लुम्बिनीबाटै छोरालाई आमाको विशेष ‘बुद्ध’ पत्र

बुद्धपुर्णिमा

प्रिय छोरा
धेरै धेरै आशिर्वाद

आज बुद्धपुर्णिमा, लुम्बिनीमा आज विशेष चहलपहल छ । आजकै दिन भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको दिन । विश्वभरबाट बुद्ध र बुद्धदर्शनप्रति आस्था राख्ने मानिसहरू यहाँ उपस्थित भएका छन् । म यो पत्र तिमीलाई लुम्बिनीमै बसेर लेख्दैछु ।

विश्व भौतिक विकासको गतिमा अगाडि बढिरहेका मुलुकमा पनि अहिले बुद्धप्रति चासो बढिरहेको छ। नेपालीहरुको गौरव गौतम बुद्ध हाम्रा मात्र नभएर विश्वकै गौरव बन्नुभएको छ । विश्वकै प्रकाशपुन्ज हुनुहुन्छ उहाँ । आज उहाँको २५६६ औं जन्मजयन्ती मनाइँदै छ । शाक्यवंशी राजकुमारको रुपमा जन्मिएका सिद्धार्थ गौतमले राज्यत्याग गरेर, सुखसुविधा त्याग गरेर सारा मानिसमात्रको लागि ,सबैको शान्तिको लागि ज्ञानको खोजी गरेको कारण उहाँ त्यागका प्रतीक हुनुहुन्छ ।

सानो कक्षादेखि नै तिमीले वुद्धको जीवनी त पढेकै छौ । शान्तिका अग्रदूत, विश्वशान्तिका नायक आदि विशेषता पनि सुनेकै छौ । बुद्धको बारेमा पढ्ने,जानकारी राख्ने कामले मात्र गौतम बुद्धको वास्तविक बुझाइ हुदैन। बुद्ध ज्ञानको प्रतीक हो । बुद्ध शब्दको अर्थ बोध हो, जागृति हो । बुद्ध विद्या र आचरणले युक्त यथावादी तथाकारी हो । भनाइ र गराइ बिल्कुल मिलेको व्यक्ति हो । सम्पूर्ण क्लेशलाई भग्न गरिसकेकोले बुद्धलाई भगवान् भनिएको हो ।

बुद्धको पूजा भनेको बुद्धले सिकाएका शील समाधि र प्रज्ञाको निरन्तर अभ्यास गर्नु हो । बुद्ध काल्पनिक देव पनि हुनुहुन्न्, अलौकिक पनि र चामत्कारिक देव पनि हुनुहुन्न ।

भगवान बुद्धको उपदेश र शिक्षा मानव जीवनको लागि ठूलो वरदान हो । जीवनमा साँच्चै नै सुखशान्ति ल्याउने हो भने, सामाजिक, राजनैतिक, आर्थिक, क्रियाकलापहरु पनि बुद्ध शिक्षा र ज्ञानको आलोकमा अगाडि बढाउनुपर्छ । उहाँको शिक्षाको मुख्य उद्देश्य नै मानव जीवनलाई सुखमय बनाउनु हो । बुद्धले प्रकृतिको नियमको गहिरो अध्ययन गर्नुभयो । बुद्धले अहिंसाका मात्र कुरा गर्नुभएन । बुद्ध विचारको प्रासंगिकता आज पनि उत्तिकै छ । आज पनि बुद्धवाणीहरु उत्तिकै प्रभावकारी छन् । त्यो समयमा पनि बुद्धले सामाजिक समानतामा जोड दिनुभयो । महिला स्वतन्त्रता, समानता, जातीय समानताका पक्षमा बुद्धले प्रस्तुत गरेका विचार र व्यवहार मननीय छन् । भगवान बुद्धले स्थापना गरेका भिक्षु संघ र भिक्षुणी संघ दुवैको संगठन र संचालन ढाँचा अध्ययन गर्दा यस्तो महसुस हुन्छ कि बेलायतमा प्रजातन्त्र आउनुभन्दा दुई हजार वर्ष पहिला नै बुद्धले आफ्नो संघमा प्रजातान्त्रिक पद्धति लागु गरिसक्नुभएको थियो । उहाँ चौध भाषामा दक्ष हुँदा हुदै पनि तत्कालीन जनभावना बुझेरै लोकभाषा पालिमा उपदेश दिनुभयो ।

