसर मिल्ने हुनाले हाम्रो भिसा लिने काम छिटै भयो ।एक तला तल ओर्लिए पछि लगेज वेल्ट पुग्यौं र लगेज लियौं । हामीलाई रिसिभ गर्न बिरोचन थापा/ रिनुथापा दम्पति (मेरो साली बैनीका कान्छा छोरा बुहारी) लोगन एयरपोर्ट पुगी सकेका थिए मैले फोन गरें ! उनीहरु पार्किड्०मा रहेछन् तुरुन्तै Exit Gate 5 हाम्रो सामु आई पुगे । उनको जीपमा सबै लगेजहरु राखेर उनीहरुले भर्खर खरिद गरी लिएको नयाँ घर अटलबोरो, एमए बास बस्न पुग्दासम्मको यात्रा विवरण … अस्तु।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button