नेपालै फर्किने भए ‘डिभोर्स’ दिएर मात्र जाऊ

कथाः एन.आर.एन.–२

सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर-७

अब उनीहरूको प्रतीक्षाको घडी समाप्त भएको छ ।

लोकेश दोजिया श्रीमतीलाई डो¥याउँदै प्लेन अडाइरहेको स्थानतिर पाइला चालिरहेको छ । प्लेनको भरेङ उक्लिनुअघि उसले भुइँमा एक पटक शिर जोतेर क्षमा मागेकोे छ ।

लोकेश मनमनै भनिरहेको छ, ‘अब कहिले होला मैले आफ्नी जननीलाई यसरी ढोग्ने ? कहिले आउला त्यो समय, जब नेपाली मन र नेपालीपनसँग साक्षात्कार गर्न पाउने छु ?’

ऊ भावुक मन लिएर भरेङ्ग उक्लिन थाल्छ । अब ऊ चाहेर पनि फर्किन सक्दैन । प्लेनलाई रोक्न सक्दैन । उसका लागि कर्मघर नै सबै थोक हो । किन कि ऊ एक एन.आर.एन.हो ।

छत्तीस घण्टे हवाईजहाजको यात्रा अमेरिकाको एक एयरपोर्टमा पुगेर टुङ्गिन्छ । भावनाको मन त्यसै त्यसै चञ्चल हुन थाल्छ । घाम त नेपालमा लागिरहेको थियो । तर भावनालाई त दुइटा सूर्य भएभैmँ लाग्यो !

त्यहाँको एयरपोर्टको वातावरण नै त्यस्तै थियो । घाम हो कि बिजुली बत्ती ? भावनाले छुट्याउनै सकिनन् । उनी त हेरेको हे¥यै भइन् । भावनासँग बिहे गर्न नेपाल आउँदा एक्कासि कायराले लोकेशको गर्धनमा झुण्डिएर ‘किस’ गर्दै ‘गिफ्ट’ मागेकी थिइन् ।

कायराले लाडे पल्टिएर ‘मलाई त यहीँ चाहिन्छ भिनाजु’ भन्दै ढिपढिपी लगाएकी थिइन् । त्यति मात्र कहाँ हो र, ‘दिनेभए दिनूस् र नत्र म त..’ भन्दै मुड्की पनि उजाएकी थिइन् । तर त्यही कायरा एकाएक सहरबाट गायब भएकी थिइन् ।

लोकेशको मनमा फेरि कुरा खेल्न थाल्यो । पक्का पनि कायराले कुनै पुरुषसँग फेरि बिहे गरी र यहीँ आएकी होली । किनभने उसको सपना, जपना नै अमेरिका थियो ।

एयरपोर्टमा लोकेश र भावनालाई ‘रिसिभ‘ गर्न सन्जना कार्की आएकी थिइन् । लोकेशसँग भेट हुनासाथ सन्जनाले ‘अमेरिकी स्टाइल’ मा चुम्मा गरिदिइन् । उतिबेला कायराको चुम्बनलाई साधारण मानेकी भावनाले यतिखेरचाहिँ निको मानिनन् ।

लोकेशले परिचय गराउनासाथ भावनाको पेटको कपट बाहिर आइहाल्यो । उनले वचन लगाइहालिन्— ‘यसरी अर्काको लोग्नेलाई चुम्माचाटी गर्नु राम्रो कुरा होइन नि रन्जना !’

‘नट रन्जना ! यसको नाम सन्जना पो त ।’ पति लोकेशले हाँसेर पत्नीलाई सम्झायो । सन्जना र उसको तँ–तँ, म–म चल्ने गर्दथ्यो । त्यसो भनिरहँदा सन्जना खिजाइलो पाराले भावनालाई हेरिरहेकी थिइन् । उनको मनमा भावनाप्रति अलिकति पनि माया पलाएको देखिएन । सोच्दै थिइन्, कहाँकी गोबरसँग घरजम गरेर आएछ !

