एउटा यस्तो किताब जसले रिमाललाई ‘पागलै’ बनायो र अनुवाद नगरिरहन सक्दैसकेनन्

भानुभक्त, लेखनाथ, महाकवि देवकाेटा, सिद्धिचरण श्रेष्ठ, गाेपालप्रसाद रिमाल, भवानी भिक्षु र भूपी पनि भएकाे अनुभूति अनुवादकलाई !

कमलेश्वरकाे ‘कितने पाकिस्तान’काे ‘शरणार्थी शिविर!’

अरविन्द रिमाल
अनुवाद

अरब अमीरातकाे एक महासामन्तकाे निजी दरवारीकाेठीकी भारतीय भित्रेनी बिलकीस रहस्यमयी ढङ्गले मारिएकी हुन्छ । उसले र युद्धरत जापानी सेनाकाे याैनतृप्ति पल्टनमा बलजफ्ती भर्ना गरिएकी र अहिले ७१ वर्ष उमेरकी काेरियाली महिला किम- हकसुनले पनि न्याय मागेकाे प्रसङ्गकाे मुद्दा हेर्न लागेका हुन्छन्, विश्व अदालतका एक सदस्यीय न्यायाधीश अदीव! आफूले अर्दली महमूदलाई पाकिस्तान- कराँचीकाे हवाईअड्डाबाट ज्यूदाँ छँदाछँदै आफ्नाे जिन्दगी ज्यून नपाएका जिन्दगीलाई अदालतसामु तुरुन्त ल्याउन पठाएकाेमा अहिलेसम्म उसलाई अदालतमै उभ्भिरहेकाे देख्दा जिल पर्छन् । अर्दली हुकुम तामेल गर्न कुदेर जान लाग्छ । त्यहीबेला अदालतमाथि भीषण हमला हुन्छ– नाराबाजी हुन्छ, भटाभट गाेली चल्छ, न्याय पाउन आएका मुर्दाहरु फेरि मारिन्छन्! तर कसले कसलाई मारिरहेमाे थाहा हुँदैन किनभने संसारका साह्रा पाकिस्तानका वाशिन्दा आफ्नै जातिका वाशिन्दलाई काटमार गर्न (खून के प्यासे हाेलगए थे) बहुलाएका हुन्छन् ।

अदीव आत्तिँदै- कराउँदै- चिच्याउँदै: “याे के भा´? यस्ताे बेसाेमतिलाे (बदतमीजी) ? हामी त मानिसकाे भाग्यकाे फैसलासँगसँगै ज्यूँदा मान्छेकाे जिन्दगीकाे फैसला गर्न पनि यहाँ बसेका हाैँ । याे मुर्दाहरुका अधिकार मात्रकाे कुरा नभई, ज्यूँदा मानिसका अधिकारकाे पनि माम्लाे हाे” भन्दै गए तर हल्ला शान्त हुँदैन, धुआँ, विस्फाेट, गाेली पड्केका आवाज, चीत्कार, आगलागी बढ्दै जाँदा अर्दली बल्लतल्ल अदीवलाई जाेगाएर अन्तै लैजान्छ ।

अब १६औँ अध्यायकाे कथा

दगुर्दा दगुर्दा हायलकायल भई लखतरान् भएर कहाँ पुगियाे भन्दा त उनीहरु आगाेसरी पाेल्ने बालुवाले भरिभराउ बियाबान मरुभूमिमा पुगेका हुन्छन् । तर उनीहरुले यसकाे नाम निशान थाहा पाएका हुँदैनन् ।

नराम्ररी थाकेका अदीव आफ्ना साथीभाइ र समकालीन राकेश, रेणु, दुष्यन्त, राही, परसाई, रघुवीर ,श्रीकान्तका साथसाथै ती सबै जीवन्त मित्रहरुलाई जाे आआफ्ना कलमकाे सच्चाईबाट याे संसारलाई अरु राम्राे बनाउन चाहन्छन्, उनीहरु सबैलाई बाेलाई देउ भन्छन्, अर्दलीलाई: “उनीहरुलाई मलाई सघाउन भनन, म साह्रै नै एक्लाे अनुभव गरिरा´छु! संसारलाई उनीहरुकाे खाँचाे छ भन्देऊ न!”

