
रोचक-घोचकः नेपालीले केलाएको जापानको पत्रपत्र
प्रतिभा सुवेदी
। क्याथे प्यासिफिकको उडान ।
जापानका लागि क्याथे प्यासिफिकको उडानमा थिएँ । त्यो हवाईयात्रामा जति बेला पनि सिटवेल्ट लगाउने एनाउन्स गरिरहन्थे । हवाइजहाज पनि झट्का जस्तो दिएर हल्लिरहन्थ्यो । म अलि अलि डराउँदै थिएँ । हवाइजहाज हल्लेपिच्छे म सिटमा अनायस समात्ने गर्थेँ । मेरो सिटको बगलमा सेनामा काम गर्ने नेपाली पुरुषहरु थिए । उनीहरु धेरै उडिरहँदा रहेछन् । मेरो मनस्थिति बुझेर सोधे, ‘तपाई डराउनु भएको हो ? डराउन पर्दैन । कहिलेकाहीँ हवाईजहाजमा यस्तो हुन्छ ।’ त्यो मेरो विदेशको, त्यो पनि एक्लै पहिलो यात्रा थियो ।
उड्दै गर्दा जहाज जापानको आकाशमाथि पुग्यो । साँझको समयमा जापानको आकाशबाट तल हेर्दा यति उज्यालो र झलमल्ल देखेँ कि के भन्ने, रोमान्चक थियो त्यो दृश्य मेरालागि । सडकका दायाँबायाँ जताततै बिजुलीले दिएको यस्तो उज्यालो शहर कहिल्यै देखेको थिइनँ । एकदम राम्रो देखिन्थ्यो । पहिलोपल्ट जापान देखेको साँझको समय उज्यालोले राम्रो प्रभाव पारेको थियो । तालीम केन्द्रबाट लिन आएका थिए । जहाजयात्रा डराउँदै गरे पनि अब ढुक्क भएँ । स्वागतको तवरतरीका र शैली मृदुभाषी थियो । जापानी भाषा मेरालागि भने नौलो हुने नै भयो । तर उनीहरुको स्वागत गर्ने तरिकाले खुशी बनायो । मन पनि ढुक्क भयो ।
यो सम्पर्क हुन मा चाहिं हाम्रो संस्थामा एएचआई (एसियन हेल्थ इन्स्टिच्य’ट) बाट प्रतिनिधिहरु मलाई भेट्न आएका थिए । उनीहरुले पनि हाम्रो संस्थाका बारेमा सोधखोज गरे र ग्रामीण समुदायका लागि विकासका काम गरेको देखेर नेतृत्व विकासका तालीममा हामीलाई पनि मौका दिने विचार गरेछन् । नेतृत्व विकास र स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुचँका लागि वकालत गर्ने काममा कार्यरत यो संस्था जापानको नागोया शहरमा छ । सामुदायिक विकासका क्षेत्रमा लाग्नेहरुको नेतृत्व विकास र स्वास्थ्य क्षेत्रको महत्वबारे चेतना जागरणका लागि एक महिना सम्मको तालीम दिने व्यवस्था छ । एक महिनाका इन्टरनेशनल लिडरसीप डेभलपमेन्ट ट्रेनिंग फर कम्य’निटी अर्गनाइजर्स् विकास कार्यकर्ताहरुका लागि उपयोगी छ । नेपालबाट धेरैले तालीम पनि लिएका छन् । हाम्रो संस्थाबाट पहिलोपटक सन् १९९२ मा मैले हाम्रो संस्थाका एक संस्थापक मध्यकी साथी मीना कार्कीलाई सिफारिस गरेको थिएँ । त्यसपछि अर्को वर्ष सन् १९९३ मा मात्र मैले यो कार्यक्रममा भाग लिएँ ।
विभिन्न देशका मानिसहरुबीचको सिकाई राम्रो लागेको थियो । तालीमको क्रममा कक्षा कोठामा मात्र सिमित नराखी हामीलाई कक्षाकोठाबाहेक पनि धेरै किसिमका भ्रमणमा लगिन्थ्यो ।
समुदायमा घुलमिल पनि गराइन्थ्यो । समुदायका समस्या र चुनौतीहरु, राम्रा प्रयासहरु सबै सिक्ने अवसर भयो । जस्तो साना साना फोहर पानी सफा गर्ने ट्रिटमेन्ट प्लान्ट गर्ने प्रविधिहरु देख्ने मौका पायौं । फोहर व्यवस्थापनका लागि साना घरबाट निस्कने पानीलाई पनि सफा बनाएर पुनः प्रयोग गर्ने तरीका प्रभाव पर्ने खालका देखिए । मानिसहरु पनि यति जिम्मेवार कि घरमा तारेर खाने गरेको आलु, मासु तारेर बाँकी रहेको डडेको तेलको थिग्रा पनि डब्बामा हालेर जम्मा पारेर फोहर संकलन केन्द्रमा नै पुराइदिने गर्दारहेछन् । यसरी सबै सर्वसाधारणको सरसफाइमा चासो भएपछि घर र शहर सफा हुने नै भयो ।
सफा सुग्धर व्यवस्थित जापानका शहरहरु देख्दा अचम्म नै लाग्ने खालका थिए । मानिसहरुमा पनि चेतना जागरण उत्तिकै भएका देखिए । यो समुदाय सफा राख्न गरिएका प्रयास हामी कहा पनि गर्न सकिने थिए होलान् हाम्रा नीति निर्माणमा भएका मानिसहरुले पनि देख्ने मौका पाए होलान् जस्तो भावना मनमा आउँथ्यो । जापान पहिलोपल्ट देख्दा म छक्क परेको थिएँ ।
अर्को छक्क पर्ने विषय, बाहिर लगाएको जुत्ता जापानमा घरभित्र कसैले पनि लैजादैन । यतिसम्म कि कक्षाकोठामा पस्दा पनि सबै विद्यार्थीहरु लगायतले जुत्ता बाहिर फुकाल्छन् । जुत्ता राख्ने ¥याकहरु छन् । अर्को जुत्ता लागाएर कक्षाकोठामा बस्ने व्यवस्था छ । सरसफाईमा त अति नै ध्यान दिएकै कारण यस्तो चलन छ । जुन बयान गर्र्नै नसकिनेजस्तो भयो । कहाँ हामी भने धुलैधुलोको बिच हुर्किएको, स्कुलमा पनि धुलैधुलो भएको चउरमा उर्फिएर कक्षाभित्र गइन्थ्यो ।
