म अमेरिका आएकी मेरो रहरले हैन

कथाः एन.आर.एन.–३

सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर-७

निर्मलाका आमा, बाबा असाध्यै खुसी देखिन्थे । निर्मला पनि अमेरिका जाने भइन् । साँझको समय थियो । निर्मलाको घरमा भिन्नै किसिमको चहलपहल थियो । बस्ने सोफालाई आफ्नो धर्म निर्वाह गर्न हम्मेहम्मे परिरहेको थियो ।

‘ब्रिफकेस’ मा सामानहरू नअटेर निर्मला हैरान भइरहेकी थिइन् । निर्मलाले आँपको अचार र गुन्द्रुक नअटेको कुरा बताइन् । आमाको मुहार अलि मधुरो भयो । लोकेश भिनाजूले ‘भिडियो कल’ बाट आवश्यक निर्देशन दिइरहेका थिए ।

निर्मला प्यारी साली । सात वर्षअघि नेपाल आउँदा वचन दिएका थिए, निर्मलालाई पनि अमेरिका झिकाउँछु भनेर । नभन्दै उनले आफ्नो वचन पूरा गरे ।

छोरीको निधारमा टीका लगाइदिँदै आमाले आशीष दिइन्, ‘सधैँ स्वस्थ्य रहनू । खुसी रहनू र सुखी रहनू । उता पुग्नासाथ हामीलाई ‘भिडियो कल’ गरेस् छोरी । अब कहिले आउला मैले आफ्नी छोरीलाई भेट्ने दिन ?’

निर्मलाले आमाका आँसु पुछिदिँदै स्वस्थ्य टिप्पणी गरिन्, ‘विवाह गरेर पराईको घरमा दिँदा त मन बुझाउनु पर्छ । अहिले त म अमेरिका जाँदैछु आमा । मेरो लक्ष्य भनेको उच्च शिक्षा अध्ययन गर्ने र राम्रो जागीर खाने हो । किन पीर लिनु व्यर्थैमा ?’

बाबाले पनि मनको भावना व्यक्त गरे, ‘मलाई त विदेश पठाउनै मन थिएन । तर तिम्रो उज्ज्वल भविश्यको लागि यसरी बिदा गर्दैछु छोरी । फेरि तिमीले भाइको भविश्य पनि त बनाइदिनु छ ।’

भाइले लाडे स्वरमा भन्यो, ‘मलाई पनि उतै तान् है दिदी । नत्र म तँसँग बोल्दिनँ नि फेरि ।’

एकजना छिमेकी काकीले प्रतिक्रिया दिइन्, ‘तँलाई नबोलाउँदी होली त तेरी दिदीले ? तँभन्दा सानो मेरो नातिलाई त तेरै दिदीको आड र भरोसामा अम्रिका पठाऔँला भन्ने सुर छ मेरो । यो पनि त भावनाकी आफ्नै बहिनी होइन नि । तर पनि यसलाई आश्रय दिने भई ।’

निर्मलाका मामाले कुरो घुमाएर जवाफ दिए, ‘अमेरिका जानु भनेको गाउँको पानी—पँधेरो धाएजस्तो सजिलो छैन दिदी । एक डोको दाम चाहिन्छ । त्यो पनि डलर । थाहा छ दिदीलाई डलर भनेको के हो ?’

‘गोबरको गुइँठा पार्नेलाई कसरी थाहा होस् साला बाबू !’ एकजना छिमेकी वृद्धले प्याच्चै भनिदिए, ‘मलाई थाहा छ, निर्मलालाई कसरी विदेश पठाउँदै छ हेमन्त भाइले । भावनाले मिलाइदिएकी भनी ठान्नु सरासर गलत हो ।’

निर्मलालाई हिँड्न हतार भइसकेको थियो । तर अनेक मान्छेले अनेक टिप्पणी गरेर बियाँलो पार्दै थिए । निर्मलाका बाबा र मामासहित पाँच जना गाडी चढेर बाटो लागे ।