“हामी कहाँ गइरा´ छाैँ, हजुर?” अर्दली साेध्छ ।

“यहाँ दिशा त छँदैछैनन्, जहाँ गाेडा उठ्छ त्यतैतिर लाग्छु,” अदीव भन्छन् ।

बालुवा, बालुवाबाहेक अरु केही देखिँदैन, कतै कुनै बाटाेकाे चिन्हसम्म हुँदैन। आखिर एक दिन अर्दली मनकाे बह नपाेखीरहन सक्तैन: “हजुर, हिँडन त हामी यति धेरै हिँडिरहेका छौं तर पुग्नचाहिँ कतै पुगिन्न, किन हाेला ?”

“हिँड्नु एउटा कुरा, पुग्नु अर्काे कुरा हाे ! यी दुवैलाई किन मिलाउँछाैँ, तिमी ? यसकाे सबुत के हाे भने यी अडेका शताब्दीहरु जाे लाखाैँ कराेडाैँ वर्षअघि हिँडेका थिए नि, त्यहीँ पुगे जहाँबाट ती पहिले हिँडेका थिए, “अदीव सम्झाउँद छन्, हताश- निराश अर्दलीलाई । बीचबीचमा उनीहरु धर्महरुका बासहरु फेला पार्छन्, अनि ती बासहरुले उनीहरुलाई उही बियाबान मरुभूमिमा पुर्‍याई दिन्छ ।

अर्दली बिचराे अदीवकाे कुरा बुझ्दैन । अदीव सम्झाँउद छन्: “हरेक चीजले आफ्नाे काम गर्दछ,बुझ्याै ? अँध्याराे आँउछ तर त्याे आफू कति हिँडेरआ´काे आफूलाई साेधेर आ´काे हुँदैन! उज्यालाे आँउछ, त्याे पनि आफ्नाे हिँडाईकाे हिसाबकिताब राखेर हिँडेकाे हुँदैन …”

हाकीमसा´ब त फेरि बत्तिए भन्ठानेर क्यै नबाेल्नु नै जाती भन्ठान्छ, अर्दली । आखिरमा केही परतिर एउटा छाया जस्ताे देखा पर्छ । अनि छक्कलाग्दाे के भने, छाया कहिले बिलाउँछ त कहिले फेरि देखापर्छ । अदीव आँखालाई दूरबीन बनाएर पटक पटक हेर्छन् । अनि त्याे छायाले पनि उनलाई हेर्छ अनि दगुर्दै आएर उनलाई ग्वाम्लाङ्ग अङ्गालाे मार्छ: “ओहाे, अदीव! तिमी ह्याँ ? हिन्दुस्तानबाट कहिले आयाै ?”

“ओहाे कमरेड इमान नाजीश , तिमी? पाकिस्ताबाट कहिले आ´काे ? अँ, बन्नेभाइ, हाम्रा सज्जाद जहीर कहाँ छन् नि ? तिमीलाई कस्ताे छ, इमाम भाइ ?”

“म ठीकै छु, अनि ठीक पनि छुइन ! ज्यूँदाे पनि छु, अनि मुर्दा पनि ! म त पाकिस्तान गा´थ्येँ, राजनीतिकाे लागि, गरीबहरुकाे लडाई लड्नका लागि । म पाकिस्तान ,गा´थ्येँ, आफ्नी पत्नी, आफ्नाे घरवार अमराेहामा छाडेर !”

अदीवलाई थाहा छ, के भा´थ्याे भन्ने कुरा । तर पनि अदीवले उनलाई: “तिमीले पाकिस्तान जिन्दावादकाे नारा लगाएकाथ्यौ ! र सिन्ध असेम्बलीमा जी. एम. शैयदले पनि पाकिस्तानकाे समर्थन गर्‍याथ्ये । बन्ने भाइले पनि पाकिस्तान श्रमजीवी जनताकाे मुलक हाेईन, त्याे त बडेबडे पूँजीपतिहरुकाे मुलुक, धर्मकाे घृणाले भरिएकाे जगमा बनेकाे मुलुक पाे हाे भन्ने बिर्स्याथ्ये । तिमी मार्क्सवादी, त्यै धार्मिक घृणाद्वेषलाई त्यतिबेला धार्मिक- साम्प्रदायिक जरुरत ठानेर मुलुकलाई टुक्याउन मानि´राथ्याै । तिमी धर्म जनसाधारणका लागि अफीम हाे भन्थ्याै, तर धार्मिक र भाषावादी वर्णवादलाई उक्साई रा´थ्याै, त?” नभनिरहन सकेनन् !