स्कुलका विद्यार्थीहरुले कक्षाकोठामा आफना कलाहरु देखाए । कागजका विभिन्न फूलहरु बट्टाहरु साना साना सजावटका वस्तुहरु बनाउन उनीहरु सिपालु थिए ।
नेपालबारे बताउन जाँदा पाहुनालाई पनि उनीहरुले बनाएको कागजको फूल लगाइदिन्थे । अमेरिकी विद्यालयका विद्यार्थीहरुसँग कक्षाकोठामा अनुभव आदानप्रदान गर्न जाँदा भने हवाई यात्रामा जानु अघि एयरपोर्टमा मेटल डिटेक्टर भएर जानु पर्र्दथियो । जापानमा भने यस्तो थिएन ।
। जापानको ओकायामा शहरमा ।
शिक्षिकाहरुसँग कितावका अनुवादकर्ताका रुपमा सम्बन्ध पनि भयो । मैले लेखेकोे नेपाली वमन राइजिङ नामक अग्रेजी पुस्तकको जापानीमा उल्था गर्ने शिक्षिका मिहोक्को, वाकिको चुजिमोतो र ईमिको थिए । उनीहरुलाई गाईड गर्ने फिवि रेभेनहल थिईन् । यी चार महिलामध्ये ईमिकोको घरवार पनि हेर्न पर्दथियो । मिहोक्को र वाकिको चुजिमोतो दुई जापानी महिलाहरु एक्लै बस्द थिए । उनीहरुलाई घरको काम त्यति धेरै गर्नुपर्दैनथ्यो । उनीहरुले बाहिरको काम मात्र गरिरहन्थे । सन् १९९४ मा पुन जापानको ओकायामा शहरमा म बोलाईए । विभिन्न विद्यायलयहरुमा नेपाली समाजको महिलाको स्थिति बारेमा प्रस्तुतीहरु राखिएका थिए ।
जापानको ओकायामा शहरमा आउनेजाने क्रम भयो जापानी शिक्षिकाहरुसँग किताबको कारण सम्बन्ध प्रगाण भयो । ती शिक्षिकाहरु नेपाली गाउँमा महिलाका लागि भएका काम हेर्ने रहरले नेपाल आउने ईच्छा देखाए लेखनका साथै यता नेपालमा काभ्रे जिल्लाको चलाल गण्ोशस्थान गाविसबाट सानासाना महिलाहरुको समूह बनाउँदै सामुदायिक विकासको काम सुरु गरेका थियौ । त्यसपछि मलाई ओकायामा निम्ता गरेका थिए । मेरा कितावका अनुवादक वाकिको चुजीमोतो र मिहोकोले उनीहरुका साथीको घरमा लगे । जापानमा प्रिय पाहुनालाई सम्मान गर्दा चिया उत्सव भनी निम्ता गर्दा रहेछन् । त्यहाँ चिया उत्सव गरी सम्मान गरे । भुईमा बसेर सफा सेरामिक्सको कपमा हरियो तितो किसिमको चिया पिउन दिँदारहेछन् । तितो भएका कारण त्यसपछि गुलियो चकलेट जस्तो खानेकुरा पनि दिदा रहेछन् । त्यो चिया सम्मानको विशिष्ट अर्थ रहेछ, जुन मित्रता, आदर, मनको शुद्वता र शान्तिको लागि गरिँदोरहेछ । आगन्तुकहरुका लागि चिया उत्सव गरिनु ठूलै सम्मान रहेछ । चिया उत्सव जापानी परम्परालाई निरन्तरता दिएको रहेको छ ।
। शिनाकानसेन वुलेट ।
त्यतिवेला शिनाकानसेनको टिकट काटेर विभिन्न स्थानमा घुमाउन लगिन वाकिको चुजिमोताले । शिनाकानसेन नामक वुलेट टे«नमा विभिन्न स्थान हेर्ने मौका भयो । कुराकानीमा उनीहरु भन्दथिए त्यस शहरमा घर घरमा ढोकामा ताल्चा नलगाईकन हिड्दा पनि चोरी हँुदैन भन्दै थिए । त्यस समयमा वाकिको चुजिमोतोले विभिन्न स्थानमा घुमाउन लगिन् । जापानको रेल जसलाई सिनकानसेन भन्छन् । अंग्रेजीमा बुलेट ट्रेन पनि भन्दा रहेछन् । त्यो सिनकानसेनमा यात्रा गर्दा मलाई त बोईड.को हवाई यात्रा भन्दा पनि सुविधाजनक भयो । किनभने हवाई यात्रामा पनि समय समयमा हावामा थर्काउँदछ । हवाईजहाज नै हल्लिदा सिटको पेटी बाँधेर सतर्क भएर बस्नुपर्दा मनमा कताकता भय पैदा हुने गर्दथियो । तर यो रेल त हवाईजहाज भन्दा पनि आरामदायी लाग्यो ।
त्यसपछि उनीहरुले कुरासिकी भन्ने स्थानमा लगे । कुरासिकी पार्कमा धेरै किसिमका फूलका बोटहरु थिए । कतिपय बिरुवाहरु बोनसाई गरेर राखिएको रहेछ । भन्न खोजिएको ठूलो ठूलो हुने बोटलाई गमलामा राखेर जमिनमुनि रोपिदिने अनि काटिकाटीकन होचोमै फुल्ने बनाइएको हुँदोरहेछ । जापानीहरु फूलप्रेमी रहेछन् । उनीहरुको फूल सजावट गर्ने कामलाई इकेबाना भनिन्छ । अर्को कुरा बसन्तको आगमनमा शाकुरा डकमक्क फुलेको हेर्न पार्कमा घुँइचो लाग्छ । शाकुरा फूल वास्तवमा नेपालको पैयुंजस्तै हुँदो रहेछ । आफनोपन आफनो उत्पादन आफनो सास्कृतिक धरोहरहरु बचाउन पनि उनीहरु प्रयत्नशिल पाएँ ।
