हाइहाई २०२१, बाइबाई २०२०
नयाँ वर्ष २०२१ को सबैमा हार्दिक शुभकामना छ । सन् २०२० विश्व मानव समाज समग्रकै लागि संकष्टपूर्ण रह्यो । सालको शुरूदेखि नै संसारभर फैलिन थालेको कोभिड-१९ (कोरोना) भनिने घातक संक्रामक रोगले विश्व मानवतालाई नै आतंकित बनाएर छोडिदियो । यी पंक्ति कोर्दै गरेको बेलासम्ममा कोरोनाको संक्रमणबाट विश्वभरि कुल १८ लाख १६ हजार र ३ सय ३५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । हालसम्म ८ करोड ३२ लाख ७२ हजार २२ जनालाई संक्रमण भएको पनि जनाइएको छ ।
कोरोनाको महामारी नियन्त्रणका दिशामा सन् २०२० को अन्तिम महिनाको दोस्रो हप्ताको शुरूदेखि नै नयाँ आशा र विश्वासको सञ्चार हुन थालेको हो । त्यतिबेलासम्म रुस, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले कोरोना विरुद्धको खोप तयार गरेको र त्यसको गहन अध्ययन, अनुसन्धान र परीक्षणपछि आम प्रयोग गर्न अनुमति दिइएको थियो । अहिलेसम्म विश्वभरि केही करोड व्यक्तिले कोरोनाको खोप लगाइसकेको समाचार छ ।
नयाँ वर्षको आधाअधीसम्ममा खोप व्यापक रूपमा लगाइसकिने र कोरोना नियन्त्रणमा उल्लेख्य सफलता हासिल गर्न सकिने विश्वास लिइएको छ । यो विश्वास ठोस सफलतामा परिणत होस् भन्ने कामना गर्दछु ।
हरि अधिकारी, लेखक
तिमी रातदिन जोखिरहन्छौ
अरुको तौल यति हुनु पर्ने, उति हुनु पर्ने
तिमीलै भने जस्तै हुनु पर्ने !
छक्क पर्छु म
तिमी, जो जीवनभर आफु जस्तो हुन सकेनौ
अरु चाहि, तिमीले भने अनुसार हुनु पर्ने?
२०२१ मा तिमी आफु जस्तै हुन सक है
मान्छे कोही जस्तो हुनु पर्दैन
आफै जस्तो भए, पुग्छ !
सबै मित्रहरुलाई सन २०२१ को शुभकामना , सबैको मंगल होस 🙏
विजय कुमार पाण्डे, पत्रकार
२०२० ले आफैलाई भेट्ने र हालखवर सोध्ने एकान्त दियो । आफैसित केही सान्दार वार्तालाप भए । खीलहरु उप्किएर उर्जा र उत्साह प्राप्त भए । २०२१ हजुरको सुन्दर स्मृति बनोस् । बर्षभरि पुछपाछ पारेर टलक्क टल्काएको हृदयदेखिको शुभकामना ।
बुद्धिसागर, लेखक
विगत झै आगत नदुखोस् !
खुशी उत्साह र बिश्वाश जागिरहोस् !!
अंग्रेजी क्यालेण्डर अनुसार नयाँ बर्ष २०२१
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धनन्जय दवाडी, प्रदेशसभा सदस्य, गन्डकी
ग्रेगोरियन पात्रो अनुसार सम्वत फेरिने यस अवसरमा सबैलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धिसहित सकारात्मक सोचाइ र राष्ट्रिय भावनाका लागि विनम्र निवेदनसहित शुभकामना ।
तीर्थ कोइराला, पत्रकार
पुराना पातहरु झरेर नयाँ पालुवा पलाउने प्रकृतिको नियम हो । २०२० का पातहरु निकै त्रासद तथा पीडायुक्त भए । २०२१ खोप तथा स्थिरताको लागि पल्लवित, पुष्पित तथा फलित होस् ! यहाँहरु सबैलाई नयाँबर्ष २०२१ को मंगलमय शुभकामना व्यक्त गर्दछु ।
रविन्द्र समीर, लेखक
सङ्कटग्रस्त वर्षको विदाई र आशालाग्दो वर्षको शुभारम्भ हुन्छ, हुँदैछ ।
कुमार रञ्जित, पत्रकार
पवित्र पाशुपत क्षेत्रबाट अंग्रेजी नयाँ वर्ष २०२१ को मंगलमय शुभकामना । सबैको भलो होस् ।
तुला अधिकारी, पत्रकार
म नेपाल सम्बत र नेपाली सम्बतमा मात्र नयाँ वर्ष मनाउँछु । मेसेञ्जरमा ‘ह्याप्पी न्यु इयर’ पठाउनु हुने साथीलाई धन्यवाद ! तर, त्यो मैले स्विकार नगरेको हो । त्यसैले रिप्लाइ गरिन है ? दम्भ नै भन्नुस् !
रामगोपाल आशुतोष, कवि/रेडियो प्रस्तोता