यसरी अदीवकाे एकपछि अर्काे ठाेकाईबाट तिरमिराएका इमाम नाजीस पनि कुर्लिकुर्लि उड्किन थाले: “तिमी पनि कहाँ, के फरक थ्याै´र ? त्यतिबेला अदीव, तिमी, अमृता प्रीतम, कर्त्तारसिँह दुग्गल, माेहन राकेश, भीष्म साहनी, देवेन्द्र सत्यार्थी, र कहाँसम्म भने तिम्रा यशपाल, अश्क र अज्ञेयसम्म चूप थिए । तिमीहरुले विभाजनपछिका भयावह दृश्यावली- घटनाक्रम (हाेलनाक मंजर काे)लाई प्रस्तुत त जरुर गर्‍याै तर ईमान्दार तमाशे झैँ ! मंटाेले मात्र टाेबाटेक सिँहकाे लाश´ सिमानाकाे बेवारिसीदसगजा´मा फ्याँकेका थिए । हाे, हामीले गल्ती गर्‍याैँ, तर तिमीले पनि त त्याे गल्तीमा सघाएकाे हाेइनाै र ?”

इमाम नाजिश रन्कैमा थिए,भन्दै गए: “सज्जाद जहीर पाकिस्तान कम्युनिष्ट पार्टीको महासचिव भएपछि म पूर्वी पाकिस्तान छाडेर पश्चिम पाकिस्तान गएँ र त्यहीँ पुगेपछि हामीलाई धार्मिक जगमा बनेकाे मुलुक पाकिस्तानकाे वास्तविकता थाहा भयाे । मैले बङ्गाल गएपछि पाे बुझेकाे थिएँ, जातियताकाे नाममा देशलाई तय गर्नु कस्ताे गल्ती रहेछ भनेर !”

“तर अब त सबै मुलुकहरुमा घृणाईर्ष्याकाे अलगअलग पाकिस्तान बनाउने काेशिश भइरहेछ !” (अदीवकाे भनाईमा भरिएकाे व्यथा याे अनुवादक अनुभव नगरिरहन सक्दैन! उनी भन्दै जान्छन्)

“के भएन बाेस्नियामा ? के भएन साइप्रसमा ? के भएकाे छैन अघि टुटेकाे साेभियत संघमा वा अब बनेकाे रुसी संघमा ? के भइरहेछ आजकाे अफगानिस्तानमा ? हरेक मान्छे घृणाकाे ताउमा आएर आफ्नै मानिसहरुविरुद्ध एउटा अर्काे पाकिस्तान बनाउन चाहन्छ ।”

यतिकैमा बालुवैबालुवाको सुनसान जङ्गलबाट एउटा आवाज आयाे: “घृणाईर्ष्याले नै अब मान्छेकाे चिनारी दिन्छ, घृणाबाटै मान्छे र उसकाे जातीय समुदाय चिनिन थालेका छन् । घृणाजन्य एकताकाे लागि अतीत कामलाग्ने हुन्छ । अतीतकाे घाऊचाेट (दंश),गाैरव र ती अठ्याँउने, दुखाउने र रसाउने सम्झनाहरु ! इतिहासले आफ्नाे अतीतलाई सच्याउने दृष्टि दिन सक्दछ, तर इतिहासलाई पनि त अतीतकाे अग्निकुण्डमा जाकिदिइन्छ र त मार्‍याे ! इतिहासकाे विश्लेषण, त्यसको सामाजिक व्याख्याले मान्छकाे घृणालाई तर्कवितर्कले भरिदिन्छ । तर अतीत त तर्कवितर्ककाे पद्धतिलाई स्वीकार गर्दैन । त्यसले त खालि आँशिक सत्यहरुलाई स्मृतिका कहानीहरुमा बद्लिदिन्छ र तिनलाई सयाैँ वर्षसम्म ज्यूँदै राखिदिन्छ । घृणा एउटा त्यस्ताे पाठशाला हाे जसमा पहिले आफैँलाई यातना दिइन्छ, अपमान गरिन्छ र रोप्यारोप्यै, चिर्‍याचिर्‍यै गरी । त्यसलाई घृणाकाे मलले रसाइन्छ अनि त्यसमा स्मृतिहरुलाई पूरै मिसाएर बदलाकाे धारिलाे हलाेले जाेतेर गाेडमेल गरिन्छ । त्यसैले घृणावादीहरुका तर्क एकाेहाेरे र उस्तैउस्तै हुन्छन् । तिनीहरुसँग धेरै कुरा हुँदैनन्, ती हजारौँ- लाखौंँ मुखहरुबाट एकै स्वरमा बाेल्दछन्, एकैनासे प्रश्न उठाउँदछन्, एकैखाले जवाफ दिन्छन्, यिनै तिनकाे एकतालाई चिनाउने चरित्र बन्छ ।”

“महमूद, याे काे भाषण गरिरहेछ, हँ ?”, अदीव साेद्धछन् ।

“श्रीमान, यी यहुदी लेखक अमाेस ओज हुन् ।”

“अनि, एक लेखक! याे मरुभूमिमा के गरिरा´छन् त ?”