अर्को चाहीं, सेतोओहासी नामक लामो पुल पनि देखाउन लगे । सेतो ओहासी ब्रिज जापानको ओकायामा प्रिफेक्चर र कागावा प्रिफेक्चरलाई जोडने पुल हो जुन पुलमा तल गाडीहरु र माथि रेल कुद्न मिल्छ । यसले ससाना पाँचवटा टापुहरुलाई जोडद्छ । दशवर्ष लगाएर बनाईएको यो पुलको लम्बाई १३.१ किलोमिटर छ । सन १९८८ अप्रिल महिनावाट संचालन मा छ । यो पुलमा गाडिमा यात्रा गर्दा समुन्द्र वरिपरिका नै नीलो हरियो रंग लगाएको जस्तो साना सना पहाडहरु माथि पनि नीलो सुन्दर देखिन्छ ।
यसरी घुम्न व्यवस्थापन गर्ने साथीहरुमध्ये मिहोक्कोले भने केही वर्ष दुःख पाइन र देहान्त भयो । मेरो किताबका अनुवाद कर्ता तीन जना साथीहरु मध्ये एकजना साथी मिहोकोलाई ।पेटको क्यान्सर भयो । म सन् २००१ मा जापान पुग्दा मेरा साथीहरुले उनको मृत्युकोबारेमा चर्चा गरे । र, बताए, उनले एकवर्ष दुखः पाईन् । उनको घरभन्दा पर उनका परिवारका सदस्यहरुको समाधीस्थल देखाउन लगे । मलाई पनि उनको सम्झनामा उनको समाधीस्थलमा जाने कौतुहलता जाग्यो । त्यहाँ पुग्दा के थाहा भयो भने मरेपछि शव कहाँ गाडिने भन्ने कुरा पहिला नै टुंगो लगाउने चलन रहेछ । शव गाड्दा परिवारका सबै सदस्यलाई नजिकनजिकको स्थानमा गाडिने चलन रहेछ । चिहानमाथि शिरानमाथि राखिने ढुंगामा मृतककोबारेमा लेखिएको थियो । त्यो लेखिने ढुंगाको मोल पनि आर्थिक स्थिति अनुसार महंगो वा सस्तो हुनेरहेछ । चिहानमा पनि परिवारको आर्थिक स्थितिअनुसार फरक पाइयो ।
मृत्यु संस्कार खर्चालु हुने महसुस भयो । धनी मानिसले राम्रो लेख्न सक्ने तर गरिबले त्यसरी लेख्न नसक्ने स्थिती जापानमा पनि रहेछ । शव गाडिएको ठाउँमा समयसमयमा गएर फूल चढाउने र सम्झने परम्परा रहेछ । किनभने, हिन्दु परिवारमा जन्मिएकी महिला हुनाले जहाँ मृत शरिरलाई धेरै जसो जलाएर खरानी बनाउने चलन छ । नदी किनारामा सल्काएर केही घण्टामा नै खरानी पारेको परम्परामा भएको देशमा हुर्किएकोलाई अनौठो लाग्यो । विश्वभरमा नै मानव जातिको जन्म, विवाह, मृत्यु र पितृकार्य अनिवार्य नै छ । तर संस्कार भने हरेक देशको फरक हुन्छ । तर जापानमा त घरपछाडि बगैैचामा गाड्ने गरेको चलन अनौठोे लाग्यो । किनभने मेरो मान्छे यहाँ माटोमुनि सग्लै गाडिएको छ भनेर जाने, रुने पनि गर्दा रहेछन् । मलाइ कस्तो लाग्यो भने परिवारको सदस्य मसँग छैन भन्ने कुरा चित्त बुझाउन धेरै समय लाग्नु स्वभाविकै हो । यसरी मैले जति देखेँ र मेरो आँखाले देख्यो, मेरो मनमा सिक्ने प्रक्रिया अनन्त रहेछ जस्तो लाग्दैथियो ।
वाकिकोले ठूला ठूला बुद्धको मूर्ति भएको स्थानमा लगिन् र त्यहाँ ती स्थानलाई स्राइन भनिँदोरहेछ । नेपालीहरुले जस्तै धूप बाल्ने चलन रहेछ । औपचारिक पोशाकमा त्यहाँ महिलाहरु बच्चा बोकेर गएको देखेँ ।
जापानामा बच्चा जन्मिएपछि हप्तादिनपछि मन्दिरमा लगिन्छ । बुद्व धर्म मान्नेले बुद्व मन्दिरमा लैजाँदा रहेछन् । धेरै ठूल्ठूला बुद्धको मुर्ती भएका मन्दिरलाई श्राइन भन्दा रहेछन् ।
बच्चा चार महिनाको भएपछि भात खुवाउने चलन हुन्छ । क्रिश्यिचन धर्म मान्नेले चर्चमा लैजाने परिपाटी रहेछ । हामी महिलाले साडी लगाएजस्तो उनीहरुले किमिनो लुगा लगाउँथे । विशेष चाडपर्वमा अझै पनि किमिनो लगाउने चलन छ । त्यो पहिरन राष्ट्रिय पोशाक पनि रहेछ ।
सन् १८६८ देखि जापानीले पश्चिमा शैलीमा लुगा लगाउन सिकेका रहेछन् । हामी नेपालीहरुले शुभ कार्यमा जग्गेको चारकुनामा नीगालोको हाँगाका विरुवा प्रयोग गरेकोजस्तो उनीहरुले पनि प्रयोग गर्दा रहेछन् । कतिपय जापानीहरुका अनुहार देख्दा हाम्रा दाजुभाई दिदीबहिनी जस्तै लाग्थ्यो । नेपालीहरु यसरी सफासुग्घर भएर बस्न पाए त अझ उनीहरु भन्दा पनि सुन्दर देखिने थिए होलान् भनेर मनमनै सोच्थेँ ।
। आधारातसम्म काम गरेर तनावको शिकार ।
यसको एकवर्ष पछि एकदिन जापानी र नेपाली महिलाहरुकाबीचका भेटघाट कार्यक्रम थियो । सन् १९९५ ताकाको कुरा हो । त्यस गाउँको अग्लो भाग जसलाई सिम्ले भनिन्छ, त्यहाँ एउटा ठूलो रुखमुनि चहुर पनि छ, जहाँ भेला भएर सानोतिनो कार्यक्रम गर्न मिल्दथियो । हामी महिलाहरु पनि रुखमुनि बसेर कुराकानी गर्ने गर्दथियौँ । तात्कालीन समयमा सबै गाउँ विकास समितिमा सामुदायिक भवन बनेका थिएनन् । दुवै थरी विभिन्न संस्कृति र परिवेशका महिलाकाबीच भेटघाट कार्यक्रम खुल्ला चौरमै भयो । त्यस स्थानका महिला आयआर्जन कार्यक्रमहरूमा सक्रिय भएर लागेका थिए । बचत समूहमा संगठित भएर तरकारी खेती, बाख्रापालन र खुद्रा पसलहरू सञ्चालन गर्दै थिए ।