दुई दिने हवाईजहाजको यात्रा अमेरिकाको एक एयरपोर्टमा पुगेर टुङ्गियो । त्यहाँको वातावरण देखेर निर्मला हेरेको हे¥यै भइन् । तिनीलाई लिन लोकेश भिनाजु आएका थिए । भेनालाई निर्मलाले दुई हात जोरेर अभिवादन गरिन् । तर भेनाले ‘अमेरिकी स्टाइल’ मा चुम्मा गरिदिए ।

बानी नपरेकोले निर्मलालाई असजिलो लाग्यो । लोकेशले फराकिलो ‘कम्पाउन्ड’ भएको घरको बाहिरी ढोकाबाट प्रवेश गराई गाडीलाई विश्राम दिए । त्यति बेला भावना घरैमा थिइन् । दिदीले आपूmलाई दिइएको कोठा हेरिसकेपछि निर्मलाको मन खिन्न भयो ।

निर्मलाले मनमनै सोचिन्, ‘भावना दिदीले त मलाई पहिलो गाँसमै ढुङ्गा लगाइदिइन् ! नेपालमा हुँदा जे सोचेकी थिएँ, यहाँ त ठ्याक्कै उल्टो पाएँ । कोठाहरू त धेरै नै रहेछन् नि । तर मलाई चाहिँ यस्तो…!’

लोकेश भेनाले गुलियो आश्वासन दिए, ‘निर्मला ! यसलाई आफ्नै घर ठान । तिमीले काम नपाउन्जेसम्म तिम्रो लागि ‘लजिङ्गफुडिङ्गको राम्रो व्यवस्था हुनेछ ।’

‘ओहो लोकेश ! कत्ति कराइराख्या भन्या !’ भावनाले झिँझो मान्दै भनिन्, ‘निर्मलालाई तिमीले जेजे भनेर यहाँ ल्यायौ, ती ती कुराहरू पु¥याउनै पर्छ भन्ने के छ र । घरजग्गाको ‘ट्याक्स’ तिर्दा तिर्दा हैरान भइसक्यौँ हामी ।’

‘तर तिमीले त मेरो बाबालाई पूर्ण भरोसा दिलाएकी थियौ हैन र भावना दिदी ?’

निर्मलाले चित्त दुखाउँदै भनिन्, ‘नेपालमा हुँदा एउटा कुरा । अमेरिका आएपछि चाहिँ यस्तो ? म त तिमी छ्यौ भनेर पो आएकी दिदी । नत्र त मैले नेपालकै हस्पिटलमा राम्रै कमाइ गरेकी थिएँ नि ।’

आउन पाएकी छैनन्, भावनाले बहिनीको मन दुखाइदिइन् । त्यस्तैमा सन्जनाले ‘भिडियो कल’ गरिन् । उनैले सबैका लागि खाना तयार पारिदिएकी थिइन् । सन्जनालाई लोकेशले आफ्नै घरमा दुई कोठाको एक ‘फ्ल्याट’ दिएका थिए । उनीहरू एकै कम्पनीमा काम गर्दथे ।

एकान्तमा पारेर सन्जनाले सम्झाइन्, ‘हेर निर्मला ! तिमी पटक्कै भ्रममा नपरे हुन्छ । नेपालमा सोचेजस्तो यहाँ बिलकुलै सजिलो छैन । हो, तिम्रा दिदीभेना एन.आर.एन.हुन् । तथापि, यो घरमा बसेपछि तिमीले धेरै कुराहरूमा ‘कम्प्रमाइज’ गर्नैपर्छ ।’

खाना खाएर आएपछि निर्मला आपूmलाई दिइएको रुमको पलङ्गमा पल्टिइन् । दिदीभेनाले कसकसलाई ल्याएर सुताउँथे कुन्नि, कोठामा बान्ता आउने खालको गन्ध आइरहेको थियो । तिनीलाई पटक्कै निद्रा लागेन । तिनी सोच्न थालिन् । नेपाल गएका बेला त लोकेश भेनाले एक पटक पनि छोएनन् । तर यहाँ किन ?

