
छोरा विदेशिएपछि आमाको वहः आज मसँग टन्नै समय छ तर …
शकुन्तला देवकोटा
नेपालनाम्चाको नियमित पाठक म । समय मिल्दा लेख्ने पनि गरेँ । धेरै समयपछि आज फेरि एउटा लेख पठाउँदै छु, आफ्नै सम्झेर छापिदिनु होला ।
१९ बर्षअघि जन्माएको छोरा लक्का जवान भैसकेको छ । उसको हरेक कृयाकलापले म यसै मख्ख छु । त्यो जन्माउँदाको पिडा बिर्सिसकेँ, हरेक बाबुआमाको सपना हुन्छ, छोरा राम्रोसँग पढाउने हुर्काउने, नेपालमै स्थापित गराउने र असल नागरिक बनाउने । मेरो पनि उद्देश्य त्यस्तै थियो ।
दुखसुख घर चलेकै थियो । म ठमेलमै ब्यावसाय गर्ने मान्छे । छोराको भविष्य पनि ठमेलमै देखेर प्लस टु सकेपछि टुर ट्राभल पढाउने विचार गरेँ । पहिले त हुन्छ नै भनेको थियो तर पछि विवमै फैलिएको कोरोना महामारी, तहसनहस भएको टुरिजम ब्यावसायले गर्दा छोराले मन फेर्यो एक्कासी विदेश जाने सपना देख्न थाल्यो ।
विदेश जानको लागि अवश्यक सबै प्रक्रिया आफै पूरा गरी केही दिनअघि विदेश उड्यो ।
आज मेरो दाहिने हात भाँचिएको जस्तो भएको छ । हरेक परिस्थितिमा सम्झाना आउने, मन भारी हुने रहेछ सन्तान टाढा हुँदा ।

१७ फाल्गुन छोराको जन्मदिन । सानैदेखि जन्मदिन मनाउन खुशी हुने । जन्म महिना लागेदेखि धेरै खुशी बन्ने । कस-कस्लाई बोलाउने गन्न थाल्ने स्वभाव । दशैंको भन्दा जन्मदिनको ठूलो महत्त्व राख्ने गर्दथ्यो ।
पहिलो सन्तान आफैलाई खुशी लागेर मनाउन थालियो । पछि-पछि समय नि नपुग्ने । कामबाट आउँदै ढिलो हुने । अल्छी लागे पनि उसको खुशीको लागि मनाउने नै गरियो ।
बाबु ४-५ कक्षा पढ्ने बेलातिर जस्तो लाग्छ, म अलि ब्यस्त नै थिएँ । उसको जन्मदिन थियो । त्यो बर्ष नमनाउने विचार गरेर घरमा केही ब्यवस्था पनि गरिएको थिएन । बेलुका कामबाट घर आउँदा अलि ढिलो भएको थियो । बाबुले त ‘आफ्नो बर्थ डे आज’ भनेर वरपरका ५-७ जना साथी बटुलेर राखेको रहेछ घरमा अनि हत्तारहत्तार कुखुराको मासु र चिउरा बनाएर खुवाएँ ।
आज मसँग टन्नै समय छ तर … ।
जहाँ छौ, जे गर्दै छौ सधै खुशी रहनु । कहिले टाउको पनि नदुखोस मेरो छोरालाई । पशुपतिनाथले सधै कल्याण गरुँन् । जन्मदिनको एक भुगोलभरिको शुभकामना ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

