कविताले गरिन् समयको शल्यक्रिया

समय

कविता पन्थी

राम: श्याम ! आज फलानो कार्यक्रममा जाने होइन ?

श्याम: जाने त हो, कतिबेला जाने ?

राम: निमन्त्रणा पत्रमा त कार्यालय शुरु हुने समय १ बजे लेखेको छ, २ बजेसम्म पुग्नुपर्ला ।

यस्तै अर्को संवाद: समयमा कार्यक्रम शुरु होला भनेर ठिक्क समयमा आए, यहाँ त प्रमुख अतिथिलाई कुर्दाकुर्दै कार्यक्रम नै २ घण्टा ढिलो शुरु भयो ।

यी र यस्तै संवाद हाम्रो समाजमा धेरै प्रचलित छन् । यी भनाइबाट समयप्रतिको हाम्रो दृष्टिकोण परिलक्षित हुन्छ ।

कुनै पनि अवसर वा बेलालाई समय भनिन्छ । समयलाई देख्न र छुन सकिदैन, अनुभव मात्र गर्न सकिन्छ । सुविधाका लागि मानिसले समयलाई सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष भनेर वर्गीकरण गरेका छन् । नेपाली शब्दकोशमा ‘घडी, पला, दिनरात, बिहान बेलुकी, गते, तिथि, बार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अवस्था’ भनेर परिभाषा दिएको छ । समयको महत्वको बारेमा पूर्वीय र पाश्चात्य जगतमा व्यापक चर्चा भएको छ ।

समय आउँछ जान्छ तर कसैलाई पर्खेर बस्दैन । समयले आफ्नो गतिसँगै परिवर्तन पनि ल्याइरहेको हुन्छ । मानव सभ्यताको विकास समयकै गतिशीलताको उपलब्धि हो । समयलाई विकासको रुपमा पनि लिन सकिन्छ । आज जन्मेको बालक समयकै क्रममा किशोर, जवान हुँदै वृद्धावस्थामा पुग्छ । मानिसको शारीरिक, मानसिक, बौद्धिक आदि पक्षको विकास समयकै गतिमा हुन्छ । कस्तो अचम्म, आजको भोलि नै हामीलाई प्रत्येक कुराहरु बदलिएको रुपमा देखिन्छन् । समय कसैको लागि रोकिदैन, न कसैले यसलाई रोक्न सक्छ । न कसैले यसलाई किन्न सक्छ, यसको कुनै मूल्य नै छैन । यो सबैको लागि बराबर छ, समान छ । समयको महत्वलाई जसले चिन्न सक्छ,ऊसले जीवनमा सफलता प्राप्त गर्छ । बितेको समय जतिसुकै धनखर्च गरे पनि, जतिसुकै प्रयत्न गरे पनि फिर्ता पाउन सकिन्न । यो कति आश्चर्यजनक छ कि न यसको शुरुआत हुन्छ, न कुनै अन्त । कुनै सिमा छैन । यो आफ्नो गतिमा निरन्तर चलिरहन्छ । समयमाथि न कसैले शासन गर्न सक्छ, न आलोचना न त विश्लेषण नै गर्न सक्छ ।

सामान्यतया हामी सबै समयको मूल्य र महत्वबारे जानकार छौ तर व्यवहारमा त्यसलाई लागु गर्न गार्हो मान्छौ । हाम्रो समयप्रतिको दृष्टिकोणलाई आदिकवि भानुभक्त आचार्यले कवितामार्फत् र भैरव अर्यालले निबन्धमार्फत व्यङ्ग्य गरेका छन् ।

समयले मानिसलाई राजा वा भिखारी दुवै बनाउन सक्छ । एउटा भनाइ छ: यदि तपाई समय बर्बाद गर्नुहुन्छ भने समयले तपाईंलाई बर्बाद गर्छ । कसैलाई एउटै समय लामो लाग्न सक्छ भने अर्कोलाई त्यही समय छोटो लाग्न पुग्छ । संसारमा सबै कुरा समयमा निर्भर गर्छ, समयभन्दा पहिले, समयभन्दा पछाडी केही हुन्न ।