दैनिक जीवन सहज बनाउन खानेपानी आयोजना, विद्यालय मर्मत्, कुवा मर्मत्, गोरेटो बाटो निर्माण, साक्षरता कक्षा, स्वास्थ्य शिविरहरु संचालन गर्दै थियौं ।
त्यही सानो प्रयास पनि हामीलाई त्यतिबेला सञ्चालन गर्न सहज थिएन । महिलाहरु घरबाट बाहिर सहजै गाउकै भेलामा पनि आउन अहिलेको जस्तो सहज थिएन । त्यसमा पनि तात्कालिन चलाल गणेशस्थान गाविसमा तामांग जातिको बाहुल्य भएको बस्ती हो ।
हाम्रो उनीहरुसँग चिनजान भैसकेको थियो । सुरुसुरुमा त उनीहरु पछ्यौराले मुख छोपेर मात्र बोल्ने गर्दथिए । त्यो पनि घरका पुरुषहरुसंग सोधेर उनीहरुको स्वीकृतिले मात्र महिलाहरु भेलामा र मिटिङमा आउन थालेका थिए ।
त्यतिबेला पनौती बजारको अन्तिम मल्पीतिरबाट उक्लेर चलाल गाविस जाने हिडुवा बाटो थियो । त्यहाँबाट सिमलेसम्म पुग्न एकघण्टा उक्लेपछि चलाल गाविस को ७ न वार्ड पुगिन्थ््यो । मोटर जाने कच्ची सडक बनिसकेको थिएन । अझै पनि कति स्थानमा बाटो जस्तो त कहाँ छ र ? हालको संघीय संरचनामा बेथानचोक गाउँपालिका बनेको छ बाटो बन्दै छ ।
त्यहाँ प’गेका जापानी महिलाहरु र नेपाली महिलाहरु पुरुष बालबालिक चलालको सिमलेमा ठूलो रुखमुनि भेला भए । घरका मानिसहरुलाई खुवाएर भाडा माज्दा गाइवस्तुलाई घाँस हालेर आउदा नेपाली महिलाहरु ढिला आउँथे ।
बिहानको दश वजे भेट्ने भनेका थियौँ तर ग्रामीण महिलाहरुसँगको कार्यक्रम गर्दा सबै भेला हुने समयचाहिँ दश बजे भने पनि १२ नै बज्ने गर्दछ । उनीहरुलाई १२ बजे भने त एक बज्छ तसर्थ दश बजे भन्ने तर १२ बजे जम्मा हुने चलन नै भएको छ । त्यसरी विस्तारै महिलाहरु आएको देखेर ती जापानी महिलाहरु छक्क परेछन् । सबैभन्दा आनन्दचाहिँ सबै आफने धूनमा विस्तार हाँस्दै हाँस्दै आएको देखेर नेपालको गाँउमा यिनीहरुलाई तनाव भने पटक्कै रहेनछ, कति हँसिला रहेछन् भनेर प्रभावित भएँ ।
नेपाली र जापानीको आआफना किसिमका विकासका अनुभव हुने नै भयो । नेपाली ग्रामीण महिलाहरुले सोधे, “तिमीहरुको जापानमा मानिसहरुको मुख्य पेशा के हो ?” तीमध्ये वाकिको चुजीमोतोले भनिन्, “हामी मोटर गाडी उत्पादन गर्दछौँ । त्यसलाई विभिन्न देशमा बिक्री गर्दछौँ । त्यही आम्दानीले भात खान्छौँ । खेती त नाम मात्र छ ।” हाम्रा गाउँका महिलाहरु छक्क परे । उनीहरु त जतिवेला पनि खेतवारी वस्तुभाउको स्याहार संभार गर्दे समय बित्छ । खेती नगरी पनि खान पुग्दोरहेछ भनी छक्क परे । वास्तवमा खेती नगरी खान पुगे पनि कुरा त छक्क पर्ने नै छ । कसैले खेती नगरी त अरुले जस्तापाता बचे पनि, मोटर बेचे पनि खानेकुरा अन्नवाली त फलाउन नै पर्छ । कुरा त छक्क पर्ने नै भयो ।
उनीहरुले प्रष्ट पारे, जापान पनि पहिला कृषि प्रधान देश थियो । जनसंख्या वढदै गएपछि खेतीपातीवाट मात्र धान्न कठिन हुने हुनाले जापानका नेताहरुले औद्योगिक विकाकाका लागि योजनाहरु बनाए । नगदेवालीहरु प्नि उत्पादन गर्न थाले साथै विभिन्न कलकारखानाका विकास भए । विमान, मोटर गाडीहरु बनाउन थाले ।
नेपाली महिलाहरुले उनीहरुलाई हाम्रो नेपाल कस्तो लाग्यो ? उनीहरुले जवाफ दिए खाना चाडै खाएर निद्रा पुगुन्जेल निदाउन पाउदा रहेछौ र हँसिला रहेछौ हामी जापानीहरु त आधारातसम्म काम गरेर तनावको शिकार भएका छौं । चारैतिर पहाड रहेछ । हिमाल त्यस्तै राम्रो लाग्यो भने । देश त राम्रो छ नि जीवन पो कष्टकर छ त भनि मैले पनि भनँे ।
नेपाली महिलाहरुले विहान चाडै उठ्न पर्ने बताए । उनीहरुको गुनासोचाँहि सधैँ घाँस काट अनि सोतर सोर, कुडे पकाऊ, भाडा माँझ र घरधन्दामा नै हाम्रो जुनी बित्न लाग्यो भन्थे । जापानको आधुनिकता, विकास र मानिसहरुको जीवनस्तर नेपालको ग्रामीण परिवेशको तुलना गरेर त गर्न सकिन्न ।
कामको कुरा गर्दा त एकपटक सन् १९९४ मा उनीहरुको देशमा टोयोटा कम्पनीमा काम भईरहेको बेला देखाउन लगेका थिए । त्यस कार निर्माण कम्पनिमा मानिसहरुले मेसिन सरह काम गरेको देख्दा हामी पनि तीन छक्क परेका थियौँ । हामी धेरै घन्टा काम गर्दछौँ तापनि त्यो टोयटा कम्पनीमा कार बनाउने कारखानामा जस्तो मेसिनको तालमा भने मानिसले काम गरेको देख्दा छक्क पर्ने नै छ । जापानीहरुको मेहनत र जाँगर भने मान्न पर्दछ । समयलाई पनि बडो ख्याल गर्दछन् ।