भावनाले फेरि पेलिन्, ‘मेरो मुखमा हेर्दै के सोचिरहेकी ? कतै तिमीले मलाई गोबर सोहर्ने गाईपालककी गँवार छोरी भनेर सोचिरहेकी त हैन ? यदि त्यसरी सोचेकी हौ भने तिम्रो महाभूल हुनेछ रन्जना !’
भावनाको ओठबाट पुनः गलत नाम उच्चारित भयो ।

केही बेरको गलफत्तीपछि तीनैजना सन्जनाको मोटरमा बसे । भावनालाई कस्तो कस्तो लागिरह्यो । मोटरको यात्रा करिब चालीस मिनेटपछि टुङ्गियो । विशाल क्षेत्रफल ओगटेको एक ‘अपार्टमेन्ट’ को ‘पार्किङ्ग’ स्थलमा लगेर सन्जनाले गाडीलााई विश्राम दिइन् ।

लोकेश र भावनालाई कोठाको ढोकासम्म पु¥याएर सन्जना आफ्नो कोठा भएको पल्लो भवनतिर लागिन् । लोकेशको ‘फ्ल्याट’ पाँच कोठाको थियो । किचेन र कोठाहरू हेरिसकेपछि भावनाको मन खिन्न भयो । उनले अमेरिका टेकेपछिको पहिलो गुनासो सुनाइन्, ‘तिमीले त मलाई पहिलो गाँसमै ढुङ्गा लगाइदियौ लोकेश ! नेपालमा हुँदा तिमीले मेरो ड्याडीसँग जे जे भनेका थियौ, यहाँ आएपछि ठ्याक्कै उल्टो पाएँ ।’

भावना भन्दै थिइन्, ‘तिमीले त भनेका थियौ कि, अमेरिकामा आफ्नै घर छ, गाडी छ । लजिङ—फुडिङको राम्रो व्यवस्था छ । तर यहाँ त…?’

‘ओहो भावना ! कत्ति कराइराख्या भन्या ।’ लोकेशले झिँझो मान्दै जवाफ दियो, ‘नेपालमा मैले जेजे भनेँ, ती सबै कुरा सही हुनैपर्छ भन्ने छैन नि । उसै पनि यहाँ त घर बनाउनभन्दा ‘फ्ल्याट’ मा बस्दा राम्रो हुन्छ । हामीजस्तो साधारण कर्मचारीले घर–जग्गाको ‘ट्याक्स’ तिर्नै सक्दैनौँ ।’

‘तर तिमीले त मेरो ड्याडीलाई त्यसै भनेर आश्वासन दिएका थियौ हैन र ? नेपालमा हुँदा एउटा कुरा । अमेरिका आएपछि अर्को कुरा ? तिमी धोखेबाज रहेछौ लोकेश ! कुन दिनको बदला लिँदैछौ तिमी मसँग ?’

लौ हेर त ! आउन पाएका छैनन् । ती पति–पत्नीबीच झाँगलभुmँगल सुरू भइहाल्यो ! लोकेशको त्यो ‘फ्ल्याट’ पनि आफ्नो थिएन । कम्पनीले उपलब्ध गराएको हो । फेरि सिङ्गल पनि कहाँ हुनु । एकजना साथीको पनि हो । लोकेश र उसको साथीको साझा ।

ती पति—पत्नीको विवादकै बीच उताबाट सन्जनाले भिडियो कल गरिन् । उता उनको किचेनमा खाना तयार पारिएको थियो । तर भावनालाई जान मन लागेन । उनको मोहभङ्ग भएको देखेर पति लोकेशलाई दिक्क लाग्यो । दोजिया श्रीमतीलाई भोकै राख्न त भएन नि ।

सन्जनालाई पनि कम्पनीले पाँचै कोठाको ‘फ्ल्याट’ दिएको थियो । त्यो पनि साझा हो । तर उक्त फ्ल्याट बस्ने दोस्री महिला थिइनन् । तिनी केही दिन बिदा मनाउन अर्को सहर गएकी थिइन् ।

खाना खाने बेलामा सन्जनाले सम्झाइन्, ‘हेर भावना ! तिमी पटक्कै भ्रममा नपरे हुन्छ । नेपालमा सोचेजस्तो यहाँ बिलकुलै सजिलो छैन । हो, हामी पी.आर.प्राप्त यहाँका नागरिक हौँ । तथापि, कतिपय कुराहरूमा हामीले ‘कम्प्रमाइज’ गर्नैपर्छ । जस्तो कि, यही ‘फ्ल्याट’ मा गर्नु परेको छ ।’