बुद्धले जन्मले न कोही ब्राम्हण, न कोही अछुत हुदैन भन्दै मानिसको मूल्य उसको जातिबाट नभएर कामबाट हुन्छ भन्दै जन्मको आधारमा ब्राह्मण र अछुत मान्ने वैदिक मान्यतालाई अस्वीकार गर्नुभयो । तिमीले देखेकै छौ, अझै पनि मानिसमा त्यो चेत आउन सकेको छैन ।

मानिसहरूलाई यो भ्रम अझै छ कि बुद्धले अहिंसाका मात्र कुरा गर्नुभयो तर होइन उहाँले व्यक्त गरेका विचारहरू र उहाँका आचारहरु मानवजीवनका प्राय सबै क्षेत्रमा प्रासंगिक छन् । वर्ण समानता,महिला समानता, जातीय समानता, गरीबी, अपराध, हिंसा, आतङ्कवादको अन्त्य जस्ता समसामयिक विषयमा पनि बुद्ध दर्शनको अध्ययन आवश्यक छ । शासक कस्तो हुनुपर्छ,के कस्ता जिम्मेवारी र कर्तव्य शासकमा हुनुपर्छ, राज्यको सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध आदि जस्ता विभिन्न विषयमा बुद्धका वचनहरु अहिलेको समयमा पनि उत्तिकै महत्वपूर्ण छन् ।

भगवान बुद्धले बोधिज्ञान प्राप्त गरिसकेपछि को ४५ वर्ष ग्राम-ग्राम, निगम-निगममा धम्मचारिका गरेर हिँड्नुभयो, जीवनका हरेक पक्षमा उपदेश दिनुभयो । उहाँका उपदेश उहाँको जीवनकालभरि लेखिएन । त्यतिबेला लेखन भन्दा पनि श्रुति स्मृतिको परम्परा थियो । उहाँका शिष्यहरुले कण्ठस्थ गरेर राखेको बुद्ध वाणी विभिन्न समयमा भएका संगायनाहरुबाट संङ्ग्रहित गरेर राख्ने काम भयो । मूल ग्रन्थ त्रिपिटक हो । यसमा विनय पिटक,सुत्त पिटक र अभिधम्म पिटक छन् । वर्तमान समयमा प्रविधिको विकास भइसकेको छ, सायद तिमीहरुको पुस्ताले बुद्धबचन पढ्न अब पुस्तक पल्टाइरहनु पनि पर्दैन ।

बौद्ध दर्शन अनुसार जीवन र जगतलाई यथार्थ ढंगले बुझ्नका लागि संसारको त्रिलक्षणलाई राम्ररी बुझ्नु आवश्यक हुन्छ ।यी तीन लक्षण भनेका अनित्य, दु:ख र अनात्म हुन् । जीवन र जगतको यथाभूत ज्ञान पाउनुलाई बुद्ध धर्ममा विशेष महत्व दिइएको पाइन्छ । अनित्य भनेको अस्थिर, परिवर्तनशील हो ।यो संसारमा भएका प्रत्येक जीवित,नीर्जीव सबै कुनै पनि स्थिर,अचल छैनन् ,सबै अनित्य स्वभावका छन्, अनित्य भएकै कारणले त्यसले दु:ख उत्पन्न गर्दछ र अनित्य भएकै कारणले कुनै पनि कुरा मानिसको अधिनमा छैन । त्यसैले आत्म होइन अनात्म हो । तिमी विज्ञानको विद्यार्थी, प्रत्येक वस्तुलाई वैज्ञानिक विश्लेषण गरेर हेर्ने हो भने पनि अणु र परमाणुले बनेको भन्ने कुरा पुष्टि हुन्छ । ती अणु र परमाणु पनि इलेक्ट्रोन,प्रोटोन, र न्युट्रोनले बनेको हुन्छ । यसबारेमा पछि व्यापक कुरा गरौला ।