जापानी भाषामा पनि मेरो पुस्तक नेपाली वमन राईजिंग दोस्रो संंस्करण पनि प्रकाशित भयो । जापानी भाषामा किताव प्रकाशन भएपछि जापानीहरुले मलाई खोजेर भेट्न आउने गर्थे । जापानबाट आएका साथीहरुसँग धोबीखोला किनार हुँदै कालोपूलबाट मुख्य सडक जादैँ थियौं । कतिपयले सुमिमासेन सुमिमासेन भन्न थाले । किन रहेछ भनेको त आफ्नो क्यामेरा झिक्न र त्यो धोबीखोलाको तस्बिर खिच्न हामीलाई केहीबेर पर्खाउन रहेछ । अनि म झसङ्ग भएँ, जापानको त्यो सरसफाइ र धोबीखोलाको फोहोरले गर्दा कालो भएको पानी र सिधैं लगाइएको ढलको दृष्य उनीहरुलाई कस्तो लाग्यो होला ? र, उनीहरुलाई भनेँ, ‘अब हाम्रो सरकार र नागरिक सबैले सरसफाइ अभियान थाल्दै आएका छन् ।’
। सेनसेई भनेर चिनेको सांसद रहेछन् ।
नोभेम्बर १९९६ शनिवारको दिन थियो । मलाई सोल्टी होटलबाट फोन आयो र थाहा भयो, मलाई केही जापानीहरु भ्ोट्््न आएका छन् । अरु बेला जापानीहरु मलाई अफिसमा नै भेट्न आउने गर्थे । त्यस्तै भनी ठानेँ । अनि त्यो दिन भेट्न आउन सक्दिनँ, भोलि अफिस आउनु होस् भनेर जवाफ दिएँ । जापानका महिला सांसदहरु र एक शिक्षिका नेपाल घुम्न आएका रहेछन् । जापानमा उनीहरुले मेरो जापानीमा अनुवाद भएको पुस्तक पनि फेला पारेका रहेछन् । होटलको काउन्टरको मानिसले फोन गरेर तपाईलाई भेट्न खोजेका छन् जापानी पाहुनाहरुले भनेका थिए । उनीहरुले भेट्न बोलाए तर मैले जान सकिनँ । पुरा कुरा पनि बुझिनँ, किन भेट्न खोजेका हुन भनेर ।
भोलिपल्ट उनीहरु मेरो जापानी भाषामा उल्था गरिएको पुस्तक साथमा लिएर डिल्लीबजारको नारी चेतना केन्द्र नेपालको कार्यालय आए । उनीहरु त्यहाँ एक नेपाली दोभाषे अमिरा दलीलाई साथमा लिएर आएका थिए । मैले जापानी भाषा अलि अलि मात्र जानेको थिएँ ।
ती जापानी महिलाहरु पाका उमेरका थिए र उनीहरुलाई सेनसेई भनेर अमिराले चिनाईन् । सेनसेई भनेको शिक्षक रे । त्यो तीनजनको टोलीमा सांसद पनि रहेछन् । तर मैले शिक्षकहरु मात्र भनिठानेँ । उनीहरुको तवरतरिका साधारण थियो । त्यति बेलासम्म मैले ती महिलाहरु सांसद भन्ने थाहा पाइनँ । महिला विकासका कुरा गरे । मेरो पुस्तक पटक पटक पल्टाएर हेरे । उनीहरुले जापानमा सामाजिक काम पनि गर्दा रहेछन् र द एसियन वमन फाउन्डेसन पनि खोलेका रहेछन् । अनि हाम्रो कामका बारेमा पनि जान्न उत्सुकता देखाए । उनीहरुले महिला मन्त्री पनि भेट्न पाए हुने भने । प्रतिभा, तिमीले महिला मन्त्री हामीलाई भेटाउन सक्छौ भनी प्रश्न गरे । त्यसताका लिला कोइराला महिला मन्त्री थिइन् । मैले कोशिस गर्छु भनेँ । मैले ती जापानी महिला सांसदहरुले मन्त्रीसँग भेट्न खोजेको खबर मन्त्रालयमा पठाएँ । त्यसपछि मन्त्रीले समय दिइन् । मन्त्री भेट्ने दिन ती पाहुनाहरुले मलाई महिला मन्त्रालयको बाहिर लैनचौरमा पर्खन भने । उनीहरु जापानी दूतावासको गाडीमा भिभिआइपी तवरमा सुरक्षासहितका साईरन बजाउँदै आए । बल्ल मैले बुझेँ, यी महिलाहरु त भिआइपी रहेछन् । तत्कालिन महिला मन्त्री कोइरालासँग सौहार्दरुपमा कुराकानी भयो । त्यो भेटघाट रमाइलो थियो । अन्त्यमा उनीहरुले हाम्रो मन्त्रीलाई जापान भ्रमणका लागि १५ दिनका लागि निमन्त्रणा पनि गरे ।
उक्त मन्त्रालय सन् १९९५ को चौथौ विश्व महिला सम्मेलन पछि स्थापना भएको थियो । उनीहरुले मिटिँगपश्चात महिला मन्त्री कोइरालासहित तात्कालिन सचिव डा. प्रभा बस्नेत साथै म र हस्तकला उत्पादक सघंका मिरा भट्राईलाई पनि जापान आउन निमन्त्रणा दिए ।
भाषाको ज्ञान नभएर मैले सांसदहरुलाई नै चिनिनँ । त्यसपछि मलाई जापानी भाषा सिक्ने भावना पलायो । अर्को चाहिं जापानी भाषामा उल्था भएको पुस्तक अक्षर नचिनेर उल्टो पो समातौँला भन्ने डर पनि लाग्यो । अनि बिहान बिहान जुरुक्क उठेर ३ महिना डिल्लीबजारमा जापानी भाषा सिक्न गएको थिएँ । अलि अलि जापानी भाषा, करीब सय वटा जति शब्द र केही वाक्यहरु सिकेँ । लेख्न त त्यति अवधि पढेर सकिँदो रहेन छ ।