उताबाट खाना खाएर आएपछि भावना पलङ्गमा पल्टिइन् । लोकेशले कसकसलाई ल्याएर सुताउँथ्यो कुन्नि, भावनाको नाकले पूरै कोठामा ‘स्त्री–गन्ध’ व्याप्त भएको चाल पायो । उनले सन्जनाको बारेमा पतिसँग सोधिन् । सन्जनाको पहिलो ‘किस’ लाई ‘अमेरिकी हावाको प्रभाव’ मान्नेवाला थिइनन् उनी । तर लोकेशले त्यत्तिकै टारिदियो ।

करिब एक हप्ताजति त भावनालाई राम्ररी निद्रै परेन । उनले थाहा पाइन्, पतिको ‘नाइट डिउटी’ पनि पर्दोरहेछ । त्यो बेला त झनै आत्तिइन् । उनले सन्जनालाई नबोलाएकी पनि हैनन् । तर सन्जनालाई भावनाको ‘भावना’ सँग के मतलव ! उनलाई त लोकेशको सान्निध्यता भए पुग्थ्यो ।

भावनालाई खाना पकाउन नआउने । पतिले नभ्याउने । रेष्टुराँमा खाँदा साध्य नहुने । त्यही भएर कति छाक ‘जङ्क फुड’ ले पेट भर्न विवश भइन् । जीवनमा कहिल्यै पनि नभोगकी पीडा भोग्दै थिइन् तिनी । माइतीमा लाडप्यारमा हुर्केकी चेली । अमेरिका पुगेपछि गतिलै पाठ सिकिन् !

एक साँझ सन्जनाको ‘बर्थ डे प्रोग्राम’ भयो । उनले करिब एक दर्जनजति साथीहरूलाई बोलाइन् । सबै साथीहरू मिलेर सबै थोक तयार पारे । रक्सीको व्यवस्था पनि गरेका थिए । लोकेश मात्र ‘दूधले नुहाएको’ मानिस थिएन । उसले पनि गतिलैसँग मा.प.से.ग¥यो ।

त्यसैको रमरममा उसले भन्यो, ‘हेर भावना ! अमेरिकामा कुनै पनि कामलाई सानो या ठूलो मानिदैन । यहाँ त सडक बढार्नेहरूसँग पनि कार हुन्छ । सरर्र कारमा आउँछन् । कार रोक्छन् र काम गर्ने साधन झिकेर काम तमाम गर्छन् । अनि जान्छन् ।’

‘अनि तिम्रो कार खै त महाशय ?’, पत्नीले गुनासो गरिहालिन्, ‘कि त्यो कार पनि साझा थियो ? नेपालमा तिम्री साइँली दिदीले त ठूलै धाक लगाएकी थिइन् ! ‘इन्जिनियर हो मेरो भाइ’ भन्थिन् । तर यहाँ आएपछि त मलाई पाल्न पनि नसक्ने हो कि भन्ने पीर पो लाग्न थाल्यो मलाई !’

साइँली दिदीको आलोचना गरेकी हँुदा लोकेश रिसायो । चेताउनी पनि दियो, आइन्दा त्यस्तो कुरा नगर्नू भनेर । सन्जनाले खास कुरा बताइदिइन् । वास्तवमा त्यो कार साझा नै थियो । लोकेश र सन्जनाले बराबर डलर तिरेर किनेका ।

तर अब सन्जनाको एकलौटी भैसकेको थियो । लोकेशले ‘बर्थ डे गिफ्ट’ दिएको ! तर महिनावारि किस्ता त लोकेशले पनि तिर्दै आएको थियो ।

सन्जनाले श्रीमतीकै सामन्ने लोकेशलाई ‘थ्याङ्क्यु किस’ गरिदिइन् ! भावनालाई बिघ्नै रिस उठ्यो र सन्जनाको ओठ तानिदिइन् । लोकेशलाई तनाव भयो । त्यही भएर लगातार तीन पेग हुल्यो ।

आधारात बित्न लागिसकेको थियो । सबै साथीहरू गइसकेका थिए । तर लोकेशलाई सन्जनाले छाड्न मानिनन् । भावनालाई सन्जनाकी साथीको पलङ्गमा सुत्न आग्रह गर्दै थिए । अहँ, भावना सुतिनन् । भावनालाई शङ्का लाग्यो, पक्का पनि सन्जनाले लोकेशलाई यहाँ ल्याएर सुताउने गर्दी रहिछ ! लोकेशको कोठामा पनि सुत्दी होली !

