रुस-युक्रेन युद्ध र ‘प्रीति’ रुसीप्रति

रुस र युक्रेनबीच चलिरहेको भयावह त्रादसीबाट उसको मन निरन्तर आहत भइरहेछ । नभइरहन पनि सक्दैनथ्यो । हुनैनपर्ने भिडन्त, फौजी कारवाही वा युद्ध जे भने पनि बढ्दै गइरहेको छ । यस परिस्थितिमा त्यसलाई शान्त गर्नेभन्दा एउटा बाह्य महाशक्तिले आफ्नो निहित स्वार्थको कारण झन दन्काउने गरेको पढ्दा र देख्दा झनै मन सम्हाल्न गाह्रो परिरहेछ ।

यस घटनाक्रममा यता उसका आफ्ना निजी प्रस्तुतिमा उसका विचारहरु ‘आक्रमणकारी’ रुसको पक्षमा र ‘निर्दोष सानो देश’को ‘स्वतन्त्र अस्तित्व’ विपक्षमा लेखिएको लाग्नसक्ला कतिपय पाठकलाई । युक्रइनी जनताको विपत्ति, विजोगमा सहानुभूति हुँदाहुँदै पनि ऊ यो रुसी जाति र तिनको सभ्यतालाई क्षतविक्षत गर्न नै चलाइएको प्रोक्सी युद्ध हो र रुस आफ्नो अस्तित्व रक्षाको लागि फौजी कदम उठाउन बाध्य भएको हो नै भन्ठान्दछ । ‘रुसी आक्रमण’को विरोध गर्दागर्दै पनि उसमाथि अमेरिकी सरकारले बेलायतको समर्थनमा उक्राइनी सत्ताको आडबाट यो युद्ध थोपरेको हो भन्ने गम्भीर आवाज-विचार स्वयं अनेक विज्ञ अमेरिकी तथा पश्चिमी राजनीतिकशास्त्री तथा विशेषज्ञहरु उठाइरहेका छन् । साथै, सम्पूर्ण विश्वमाथि कल्पना गर्नै नसकिने महाविनाश ल्याउने यो खतरालाई वर्तमान अमेरिकी सरकारले खेलाँची सरह ठानेकोमा घोर विक्षोभ पनि जनाइरहेका छन् । यसबापत तिनीहरुमाथि सत्तापक्षीय संचार सम्राटहरुले ‘रुसी दुष्प्रचार’ भनी निन्दा, भर्त्सना अथवा ‘नाकाबन्दी’ समेत गर्न छाडेनन् ।

छोटकरीमा भन्नुपर्दा, अवस्था जति बताइरहिएको छ, त्योभन्दा महा, महा, महाभयावह छ, किनभने स्वयं अमेरिकी राष्ट्रपतिले पोल्याण्डको राजधानीबाट हाकाहाकी योे घातक भित्री उद्धश्य खोले, जसलाई उनकै सत्तासन ह्वाइट हाउसले ‘खण्डन’ नगरिरहन सकेन । सारा विश्व स्तब्ध भयो, छ, र भइरहेछ, यस्तो विनाशखेल खेलिएको देख्दा, अमेरिकाको मित्रदेशहरुको समुदायमा बेलायती सरकार छाडी अरु घनघोर चिन्ताग्रस्त भएको खबर अमेरिकी संचारक्षेत्रले अमेरिकी नागरिकलाई नबताइरहन सकेन, भलै त्यसमा त्यसले अनेक जालसाझीको सहारा लिएको होस् ।