भोलिपल्टदेखि नै निर्मलालाई भावनाले घरको सबै काममा जोताइन् । भावनालाई अभैmसम्म खाना पकाउन नआउने रहेछ ! पतिले नभ्याउने । रेष्टुराँमा खाँदा साध्य नहुने । त्यसो त भावनाको आफ्नै रेष्टुराँ थियो । एक समय यस्तो थियो, जतिबेला भावना ‘जङ्क फुड’ ले पेट भर्ने गर्दथिन् ।

माइतीमा लाडप्यारमा हुर्केकी चेली । घरमा ढलेको सिन्को उठाएकी थिइनन् । वरको भाँडो पर सार्न परेको थिएन । तर अमेरिका पुगेपछि गतिलै पाठ सिकिन् ! पछि उनकै बाबाले पूरा बन्दोबस्त गरिदिएका थिए । घर र गाडी भावनाकै बाबाले किनिदिएका थिए ।

भावनाले पहिलेको आफ्नो दुःखलाई बिर्सिएर बहिनी निर्मलालाई सुख दिइनन् ।

एक साँझको घटना हो ।

त्यो दिन सुप्रियाको ‘बर्थ डे प्रोग्राम’ भयो । तिनी भावना र लोकेशकी एक मात्र सन्तान थिइन् । तिनी पाँच वर्षकी थिइन् । छोरीको बर्थ डे मा भावनाले साथीहरूलाई निम्तो गरेकी थिइन् । मादक पदार्थको पनि व्यवस्था थियो । लोकेशले नराम्रो तालले मा.प.से.गरे ।

त्यसैको रमरममा उनले भने, ‘हेर निर्मला ! अमेरिकामा कुनै पनि कामलाई सानो या ठूलो मानिदैन । पैसा प्रशस्त कमाइन्छ तर फुर्सद एकदमै कम हुन्छ । त्यही भएर त हामीसँग कार, बङ्गला, पैसा सबैथोक छ ।’

‘अनि मैले नर्सको काम कहिले पाउँछु त भेना ?’

निर्मलाले गुनासो गरिहालिन्, ‘कि म हजुरको घरमा ‘केयर गिभर’ भएरै बस्नुपर्ने हो ? मेरा बाबा, आमालाई के जवाफ दिनु मैले ? मलाई त मेरो योग्यताको काम नपाइने हो कि भनेर पीर लाग्न थाल्यो !’

भावनाले कूटनीतिक पारामा बताइदिइन्, ‘तैँले चिन्ता गर्नै पर्दैन नि निर्मला । हामी छौँ नि । तैँले धेरै टाढाको र धेरै ठूलो कुरा नसोच् ऐले । तँलाई करिब छ महिनासम्म हामी बसी बसी खान दिन्छौँ । त्यसपछि त काममा लगाइदिहाल्छौँ नि लाटी ।’

निर्मलाले भावनाको पाल्छी कुरा बुझ्न सकिनन् । दिदीले कुनै हस्पिटलमा नर्स पदमै काम दिलाइदेलिन् भनेर ढुक्क भएर बसिन् । महिनाहरू बित्दै गएपछि निर्मलालाई शङ्का लाग्यो । तिनीलाई त दिदीभेनाले उनीहरूको घरमा एक ‘सर्भेन्ट’ को रूपमा पो राखेका रहेछन् ! भावनालाई एकजना कामदार चाहिएको थियो । पहिले पो तिनीकी आमा थिइन् । सुप्रियाको हेरचाह गर्ने, घरको काम सघाउने आदि सबै काम आमाकै जिम्मामा थियो ।

निर्मला अमेरिका आउने भएपछि भावनाले आमालाई नेपाल पठाइदिइन् । आमाको ठाउँमा निर्मलालाई राखिन् । लोकेशको स्थायी नोकरी एउटा कम्पनीमा थियो । रातको करिब सात घण्टाको समयलाई छाडेर अरू सबै समय उनी ‘पार्ट टाइम जब’ गरेर कमाउने गर्दथे ।

