पारस ! श्रीमतीसँग सचेत बन, आमालाई बढी माया गर

अमेरीकी न नेपाली, आमाको मन त उस्तै पो हुँदो र’छ त

पारस घिमिरे

म त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षअगाडि प्लेकार्ड लिएर उभिएको थिएँ । मसँगै अरु साथीहरू पनि आआफ्नो प्लेकार्ड लिएर पाहुनाको पर्खाइमा उभिएका थिए ।

कतार एयरको दोहा काठमाडौंको नियमित उडान ओआर सिक्स फोर सिक्स समयमै काठमाडौंको आकाशमा देखिएको थियो । तर रनवे तथा पार्किङ लट खाली नभएकोले अवतरणको ग्रिनसिग्नल पाएन । त्यहि भएर सिमरादेखि काठमाडौंसम्मको आकाशमा पाँच फन्का लगाएर लगभग ४५ मिनेट ढिलो गरी अवतरण भएकोले हामीलाई यो पर्खाइ अलि पट्यारलाग्दो भएको थियोे । तर पनि बेला बेलामा शिर्षक परिवर्तन गरेर अनौपचारिक कुरा गर्दै हामी त्यो दिग्दारिलाइ सहज बनाउँदै थियौँ ।

लगभग ३ घन्टाको अनवरत पर्खाइले गर्दा हात खुट्टा गलेर फत्रक्कै भएकोले वेटिङ रुमभित्रको कुर्सीमा बसेर नजर चाहिँ निरन्तर आगमन कक्षतिरै लगाइरहेको थिएँ । त्यत्तिकैमा एउटा बडेमानकी महिला उनीभन्दा दुइगुना कम उमेर जस्तो देखिने अर्की महिलाको पछिपछि खल्च्याङखल्च्याङ गर्दै आउँदै गरेको देखेँ । ती कम उमेरकी महिलाचाहिँ दुईवटा सुटकेस ठेल्दै आउँदै थिइन् । हेर्दा ल्याटिनोजस्तै देखिने र दुई महिला भएकोले मैले प्लेकार्ड उनीहरुलाई नै लक्ष्य गर्दै नब्बे डिग्रीको कोणमा माथि उठाएँ ।

नभन्दै मेरो अनुमान सहि भयो । हो, उनीहरु नै मिसेस मारिया पिलार र कृस्तिना पिलार रहेन् । नातामा उनीहरु आमा छोरी रहेछन् । घन्टौं कुरेर पाहुनालाई स्वागतसहित साक्षात्कार गर्न पाँउदा मलाई पनि केहि सहज महसुस भयो ।

मारिया पिलार क्युबामा जन्मेकी रहिछन् । विद्यालय शिक्षा पूरा गरेपछि विश्वविद्यालयमा अध्ययन गर्दैगर्दा उनलाई पनि अमेरिकी सपनाले लालायित बनाएछ । हुन त क्युबा र संयुक्त राज्य अमेरिकाको बीचको भौतिक दूर त्यति धेरै थिएन तर जनजीवन र राज्यब्यवस्थामा आकाश जमिनको अन्तर थियो । कहाँको क्युबन कम्युनिस्ट सरकारको नियन्त्रित जनजीवन, कहाँको अमेरिकी राज्यब्यवस्थाको उदार जनजीवन । त्यहि भएर अनेकौं दुखद अवस्थाको सामना गरेर भए पनि सन् असी र नब्बेको दसक र त्यो भन्दा अघिदेखि नै क्युबन युवाहरू अमेरिकातिर हानिँदारहेछन् । मारियाले बताए अनुसार त्यो क्रम अझैसम्म जारी रहेछ । मारिया पनि तिनै स्वर्णिम अमेरिकी सपनाहरू सङगाल्दै युवाहरुको हुलमा हेलिँदै संयुक्त राज्य अमेरिका छिरेकी रहिछन् ।

Advertise
Hike & Write …

हुनत राज्य ब्यवस्था उदार थियो, क्युबाको तुलनामा धेरै नै ब्यक्तिगत स्वतन्त्रता थियो तर पनि उनका लागि र उनीजस्ता युवाहरूको लागि अमेरिकामा पनि दुखका पहाड थिए । तर पनि मारियाले जे जस्तो काम गरेर भए पनि पढाइलाई निरन्तर अगाडि बढाइछन् । त्यहि अमेरिकी दुखमा संघर्ष गर्दै अगाडि बढ्दा उनीजस्तै अर्को क्युबन युवा कार्लोससँग भेट भएपछि उनीहरुले सहमतिमा लगनगाँठो कसेका रहेछन् । र, उनीहरुको छोरी कृस्तिना र छोरा राहुल अमेरिकामै जन्मेका रहेछन् ।