यी सबै लेख्दालेख्दै पनि उसको मन धेरै अगाडिको कुरापट्टि फर्केर उडिरहेछ ।

यो प्रीतिको कुरा रुस, युक्रेन, बेलोरुस आदि सबै सोभियत रुस हुँदाको हो । यी सब ऊ कलकत्ताबाट पुष्पलालदीक्षित कम्युनिष्ट भई काठमाण्डौँमा प्रगतिशील अध्ययन मण्डल खोलेर चलाउँदाको कुरा हो, २००८ सालमा । अनि, यस्तो प्रीति गराउने मुख्य पात्र अमेरिकी, अंग्रेज, भारतीय नै थिए- अमेरिकी जोन रीड, हावर्ड फास्ट, ज्याक लण्डन, पल रोब्सन, अङ्ग्रेजहरुमा क्रिस्टोफर कडवेल, वेबदम्पति सीडनी तथा बेट्रिस, हर्बर्ट जी वेल्स, रजनी पाम दत्त, अनि भारतीयमा राहुल साँकृत्यायन, किशन चन्दर, सादत हशन मन्टो, मुल्कराज आनन्द, ख्वाजा अहमद अब्बास आदि थिए । यिनीहरुमार्फत राजनीतिज्ञ-क्रान्तिकारीहरुमा भ्लादीमिर इल्यीच लेनिन, क्रुप्सकाया, रोजा लब्जेम्बर्ग, प्लेखानोभ, मार्तोभ, ट्रट्स्की, बुखारिन, जिनोइएभ, कामेनेभ, स्भेर्दलोभ, स्तालिन तथा साहित्यक्षेत्रका सर्जक( स्रष्टाहरुमा पुश्किन, दोस्तोयेभ्स्की, तुर्गनेभ, लर्मेन्तोभ, बेलिन्सकि, गोगोल, तोल्सतोय, गोर्की, चेखोभ, बने त्ति, मायाकोभ्स्की, ब्लोक, शोलोखोभ, ओस्त्रोभ्स्की, इहरेनबर्ग, सिमोनोभ, रसुल गम्जातोभ, युरी गेरमान आदिसँग चिनजान भयो । यसरी बढ्दै गएको चिनजानमा अरु पाकोपन ल्याउनमा कम्युनिष्ट काडरको भूमिकाले खेलेको पनि स्वतसिद्ध छ ।

प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले नेपाल कम्युनिष्ट पार्टीमाथि लागेको प्रतिबन्ध २०१३ साल ३ बैशाखमा खारेज गराए, सोही साल साउन ५ गते सोभियत संघसित दौत्य सम्बन्ध जोडे, आचार्यका एक निकटस्थ सहयोगी रामहरि शर्माको अध्यक्षतामा नेपाल-सोभियत मैत्री संघको गठन भयो । त्यसको एक संस्थापक सदस्य ऊ पनि भएकोले दुई देशका जनताबीच पनि विविध सम्बन्ध विकास गर्न झनै सहज भएको सम्झँदा, ऊ आज पनि हर्षित नभइरहन सक्दैन ।

यहाँ सोभियत संघसित दौत्यसम्बन्ध घोषणाबाट उठेका एउटा अत्यन्त रोचक तर देशको सार्वभौमसत्ताको मानमर्यादासँगको घटना पनि ऊ स्मरण नगरिरहन सक्दैन । यस्तो हुनलागेको गाईँगुईँ सुनेपछि नेपाल प्रजा परिषदका तात्कालिक अध्यक्ष भद्रकाली मिश्र आश्चर्य र विरोध दुवै प्रकट गर्न मध्यरातमा आफ्नै प्रधानमन्त्रीको घर पुगेछन् । इजिप्टमा राष्ट्रपतिद्वय नाशेर तथा मार्शल टिटोसँग शिखर सम्मेलनमा गएका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले हवाईजहाजमै यो खबर सुन्नासाथ बम्केछन् । अनि भारतीय राजदूत भगवान शहाय राजा महेन्द्रकहाँ १९५० को सन्धिको विपरीत भएकोू कदमप्रति आपत्ति प्रकट गर्नजाँदा राजाले दुई सार्वभौम देशबीच म‌त्रीसम्बन्ध कायम गर्ने कुरामा तेस्रो देशले कपाल किन दुखाउनुपर्ने र १९५० को सन्धिको एकपक्षीय मात्र किन व्यवहार हुनुपर्ने भनी प्रश्न गरेछन् ।