भावनाले छोरीलाई घर नजीकैको स्कुलमा पढाउन हालेकी थिइन् । तर छोरी एक्लै जान सक्ने अवस्था थिएन । अतः तिनीलाई स्कुल पु¥याउने र स्कुलबाट घर ल्याउने ‘डिउटी’ पनि बहिनीलाई नै दिएकी थिइन् । निर्मलाले घरको काम सकेपछि दिदीको रेष्टुराँमा भाँडा माझ्ने काम गर्नु पर्दथ्यो । त्यही भएर दिदीले साइकल किनिदिएकी थिइन् ।

एक रातको कुरा हो…।

निर्मलाले लोकेशसँग तीव्र असन्तुष्टि पोखिन्, ‘हजुरको घरमा बन्दी जीवन कति दिनसम्म बिताउनु पर्ने हो भेना मैले ? मलाई कुनै काम खोजिदिनु प¥यो । नत्र भने म नेपाल नै फर्किन्छु ।’

‘हेर साली नानी । यो अमेरिका हो । आफ्नो मुलुकमाजस्तो सजिलो केही पनि हुन्न ।’

लोकेशले नरम व्यवहार प्रदर्शन गर्दै सम्झाए, ‘तिमी ‘बी.एस्सी.नर्सिङ्ग’ पास गरेकी भए पनि यहाँको भाषा बुझ्न केही समय लाग्छ । रहनसहन बुझ्न त झनै बढी समय लाग्छ । यो घर तिम्रो पनि त हो नि । हाम्री छोरी तिम्री पनि त छोरी हो । किन चिन्ता गछ्र्यौ साली नानी ?’

साली नानीले घरको कथाबेथा पोखिन्, ‘उता बाबा, आमा ऋणमा डुब्नुभएको छ । घरजग्गा बैँकमा धितो राखिएको छ । भाइको पढाइमा पनि खर्च हुन्छ । मैले यहाँ कमाएर पैसा नपठाए उहाँहरूको उठीबास लाग्छ भेना । हामीले नेपालमा जे सोच्छौँ, यहाँ आएपछि पो थाहा भो, ठ्याक्कै उल्टो रहेछ ! हामीले सोचेको अमेरिका यस्तो थिएन भेना । यस्तो थिएन ।’

निर्मला निकै भावुक भइन् र रुन थालिन् । भेनाले यत्ति छिट्टै हरेश खाइहाल्न नहुने कुरा बताए । उनले साली नानीको गहको आँसु पुछिदिँदै थिए । त्यही बेलामा ढोकामा आइपुगेकी भावनाले ठ्याक्कै उल्टो सोचिन् र अमर्यादित उद्गार पोखिन्, ‘हेर हेर ! लाज नपचेकी नकच्चरी ! अरू कोही नपाएर भिनाजुसँग रासलीला रच्न लागेकी ?’

‘भावना ! यो कस्तो लाञ्छना लगाउँदै छ्यौ तिमी !’ हत्त न पत्त उठेर गई लोकेशले पत्नीलाई लम्की र झम्की गर्दै हकारे, ‘आफ्नो लोग्नेको चरित्रमाथि दाग लगाउन खोज्ने कस्ती स्वास्नी हौ तिमी ? के म त्यस्तो दुश्चरित्रको छु ?’

भावनाले विगतको दृष्टान्त कोट्याइदिइन्, ‘आइ नो भेरि वेल ! मलाई राम्रोसँग थाहा छ, तिमी कस्ता छौ भनेर ! कायरासँग कस्तो लीला चल्थ्यो, त्यो थाहा छ । अनि सन्जनासँग कस्तो ‘रिलेसन’ रहेछ, त्यो पनि पाँच वर्षअघि थाहा पाएकी हुँ ।’

निर्मलाले हाकाहाकी भनिदिइन्, ‘हेर भावना दिदी ! म अमेरिका आएकी आफ्नो रहरले हैन ।’

निर्मलालाई सबै उहापोह पोख्ने मन थियो । तर लोकेश भेनाले रोकिदिए । रात धेरै बितिसकेको थियो । भोलिको घाम नझुल्किँदै काममा जानु थियो । त्यही भएर उनले निर्मलालाई कोठातिर पठाइदिए । भावनालाई लिएर उनी पनि आफ्नो शयन कक्षभित्र पसे ।