“मैले उनी यहीँ बस्छन्, नेगेब मरुभूमिकाे अरद शहरमा भन्ने थाहा पाएकाे छु ।”

“यहाँ शहर कहाँ छ त ?”

“एउटा बस्ती छ, हजुर !”

“बस्ती ?”

“हाे, हजुर ! याे मरुभूमि बस्तीमा संसारका जम्मैजसाे शरणार्थी लेखक आएर बसेका छन् ।”

“ल हिँड, म तिमेरुलाई लैजान्छु ! आऊ”, अमाेस ओजकाे छाँयाले भन्याे र त्याे अघिअघि हिँड्याे ।

उनीहरु हिँडदै गए, हिँडदै गए,कति गए थाहा भएन । बाटाेभरि इमाम नाजीशले आफ्नाे दु:खले भरिएकाे पछुताे कहानी सुनाउँदै गए !

“जिन्दगीका बाटाेघाटाे धेरैजसो पछुताेबाटै खुल्दछन्” अदीवले भन्नासाथ अमाेज ओजले टिप्पणी गरे: “तर अप्ठेराे के छ भने अँध्याराका बाढी एकैसाथ कहाँ आउँछन् र, र पछुताेकाे अनुभूति पनि एकैसाथ हुँदैनन् । तिनमा समयकाे अन्तराल रहन्छ, त्यसैले त शताब्दीऔँ र जातिहरु रगतपच्छ भइरहन्छन् ।”

“हाे, त्यो त ! एउटा पछुताे उठ्न पाएकाे हुँदैन, त्यतिञ्जेलमा, कतै कुनै अर्काे अँध्याराे बाढी आइसक्दछ अनि धेरैपछि त्यसकाे पछुताेकाे चरण शुरु के हुन लागेकाे हुन्छ, त्यतिञ्जेलसम्ममा तेस्राे,चाैथाे, पाँचौं अध्याराेले ढाक्न लाग्दछ !”

अदीव आफ्ना कुरा के भन्न लागेका हुन्छन्, अमाेस ओजले सामुन्ने औँल्याउँदै भने: “उ त्यै अघिल्तिर ! यही हाे संसारका लेखकहरुकाे शरणार्थी शिविर !”

ससाना सेता पालहरुकाे बस्ती सामुन्ने देखिन्थ्याे । बस्तीमाथिमाथि बालुवाका ससाना पुतली उडिरहेका थिए ! अदीव दगुर्दै त्यहाँ पुग्या के थिए, छक्क परे- आ-आफ्ना पालहरुमा सबै त बसिराख्या !

कवीर, ताेल्सताेय, टैगाेर, एगनान, कजांती जाकिस, राहुल सांकृत्यायन, दिनकर, चेखभ, कामू, प्रेमचन्द, लु सून, मिलान कुंदेरा, ब्रेख्त, निराला, सार्त्र, हजारीपर्साद द्विवेदी, मीर, साैदा, गालिब, फैज, फैजी निजामि, मंटाे, कृशन चन्दर, राजेन्द्रसिँह बेदी, दुष्यन्त कुमार, रेणु, राकेश, रघुवीर सहाय, प्रसाईं, श्रीकान्त, मुक्तिबाेध । अदीव त सबैलाई चिन्थे । [याे अनुवादकले पनि त्यहाँ भानुभक्त, लेखनाथ, महाकवि देवकाटा, सिद्धिचरण, गाेपालप्रसाद, भवानी भिक्षु र भूपीलाई देख्याे।] शरणार्थीका रूपमा सबै आ-आफ्ना पालमा बसेका थिए । बस्ती बालुवाकाे एउटा नदी किनारामा बसेकाे थियाे । समय बालुवाकाे धारासरह बगिरहेकाे थियाे ।

समयलाई यसरी बगेकाे देख्नु अदीवका लागि बडाे अनाैठाे अनुभव थियाे । कैयाैँ शताब्दी सँगसँगै बगिरहेका थिए । बालुवाका छिँटा उनीमाथि झर्दापर्दा उनलाई बडाे सञ्चो भयाे ।

यत्तिकैमा महमूदले आएर सुझायाे: “हजुर भन्नुहुन्छ भने समयलाई समात् दिउँ ?”