यी सबै कुरा उसले ‘समाज’ दैनिकका सम्पादक मणिराज उपाध्यायबाट सुनेर आफ्नो ‘१९९७ सालदेखि २०१७ साल- एक अवलोकन’मा विस्तारपूर्वक वर्णन गरेको हिजोजस्तो लागिरहेछ, उसलाई ।

२०१३ को सालमा सोभियत संघसँग प्रत्यक्ष चिनारी गर्ने र रुसी जनतासित प्रीति बढाउने ठूलै मौका जुर्‍यो । चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनमा पहिला त विना निम्ता, विना भीसा तर चमत्कारसँग दुवै हात पर्दा पेकिङ्ग पुगेपछि मंसीरमा ऊ मास्को पुग्छ। ‘प्राभदा’का प्रधान सम्पादकसित महाधिवेशनको बेला भेटपरिचय हुन्छ । सोभियत संघसित राजनयिक सम्बन्ध राख्नमा जनस्तरबाट उसको भूमिका रहेको र उ नेपाल-सोभियत मैत्री संघको एक संस्थापक सदस्य पनि भएको कुरा बुझेपछि ‘प्राभदा’को निम्तामा सोभियत संघको म्रमण गर्ने तथा नोभेम्बर ७ तारीखमा पर्ने सोभियत क्रान्ति दिवससमारोहमा सम्मिलित हुने गरी निम्ता आउँछ ।

चिनियाँ प्रधानमन्त्री चु इन लाइको विशेष स्नेहबाट थप मोटो ऊनी भित्री तगिएको टपकोट भिरेर सन् १९५६ नोभेम्बर १ मा मास्को पुग्दा त उसलाई आफ्नो डब्बल जीउ अटाउने बख्खुकोट र बेग्लै जुत्ताले सजिन लगाइन्छ ।

अक्टोबर क्रान्तिको नामले विश्वविख्यात युगान्तकारी परिवर्तन ल्याउने महानगर लेनिनग्रादको तीनदिने भ्रमण सकी ऊ नोभेम्बर ७ तारिखको फौजी परेड तथा जन झाँकी हेर्न रेड स्क्वायरमा लेनिन समाधिस्थलको प्यारापेटमा एक विशिष्ट पाहुना भएर पुगेको हुन्छ । ऊ रोमाञ्चित हुन्छ र उत्तिखेरै आफ्ना गुरु पुष्पलाललाई सम्झन्छ, उनैको अग्रसरताबाट चीन हुँदै यहाँसम्म आउन सकेकोमा, आभार जनाउँदै ।

सोभियत जनतासित प्रीतिको लहर बढ्दै जान्छ, विभिन्न नगर र ऐतिहासिक स्थलहरु हेर्दैजाँदा ।

ताशकन्द नगरमा उज्बेक विज्ञान एकेडमीमा एशियाविद्हरुसँग नेपाल कम्युनिष्ट आन्दोलनबारे प्रवचन तथा अन्तर्क्रिया कार्यक्रम हुँदा उसँग भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई कालो झण्डा र भारतीय नीतिप्रति विरोधको तात्पर्यबारे पनि प्रश्न गरिन्छ । अन्तर्राष्ट्रियतावादी पुष्पलालकै अग्रसरताबाट अगाडि बढेको यो अभियानको अर्थ र मर्म प्रस्टिँदा उनीहरुको प्रसन्नतापूर्ण आश्चर्यबाट प्रभावित भएर त्यतिबेला उसको दोभाषे भारतविद् इल्या रेद्को प्रमुख नेपालविद हुन पुग्छन् ।