समय बित्दै जाँदा भावना र निर्मलाबीच तिक्तता बढ्दै गयो । निर्मलालाई ‘डबल टेन्सन’ थियो । भावनाले पतिलाई पनि जथाभावी भन्ने गर्थिन् । तिनीले लोकेशको स्वाभिमानलाई ‘खोक्रो आडम्बर’ प्रमाणित गरिदिएकी थिइन् । कुरो ठीकै पनि थियो ।

विवाहको समयमा लोकेशका दिदीहरूले ठूलै धाक लगाएका थिए । खासगरी साहिँली दिदीले लङ्का हाँकेकी थिइन् । आखिर ढाँटेको कुरा काटे पनि मिल्दैन । मिलेन पनि । लोकेशले पी.आर.पाएर के गर्नु ? एउटा बास त बनाउन सकेका थिएनन् ।

त्यही भएर भावना माइतीको धाक जमाएर बसेकी थिइन् ।

एकदिन सन्जनाले निर्मलालाई गोप्य तवरले भेटिन् । भावनालाई त पहिलो दिनदेखि नै सन्जना मन नपरेकी । त्यसको एउटै कारण थियो, सन्जना र लोकेशबीच भित्री प्रेम भएको शङ्का हुनु । त्यसो त सन्जनाले ‘वान साइडेड लभ’ गरेकी थिइन् !

त, सन्जनाले निर्मलाको मनमा आशाको दियो बालिदिइन्, ‘हेर निर्मला बहिनी ! यो घरमा काम गरेर तिम्रो भलो हुँदैन । मेरो एकजना साथी ठूलो हस्पिटलमा काम गर्छ । तिमीले चाह्यौ भने अहिलेलाई ‘क्लिनिङ्ग सेक्सन’ मा काम पाउँछ्यौ । म सहयोग गर्छु तिमीलाई ।’

निर्मला डराइन्, ‘भो भो सन्जना दिदी ! यो घर छाडेर म अन्त कतै पनि जान्नँ । म गएँ भने छोरीलाई हेर्ने मान्छे हुँदैन । फेरि लोकेश भेनाले के पो भन्नु होला ?’

सन्जनाले फेरि सम्झाइन् । लोकेशले मात्र राम्रो मानेर के गर्नु ? भावनाले खालि शङ्कालु दृष्टिले हेर्छे । कुनै दिन घरबाट निकालिदिन सक्छे । स्वास्नीभन्दा साली जाती भएर घर चल्दैन नि ।

अन्ततः निर्मला ठूलो हस्पिटलको ‘क्लिनर’ पदमा काम गर्न विवश भइन् । तिनीले दिदीभेनाको घर त्यागिदिइन् । सन्जनाको सहयोगमा एक होस्टेलमा बस्न थालिन् । उक्त होस्टेल एक एन.आर.एन.महिलाले सञ्चालन गर्दै आएकी थिइन् । तिनीलाई नेपालीहरू बन्टी म्याम सम्बोधन गर्दथे ।

होस्टेलमा रहँदा र बस्दा निर्मलाको जीवनमा अर्को समस्या आइप¥यो । कोठाबाट सामानहरू हराउन थाले । कहिले फ्रिजबाट काँचो तरकारी हराउँथ्यो । कहिले आलमारीबाट लुगा हराउँथ्यो । निर्मलाकी ‘किचेन पार्टनर’ एउटी केटी थिइन् । तिनीको नाम शिल्पा थियो ।

शिल्पा ‘होटल म्यानेजमेन्ट’ सम्बन्धी ‘डिप्लोमा कोष’ गर्दै थिइन् । कामचाहिँ एक रेष्ुटुराँमा भाँडा माझ्ने गर्दथिन् । त्यसो त निर्मला र शिल्पाका आआफ्नै कोठाहरू थिए । भान्छाचाहिँ साझा । नेपाली विद्यार्थीहरूको आर्थिक अवस्थाअनुसारको निवास थियो ।