त्यो समयको यात्रा अलि भिन्न थियो । यात्रामा सधै ईकोनोमी क्लासमा यात्रा गर्ने क्षमता भएको आफु एक्जिक्युटिभ क्लासको टिकट थियो । आरएन एसीको हवाई यात्रामा मन्त्रीको टोलीसँग भएकाले हो कि पटक पटक एयर होस्टेसहरु के लिनु हुन्छ भनेर सोध्न आउँथे ।
नेपाल वायुसेवा निगमवाट जापानको टोकियो शहरमा अवतरण गरेका थियौँ । त्यो समयमा नेपालका लागि जापनाका राजदूत केदारभक्त माथेमा थिए । मन्त्री गएकोले उनीसँग एयरपोर्टमै भेट भयो । एक बर्षको शिक्षाशास्त्रमा डिप्लोमा गर्दा तात्कालिन कलेज अफ एज’केशनमा उनी मेरा शिक्षक थिए ।
त्यो बेला टोकियो एयरपोर्टबाट वरिपरि हरियो जालीले साना साना उचाईका भाग छोपेर हरियो बनाएको दृश्य पनि देखेँ । घाँस मरेको बेला हरियो नआइन्जेल हरियो जालीले डाँडा नै ढाकेकोसम्म देखेँ । आफ्नो देशमा जताततै हरियो देख्न पाइन्थ्यो । अब त्यसलाई जोगाउनेपट्टी ध्यानै छैन । काठमाडौंमा सिमेन्टका घरहरुबाहेक अरु केही दृष्य देखिँदैन ।
जापानको टोकियो शहरमा पुगेपछि त्यहाँ विभिन्न सामाजिक संस्थाका साथै तात्कालिन प्रधानमन्त्री हासिमोतो रिउतारो र डायट ताकाकोदोइलाई पनि भेटाउन कार्यक्रम थियो । पहिला नै यसरी यो मानिसहरु यो रोलक्रममा बस्नुपर्छ भनेर परिचयात्मक तवरबाट बताउने गर्दथिए । बिभिन्न स्थानमा घुम्ने र महत्वपूर्ण मानिसहरुसँग भेटघाट भयो । तात्कालिन प्रधानमन्त्री रियुतारो हासिमोतो, ताकाकोदोइ लगायतसँग भेट्ने मौका पाइयो ।
हिरोसिमा र नागासाकिका विभिन्न स्थानमा उनीहरुले अवलोकन भ्रमणका लागि व्यवस्था गरेका थिए । दोस्रो विश्व युद्धताका नै प्रशान्त महासागरको सबभन्दा शक्तिसम्पन्न अमेरिकनको नौसैनिक अड्डामा जापानी वमवर्षक विमानहरुले ध्वस्त पारेका समय विदामा बसेका सैनिक जवानहरु हताहत भएका विषय त इतिहासमा उल्लेखित छ । किताबमा पढ्दाको विषय र घटना भएका क्षेत्रका मानिसको बयान सुन्दा अर्कै भावना तरगिंत हुने रहेछ । हिरोसिमा पुगेर त्यहाँ अगस्ट ६, १९४५ मा अमेरिकाले एटमवम प्रहार गरेको बारेको वयान सुन्दा जिउ नै जिरिङ्ग हुने थियो । शहरको माझमा खसालिएको त्यो वमले हिरोशिमाका बासिन्दाहरु र भवनहरु र विद्यालयमा भएका विद्यार्थीहरु करीब सबै ध्वस्त भएको बताए । फेरि लगत्तै नागासाकीमा पनि निर्मम प्रहार भएको कथा सुन्दा आँखा रसाउने थियो ।
हामीले हेर्न पुग्दा त शहर सबै सुन्दर बनिसकेका थिए । ती लडाईका खाटाहरु पूराना भईसकेका थिए । जापानका पुस्ताहरु सबै अमेरिकन शैलीमा रमाउन लागेका देखिन्थे । मलाई मनमनमा लाग्यो, प्रथम विश्व युद्ध भएको २१ बर्षपछि भएको द्वितिय विश्व युद्धमा त्यस्तो पिडा बेहोरेको जापानले कसरी विर्सन सक्ला ? तर यहाँको यो पिडा जापानीहरुले बिर्सेर अमेरिका र जापानको मित्रता कायम भएको छ । सायद म राजनीतिको विद्यार्थी नभएर नबुझेको पनि हुन सक्छ ।
राम्रा उदाहरणीय कुराहरु जापानको विकासमा देख्न सकिन्छ । हामीलाई निम्ता गर्ने मध्येकी एक सांसदको चुनाव क्षेत्र हिरोशिमा रहेछ । १९४५ मा ध्वस्त भएको स्थानमा पनि चमत्कारिक विकास भैसकेको देखेर हाम्रो टिममा रहेकी मन्त्रीे आफनो चुनाव क्षेत्र जनकपुरसँग तुलना गर्न नै नसकिने रहेछ भन्दै थिइन् अनि दोभाषेले उल्था गरेर उनीहरुलाई सुनाउने गर्दथिए । लीला कोइराला प्रष्ट बाल्थिन् ।
कतिपय बोल्ने क्रममा पनि मलाई सामाजिक महिला प्रतिभा जस्ताले जापान ल्याएको भनिदिन्थिन्, जुन होइन, उनको पद र उनको भद्रतामा निम्ता गर्नेहरु प्रभावित थिए ।
जापानीहरुको विकासको पहिलो खुडकिलो शिक्षा हो भन्ने तर्क उनीहरु राख्दछन् र नेपालका पनि गाउँगाउँमा व्यक्तिगत हिसावले पनि विद्यालयलाई नै सहयोग गर्दछन् ।
हामी नेपाल फर्किएपछि यहाँ अवस्थित जापानी दुतावासले त्यो भिजिटको फोटोहरु हामीलाई हस्तान्तरण गरे र कर्टेसी गरेर एक एक वटा विकासका परियोजना पनि निश्चित गर्ने भए । सावला ग्रामीण केन्द्र नामक तेह्रथुममा अवस्थित सामाजिक संस्थामा मेरो पनि आवद्धता थियो । आफनो गाउँमा मेरो श्रीमान सूर्य सुवेदीले गरेको विकासको काममा सहयोग गर्ने निर्णय गरे र खेतमा कुलो पुराउने परियोजनामा जापानी सहयोग थियो । अझ संचालित छ ।
। फेरि जापानको ओकायामा ।