२०१५ सालको आम निर्वाचनः यो घटनाक्रमपछि दलीय कम्युनिष्ट राजनीतिबाट अलग रही स्वतन्त्र पाराको देशी तथा विश्व राजनीतिमा पत्रकारिता तथा साहित्यमार्फत् लाग्ने विधिको विधान रहेछ, उसलाई । तर रुसी जनतासँग प्रीति सम्बन्धमा उन्नयन छुटेन । ऊ अँध्यारोमा हिर्काएको ढुङ्गा लागे झैँ ‘सोभियत भूमि’ पत्रिकामा ‘जागीर’ पाई ९-९ वर्ष जोडिन पुग्यो । नेपाली तथा विविधतापूर्ण सोभियत साहित्य-सँस्कृति-कलालाई एकअर्कोर्सँग परिचित हुँदै गाढा सम्बन्धमा बाँधिन लगाउनमा यस पत्रिकाले उल्लेखनीय भूमिका खेल्यो । आफ्ना श्रष्ट्राहरुका सृजनहरुलाई नौलो परन्तु उच्च मानवतावादी प्रकाशका पढ्ने( बुझ्ने मौका पाए, नेपालीहरुले । ‘सोभियत भूमि’ पत्रिकामा कुनै पुराना, आधुनिक तथा वर्तमान नेपाली सर्जकहरु उल्लेखित हुन छुटेनन्, सबै अटाए । कति नेपाली सर्जकहरुको प्रतिभा फक्रिने प्रकरणको जन्म नै यसकै पानाहरुबाट भए ।

प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१५ सालको संसदीय प्रजातान्त्रिक व्यवस्थाको नयाँ राजनीतिक परिवर्तनले पनि सोभियत संघसित सम्बन्ध आयाममा थप सहयोय पुर्‍यायो- पहिलो संसदीय शिष्टमण्डलको भ्रमणबाट । यस भ्रमणको समुचित प्रचारप्रसारमा ऊ आफैँले पनि योगदान गर्न पाएको थियो ।

२०१७ सालको दुखद घटनापछि पनि रुसी जनतासँग प्रीति बढाउने उसको क्रम छुटेन । राजा महेन्द्रले देशहितमा पूर्व( पश्चिम राजमार्ग निर्माण, नयाँनयाँ उद्योगधन्दाको निर्माण, बिजुलीघरको स्थापना, उच्च अध्ययनमा छात्रवृत्ति व्यवस्थामा रुसी जनताको निस्वार्थ सहयोग पाए, असंलग्न आन्दोलनको विकासमा नेपालको अटूट सहयोगले उनीहरुबाट उच्च सह्रनी भयो, जसको प्रत्यक्षदर्शी ऊ पनि भएको थियो, -पत्रिकाका पानाहरुबाट ।

२०२२ सालमा नेपालको राजधानी उपत्यकालाई झिलिमिली नै जसो पार्ने पनौती बिजुली घरको समुद्घाटन राजा महेन्द्रबाट भएको पनि देख्ने पनि ऊ भएको थियो, ‘सोभियत भूमि’ पत्रिकाको विशेष सम्वाददाताू भएर । यसरी १०० वाट्को चिम बाल्दा पनि टुकी बालेकोजत्ति उज्यालो नहुने दिन सम्झदा त्यसदिन र त्यसपछि पनि तिहारकै जस्तो जगमग भएको थियो ।

तीन वर्षपछि दिल्ली छाडेर काठमाण्डौँ फर्कँदा पनि माया-प्रीतिको डोरो बढाउन सोभियत दूतावासको सूचना विभागमै उसले पाएको सम्पादकीय कामले उल्लेखनीय भूमिका खेलेको पाउँदा ऊ आज पनि दङ्ग नपरिरहन सक्दैन । यस क्रममा विभिन्न उद्योगधन्दा बनेर पनि चालू भए । पथलैया-ढल्केबर राजमार्गले त यातायात विकासमा युगान्तकारी नै काम गर्‍यो । यसबीच अनेक साँस्कृतिक( साहित्यिक शिष्टमण्डल एकअर्को देशमा आऊजाऊ भइरह्यो । यी सबैमा ऊ पत्रकारको नाताले एक न एक किसिमले संलग्न भइरह्यो । उच्च अध्ययन गर्नगएका विद्यार्थी विशेषज्ञ भई फर्के, कामकाजमा लागिहाले ।