हामीले समयको यस्तो महत्वलाई बुझेर पनि गम्भीर बनेका हुदैनौ । आफ्नो लागि समयको महत्व नबुझ्दा अरुको समयको महत्व पनि बुझ्न सकिदैन । ठिक समयमा ठिक काम गर्नु समयलाई चिन्नु हो । ठिक समयमा उपचार गरिएन भने ज्यान जान सक्छ । ठिक समयमा खेती नगरे खेत बाझै हुन्छ । मानिसले युग, समय चिन्नुपर्छ । समयलाई चिन्न सके त्यो समयले पनि हामीलाई चिन्छ । महिनाको महत्व आमालाई, दिनको महत्व मजदुरलाई, घण्टाको महत्व यात्रुलाई, मिनेटको महत्व विद्यार्थीलाई, सेकेन्डको महत्व ह्रृदयरोगीलाई, माइक्रोसेकेण्डको महत्व खेलाडीलाई थाहा हुन्छ । समयको गतिसँगै युगको पनि परिवर्तन हुन्छ । युग सँगसँगै युगीन मूल्यमान्यता पनि परिवर्तित हुन्छन् । हिजोको सोचाइलाई समयले नै पुरातन बनाइदिन्छ । आजको नवीन सोच केही समयपछि पुरानो बन्छ । समयले मानिसको जीवनशैली परिवर्तन गरिदिन्छ । यही समय हो जसले शासकलाई दास र दासलाई शासक बनाइदिन्छ ।

बगेको खोला फर्कदैन, समयले कसैलाई पर्खदैन भनेझैं समयको महत्वलाई हामीले बुझ्नुपर्छ । हाम्रो लागि पनि समय महत्वपूर्ण छ, त्यति नै अरुको लागि पनि छ भन्ने बुझेर नै जुनसुकै कामको लागि समय निर्धारण गर्नुपर्छ । समयले कसैलाई पनि पक्षपात नगरेजस्तै समयको सन्दर्भमा हामीले पनि विभेद गर्नुहुदैन । मंचमा बसेर भाषण गर्नेहरुको जत्तिकै समयको महत्व दर्शकदीर्घामा बसेर भाषण सुन्नेको पनि हुन्छ ।

पहिला पहिला प्रकृतिका कुराहरु हेरेर समय पहिचान गरिन्थ्यो तर अहिले समय बताउन घडीहरु बनेका छन् । सबैको हातहातमा मोबाइल फोन छ, जस्मा समयको पूर्ण जानकारी हुन्छ । धेरै ठाउँमा समयको महत्वलाई आत्मसात गरिएको पनि छ । शैक्षिक प्रतिष्ठानहरु, संचारगृहहरु, अस्पतालहरु, विभिन्न कार्यालयहरु जहाँ घडीको समय अनुसार सेवा दिइन्छ । समयको महत्वलाई बुझेरै केही संघ संस्थाहरुले बैठकहरु ठिक समयमा सुचारु गर्ने व्यवस्था बसाएका छन् ।

तर धेरै ठाउँमा माथिको संवाद स्मरण गर्नुपर्ने परिस्थिति छ । कतिपय कार्यक्रममा त समयमा मानिसको उपस्थिति नहुने, निर्धारित समयभन्दा ढिलो आउने जाने हाम्रो बानीका कारण कार्यक्रमका अतिथिलाई दिने समय र अन्य व्यक्तिहरुलाई दिने समयको फरक नै एक दुइ घण्टाको हुन पुगेको देखिन्छ । ऊ आउदैन, ऊ आउदैन भन्दाभन्दै सबै मानिसहरु कार्यक्रममा निर्धारित समयभन्दा ढिला आइपुग्छन् । हुँदाहुँदै यस्तो ट्रेण्ड बनिसकेको छ कि निर्धारित समयमा नपुग्नेले लज्जाबोध गर्नुपर्ने हो नि, यहाँ त समयमा पुग्नेलाई लज्जाबोध हुन्छ । निर्धारित समयमा पुग्ने व्यक्ति समय फाल्तु भएर आएको होइन कि समयको महत्व बुझेर आएको हो भनेर बुझ्नुपर्छ ।

अब आउने पिढीलाई समयको महत्वको बारेमा बुझाउन हामी स्वयं समयको परिपालक बन्नु जरुरी हुन्छ । परिवर्तन सम्भव छ, त्यसको शुरुवात हामीले आफैबाट गर्नुपर्छ । एकले थुकी सुकी, सयले थुकी नदी भनेझैं परिवर्तनको लागि हामी संगठित हुनु जरुरी छ, सजग हुनु जरुरी छ । धेरै टाढा टाढा जानु नै पर्दैन हामीले आफू आबद्ध संघसंस्थामा हुने गतिविधिमा समयको परिपालना कसरी भएको छ, त्यसलाई व्यवस्थित गरे पुग्छ ।

कतै हामी पनि समयमा काम नगर्ने अनि नेपाली टाइम भनेर अकर्मण्य त बनिरहेका छैनौ, गम्भीर भएर सोचौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button