
गायक, जो आफ्नै भावमा अस्ताए
प्रीति आत्रेय ज्ञवाली
भोलिको के थाहा ! भोलि भइन्छ कि भइँदैन !
आजको वर्तमान समयमा रमाउनुपर्छ भन्ने भाव व्यक्त गरिएको, हिन्दीभाषी गीत गाएका गायक हुन् के.के. अर्थात् कृष्णकुमार कुन्नाथ । उनले भोलिको दिन नदेख्ने गरी चिरनिद्रामा सुते भन्ने थाहा पाउँदा मन दुःखी भयो ।
हम रहें या ना रहें कल
कल याद आएँगे ये पल
…
उपर्युक्त उनको यो प्रख्यात गीतमा ‘जीवन छोटो छ, भोलिको दिन होला नहोला, आज नपाइएको कुरा भोलि पाइएला, जे छ त्यसैमा रमाउँदै हिँड’ भन्ने भाव छ ।
आफैँ लेखेर आफैँ गाएका गायक, नभन्दै गीतमा जस्तै भोलिको भरोसा नभएको छोटो जीवनमै ५३ वर्षको उमेरमै बिते । गीत सुन्दा लाग्छ, उनले यो गीत आफ्नै निम्ति लेखेका हुन् र आफ्नै निम्ति गाएका हुन् ।
त्यस्तै उनको अर्को बहुचर्चित फिल्मी गीत छ,
तडप तडप के इस दिलसे
आह निकलती गई
ऐसा क्या गुनाह किया
हम लुट गये
समाचार स्रोतका अनुसार, उनको निधन हृदयघातबाट भएको बुझिन्छ । उनको यो गीत पनि हृदय अर्थात् दिलसँग जोडिएकोले, यो गीत पनि नजानिँदो किसिमले उनको अन्तिम अवस्थासित मेल खायो ।
आफैँले लेखेको र गाएको गीतको शब्दको प्रभाव हेक्का नभै यसरी जानीनजानी आफ्नै जीवनमा पर्नसक्छ भन्ने कुराको अनुमान उनले पक्कै पनि गरेका थिएनन् । यसलाई एउटा नमिठो संयोग नै मान्नुपर्छ ।
उनले जीवनमा विभिन्न भाषामा थुप्रै गीत गाएका छन् जसमध्ये धेरै गीत सुप्रसिद्ध छन्, तीमध्येका यी उपर्युक्त दुई प्रख्यात गीत मैले पनि संचारमाध्यममा धेरै नै सुनेकी हुँ । कानले धेरै सुनेको गीत हुँदा शब्दहरू पनि सम्झनामा भएकाले यिनै गीत सम्झिएँ । जब मैले उनको मृत्युको खबर थाहा पाएँ, तब म उनका गीत सम्झेर झल्याँस्स भएँ । उनले गाएका गीतका शब्दले अप्रत्याशित रूपले उनकै जीवनसित मेल खाएको देख्दा म आफैँ चकित भएँ । उनले आफू जाँदाजाँदै फेरि पनि यो सीख दिएर गएका छन् कि !
‘पल/समय भन्ने कुराको केही ठेगान छैन । जति समय बाँचिन्छ खुशीकासाथ बाँच्नुपर्छ । कुनै कुरा सोचेजस्तै होला/नहोला, त्यो आफ्नै ठाउँमा छ तर आशा र सम्भावनाका साथ जीवनमा रम्दै अघि बढ्दै जानुपर्छ ।’
नजानिँदो ढंगले उनको गीत उनैमाथि प्रयोग गरिएझैँ भयो । गायक के.के. तिमी तिम्रा गीतमा जस्तै सधैँ सम्झनामा गीतद्वारा गाइँदै जानेछौ, सम्झनामा रहिरहनेछौ । गीतमा अमर हुनेछौ ।
तिम्रो मृत्युको खबर थाहा पाउनु केही बेर अघि मात्रै मैले एउटा मुक्तक लेखेकी थिएँ । जीवनकै बारेमा लेखिएको हुँदा मैले त्यो मुक्तकलाई यहाँ साभार गर्दै यिनै लेखेका भावहरू सँगसँगै तिमीलाई नमनसहित श्रद्धांजलि व्यक्त गर्दछु ।
फेरिँदै छन् जीवनका पानाहरू, हर दिन नयाँ बिहानी सँगै
त्यस्तै पानाहरू लेखिँदै-थन्किँदै, हर रातमा सिरानी सँगै
नपुगुन्जेल अन्तिम गन्तव्य, फेरिने क्रम सधैँ चलेकै हुन्छ,
थाहै नपाई टुङ्गिने जीवन, अस्ताउँछ आँखाको नानी सँगै ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)