समय अघि बढ्दै गयो, अनेक नयाँ नयाँ परिवर्तन भए, रुसी जनताको जीवनमा । उसको देशचाँहि निर्दलीय व्यवस्थामै अड्किरह्यो । तर माया-प्रीतिक्रम टुटेन । बलवान् समयले दुवै देशमा आआफ्ना स्थानविशेषीय परिस्थितिले प्रजातन्त्र, राजनीतिक उदारिकरण, उन्मुक्त विचारप्रवाहको भेल ल्यायो- सन् १९९०-९१ मा तथा २०४५-४६ सालमा । नेपालले ऐतिहासिक दृष्टिबाट सर्वथा नौलो, नितान्त मौलिक राजनीतिक अभ्यास- हिजोसम्मका एकअर्काका ‘वर्गशत्रु’ समान रहेका प्रजातन्त्रवादी तथा वामपन्थी शक्तिहरुले समयका आवश्यकता बुझ्ने आँट र बुद्धिमत्ता, दुवै देखाए, सङ्कल्प बमोजिम प्रजातन्त्रको पुनर्स्थापना गरी छाडे । रुसको तत्कालीन नेतृत्वले पनि रुसी जनताको समग्र हितमा ग्लास्नोस्त तथा पेरेस्त्रोइकाको अभियान चलायो तर आफूभित्रैका कोही अकर्मण्य रहे त, अरु धेरैजसो भ्रष्टाचारी, अवसरवादी, षडयन्त्रकारी तत्त्वहरु र ती ू नयाँ वर्गूका निहितस्वार्थसेवक रहेको कर्मचारीतन्त्रले विश्वासघात गरी फौजी कूको दुस्साहस गर्नाले समाजवादी व्यवस्था नै ढल्नपुग्यो जसको इच्छा, चाहनाको ताकमा रुसी जनताका विदेशी वैरीहरु सजग भएर बसेका थिए । के भो, कसो भयो, तर त्यत्रो विशाल देश, त्यस्तो ऐतिहासिक उपलब्धि ल्याउने देशको राज्यव्यवस्थाको सर्वोच्च आसनमा जड्याहाँ व्यक्ति बस्नपुग्दा देश र जनताको हुनसम्मको दुुर्गति भयो जसको फाइदा उही विदेशी शक्तिले उठायो, जो आज युक्रेनमा नाजीपक्षीय सत्ता कायम गरेर रूसी जनताविरुद्ध अपराधकर्म गरिरहेछ । रुसी जनता विचराको के दोष, सोभियत समाजभित्रका पामरहरुले नालायकलाई सत्तामा ल्याए ।

यसअघि नै सोभियत जनतासितको उसको प्रीति-प्रक्रिया टुट्यो । उसको जागिरे पत्रकारिता जीवन समाप्त भयो ।

पामर र नालायक शब्द । उसलाई आफ्ना सद्गुरुदेव स्वामी सत्यदेवले २०५८ सालमा टिपाएका ती शब्द आज यो आलेख लेख्दा झ्वास्स नसम्झीरहन सकेन, ऊ ।

