जलअप्सराः जीवन सयर जलमै हुन्छ, जलमै बित्छ रात

जय भण्डारी

सीम, ताल खेतबारी तराईका फाँट
पात पातमै फुल पारिदिने कस्तो यसको आँट
जीवन सयर जलमै हुन्छ, जलमै बित्छ रात
लामो पुच्छर सुन्दर शरीर जल अप्सराको जात ।

जल अप्सरा नेपालको तराई क्षेत्रहरुका सीम र तलाउहरुमा देखिने चरा हो । यो गर्मी मौसममा भने समुन्द्री सतहदेखि १३४५ मि. उचाई माथिसम्म पनि देख्न सकिन्छ । यो प्रजाति नेपालबाहेक भारत र फिलिपिनलगायतका दक्षिण पूर्वीएशियाका केही देशहरुमा पाइने गरेका छन् ।

यो अप्सराजस्तै दुर्लभ र सुन्दर प्रजाति भएकोले यसलाई कमै मात्र देख्न देख्ने गरिएको छ । अरु बेला सामान्य देखिने यो ब्रिडिङका बेला भने लामो पुच्छर कालो सेतो र गर्दनको र सुनौलो, भाले पोथी दुवैको यस्तो ब्रिडिङ प्लमेजको समिश्रणले सुन्दर देखिन्छ ।

यसले एक छिमलमा ४ वटासम्म फुल पार्दछ भने २५ देखि २८ दिनसम्ममा बच्चा काडिसक्छ । चाखलाग्दो कुरा के छ भने ओथारो बसिरहेकै बेला पनि फुललाई शिकारीबाट बचाउन या नोक्सान हुन नदिनका खातिर यसले एक पातदेखि अर्को पात गर्दै सुरक्षित ठाउँमा सार्ने गर्दछ । भाले चाहीँ बच्चा कोरलेर बस्छ भने पोथी फेरी लगारिन अर्को भाले खाजेर जान्छे ।

यो जल अप्सरा क्यारोल इन्स्किपका जोडीले सन् १९५९ को गृष्ममा देखेको धरै समयपछि यस बर्षको असार महिनाको पहिलो हप्तादेखि काठमाडौं उपत्यकाभित्र देखापरेको थियो । धापाखेलको नागदहमा भने २०७९ को असार ११ (२५ जून २०२२) देखि कहिले एउटा कहिले जोडीका रुपमा अहिलेसम्म पनि देखापरिरहेका छन् । यसले त्यहाँ बच्चा कोरलिरहेको पनि हुुन सक्ने प्रवल सम्भावना रहेको छ । त्यसको सुनिश्चितताको लागि एक महिने निरिक्षण कार्य भइरहको छ ।

(लेखक नेपाल पंछी संरक्षण संघका कार्यसमिती सदस्य हुन्)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. जल अप्सराको बारेमा राम्रो जानकारीको धन्यवाद ? सर ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button