बाबु! तिमीलाई थाहा छदैछ हामी बुद्ध विहारमा जाँदा पनि भन्ने गर्छौ नि । बुद्धं शरणम् गच्छामि,धम्मं शरणम् गच्छामि,संघं शरणम् गच्छामि।। यीनलाई बुद्ध धर्ममा त्रिशरण भनिन्छ ।त्रिशरणको स्मरण र पाठ गर्नु बुद्धको नजिक रहने कोशिस हो । बुद्ध ज्ञान, विवेक र प्रज्ञाका प्रतीक भएकोले उनको शरणमा जाँदा हाम्रो अज्ञानता र अशिक्षा हटेर जान्छ । हामी जीवनलाई सार्थक र सकारात्मक बनाउन सक्छौं। धम्मं शरणम् गच्छामि को अर्थ धर्मको शरणमा जानु हो । बहुजन हियाय बहुजन सुखायको सिद्धान्त बुद्ध धर्मको मूल सिद्धान्त हो । यसलाई अनुशरण गर्न सके हाम्रो संस्कार राम्रो हुन्छ । संघं शरणम् गच्छामि को अर्थ संघको शरणमा जानु हो ।मानिस एक्लै कुनै पनि काम गर्न सक्दैन, समूहको आवश्यकता पर्दछ। संघमा ठुलो शक्ति हुन्छ । भगवान बुद्धले पनि संघ बनाएर बुद्ध धर्मको प्रचार गर्नुभएको थियो ।

बाबु ! बुद्ध धर्म पूर्णरुपमा वैज्ञानिक धर्म हो यसमा रुढीवाद, अन्धविश्वास छैन । वैज्ञानिकले जसरी वैज्ञानिक प्रयोग, विश्लेषण, विभाजन गरेर निष्कर्षमा पुग्छन् त्यस्तै बुद्धले शरीर,चित्त र प्रकृतिको प्रयोगशालामा प्रयोग गरेर जीव जगत र त्यसको सत्यताको विश्लेषण गर्नुभयो । बुद्धले दिएको पहिलो उपदेश चार आर्य सत्यको ज्ञान हो । यो उपदेशको राम्रो मनन गर्दा पनि धेरै हदसम्म जीवनबोध हुन्छ । पंचशीलको पालना मात्रले पनि समाजमा सकारात्मक परिवर्तन हुनसक्छ ।

हामी भगवान बुद्धलाई नेपालका गौरव मान्छौ, श्रद्धा गर्छौ ,उनको पूजा गर्छौ, बुद्ध स्मरण गर्छौ । वास्तवमा बुद्धको पूजा त्यो हो जब हामी हाम्रो आचरणमा बुद्ध अनुयायी बन्छौ । अहिलेको समयमा विचार राम्रो राख्ने, सोही अनुसार आचरण नगर्ने प्रवृत्ति बढेको छ । बुद्धका भव्य र आकर्षक मुर्ति र तस्वीर राखेर प्रदर्शन गर्दैमा वास्तविक बुद्धपूजा हुनसक्दैन । हामीले बुद्ध आचरण पनि गर्नुपर्छ । बुद्ध दर्शनलाई मानवजीवनका विभिन्न क्षेत्रमा प्रयोग गरेर हामीले सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्न सक्छौ । अहिले विश्व जतिसुकै भौतिक विकासमा अगाडि गएको छ त्यति मानसिक शान्ति खस्कदै गएको छ । मानसिक शान्तिको लागि बुद्ध दर्शन अचुक औषधि हो । भगवान बुद्ध विश्वको पहिलो मनोवैज्ञानिक लाग्छ मलाई । कति धेरै प्रसङ्गहरू छन् उहाँले जटिल कुराहरुलाई पनि सहज तरिकाले बुझाउन सकेका ।

अहिले विश्वको चासो बुद्ध र बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएको छ । बुद्ध शिक्षाको महत्व बुझेर विभिन्न देशले राष्ट्रिय जीवनमा अपनाएर प्रगति पनि गरेका छन् । अब हामीले पनि गाउँ, समाज र राष्ट्रव्यापी रुपमा कालजयी र सार्वजनीन बुद्ध दर्शन, शिक्षालाई बुझ्नु जरुरी छ किनकी अब नेपाल पनि उठ्नु जरुरी छ । तिमी र तिम्रो पुस्ताले अझै बुद्ध, बुद्ध धर्म र दर्शनको बारेमा धेरै कुराहरु बुझ्नु छ, अरुलाई पनि बुझाउनुपर्ने छ तर एउटै पत्रमा धेरै समेट्न कहाँ सकिन्छ? अर्को पत्रमा बुद्ध धर्म र दर्शन सम्बन्धमा अरु कुराहरु गर्ने नै छु। तिम्रो बुद्ध प्रति देखाएको चासो र राखेका प्रश्नहरुको यसरी नै उत्तर दिने मेरो प्रयास रहिरहनेछ । आजलाई यत्ति नै । बाँकी अर्को पत्रमा ।

भवतु सब्ब मङ्गलम्

कविता पन्थी


(
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button