ओकायामा शहरमा म परिचित थिएँ । त्यहाँ कार्यरत संस्था एज’केशन फर सस्टेनेबल डेभलपमेन्ट (इएसडी)बाट धेरै वर्षदेखि कार्यक्रम संचालित रहेछ । यस कार्यक्रम अन्तर्गत सन् २००८ मा हामीले भाग लिन निम्ता पायौँ । र, म र सृजना पौडेल गयौँ । अनि त्यस समयमा भुटान, नेपाल, कम्बोडिया लाओस र ईन्डोनेशिया र बैकंकबाट सहभागीहरु आएका थिए । ती सबले आआफ्ना देशमा सामाजिक क्षेत्रमा योगदान गरेका थिए । यो कार्यक्रमलाई सहयोग गरेकाले ओकायामा प्रिफेक्चर मेयरको अफिसमा भेट्न पनि लगियो । त्यहाँ आआफना देशका राष्ट्रिय झण्डा सबै सहभागीका वगलमा राखेर हामीलाई चिनाइएको थियो । समुदायको सशक्तिकरणका लागि सामुदायिक भवनहरुमा स्थानीय मानिसहरु भेला हुने समस्याको छलफल गर्ने गर्दारहेछन् उनीहरु । यी सामुदायिक भवनमा विभिन्न सूचना प्रवाह गर्ने, भेला हुने र विशेष चाडवाडमा खानाका परिकार आदि पनि बनाउने गर्दारहेछन् । त्यस समुदायमा जाने पाहुनाहरु र पर्यटकहरुलाई सामुदायिक भवनमा महिलाहरुले आफै जापानी शैलीको घरायसी खाना बनाएर खान दिने गरिन्छ । आफनो संस्कृति सम्वर्धन गर्ने कामहरु हुँदो रहेछ । जापानमा मैले र मेरो सहकर्मी सृजना पौडेलले हेरेको मावी कोमिनकान भने खुव राम्रो लागेको थियो, जहाँको जमिनमा बाँसको उत्पादन राम्रो छ त्यहाँको विद्यालयमा बाँसबाट संगीतका सामग्रीहरु बनाइएका थिए । समुदायको स्कूलमा बाँसबाट उत्पादित संगीत सामाग्री चलाउने र उत्पादन गर्ने कला र सीप पनि साना साना विद्यार्थीहरुलाई पनि सिकाइएको छ ।
हामी सहभागीहरुले यसप्रकारका क्रियाकलाप आआफ्ना देशमा पनि गर्न सके राम्रो भनिएको थियो । हामीले पनि यस किसिमका कार्यहरु गरिनै राखेका थियौँ ।
। द्वितिय विश्व युद्धपछि जापानीहरु पनि गरीबीको मारमा ।
नेपालभन्दा जापान क्षेत्रफलमा सानोे छ । जापान एशियाकै विकसित देश मानिन्छ । जबकी, विश्वयुद्वमा जापान त्यतिकै होमिएको थियो । द्वितिय विश्व युद्धपछि जापानीहरु पनि गरीबीको मारमा थिए । उनीहरुको जीवन सुधार्न सरकार विभिन्न तहबाट प्रयासरत थियो र विभिन्न उपायहरु अपनायो । त्यसमध्ये देशभरी सामुदायिक अध्ययन केन्द्र स्थापनामार्फत समुदायलाई सक्रिय बनाउने उद्धेश्य राखेर स्थापना गरेका रहेछन् । जापानमा भएको समुदायिक अध्ययन केन्द्र र हाम्रो देशका विभिन्न भागमा सरकारी र नीजि रुपमा निर्मित सामुदायिक केन्द्रका क्रियाकलापमा धेरै फरक छैन । आआफ्ना परिवेशमा समुदायको विकास गर्ने नै मूल उद्धेश्य छ । फरक के छ भने कसैले सहयोग दिन्छ भने आवश्यकता नभएको स्थानमा पनि संचालन गर्ने हाम्रो नेपाली बानी । कार्यक्रम माथिबाट थोपरिदिने बानीले पनि समस्याग्रस्त बनाएको छ सामुदायिक केन्द्रहरु । प्यास नलागेको व्यक्तिलाई पानी पियाउन जबजस्ती कोशिस गर्दाको जस्तो अवस्था पनि कतिपय स्थानमा देखिन्छ । यो पंक्तिकारले जापानको ओकायामा शहरका सामुदायिक केन्द्र हेर्ने र समुदायका अगुवाहरुसँग भेटघाट गर्ने अवसर सन् २००८ मा पाएको थिएँ ।
मैले के सिकेँ भने, जसलाई जापानीहरु आफ्नो भाषामा कोमिनकान भन्दछन्, ती केन्द्रहरुले उनीहरुका समुदायमा शिक्षा मन्त्रालय अन्तर्गत स्थानीय स्तरमा एक अर्काको ज्ञान र सीपको उपयोग गर्न सामुदायिक भवनहरु निर्माणका लागि सरकारी अनुदानका साथै संचालन हुनपर्ने वाध्यात्मक नीति नियम पनि निर्माण भएका थिए । शिक्षा, साक्षरता, घर, भान्सा, चर्पी र समुदाय सफा राख्न पर्ने स्वास्थ्यका विषय र र आय आर्जनका कुराहरु त्यहाँबाट हुन पर्ने प्रावधान थियो । हाल देख्दा शैक्षिक र सांस्कृतिक कामहरु भएका छन् । कतिपय ती सामुदायिक भवनहरु स्थानीय स्तरमा निर्माण भै स्वतन्त्र रुपमा समुदायले संचालन गरेका पनि छन् । भन्नुको अर्थ सबै नगरपालिकाको सहयोगको मुख ताकेर मात्र पनि बसेका छैनन् । त्यो समुदायको विकासका लागि त्यहाँ भेला भएर आआफ्ना समुदायको विकासका बारे, शिक्षाका बारे र समुदायको ज्ञान र श्रोतबारे छलफल हुने थलो बन्यो । यस कार्यक्रमलाई पनि युनेस्कोको सहयोग छ ।
। कोमिनकाम अर्थात सामुदायिक विकास केन्द्रहरु ।
