चीनमा ताओवाद र दार्शनिक लाओसू

सुशीला शर्मा

दर्शन ज्ञानको आधारभूत सिद्धान्तहरुको अध्ययन हो भन्ने परिभाषा हामी पाउन सक्छौं । अनुसन्धानँंग सम्बन्धित दर्शनपूर्व आध्यात्मिक र चिन्तनशिल दर्शको शुरुआत भएको थियो । दार्शनिकहरु अन्य सामान्य मानिसहरुभन्दा भिन्न त थिए तर उनीहरु कुनै अदृश्यशक्ति यस ब्रम्हाण्डमा छ जसले यो सृष्टिलाई सुचारु गरिरहेको छ भन्ने कुरालाई आफ्नो दर्शनमा या प्रवचनमा राख्ने गर्दथे ।

यस्तै दर्शन या धार्मिक विचारधाराको विकास प्राचीन चीनमा पनि भएको थियो । यो ताओवाद या ताओधर्मको नामले पनि ईतिहासमा परिचित छ । हुन त हाल विश्वमै चीन धर्म नमान्ने देशहरुको पहिलो सूचिमा छ । चीनमा धर्मको महत्व छ भन्ने मानिसको संख्या तीन प्रतिशतमा छ भन्ने तथ्यांकले देखाउँछ । तर मानव विकासक्रममा अलौकिक या अदृश्यशक्ति लगायतका समाजलाई शान्त बनाईराख्नुपर्छ भन्ने मान्यता बोकेका दार्शनिकहरु, संस्कृतिहरु र धर्मग्रन्थहरुले समाजलाई डोर्याउँदै आजको बैज्ञानिक उपलब्धीको चरम युगमा हामी छौं ।

“अपजसलाई स्वेच्छाले स्वीकार गर र दूर्भाग्यलाई मान्यता देउ । महत्वपूर्ण नहुन स्वीकार गर तर आफूलाई विनम्रताले समर्पित गर । आफूलाई जस्तै संसारलाई प्रेम गर ।”
“आफ्नो प्रतिद्धन्दीलाई बुझ्नुभन्दा ठूलो खतरा अरु केही छैन् ।”

यी दुबै भनाईहरु चिनिया प्राचीन दार्शनिक लाओसू (लाओत्से)का हुन् ।

चीनका दार्शनिक लाओत्सेले मानिसलाई सिकाएका छन् कि यदि जीवनमा सत्य र राम्रो पाउन चाहन्छन् भने उनीहरुले समर्पण गर्नुपर्छ । लाओत्सेलाई चीनमा ताओ धर्मका प्रवर्तक मानिन्छ । त्यहाँ यिनलाई बौद्ध धर्ममा बुद्धलाई जस्तै पूजा गरिन्छ । चिनीया संस्कृतिमा लाओसू एक सम्मानित उपाधी हो । चीनमा लाओको अर्थ हुन्छ सम्मानित बुजुर्ग र सूको अर्थ गुरु ।

६०४ ईसार्पू चीनको हुनान प्रान्तमा जन्मेका लाओत्सेको नाम ली इर थियो । यिनको जन्मको समयमा चीनमा झोए राजबंशको शासन थियो । कतिपय ईतिहासकारहरु यिनलाई चौथो शताब्दीका दार्शनिक पनि मान्दछन् । कतिपय ईतिहासकारहरुका अनुसार लाओत्से एक रहस्यमय व्यक्तित्व थिए । यिनको जन्म एक बृद्ध व्यक्तिको जस्तै गरी लामो र सेतै फुलेको दारीको साथमा भएको थियो । यो भनाई गौतम बुद्ध जन्मने वितिक्कै सातपाईला हिडेका थिए रे भन्ने जस्तै उक्ति होला ।