“किन ? के खाँचाे ? समयलाई त यी लेखकहरुले नै समातेर राख्या, देख्दैनाै ? हरेक लेखककाे समय उसकाे कितापमा समातिएकाे हुन्छ । यिनकाे प्रत्येक शब्द समयकाे तागतभन्दा ज्यादा बलियाे साबित भएकाे छ”, यति भन्दै अदीव अमाेज ओससँग अघि लागे ।

बस्तीमा चकमन्न शान्ति थियाे । बालुवाका जुनकिरी चारैतिर भरिएका थिए, बलाैटे खरायाे दगुर्दै आउँथ्ये, खितितिति गर्दै कतै भाग्दथ्ये । कहिले बालुवाका खास्टाे उड्दै आउँदथ्याे, फेरि फाट्दथ्याे र त्यसका टुक्रा पुतली बन्न पुग्थ्ये । अनि ती पुतली बस्ती पारी पुग्दथ्ये ।

लेखककाे पूरै समूह एउटा ठाउँमा भेला भा´थ्याे । त्यहाँ मनुष्य- गाथामा कुरा चलिरहेकाे थियाे ! हजारीप्रसाद द्विवेदी त्यतिबेला केही भनिरहेका थिए- “मिथक त एउटा अलाैकिक कथा हाे, त्याे अलाैकिक कथा, जसकाे पहिलाे अनुभव मनुष्यले प्रकृतिसँग गरेकाे थियाे र आफ्नाे सङ्कल्पशक्तिले उसले आफ्नाे त्यस लाैकिक अनुभवलाई अलैकिक र अपराजेय बनाइदियाे । यी पूराकथाहरु माैखिकरूपले भनिँदै गए, भनिँदै गए । यिनै मनुष्यगाथाहरु, यिनै मिथक, यी नै पूराकथा पाैराणिक इतिहासमा बद्लिए, तिनैबाट धर्मकथाहरु निस्के, धारणाहरु स्थापित भए र तिनैबाट सङ्कीर्ण धर्महरु जन्मिए ।”

(कुरा हुँदैजाँदा ईराकी बेबीलाेनियाली सभ्यताकाे उत्पत्तिकाे उल्लेख भयाे । मारदुक त्यस सभ्यताकाे परमपुरुष भयाे ।उसले बेबीलाेन नाम गरेकाे महामन्दिर बनायाे । अनि मारदुकले नै आफ्नाे पूर्वजा तियामतकाे शरीरलाई टुक्र्याएर अन्य भाैतिक सत्ताहरुलाई उत्पन्न गर्‍याे, टुक्रिएकाे शरीरकाे पीडाबाट तियामतका आँखाबाट निस्केक बलिन्द्रधार आँसुबाट दजला र फरात नदी बने अनि सृष्टि कथाकाे थालनी भयाे । तियामतकै हाडरगतबाट नै अनि बर्वर मनुष्य जन्मेकाे प्रसङ्ग चल्याे)

“हाे, त्याे साँच्चिकै अर्थमा ककेशियाकाे आर्य सभ्यता थियाे । म त्यही मूल आर्य सभ्यताकाे वारिस हूँ”, एउटा कर्कश आवाजले शान्त मरुभूमिकाे निस्ब्धतालाई चिरी दियाे ।

“याे काे स्वाँठ हाे ?”, अदीवले साेद्धा महमूदले “हजुर, याे मान्छे हिटलर हाे, जर्मनीकाे नाजी हिटलर” भन्याे ।

“त्यै दानव, जसले संसारलाई नै ध्वस्त गर्ने ठानेकाे थियाे ? यसलाई आफ्नाे अघिल्तिर देख्दा मेराे कम्पारै फूट्छ, रगत उम्लिन्छ ! यसलाई खाेरमा जाक ! यसलाई मेराे अदालतमा उभ्याउने तारिख मै ताेकुँला ! म असाध्यै थाकेकाेले केहीबेर सुस्ताउँ कि भन्या ।”

“हस्, हजुर आराम गर्नाेस्” भनेकाे मात्र के थियाे अर्दलीले बाेईपताङ्गमा चलेकाे गाेली र उनन्चालीस लाशहरुले ढाेका ढक्ढकाए ।