नेपालमा पनि सामुदायिक विकास केन्द्रहरु, स्थानीय क्लवहरु र गाविस भवनका कोठाहरुमार्फत र महिला समूहका भवनहरुमार्फत पनि यस्ता कार्यक्रम संचालित छन् । कार्यक्रमहरु झण्डै उस्तै हुन् । फरक जापानमा सुविधा सम्पन्न घरहरु, हरेका मानिस सामुदायिक भवनमा आफ्नो कार लिएर आउँदछन् । आजभोलि शिक्षा साक्षरताका कुरा भन्दा पनि आफ्नो संस्कृति सम्वर्धन गर्नतर्फ र आफ्नो समुदायको ज्ञान, घरायसी खानाका परिकार र आफ्नो समुदायमा जे श्रोत छ, त्यसको सदुपयोग गर्न विद्यालयहरुसँग, विद्यार्थीहरुसँग मिलेर काम गर्दछन् । आफ्नोपन र आफ्नो गुणहरुको सम्वर्धनमा लागेका उदाहरणहरु देख्न सकिन्छ । हाम्रो देशमा पनि शिक्षा मन्त्रालय अन्र्तगत यूनेस्कोको सहयोगमा यो सामुदायिक केन्द्रको अवधारणा शुरु भएको रहेछ । यसबाहेक यूनेस्कोको सहयोगमा पनि सामुदायिक अध्ययन केन्द्रहरु स्थापना भएका छन् । यूनेस्कोको सहयोग शिक्षा मन्त्रालयले सुरु गरेको यस सामुदायिक केन्द्रले शिक्षा साक्षरता, पुस्तकालय व्यवस्थापनका साथै पौराणिक धार्मिक कला संस्कृतिको विकास र संरक्षण गर्ने पनि रहेको छ । केही स्थानमा बाहेक यी केन्द्रहरु माथिबाट थोपरिएका हुँदा स्थानीयवासीहरुको हाल आएर सक्रिय संलग्नता छैन । किनकी, समन्वय छैन । हरेक मन्त्रालय पनि त्यहि किसिमको काम गर्ने, गैरसरकारी संस्था अनि अन्तराष्ट्रिय संस्था पनि त्यही किसिमको काम गर्ने परम्परा नै भइसक्यो । कसैबाट सहयोग आउँछ भने काम गरौँ न त भन्ने भावना छ । भावना राम्रो भए र जुन कार्यक्रम लोकप्रिय छ, त्यसलाई मद्धत गर्न सके कुनै पनि कार्यक्रम बाहिरबाट मद्धत नआउने बित्तिकै बन्द हुँदैन ।
। राउटे जातिलाई जुत्ता वितरण ।
समुदायको साँचो सहभागिता विना गएर धारापानी स्थापना गरे पनि दिगो हुँदैन । धेरै स्थानमा धारा हुन्छ, पानी हुँदैन । हेल्थपोष्ट हुन्छ, बिरामी जाँदैनन् । अफिस भवन बनेको छ, कार्यक्रम छैन जस्ता समस्याहरु छन् । समुदायको माग र प्यास विना कसैले सहयोग दिने भयो भन्दैमा परियोजना लगेर मात्र सफल हुँदैन । त्यसका उदाहरण हुन्, सामुदायिक अध्ययन केन्द्रहरु प्रभावकारी हुन नसकेका कारण ।
जापानको इएसडीबाट हामीसँग पनि काम गर्ने भएर एक वर्षका लागि काम गर्न भनेर आए । तर हामीलाई उनीहरुको काम गर्ने शैली मन परेन । हामीसँग सामुदायिक विकासका काम गर्न सहमति भएका थिए । तर बन्दाकोवीमा रातो कमिला लागे पनि जापानबाट नै हेर्न आउन थाले । हामी छक्क पर्न थाल्यौँ । खर्चको नास जस्तो लाग्न थाल्यो । यति त हामी नै हेर्न र समाधान निकाल्न सक्छौँ भनेर बहस पर्न थाल्यो । ओकायामा भएको संस्थासँग हाम्रो कार्य गर्ने शैली पटक्क मिलेन र सहकार्य एक वर्ष भन्दा लम्बाएनौँ ।
शिक्षा मन्त्रालयको युनेस्कोको शाखाले काम गरेको रहेछ । सामुदायिक भवन भएका स्थानमा केही सहयोग रहेछ । राउटे जातिलाई जुत्ता वितरण गरेको जस्तो काम पनि सगर्वसाथ शिक्षा मन्त्रालयमा सरकारी कर्मचारीहरुले बयान गरेको सुन्दा हामीलाई उदेक पनि लाग्यो । सरकारका उच्च ओहदाका मानिसहरु गर्वसाथ राउटे जातिलाई जुत्ता वितरण परियोजनाबारे उल्लेख गर्दै डकुमेन्ट्री देखाए । यो कुरा हो सन् १९१२ तिरको हो ।
अर्काले दिए भने चुक अमिलो पनि पिउन सहज मान्ने भन्ने उखान चरितार्थ भए जस्तो लाग्यो । प्रस्तुतीकै क्रममा मैले त हाँसो पनि थाम्न सकिनँ । पछाडि त हामी कति हाँस्यौ कति ?
। अन्तमा ।
जापानीहरु मेहनती भएका कारण विकसित राष्ट्रका रुपमा चिनिन सफल भएका हुन् । जापानीहरु कडा परिश्रम गर्न सक्ने साथै कमाइको हिस्साबाट बचत पनि गर्न सक्नेमा गनिएका थिए । जस्तो अमेरिका पुगेका जापानीहरुले पनि कडा परिश्रम गरी बचत गरेर विभिन्न व्यापार बढाए ।
धेरै जापानीहरु विलाशितातर्फ लागेका भए उनीहरुको देश त्यति विकसित हुने थिएन । ठूला ठुला विपत उनीहरुका देशमा पनि आएको थियो र अहिले पनि आइरहेको छ । सन् १९२३ मा भूकम्पले जापान तहसनहस भएको थियो । उनीहरुले एक भएर संकटको स्थितिबाट माथि आएका उदारहणीय इतिहास दिए । सन् २०१९ मा पनि जापानीहरुले भूकम्प, सुनामीजस्ता विपद्को सामना गरिरहे । पछिल्लो समय कोभिडको विश्वव्यापी महामारीसँग सामना गरे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

