
अमेरिकामा मनाएको साउने संक्रान्ति
चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
अष्टिन, टैक्सस् ।
१८ जुलाई, २०२२ । नेपालमा साउने संक्रान्ति, आज बिहान बिउँझिंदै गर्दा याद आयो । गाउँमा खेतबारीको रोपाईंको काम मैधारो गरेर (काम सकेर) गाउँका दाजु भाइ मिलि खसी काट्ने,गच्छे अनुसारको भाग बिलो घरमा ल्याउने र ज्वाईं भान्जा भान्जी पाहुना आएका भए तिनलाई टीका दान दक्षिण गरी रोटी फुरेउला सहित बिबिध परिकार बनाई खाने ख्वाउने र साँझ परे पछि बलेका पाँचवटा राँको घरभित्र बाट निकाली आँगनको डिलमा ल्याई पूजा गरी पूर्व पश्चिम उत्तर दक्षिण र एक राँको र नैऋत्यतिर होला ‘लुतो लैजा लैजा सतौंकोटे भिरकोटे’ भनेर सकेसम्मको बल लगाई फाल्ने मिल्काउने चलन याद गरि रहेको थिएँ । यता अष्टिन तिर कतै हिन्दु भगवानको मन्दिर नजिक भए दर्शन गर्न जानु पर्ने कुरा सोच्दै गरेको वेला बिहानको ८.३० बजेको थियो । हामी म र श्रीमती पद्मा, छोरा ओशु बिक्रम क्षत्री, अनि ओशुका साथी बिराज अर्याल र प्रायुष पोखरेल समेत हामी सबै जना उठी सकेका थियौं ।
त्यस्तैमा गुड मर्निड्ग अंकल भन्दै विराज हाम्रो कोठामा पसे । आज मन्दिर जाने अंकल भनेर प्रश्न गरे ! मैले सोचेको पुग्यो ! मन मनले जय शम्भो सोच्दै हुन्छ बाबु भनि हालें । त्यसो भए हामी १० बजे सम्म तैयार भई राखौं है अंकल भनेर उनी भान्सा तिर लागे । जहाँ इच्छा त्यहाँ उपाय, भगवानले मेरो इच्छा पुगाई दिएको लाग्यो ! त्यसै अनुरुप हामी तयार हुँदा ठीक १०.३० बजेको थियो घरबाट निस्कियौं । हाम्रो वाहन टेस्ला कार थियो यसको चर्तिकला पछि लेखौंला । त्यसको स्क्रीनमा गन्तव्य खोजे पछि जिडिपीले बाटो माइल र मंदिरसम्म पुग्ने समय देखाएको थियो । हामी ५ जना भैयो । प्रायुशले ड्राइभ गर्ने भए । म अगाडि बसें, पछाडि पट्टि पद्मा, ओशु र विराज बसे, जम्मा पाँच जना भयौं । गाडिको गति ६५-७० माइल प्रति घण्टाको थियो । निश्चित समय २२ मिनटमा हामी मन्दिर पुग्यौं ।
अमेरिकी सरकारले फराकिलो फाँट मन्दिरको निर्माणका निमित्त करिब १५ /२० बिगाह जमिन उपलबध गराएको रहेछ । यत्तिका जमिन ओगटेकोले मंदिर निकै आकर्षक देखिन्थ्यो । सैयौंको संख्यामा कारहरु पार्किड्०ग गरिएका थिए । हामी पनि पुगेर कार रोकी मन्दिर प्रवेश गर्यौ । मन्दिर भित्र देव देवीका मूर्तिहरु क्रमवद्ध तरिकाले राखिएको देखिएन ! नेपाली र भारतीय हिन्दुहरुको पूजा बिधि करिब एउटै तरिकाले हुने गर्छ लाग्दथ्यो । तर त्यहाँ त्यसो भएको देख्न सकिएन ।
