आमा विरामी हुँदा आएनन्, अंश लिन अमेरिका/अस्ट्रेलियाबाट आए

लघुकथाः विवेक

रूपा अधिकारी
काठमाडौँ

‘हेलो बाबु सञ्चै छौ ? आमा सिकिस्तै परेकी छ । केही समय भए पनि बिदा मिलाई आइदेऊ बाबु । कतै तिमी आएपछि आमा ठिक पो हुन्छे कि ?’, अमेरिका रहेको छोरालाई आग्रह गरे श्यामदेवले ।

‘बुबा, भाइको आउन मिल्छ कि ? उसलाई फोन गर्नुस् न । मेरो त मिल्ने अवस्था नै छैन ।’

अस्ट्रेलिया रहेको कान्छो छोरालाई फोन गरे ।

‘बुबा, दाई अमेरिकाको पिआर लिइसकेकोलाई त विदा लिन कठिन पर्‍यो रे । म त झन् २-४ वर्ष भयो । नयाँ कम्पनी । विदा कसरी लिनु र ? बहिनी नेपाल नै छ । नजिक भएको के काम ? उसलाई आमा निको नहुन्जेलसम्म रेखदेख गर्न लगाउनुस है ।’

Advertise
Hike & Write

यसरी दुवै छोराले आफ्नो समस्या देखाई दुःखमा साथ दिन नखोजेको देखेर छोरा जन्मियो भनी गाउँभर मिठाई बाँडेको विगत तितो बनी बिझायो उनको मुटुमा । दुवै छोरालाई उनीहरूको सपना पुरा गर्न जीवनभर खर्चिएको पसिनाले पखालिदियो उनीहरूप्रतिको भरोसालाई ।

छोराहरुलाई खोजी गर्दै इन्तुचिन्तु परेकी श्रीमतीलाई रातदिन सेवा गरे । ‘छोराहरु कहिले आउँछन् रे ?’, उनको यो प्रश्नले शिथिल श्यामदेव ! तैपनि आइदिन्छन् कि भनी फोन गरिरहे । तर, छोराहरूलाई फोनमा समेत भेट्न सकेनन् ।

छोरीले दिलोज्यान लगाएर आमाको सेवा गरिन् । आमाले छोराहरुलाई पुकार्न छोडिनन् ।

समय बित्दै गयो ।

‘दाइ, आमालाई अहिले राम्रो भएको छ । बुबाआमाले हजुरहरूलाई अंशवन्डा गरी चारधाम जाने मन गर्नु भएको छ । तुरुन्तै घर आउनु होला । बुबाले यहि खबर दिनु भएको छ’, बहिनीले दुवै दाजुलाई मेसेज गरी ।

केही दिनपछि दुवै भाइसँगै घर पुगे । छोराहरूलाई भेटेर आमाको अनुहारमा चमक छायो । आमा निको हुन थालिन् ।

छोराहरू बाबुको समिप गई अंशवन्डाको कुरा गर्ने निर्णयमा पुगे । ‘बुबा हामी दुई भाइ सल्लाह गरी एक हप्ताको विदामा आएका हौँ । अंशवन्डा बुझी लिएर हामी फर्कनुपर्छ’, जेठो छोरोले बाबु सामु पोख्यो ।

उनीहरूको मनसाय बुझेको बाबुले जवाफ दिए, ‘तिमी दुईलाई देख्ने आमाको तीव्र इच्छा पुरा गर्न बहिनीले विवेक प्रयोग गरी । अंशवन्डा बुझ्नै भए पनि तिमीहरु आइदिएर आमाको ओखती बन्यौ । म ऋणी रहेँ बाबुहरु । बिरामी आमाको उपचार गर्दागर्दै जायजेथा पनि सबै सकियो ।’

छोराहरुले लाजले बाबुको अनुहार हेर्न सकेनन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. वाउ,क्या चोटिलो ।मैले पनि यहि भोगेको थिए झन्डै 2 बर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button