नभन्दै एक आइतबार लोकेशले असली चरित्रको एक टुक्रा झलक देखायो । त्यो दिन नेपालीहरूको जमघट थियो । त्यो जमघटलाई ‘पिकनिक’ भनिएको थियो । ‘गार्डेन पार्क’ मा राम्रा राम्रा युवतीहरू आएका थिए । सबैको नजरको केन्द्रबिन्दु भावना नै थिइन् । लोकेशले श्रीमतीसँग साथीहरूको परिचय गराइदियो ।

गार्डेन पार्कको रमझममा एक्कासि अप्रिय घटना घट्यो । एक युवकले एक्कासि भावनाको गालामा चुमिदियो । तब त लोकेशले त्यो युवकलाई मुन्ट्याएर पर लग्यो ।

लोकेशले अपशब्दको सहारा लिई हका¥यो, ‘यु ब्लडी फुल । यु नो हु इज शि ?’

‘ह्वाट्स माई फल्ट ?’, आम्मै ! युवक त उल्टै जाग्न पो थाल्यो, ‘इज शि योर प्राइभेट रूम पार्टनर ?’ खै केके फलाक्दै थियो, भावनाले थोरै मात्र बुझिन् क्या र ।

तर घटना त्यत्तिमै सामसुम भएन । केटोले लोकेशलाई लोप्पा ख्वाइदियो । फेरि केके फलाक्यो । तब त लोकेशको धैर्यताको बाँध भत्कियो । अनि दनक दिन थाल्यो । धन्न पुलिसले थाहा पाएन । त्यो केटोलाई केही साथीहरूले सम्झाएर बिदा गरे ।

बैँस ढल्केकी एक नेपाली महिलाले भावनालाई भनिन्, ‘ल यो पिऊ सिस् ।’ उनले पेय पदार्थ भरिएको सानो भाँडो थमाइन् । उनको नेपाली नाम लतिका थियो । तर अब त उनी ‘स्विटी म्याम’ भइसकेकी थिइन् ।

भावनाले जवाफ दिहालिन्, ‘मेरो नाम ‘सिस्’ होइन म्याम । भावना हो ।’

स्विटी म्याम अट्टहास गर्न थालिन् । उनको नजरमा भावना त ‘पाखे, गँवार’ केटी ठहरिइन् । ओहो ! ती बूढीकन्याले पनि लोकेशलाई ‘किस’ गरिन् ! त्यो पनि ओठमै ! भावनालाई सही सक्नु भएन । उनको पालो स्विटी म्यामको गाला पड्काइदिइन् ।

एक युवतीले भावनालाई तल खसालेर भनिन्, मिस्टर लोकेश ! तिमीले त गाउँको गोबरै उठाएर ल्याएछौ नि ! केही नजान्ने यस्ती पाखेसँग कसरी जिन्दगी बिताउँछौ यार ?’

त्यहाँ भावनालाई हाँसोको पात्र बनाइदिए ।

लोकेशलाई चित्त दुखेछ र.जवाफ दियो, ‘तिमी पनि नेपालमा गोबरै उठाएर हुर्केकी थियौ मैया ! तिमीले बिर्सियौ पहिलो पटक ‘टोइलेट युज’ गर्दाको घटनालाई ? ‘कमोडमा फ्लस’ गर्दा तिम्रो अनुहारको ‘मेकअप’ पखालिएको थियो होइन र ?’

त्यही रातको कुरा हो…।

भावनाले पति लोकेशलाई भनिन्, ‘कोठैमा बन्दी बनेर कति दिन बस्ने म ? मलाई पनि कुनै काम खोजिदेऊ । नत्र भने नेपाल नै फर्काइदेऊ ।’

‘हेर नानी । यो अमेरिका हो । आफ्नो मुलुकमा जस्तो सजिलो केही पनि हुन्न ।’ लोकेशले नरम व्यवहार प्रदर्शन गर्दै सम्झायो, ‘तिमी बी.ए.पास गरेकी केटीलाई यहाँको भाषा बुझ्न केही समय लाग्छ । रहनसहन बुझ्न त झनै बढी समय लाग्छ । तिम्रो पेटमा हाम्रो मायाको बिरूवा हुर्किराखेको छ । अहिले तिमी केवल आफ्नो शरीरको मात्र ख्याल गर भावना ।’

