
अमेरिका न आहा ! न भू-स्वर्ग
कविताः अमेरिका
मदन दुलाल
अमेरिका आहा !
भू-स्वर्ग ।
सुन्दर-शान्त-विशाल
सोच्दै मन बहलिने ।
लभ ईन फस्ट साईट सायदै यही हो ।
किन्तु !
मन बहलाउँदैन अमेरिका
अपितु, बाँधिदिन्छ जीवन बेस्कन ।
बाँधिनु, आहा ! हुन्छ र ?
जहाँ मिसिसिपी रिभरहरू गुनगुनाउँदैनन् मृदुल गुन्गुनाहट
अलाप्छ फगत नैरास्य
जसरी नारायण गोपाल गाउँछन् ‘मेरो उठ्ने पालो ।’
जहाँ बग्दैन डेलाह्वेर रिभर
सुसेल्दै रेशम… फिरिरको झैं माधुर्य ।
जहाँ नायगरा फल्सको छँङछँङले गाउदैन
जोर्ज फ्लोयडको आलाप
आईकन्ट ब्रेथ अफिसर ! आई कान्ट … ।
जहाँ
न्यूयोर्कका बलिया काँध
स्टक एक्चेन्जको डमरू बजाउँछ ।
र,
नचाउँछ मुटु भएर पनि मुटु नभएका धनानन्दहरूलाई
जसरी बिरालोले नचाउँछ बबुरो मुसो ।
हडसन रिभर व्यस्त छ
‘लियोपोल्ड द्वितिय’-को प्रस्तति गान गर्नमै ।
र,
नजिकै आँखामा पट्टि बाँधिन बाध्य स्ट्याचु आफ लिबर्टी
पुछी रहेकी छिन् अहंकारी बिर्य ।
दबिएका स्वरमा कराउँदैछन्
कृशावस्थाका दुई बृद्ध प्रसान्त र एट्लान्टिक
हडसन रिभरको स्वरमा स्वर मिलाउँदै ।
उता, सेतो घर सुस्केराको लहु पिउन
एनाकोण्डा कोरल्न ब्यस्त छ ।
सेतो घरमा बस्ने काला जूकाहरू
लाशको बिस्कुन लागी सक्दा पनि
सुन्दैनन्, अहं ! सुन्दैनन्
कोरोनाको भुन्भुनाहट ।
क्लाईमेट चेन्ज !
अ सिरियस थ्रेट ।
नो… नो … स्टप ! लेट मि टेल यू सम्थिंग
ईट ईज अ होक्स
हुई डन्ट बिलिभ्स अन ईट
ईट ईज जस्ट एन प्रोपोगन्डा क्रिएडेट बाई सो कल्ड मिडिया ।
वक्तव्य बाजी गर्छ सेतो घर ।
एकता छ र छैन पनि
समता छ र छैन पनि
अवसर छ र छैन पनि ।
एक यम
दुई नियम
आहा ! कसरी हुन्छ ?
विछ्यौनामा कहाँ सुत्छ र अमेरिका
घडीमा सुत्छ र घडीमै उठ्छ
नौरंगी अवतार प्रस्तुत गर्छ ।
र,
रातो, पहेंलो र हरियो बत्तीको सहायतामा परेड खेल्छ ।
यहाँ कालो रोडले
दिनभरी, रातभरी अनिदा मुर्दालाई बोकेर दौड्दछ
क्लान्त र शिथिल रोड
अनि गाउँछ
आई कान्ट ब्रेथ अफिसर ! आई कान्ट !
बहिरो अमेरिका केही सुन्दैन ।
बफेट, रेस्टुरेन्ट र बारको मादकतामा रमेको अमेरेकिलाई
सुत्ने फुर्सद नै कहां ?
यहाँ क्राईष्ट क्रुजमा छन्
यहोवा बाइबलको कुनै अध्यायमा सिमित गरिएका छन्
सारा पातकीको पाप धुन शुली चडेका जिजस क्राईष्ट
भन्दै होलान् माथी कतै पिता परमेश्वर यहोवाको राज्यमा
क्राईष्ट उचु:-
परमपिता परमेश्वर !
अमेरिका ! अमेरिका रहेन
अमेरिका न आहा ! न भू-स्वर्ग
न शान्त, न सुन्दर, न विशाल !
शान्त स्वरमा
मधुर मुस्कानसहित
झ्याउरे लयमा लय हाली यहोवा भन्नु हुन्छ
यहोवा उवाच:-
देख्नु र सुन्नु यी दुई बीच चार अंगुल फरक छ
यही सत्य भनी नगुनी कुद्नु त्यहीँनेर नरक छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)