एक साँझको घटना हो…।

निर्मलाले खाना पकाउने भाँडो खोज्दा कतै पाउन सकिनन् । शिल्पा नुहाउन गएकी मौका पारेर निर्मलाले तिनीको कोठामा खानतलासी लिइन् । निर्मलाको ‘फेभरेट’ लुगा समेत शिल्पाले चोरेकी रहिछन् ! तरकारी र पकाउने भाँडोचाहिँ पलङ्गमुनि फेला प¥यो ।

शिल्पाले लुगा फेर्दै गर्दा निर्मलाले मन चोर्दै भनिन्, ‘मेरो सामान चोर्न पल्केको मान्छेलाई फेला पारेँ भने पुलिस बोलाएर पक्राउ गर्ने होला । त्यसो नगरे पनि होस्टेलको ‘वार्डेन’ लाई त ‘रिपोर्ट’ गर्छु गर्छु ।’

शिल्पालाई झनक्क रिस उठ्यो र नमिठोसँग भनिन्, ‘गरे भैगो त । किन मलाई सुनाउनु पर्ने ?’

‘तैँले मेरो सामान चोरिस् त अरू कस्लाई सुनाऊँ हँ ! तँलाई चोर्नी !’

निर्मलालाई असह्य भयो र शिल्पाको हात समातिन् । ती दुई केटीको झगडाले उग्र रूप लियो र कुटाकुटसम्म पुग्यो । त्यो दृश्य देखेर होस्टलका नेपाली सुरक्षाकर्मीले स्थानीय प्रहरी बोलाएर दुवैलाई पक्राउ गराइदिए ।

प्रहरीले निर्मला र शिल्पालाई थुनिदिए । करिब मध्यरातमा बन्टी म्यामले छुटाएर ल्याइन् । त्यो कुरा भावना र लोकेशलाई थाहा भएन । रातको समय भएकोले बन्टी म्यामले निर्मला र शिल्पालाई चेताउनी मात्र दिएर गइन् । दुवै केटीहरू भोक्कै सुते ।

निर्मलालाई नरमाइलो लाग्यो । एक पटकको घटनाले नै अमेरिकाको बसाइ बोझ लाग्न थाल्यो । मोह पनि भङ्ग भयो । तैपनि तिनीले नेपाल फर्किने कुरालाई सोच्नै सकिनन् । तिनीको औकात नै भएन, अमेरिकाबाट रित्तो हात स्वदेश फर्किनका लागि ।

निर्मलाजस्ता प्रशस्तै युवा, युवतीहरू सङ्घर्षको मैदानमा छन् । उच्च शिक्षा हासिल गर्ने सपना छ । धेरै डलर आर्जन गर्ने लक्ष्य छ । अनि छ कर्तव्य, अभिभावकहरूलाई कर्जाबाट मुक्त गर्ने ।

अन्ततः बन्टी म्यामले निर्मला र शिल्पालाई होस्टेलबाट ‘आउट’ गरिदिइन् ! शिल्पाको गल्ती थियो । दोषी तिनी थिइन् । तिनीले स्वीकारिन् पनि । तर निर्मलालाई ‘खानु न पिनू, पुर्पुरोमा चिनू’ भइदियो ! अमेरिकाको कानुन देखेर निर्मला चकित परिन् !

निर्मलालाई लोकेश भेना र सन्जनाले घरैमा ल्याए । भावनाले बेसरी हप्काइन् । लोकेशलाई पत्नीको चाला देखेर उदेक लाग्यो । भावनाले हाकाहाकी भनिन्, ‘यो घरमा सालीभेना र प्रेमिकाहरू बस । मलाई चाहिँ नेपाल फर्कादेऊ लोकेश !’

‘नेपाल फर्किने भए मलाई ‘डिभोर्स’ दिएर मात्र जाऊ ।’

लौ जा ! लोकेशले प्याच्चै भनिदिए । भावनाले अश्लील हर्कत देखाइन््, ‘इस्, दिऊँला नि डिभोर्स ! मलाई छाडेर यो बाइफाले सन्जनासँग मोज गरूँला भन्ने सोचेका हौला हैन ? त्यसमाथि तिम्री प्यारी साली नानी पनि त छे नि ?’