भावनाले सुत्केरी स्याहार्ने मान्छेको कुरा निकालिन् । लोकेशले विचारै नगरी साहिँली दिदीको नाम लिइदियो । भावनालाई मन परेन । परोस् पनि कसरी, जव भावनाकी साहिँली आमाजूले पहिलो सन्तान पुत्र नै होस् भन्ने चाहेकी थिइन् र अमेरिका प्रस्थान गर्दा पनि हेटौँडा गएर बसेकी थिइन् ।

समय बित्दै जाँदा भावनाको ‘डेलिभरी’ हुने दिन पनि आइपुयो । त्यतिन्जेलसम्ममा केही परिवर्तनहरू भैसकेका थिए । भावनाहरू नयाँ बङ्गलामा सरिसकेका थिए । उनीहरूको निजी गाडी पनि भैसकेको थियो । ती सबै परिवर्तनहरू लोकेशको ससुरालीले गर्दा भएको थियो ।

लोकेशको स्वाभिमानलाई भावनाले ‘खोक्रो आडम्बर’ प्रमाणित गरिदिएकी थिइन् । कुरो ठीकै पनि थियो । लोकेशका दिदीहरूले ठूलै धाक लगाएका थिए । आखिर ढाँटेको कुरा काटे पनि मिल्दैन । लोकेशले पी.आर.पाएर के गर्नु ? एउटा बास त बनाउन सकेको थिएन ।

अन्ततः भावनाले छोरी जन्माइन् । एकदिन सन्जना सुत्केरी भेट्न भनेर आइन् । भावनाका ड्याडी, ममीलाई त उनी निकै फरासिली लागिन् । उनीहरूले उनीप्रति माया पनि दर्शाए । तर भावनालाई पहिलो दिनदेखि नै मन नपरेकी उनी । त्यही भएर ठसक्क परिन् ।

सन्जना फर्किनै लाग्दा एकान्तमा पारेर लोकेशसँग गुनासो गरिन्, ‘के हो माइ ‘डियर लभर ?’ अचेल त तँ मसँग टाढा टाढा हँुदै गइरहेको छस् ! एउटै कम्पनीमा काम गर्ने भए पनि भेटघाट हुनै छाड्यो त ! बिहे गरिस् । मैले केही भनिनँ । सन्तान जन्माइस् । फेरि पनि केही भनिनँ । तर…।’

‘हेर् सन्जना ! अब म घरबारे मानिस हुँ । पहिले पहिले केके हुन्थे । केके भए, त्यतातिर नजाऊँ ।’

लोकेशले प्रष्टसँग भनिदियो । त्यसो त सन्जनाले लोकेशसँग ‘वान साइडेड लभ’ गरेकी थिइन् । त्यही भएर लोकेशसँग भएका ‘अन्तरङ्ग सम्बन्ध’ का घटनाहरूलाई पनि लोकेशले ‘एक तर्फी’ नै मानेको थियो । उसले सन्जनालाई टाढिन र कुनै केटासँग सम्बन्ध गाँस्न सुझाव दियो । अहँ, सन्जनाले ढिपी छाडिनन् । लोकेशलाई माया गरिरहने विचार प्रकट गरिन् ।

ती दुईको भलाकुसारीको दृश्य सुत्केरी भावनाको नजरबाट छिप्न सकेन । त्यो कुरा उनले ड्याडीको कानसम्म पु¥याइन् । लोकेश घरमा नभएको मौका पारेर भावनाको ड्याडीले सन्जनालाई घरमा बोलाए ।

उनले सन्जनालाई आशा देखाउँदै भने, ‘हेर नानी ! त्यो कम्पनीमा काम गरेर तिम्रो भलो होलाजस्तो छैन । मेरो एकजना साथीको ठूलो कम्पनी छ । तिमीले चाह्यौ भने ‘म्यानेजर पोष्ट’ दिलाउन म सहयोग गर्छु ।’
सन्जनाले कुरा बुझिहालिन् । तब सिधै नकारिदिइन्, ‘भो भो अङ्कल ! यो कम्पनी छाडेर म अन्त कतै पनि जान्नँ । मलाई यहीँ पुग्दो ‘स्यालरी’ दिइराखेको छ ।’

त्यसपछि बूढाले धम्कीको भाषा प्रयोग गरे । आइन्दा लोकेशसँग भेटघाट र ‘आपत्तिजनक स्थिति’ मा पाए भने सन्जनाले ठूलो मूल्य चुकाउनु पर्ने छ !