मियामीबाट दोहा हुँदै काठमाडौंसम्मको लामो हवाइ यात्रा गरेकोले थकित भए पनि हाम्रो देशको सौर्न्दर्यको बारेमा सुनेका उनीहरुलाई नेपाल र नेपालीबारे थप जान्नु थियो । त्यसैले थकित भए पनि उनीहरुको आँखा उत्सुक देखिन्थे । खासमा मारियाको भारतको नयाँ दिल्लीमा हुने वकिलहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुपर्ने थियो । त्यहि मौकामा उनीहरु आमाछोरी दुई दिनको लागि भए पनि काठमाडौं ओर्लेका रहेछन् । छोटो साक्षात्कारमा उनीहरु मसँग चिरपरिचितजस्तो भए ।

मारियाले बताए अनुसार उनको छोरो राहुल विवाह गरेर न्युयोर्क बस्न थालेको पाँच बर्ष भएछ । छोराबुहारीको जोडी एकदम राम्रो मिलेको छ अरे । काम पनि राम्रै छ अरे । तर उनी बुहारीप्रति त्यति खुसि रहिनछिन् । हुन त उनीहरुको मिलन राम्रो लाग्दो रहेछ तर आफ्नो प्यारो छोराले घरमा धेरै काम गरेको उनलाई मन पर्दोरहेनछ । कहिलेकाँही छोराबुहारीकोमा बसे पनि उनी आफ्नो प्यारो छोरोलाई आफुबाट टाढा बनाएको आरोप लगाउँदिरहिछ्न् । मारियाको पति कार्लोससँग सम्बन्धबिच्छेद भएको रहेछ । त्यहि भएर उनी छोरीज्वाइँ नजिकै बस्दिरहिछन् र छोराबुहारीकोमा भन्दा छोरीज्वाइँकोमा आवतजावत धेरै रहेछ । ज्वाइँले छोरीलाई घरायसी काममा सघाएको उनलाई मन पर्दोरहेछ । उनी ज्वाइँलाइ आदर्शज्वाइँ मान्दिरहिछन् । घुम्न निस्किँदा पनि उनी छोरीज्वाइँ सँगै निस्किदी रहिछन् । यसपाली ज्वाइँको काममा बिदा नमिलेकोले आमा छोरीमात्र आएका रहेछन् ।

हाम्रो समाजमा पनि आमाछोरी र सासुबुहारीको सम्बन्ध एकदमै भिन्न छ । सासु र बुहारीबीच द्वन्द, अविश्वास धेरै देखिन्छ । बुहारी तिनै हुन्, जसले आमालाई एउटा र सासुलाई अर्को व्यवहार गरेको पाईन्छ । आमाले पनि छोरी र बुहारीलाई भिन्न व्यवहार गरेको पाइन्छ । यो सम्बन्ध जति नै बुझ्ने परिवारमा पनि आशंका र अविश्वासले भरिएको हुँदो रैछ ।

मारियासँग कुरा गरेपछि मलाई थप गम्भीर बनायो । उनीहरु त विकसित देशको सभ्य समाजका नागरिक भएकोले त्यस्तो संकुचित विचार नहुनुपर्ने मेरो आंकलन गलत सावित भयो ।

दुई दिनको बसाई र छोटो भ्रमण भए पनि उनीहरु पुलकित देखिन्थे । भोलिपल्ट दिल्लीको कार्यक्रममा उपस्थिति जनाउनुपर्ने भएकोले मैले उडान समय भन्दा ३ घन्टा अगाडि नै विमानस्थल पुर्‍याएँ । गाडीबाट ओर्लेपछि मारियाले मलाई कानमा खुसुक्क भनिन्, ‘पारस ! श्रीमतीसँग सचेत बन, आमालाई बढी माया गर ।’ उनको यस्तो कुराले मलाई असमन्जस्य बनायो । आखिर उनले नभने पनि म आमाप्रतिको प्रेम र सम्मानमा एक रति पनि कमि हुन दिदैनथेँ । मैले उनलाई कुनै प्रतिक्रिया नजनाइकन बिदाइको हात हल्लाएँ ।

मारियाको कुराले मभित्र घनिभुत बहस जन्मायो, म के नै गर्न सक्थेँ र ? तर मारिया र उनीजस्तै तमाम आमाहरु र बुहारीहरुको सोचाइ र व्यवहारमा परिवर्तन होस् भन्ने कामना गरिरहेँ । आखिर अमेरीकी न नेपाली, आमाको मन त उस्तै पो हुँदो रछ त ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button