लोकेशले मज्जाले जवाफ फर्काए, ‘यो सबै तिम्रो माइतीको लाडप्यारको नतिजा हो भावना ! यदि मेरा सासू— आमाहरूले तिमीलाई तालिम दिनुभएको भए आज मैले यो दिन देख्न पर्दैन थियो । अमेरिकाको स्थायी बासिन्दा हुने ‘गोल्डेन चान्स’ पाएर पनि तिमीले बानी सुधारिनौ ! यसैलाई भन्छन् ‘नेपाली चाला’ !’

भावनाले ‘नेपाली चाला’ लाई त्याग्न सकिनन् । फलस्वरूप निर्मलाले सदाका लागि दिदीबहिनीको नाता तोडिदिइन् । सन्जनाले एक नेपाली चेलीको साइनोले निर्मलालाई आफ्नो ‘फ्ल्याट’ मा आश्रय दिइन् ।

एक दिन निर्मलाको जीवनमा एउटा ‘टर्निङ्ग प्वाइन्ट’ आयो । तिनीले काम गर्दै आएकी हस्पिटलमा नर्स पदमा जागीर पाइन् । अब तिनीको कमाइ बढ्दै जान थाल्यो । तिनीले उब्रेको समयलाई सदुपयोग गर्दै ‘पार्ट टाइम जब’ पनि गर्न थालिन् ।

निर्मलाको उच्च शिक्षा हासिल गर्ने चाहनामा पनि सकारात्मक सङ्केतहरू देखा पर्दै गए । तिनीले घरमा पैसा पठाउन थालेपछि बाबा, आमाको कर्जाको बोझ पनि कम हुँदै गयो ।

अन्ततः निर्मलाले नर्सिङ्ग विषयमा स्नातकोत्तर कक्षा उत्तीर्ण गरिन् । बाबा, आमालाई अमेरिका बोलाइन् । छोरीको सङ्घर्ष र मिहिनेतको फल चाख्न पाएर बाबा, आमाका नयनबाट हर्षका आँसु रोकिएनन् ।

केही वषर््ापछि निर्मलाले आफ्नो भाइलाई पनि अमेरिका बोलाइन् । त्यतिन्जेलसम्ममा निर्मलाले बस्ने बासको समेत जोहो गरिसकेकी थिइन् । गाडी त अनिवार्य साधन भैहाल्यो । तर बिहे गर्न भ्याएकी थिइनन् ।

निर्मलाले भाइलाई एक दिव्य ज्ञान दिइन्, ‘तँ युधिष्ठिर बनेर स्वर्गमा आएको छस् मेरो भाइ । तर तैँले इन्द्रको राज्यको वैभवमा आजीवन बिताउन पाउँदैनस् । किन कि तैँले आफ्नै हस्तिनापुरलाई स्वर्गजस्तो बनाउनु छ । मेरो कुरा बुझिस् नि तैँले ?’

भाइले भन्यो, ‘मैले राम्रोसँग बुझेको छु दिदी । म यहाँ एन.आर.एन.भएर बस्न आएको हैन । म त अमेरिकाको उच्च शिक्षा, सीप र ज्ञान आर्जन गर्न आएको हुँ । म त यहाँ विशिष्ठ श्रेणीको ‘साइन्टिष्ट’ बन्न आएको हुँ दिदी ।’

अन्ततः निर्मलाले अमेरिका छाडिन, कहिल्यै नबस्ने गरेर । अमेरिकामा आर्जन गरेका ज्ञान, सीप, र अनुभवलाई आफ्नै जन्मभूमिको स्वास्थ्य क्षेत्रमा प्रयोगमा ल्याइन् । निर्मलालाई आफ्नै नेपाल मन प-यो । एन.आर.एन.को नाममा दोस्रो दर्जाको नागरिक भई अमेरिकामा बस्न मन परेन । हो, तिनीलाई नोकर भएर बस्न मन परेन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button