त्यही घटनाको राति भावनाकी ममीले जुवाइँलाई तर्साइन्, ‘अमेरिकामा बसेको भन्दैमा जे पनि गर्न पाइन्छ ? तिमी यसपालि चुनाव लड्छु भन्दैछौ । सँस्थाको पद पाउन चरित्र पनि त असल हुनु पर्छ ज्वाइँ बाबू । यदि तिम्रो बदमासी रोकिएन भने ‘गैर आवासीय नेपाली संघ’ को ढोका ढकढकाउन जान्छौँ हामी । नेपालीहरूको अधिकार स्थापित गर्ने ‘एन.आर.एन.ए’.ले पी.आर.खारेज गरिदिन पनि सक्ला केरे !’

सासू–आमाले धम्क्याएपछि लोकेश केही बोल्न सकेन ।

अन्ततः भावनाले पनि काम गर्न थालिन् । उनले रेष्टुराँमा काम पाएकी थिइन् । ड्याडी त नेपाल फर्किसकेका थिए । ममीचाहिँ नातिनी स्याहार्न बसेकी थिइन् । भावनाको पद ‘वेट्रेस’ थियो ।

एक साँझको घटना हो…।

भावना टेवलका खाली प्लेटहरू उठाउँदै थिइन् । त्यहाँ पाँच जनाको ‘ग्याङ्ग’ थियो । दुई जना नेपाली मूलका पनि थिए । टेवलमा ‘टिप्स’ राखिसकेपछि एउटा अधबैँसे नेपालीले भावनाको तल्लो अन्तरवस्त्र हेर्न खोज्यो । भावनाले विरोध गरिन् ।

अति भएपछि भावनाले रिस थाम्नै सकिनन् र बेसरी बजाइदिइन् । मोराको नाक र ओठबाट रगत बग्न थाल्यो । त्यसपछि पुलिसलाई बोलाए । भावनालाई लगेर थुनिदिए । करिब चार घण्टापछि लोकेशले कागज गरेर पत्नीलाई छुटाएर ल्यायो ।

भावनाको जागीर गयो । एक पटकको असफलतापछि नै भावनाको मोह भङ्ग हुन पुग्यो । उनलाई अमेरिकाको बसाइ बोझ लाग्न थाल्यो । तब उनले पति लोकेशलाई नेपाल फर्किन आग्रह गरिन् । लोकेशलाई पत्नीको चाला देखेर उदेक लाग्यो । त्यसो त ममी पनि खुसी थिइनन् ।

लोकेशले धम्की दियो, ‘तिमी नेपालै फर्किने भए मलाई ‘डिभोर्स’ दिएर मात्र जाऊ ।’

भावनाले प्रतिवाद गरिहालिन्, ‘हस्, दिऊँला नि डिभोर्स ! मलाई छाडेर त्यो बाइफाले सन्जनासँग मोज गरूँला भन्ने सोचेका हौला हैन ?’

लोकेशकी सासू–आमाले पनि आपत्ति जनाइन्, ‘यो के कुरा गर्नुभएको ज्वाइँ बाबू ! मेरी छोरीको जिन्दगीसँग खेलवाड गर्न पाउनुहुन्न हजुरले । यसले के गरेर खान्छे ?’

जुवाइँले नमिठो जवाफ दियो, ‘यो सबै हजुरहरूको नचाहिँदो लाडप्यारको नतिजा हो ममी । यदि हजुरहरूले भावनालाई घरायसी कामको तालिम दिनुभएको भए आज यिनले यो दिन देख्न पर्दैन थियो । अमेरिकामा सन्तान जन्माएर अमेरिकाकै स्थायी बासिन्दा हुने उच्च आकाङ्क्षा पालेकी भावना यति धेरै कमजोर होलिन् भन्ने मैले सपनामा पनि चिताएको थिइनँ ममी ।’

अन्ततः भावनाले आफ्नो कमजोरी महसुस गरिन् र एक योग्य एन.आर.एन.भएर बाँच्ने अठोट पनि गरिन् । पत्नीको बुद्धिको बिर्को खुलेकोमा लोकेश खुसी भयो । त्यसको भोलिपल्टै उसले पत्नीलाई अङ्ग्रेजी भाषा कक्षाको लागि एक ‘इन्स्टिच्युट’ मा लिएर गयो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button