‘बोइज ग्रुप’मा केटीहरूलाई निषेध

सन्तानलाई नसिकाइएको लैङ्गिक समानताका कुराहरू

मिरा पुडासैनी

‘हामीले केटाहरूको एउटा ग्रुप बनायौं, त्यो ग्रुपको नाम पावरफुल वोइज ग्रुप भनेर राख्यौं, हाम्रो कक्षाका केटीहरूलाई त्यो ग्रुपमा निषेध गरिएको छ’, छोराले एक साँझ गर्वसाथ सुनाउँदै थियो, ‘हामी (केटा) बलवान् हुन्छौं, कोहि चाँहिदैन हामीलाई ।’

थाहा छैन के सन्दर्भमा उसले त्यो किन भनिरहेको थियो । तर ९ कक्षामा पढ्ने छोराले भनेको त्यो वोइज ग्रुपमा केटाहरूको के के विषयमा कुराहरू होलान्, पढाईबारेको समस्याको छलफल हुने सम्भावना त पक्कै थिएन त्यहाँ, अनि के होला त फेरि, पब्जी, फ्रि फायर, यस्तै यस्तै अनेकौ डिजिटल खेलहरू, फेसबुक, ईन्स्टा वा अरू केही ।

अहिलेको पुस्तासँग त भौतिक खेलहरूको के नै अपेक्षा गर्नु ? हाम्रो पालामा फुर्सद हुने बित्तिकै केटाहरूले समूह बनाएर खेलिने कपडाको डल्लोको भकुण्डो, डन्डीवियो, गुच्चा, जस्ता खेलहरूलाई त आजकल धेरै डिजिटल खेलहरूले विस्थापित गरिसकेका छन् । खै कता गए केटीहरूको समुहहरूले मिलेर खेल्ने पुतलीको विहे, तेलकासा, लुकामारी ?

यस्तै कुरा सोच्दै गर्दा मनमा कतै छोराहरू डिजिटल कुलतमा त छैनन्, डिजिटल पोर्न साईटको जगजगी सामाजिक सन्जाल भनिने असामाजिक इन्टरनेटभरि भेटिन थालेका छन् । के त यिनीहरू यो ग्रुपभित्र त्यस्तै कुराहरूमा अभ्यस्त त छैनन् ? तर मनले यो कुरा मान्न तयार भएन । सन्तानप्रतिको यो कस्तो विश्वास हो, जस्ले सजिल्यै आफ्ना सन्तानहरू गलत छन् वा हुन सक्छन भनेर विश्वास नै गर्न सक्दैन ।

छोराले फेरि भनिहाल्यो, ‘हामी त सबसे बलिया हौं, कोहि चाहिदैन हामीलाई, यहि ग्रुप भए पुग्छ ।’ कुन कुरालाई कोहि नभए नि पुग्छ भनेर उस्ले भनेको त्यो थाहा नहुँदै छोरीले आफ्नो वालसुलभ चरित्र देखाइहाली । उसले प्वाक्कै भनी, ‘अनि कस्ले खाना पकाउँछ, कोठा सफा गर्छ, लुगा धुन्छ त दादा, केटाहरूको मात्र समूह बनाएपछि त ?’

छोराको कुरामा अल्झिरहेको बेलामा छोरीको यो प्रस्नले त झन् मलाई स्तव्ध बनाइदियो ।

कहिले र कसरी ६ बर्षे छोरीको बालमष्तिष्कले पारिवारिक जीवनयापनका निम्ति अत्यावश्यक जीवनशिपहरूलाई महिलाहरूको मात्र काम हो भनेर स्वीकारिसकेको रहेछ । यी सब कुराहरू हामीले उसलाई त कहिल्यै भनेकै थिएनौं । यी सब उसले दिनहुँ देख्दै आएका कुराहरूको उपज थियो ।

जति समानताका कुरा गरे पनि व्यवहारमा जबसम्म ती कुराहरू लागू हुन्नन्, ती कामै नलाग्ने हुँदारहेछन् ।

छोराहरूको ग्रुपले के गर्ला त भनेर पिरोलिएको म, त्यसपछि त कसरी लैङ्गगिक समानताका कुरा व्यवहारिक तरिकाले बुझाउन नसकेकोमा र यस्ले छोरा छोरीको दिमागमा जरो गाडिसकेको रहेछ भनेर आत्मग्लानि भयो । कहिलेदेखि छोराको दिमागमा त आफू सबसे बलियो भनेर पसिसकेछ अनि छोरीको दिमागमा आफुले भात भान्सा र झाडुकुच्चो गर्नु पर्ने भनेर स्वीकारिसकेको रहेछ । तर मैले कदापि मेरो छोरा छोरीमा यो असमानताको बिजारोपण गरौंला वा होला भनेर चिताएकै थिइनँ । मैले नचिताउँदैमा यो नहुने पनि त होइन रहेछ।

म मेरा सन्तानहरूलाई लैङ्गिक समानताका कुराहरू व्यवहारमा उतार्ने कुराहरू सिकाएरै छोड्ने छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button