महमूदले तिनीहरुलाई राेक्दै “साहेब आराम गरिरहनुभा´छ! मानवीय शिष्टाचारकाे पनि त केही नियमकानून हाेलान् नि, हाेइन, र ? तपाईं जुनसुकै बेला पनि ढक्ढकाउन सक्नुहुन्न,क्या !” भनेर सम्झायाे । तर त्यतिञ्जेल चिच्यावट, चीत्कार, र ढकढकाईकाे हाेहल्लाले अदीवका कानका जाली फूट्ला जस्ताे हुनासाथ उनी पनि कराए:

“महमूद, आउन देऊ तिनीहरुलाई ! बर्वरता, कष्टपीडा, यातना, अमानवीय घटनाका शिकार भएका मानिसहरुलाई आउन देऊ ! याे मानवी अदालत हाे, कानूनकाे नपुंसक र अपाङ्ग अदालत हाेइन । हाम्राे अदालत प्रत्येक मानवीय अत्याचारविरुद्ध खुला छ, खुला रहन्छ । त्यसैले जजसले ढकढकाउँ छ, उसलाई आउन देऊ ।”

यति सुन्ने बित्तिकै उनन्चालीश लाशहरुले एकैसाथ चिच्याए: “हामीलाई जुलू आतङ्कवादीहरुले मार्‍या हुन् !”

“कहाँबाट आ´का तिमीहरु ?”

“दक्षिण अफ्रिकाबाट । त्यहाँका प्रधानमन्त्री डी क्लार्ककाे षडयन्त्रबाट हामीलाई बाेईपताङ्गकाे बस्तीमा मार्‍या हुन् । ल भन्नाेस् त, हाम्राे दाेष के हाे ?”

“दाेष ? दाेष यत्ति हाे, तिमीहरु शाेषित जातिका गरीब मान्छे हाै !”

“तर जुलू पनि त हामी जत्तिकै शाेषित र गरीब छन् नि ! हामीहरु एकै वर्णका हाैँ तर यी कुहिरेहरु हामीलाई हाम्रै जातिका मान्छेबाटै मारिरा´छन् ।”

“गरिबी र भाेकमरीकाे कुन‌‌ जातजाति हुँदैन ।”

“तर हामी ती कुहिरेहरुसँग बदला त लिन्छाैँ लिन्छाैँ ।”

“छाड, हटाउ, याे बदलाका कुरा ! आखिर, कति शताब्दीले कति शताब्दीसँग बदला लिने ? सिल्ली भयाै, तिमीहरु सब !”

“हस् हजुर, हजुर थाक्नुभा´ छ, आराम गर्नाेस् । त्यतिञ्जेलमा हामी आफ्ना घाउचाटलाई धाेईधाई गर्नछाैँ” भन्दै बाेईपताङ्गका सबै लाशहरु एकातिर लागे । अदीवले चैनकाे सास फेरे, सञ्चो मानेर ! अनि एउटा तकिया यसाे तानेर के सिरान हालेका थिए, तकियामुनि थिचिएका जम्मै कागजपत्र परेवाका प्वाँख जस्तैगरी निस्केर उड्न थाले ।

अदीव चकित परे: “ओहाे ! जिन्दगी, तिमी तकियैमुन्तिर थिचिएर बस्या छ्याै ?”

जिन्दगी कुनै जवाफ नफर्काई बस्याे- चूपचाप, सन्नाटा ।

“हाेइन, जिन्दगी ! तिमी छाै कहाँ ?”, अदीव चिच्याए । तर पनि कतै कुनै उत्तर आएन ।

“हजुर, कुनै अपठेराेमा अल्झिनु भा´जस्ताे छ। म केही सघाउँ, हजुरलाई ?”, बडाे आदरपूर्वक महमूदले साेध्याे ।

“हुन्छ भाइ, हुन्छ ! कहीँबाट जिन्दगीलाई बाेलाएर ल्याउ ! म केही बेर ज्यून चाहन्छु ! कसै गरेर भए पनि तिमी मेराे अधुरै लेखिएकाे जिन्दगीलाई फर्काएर ल्याईदेऊ,भाई ! जहाँबाट भए पनि ल्याऊ, कृपया लिएर आऊ”, अदीवले भने ।

“हस्, म अहिल्यै गएर ल्याउँछु, हजुर” भन्दै महमूद बाहिर गयाे ।

(कमलेश्वरकाे अप्रतिम कथालाई अभिनन्दन !)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button