लाओत्सेको जन्म र मृत्युको वास्तविक रेकर्ड मौजुद छैन ।

लाओत्सेलाई कन्फ्युसियसको समकालिन पनि मानिन्छ । उक्त समयमा एकातिर लाओत्से चीनमा ताओ धर्मको शिक्षा र विचारधारालाई फैलाईरहेका थिए भने उही समयमा कन्फ्युसियस पनि शिक्षाको शक्ति र अतितको सम्मान, धर्मको आचरण तथा भ्रष्ट व्यवहारमा सुधारको शिक्षा दिईरहेका थिए । प्राचीन चीनमा कन्फ्युसियस र ताओ धर्मको मान्यता लगभग समान थियो । यी दुबै आ–आफ्नो धर्मको शिक्षा र बिचारधाराको प्रचार गर्दैगर्दा हान वंशका शासक भने प्राचीन बौद्ध धर्मको प्रचार गर्दैथिए ।

लाओत्सेले मानिस र भगवानको बीचमा सम्बन्ध स्थापना गर्ने प्रयास गरे । (विज्ञानको उपलब्धी नदेखिउन्जेल संसारमै मानिसले कुनै अदृश्य शक्तिप्रति अगाध विश्वास गर्ने गर्दथे भन्ने यो पनि एक उदाहरण हो ।) लाओत्सेको भनाई थियो कि यदि तिमी भगवान पाउन चाहन्छौ भने तिमीलाई ज्ञानको होईन कि भक्तिको आवश्यकता छ । लाओत्सेबाट परिभाषित ताओ धर्मले अर्थात ताओवादले सबै जीवित प्राणीहरुले ब्रम्हाण्ड र यसमा पाईने उर्जासंग मेलमिलापको स्थितिमा बाँच्नुपर्छ भन्ने सिकाउँछ । (यो दर्शन प्रकृति र जीवको अन्योन्याश्रित सम्बन्ध छ भन्ने कुरालाई प्राथमिकता दिन्छ ।)

ताओवाद चीनको एक पुरातन दर्शन हो । जुन लोक तथा राष्ट्रिय विश्वाशहरुबाट प्रभावित छ । ताओवाद र दार्शनिक लाओजुसंग जोडिएको छ । ५०० वि सि.पूर्व ताओवादबारे ताओते चिङ ग्रन्थ लेखियो । यस ग्रन्थमा मानिस र जनावरहरु ताओ वा ब्रम्हाण्डसंग सन्तुलनमा रहनुपर्दछ भन्ने मान्यता राख्दछ । ताओवादीहरु आध्यात्मिक अमरतामा विश्वास गर्छन् । जहाँ शरीरको आत्मा मृत्युपछि ब्रम्हाण्डमा सामेल हुन्छ । (आत्मा बाँचिरहने कथन हिन्दु तथा बौद्ध धर्ममा पनि छ । ) “द वे एण्ड ईट्स पावर” ईसापूर्व तेश्रो र चौथो शताब्दीको कविता र भनाईहरुको संग्रह हो । जसले ताओवादी बिचार र कार्यहरुलाई मार्गदर्शन गर्छ । ताओवावादमा मन्दिरहरु, मठहरु र पुजारीहरु छन् । जसले आफ्नो समुदायको लागि प्रसाद बनाउँछन्, ध्यान गर्छन् र अनुष्ठानहरु गर्छन् ।

ताओवाद अथाृत धर्मका मुख्य विचारहरुमा बलहरुको सन्तुलनमा विश्वास गरिन्छ । यसलार्य यिन र याङ पनि भनिन्छ । यी बिचारहरुले जोडाहरुको प्रतिनिधित्व गर्दछ । जस्तो उज्यालो र अँध्यारो, तातो र चिसो, सक्रिय र निस्क्रिय आदि । यिन र याङले ब्रम्हाण्डमा सबै कुरा जोडिएको छ र कुनै पनि कुरा आफैं एक्लैले अर्थ राख्दैन भन्ने देखाउँछ । ताओवाद आठौं शताब्दीमा ताङ राजबंशको धर्मको रुपमा प्रसिद्ध भयो । यो बौद्ध धर्म र कन्फ्युसियसवाद या धर्म संगसंगै अवस्थित थियो । यद्धपि सन् १९५९ मा चीनमा कम्युनिष्ठको शासन सत्तापछि ताओवाद, कन्फ्युसियनवाद र अन्य धर्महरु प्रतिवन्धित भए । यसले चीनमा ताओवादको अभ्यासमा गिरावट आयो । धेरै आधुनिक ताओवादीहरु ताईवानमा बस्छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button