त्यस्तो गीत जो गर्भधारण गर्ने निर्णय गरेपछि गाइन्छ र गाइन्छ सहवासपछि पनि

नामिबियन आदिवासीका रोचक गीत जसले संस्कार बोकेको छ

सुशीला शर्मा

अफ्रिकन देश नामिबियाका आदिवासी हिम्बा जातीमा बच्चाको जन्मदिन महिलाले गर्भधारण गर्न निर्णय गरेको दिनलाई मानिन्छ । उक्त दिन ती महिला कुनै एकान्तमा एक्लै बस्छिन् । आफैं एक गीत रचना गर्छिन र गुनगुनाउँछिन् । एकान्तवासबाट उठेर गएर आफूले रोजेको आफ्नो भावी सन्तानको बाबूलाई यो गीत सुनाउँछिन् । दुबै मिलेर उक्त गीत गाउँछन् । गीत शारीरिक सम्बन्धपश्चात पनि गाउँछन् । यो प्रकृयालाई यसरी पनि हेर्न सकिन्छ कि ती दुबै महिला पुरुष आफ्ना भावी सन्तानलाई बोलाईरहेका हुन्छन् अर्थात स्वागत गरिरहेका हुन्छन् । जुन बच्चाको उनीहरुले कल्पना गरेका छन् ।

जब महिला गर्भवती हुन्छन्, त्यही गीत आफ्ना घरपरिवार छिमेकका महिलालाई पनि सिकाउँछन् । ताकी प्रसव पीडाको समयमा सबैले उक्त गीत गाउन र नवजात शिशुलाई स्वागत गरुन् । उक्त गाना जन्मिएको बच्चाको जिन्दगीको हिस्सा बन्न पुग्दछ । जसलाई हर जरुरी अवसरमा गाईने गरिन्छ । जब उसलाई चोट लाग्दछ उक्त क्षणमा पनि । यहाँसम्म कि कुनै हिम्बा स्त्री पुरुषले अपराध गरेमा सबैभन्दा पहिले उनीहरुलाई गाउँको बीचमा लगिन्छ । सबै मानिसहरु हात समातेर गोलाकार घेरा बनाएर बस्दछन् । फेरि उही गीत उक्त अपराधीलाई सुनाउँछन् । जुन गीत उसकी आमाले ऊ जन्मिनुअघि नै ग्ुनगुनाएकी थिईन् ।

हामीलाई लाग्न सक्छ कि आखिर यो सब गर्नुको औचित्य के हो ? तर हिम्बा जनजाती सुधारको लागि दण्डलाई महत्व दिँदैनन् । बरु व्यक्तिलाई पुनः उसको पहिचान र जरासँग जोडिदिनु जरुरी मान्दछन् । यसो गरेर उनीहरु सम्झाउँछन कि तिमीहरुको असली गीत त यो यो हो कि तिमीहरु कति निर्दोष थियौ, निस्पाप थियौ यो के गर्न लाग्यौ अहिले तिमीहरुले ? हिम्बा समुदायका मानिसहरु गल्तीमा पश्चाताप गर्नुलाई प्रमुखता दिन्छन् । मानसिक निर्दोषिता भुल्न दिँदैनन र पुनस्मरण गराउँदछन् । र, जब मानिस मर्दछन्, त्यसबेला पनि मृतकको शबदहन गर्ने सिलसिलामा महिलाले बच्चा नजन्माउँदै रचेको गीत गाउँछन् । अन्तिम पटक ।

समाजलाई बाँधिराख्ने हिम्बा जातीका गीतले मात्रै पनि मानिसका हर सुखदुख र उतारचढावलाई प्रकृयाको रुपमा बुझाईराख्न सम्झाईराख्न कस्तो मीठो भूमिका खेलेको । एउटा कटेरोमा ३० जनाभन्दा बढी मानिसहरु बस्दछन् । सामूहिक रुपमा कामको बाँडफाँड गरिएको हिम्बा जातीका एक हुल महिलाहरु दाउरा र पानी ओसार्न निस्कन्छन् भने अर्को हुल महिलाहरु खाना बनाउँछन् । पुरुषहरु गाईबस्तु गोठालाको काम गर्छन् । किशोरीहरु भने परिवारका थुप्रै अरु साना बालबालिकालाई ख्याल गर्ने काम गर्छन् । बडो गजबको कार्यविभाजन र जिम्मेवारी छ । सन् १९९० मा नामिविया स्वतन्त्र भएयता भने त्यहाँका आदिवासी हिम्बा जातीहरु मिश्रित जीवन ज्यून थालेका छन् आदिवासी संस्कृति पनि र आधुनिकतातिर पनि । यति जानकारी पढेपछि अवश्य पनि हिम्बा जातीहरुको बारे धेरै नै जान्ने ईच्छा लाग्छ होला, मलाई पनि र अरु पाठकहरुलाई पनि ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button