
सम्भावित विनाशको वृत्तचित्र हाम्रै मनको पर्दामा छर्लङ्ग देखाइदिन मात्र बाँकी
वातावरण कविता: प्रकृति र हामीहरू
कृष्ण बाउसे
प्रकृति
हँसाउन खोजिरहन्छिन् सधैँ
खोजिरहन्छौँ रुने बहाना हामीहरू ।
प्रकृति
उचाल्ने काँध थापिरहन्छिन् हरदम
ओर्लन खुड्किला खोजिरहन्छौँ हामीहरू ।
थेग्न सकिरहेकी छैनन्
उनले हाम्रो बाढी
हुन त कुनै नदि नभएर
मात्र खहरेहरू हौँ हामीहरू ।
फुलौँ भन्छिन् उनी
लालीगुराँससँगै पाखामा
उडौँ भन्छिन् उनी
चरीसँगै खुल्ला आकाशमा
तर खोस्छौँ उनको मुस्कान
विविध निहुँमा हामीहरू
तर काट्छौँ उनकै पखेटा
अनेकौँ बहानामा हामीहरू ।
एउटै भूमिका सन्तान हौँ भनेर के गर्नु !
कोही शासक भएर
विनाशको कर्ममा आवद्ध भएका छौँ हामीहरू
र कोही विद्रोही भएर
विनाशकै कर्ममा आवद्ध भएका छौँ हामीहरू !
डढेलो नलगाऊ भन्दाभन्दै थकित भैसकिन् प्रकृति ।
थुवाँ नबढाऊ भन्दाभन्दै थकित भैसकिन् प्रकृति ।
पहाडको आङमा
जथाभावी घाउ नलगऊ भन्दाभन्दै
थकित भैसकिन् प्रकृति ।
नीलो ग्रहलाई
पानी निख्रिनेगरी नतताऊ
भन्दाभन्दै थकित भैसकिन् प्रकृति ।
यसरी
हामी दुबैथरी अबुझलाई
मान्छे हुनुको अर्थ लगाउँदा लगाउँदै
थकित भैसकिन् प्रकृति ।
अब त
हामी होस हराएकाहरूलाई सुमार्गमा लगाउन
हाम्रै मूर्खतामा हाँसिरहेका कालापत्थरहरूलाई नै
हाम्रो विवेक हराएको खप्परमाथि
घोप्ट्याइदिन मात्र बाँकी छ उनले ।
अब त
हाम्रो सम्भावित विनाशको वृत्तचित्रलाई
हाम्रै मनको पर्दामा
छर्लङ्ग देखाइदिन मात्र बाँकी छ उनलेे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