अनि रुसमा दिउँसै जाँड खाएर नाच्न रमाउने राष्ट्रपति त अमेरिकाको बुई चढ्दै, त्यसको प्रशासनसित मित्रता गाँस्दै राज्य चलाउन थाल्दाको चरम दुर्गतिबाट देश र जनतालाई जोगाउन देशभक्त तथा विवेकी मानिसहरु लागी परे, फलस्वरूप रुस बाँच्यो । तर ‘मित्रता’बाट रुसलाई घातक मोल चुकाउन लगाउन नपाएकोमा अमेरिकी प्रशासन विक्षिप्त भयो । तर आफूलाई सम्हालेरै बस्यो । अब तीस वर्षपछि रुसविरोधी विक्षिप्तताले वर्तमान प्रशासनको पालामा मानसिक व्याधि किन ल्यायो भन्ने उदेकलाग्दो प्रश्नमा अमेरिकी राज्य सन्यन्त्रमा थोरबहुत भएको सन्तुलन पनि हराएकोले होला भन्ने लाग्दछ । न्यून बुद्धिका तर चरम राष्ट्राहङ्कारवादले ग्रस्त प्रशासनमा खुला आक्रामकता त्यसका ‘कार्यसूचि’ बनेको छर्लङ्ग छ । अनि ताजूबमा पनि घनघोर आश्चर्य त त्यसले युक्रेनको सत्तामा बलियो हालीमुहाली गर्नेभएका नाजी पक्षीय तत्त्वहरुलाई यस अनिष्ट अभिप्रायमा ‘घना मित्र’को रूपमा खुला प्रयोग गर्नपाएको छ, रुसीजनतासित तिनीहरुको ‘जन्मजात’ शत्रुताका कारण । आखिर नाजीवाद पश्चिमी पूजीवाककै सन्तान न हो- आफूले चिताए विपरीत हुण्डरी, बेकाबू नै भए पनि । पछिपछि बाबुआमालाई सोत्र्याम पार्न खोज्ने राक्षस नै भए पनि, जुन राक्षसलाई समाप्त गर्न ‘बैरी’ विचारधाराका देशको सेनाको मद्धत नलिईरहन सकेन, त्यसले ।

अनि यसै सिलसिलामा शत्रुताका थप दुई कारण पनि भएको उल्लेख नगरिरहन सक्दैन, ऊ ।

पहिला कारणः तथाकथित यहुदी राष्ट्रपति भएता पनि नाजीहरुको वर्चस्व भएको युक्रेनी शासनसत्तालाई दोस्रो विश्वयुद्धमा सोभियत सेनाको युक्रेनी पहिला मोर्चाका सैनिक जवानहरुले मार्शल गियोर्गी जुकोभको सेनापतित्वमा हिटलरतन्त्रलाई नाश गर्नमा प्रमुख भूमिका खेलेको सम्झनामात्र पनि भयावह दुस्वप्न हुन्छ ।

दोस्रो कारणः पश्चिमी मित्रराष्ट्रिय सेनाका सेनापति अमरिकी जर्नल ड्वाइट आइजनहावरको स‌निक जत्थाले अमेरिकी झण्डा फहराउने आशा गरिए विपरीत उही मार्शल जुकोभका सैनिक जत्थाले सन् १९४५ को मे २ तारिखमा हिटलर जर्मनीको राइखस्टागमा लाल झण्डा फहराएको रीसको बदला लिन ।

तर, यस्तो पागल रिसबाट दन्केको युद्धाग्निले आफू समेत अरु सबैलाई खरानी बनाउनसक्ने दुस्साहसलाई के नाम, कुन विशेषण दिने हो, त्यो पाठकहरुकै जिम्मामा छाड्दै ऊ केही समयअघि फेसकुकमा एकजनाले पोष्ट गरेका यो उक्तिलाई उद्धृत गर्न चाहन्छः

‘यी रुसीहरु नहुँदा हुन् त आज सारा संसार जर्मन भाषा नै बोलिरहेको हुन्थ्यो । रुसीहरु शत्रु होइनन्, है ।’ यति भनेपछि अमेरिकासँगको ‘मित्रता’को घातक फल युक्रेनी जनसाधारणले पाएजसरी, जस्तो गरी अरु कसैले भोग्नु नपरोस् भन्ने कामना गर्दै यो लामो कथाव्यथा पनि जय नेपालको अभिवादनसहित यहीँ टुङ्गिन्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button