जुनसुकै धार्मिक कार्य शुरु गर्दा सर्वप्रथम दीयो कलश र गणेशजीको पूजा गरे पछि अरु इष्ट देव देवीको पूजा गर्ने बिधि पंडितहरु बताउँछन् लाग्थ्यो । यहाँ नेर मन्दिरको मुलद्वारबाट भित्र पस्ने बित्तिकै भगवान् रामका भक्त हनुमानजीको मुर्ति सजध्वजका साथ राखिएको रहेछ । यहाँ पहिलो दर्शन बजरंगबलीको गर्ने काम भयो । तैपनि मैले श्रीगणेशायनमः नै उच्चारण गरी “ॐअतुलित बल धामम् हेम शैलाभदेहम … श्रीराम दूतं शरणं प्रपद्ये”॥
🕉हं हनुमते नमः॥१०८॥जपेर सकियो । तत्पश्चात् दोश्रो द्वारबाट भित्र पस्दा पनि गणेश जीको मूर्ति अझै फेला परेन । बिबिध देवीका मूर्ति मात्र भित्रपट्टिका दिवारमा मंदिर सटाई राखिएको रहेछ । मलाई कण्ठस्थ रहेका दुर्गा माताको पाठ यसरी गरें ।
🕉 नमःचण्डिकायै।जयन्ती मंगला काली…एव मेव त्वया कार्यस्मद्वैरी बिनाशनम् ॥
🕉 ऐयम् ह्रिं क्लिं चामुण्डाय विच्यै ॥१०८॥
लक्ष्मीमाताको-
🕉महालक्ष्मी नमस्तुभ्यम्… दयानिधे ।
🕉 महालक्ष्मी च विद्मये बिष्णु…धियोयोन प्रचोदयात् ॥
🕉 ह्रिं श्रीं क्लिं ऐयम् कमलावासिन्यै स्वहा॥१०८॥
पश्चात सरस्वती माताको—
🕉सरास्वती मयादृट्वा…. जिबाग्रे बसते तस्य ब्रह्मरुपा सरस्वती ॥
यहाँ पुगेर मैले मेरो तरिकाले देव देवीको दर्शन गर्न नपाए पनि भगवान नारायण, श्रीकृष्ण स्तुति , गीता र रामायणको सार पाठ गरी सके पछि नवग्रहको ध्यान गर्ने बानी थियो । त्यहाँ त्यसो हुन पाएन । घरमा दैनिक गर्ने गरेको पन्चाड्०ग पूजा गर्दा दीयो, कलश,गणेशको-
🕉 गम् गणपतये नमः॥१०८॥
इष्टदेव बिष्णुको-
🕉 केशवाय नमः।
🕉 नारायणाय नमः।
🕉 माधवाय नमः॥१०८॥
त्यसपछि महादेवको पूजा पाठ-
🕉 पार्वती पतये नमः।
🕉 नमोः निलकण्ठाय ।
🕉साम्ब शिवाय नमः॥१०८॥
र, देवीको पूजा पाठ माथि उल्लेख गरे अनुसार सकेर मात्र अन्तमा हनुमानजीको पूजा गर्ने मैले गरेको थिएँ । यहाँ त्यसो नभै हरेक मूर्ति कक्षमा कलश र दीयो जलेको देखियो । त्यसैले दुर्गा, लक्ष्मी र सरस्वती आदि देवीहरुको पूजा पाठ गर्दै जाँदै गर्दा अन्ततः पर कुनामा गणेशजीको मन्दिर भेंटें । १५ मिनट, गणेशजीको आशीर्वाद माग गरी वंगलामुखि र अन्त्यमा देवादि देव महादेवको दर्शन र पाठमा २५/३० मिनट लाग्थ्यो यहाँ घटाई २० मिनट तिर सकेर प्रस्थान हुन लाग्दा हाम्रा श्रद्धालुहरु बाहिर बरण्डामा मेरो प्रतिक्षा गरी रहेको थिए । सबै जम्मा भएर केही तस्वीर खिच्यौं । हामी आज शुद्ध खाना खाने स्थानको खोजी भयो । २०७९ को श्रावण सक्रान्ति नेपालमा साँझ भैरहे पनि यता बिहान भएकोले ७ मिनटको ड्राइभमा पुगेर भारतीयको साकाहारी रेष्टूरेण्टमा पुगेर बिहानको खाजा खाएर घरमा फर्किए सम्मको आजको विवरण… यत्तिसम्म ।अस्तु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

