माच्चुपिच्चु पुग्दा लाग्यो सप्तरंगी पहाडजस्तो

उरुबाम्बा उपत्यका प्रवेश

गीता खत्री
न्युयोर्क

गोधुलीतिर हामीलाई पेरु रेलले उरुबाम्बा उपत्यकामा पु¥याइ दियो । त्यहाँ पुग्नुभन्दा केही अगाडिदेखि नै पानी पर्न सुरु भइ सकेको थियो । यो क्षेत्रमा कति बेला घाम लाग्छ र कति बेला पानी पर्छ र कतिबेला हुरीबतास चल्छ निश्चित नहुने कुरा हामीले थाहा पाइसकेकोले छाता र रेनकोटको बन्दोबस्त गरेरै आएका थियौं ।

रेलबाट उत्रेदेखि छाता आवश्यक भइ हाल्यो । हामी बसेको होटल स्टेशनबाट हिँडेर पाच मिनेटजति परतिर रहेछ । खाते बजारको बीचबाट बोटा गएको रहेछ । हामी छाता र रेनकोटले छोपिएर हिड्यौ होटलतिर । हामीले बुक गरेको होटल त्यहाको सबैभन्दा राम्रो रहेछ । बजारको अन्तिम लाईनमा यो बनेको रहेछ । त्यसपछि कुनै बस्ती छैन । तर यही बाटो गरेर सबै बसहरु माच्चुपिच्चुको टुप्पासम्म यात्री लिएर जाने र फर्कने गर्दा रहेछन् ।

अलिअलि भिज्दै, अलिअलि रुभ्mदै सुमाक होटल पुग्यौं । होटल विशाल थिएन । त्यसैले होला भिडभाड र चहलपहल निक्कै थियो । रुभ्mदैभिज्दै पुगेका हामीलाई ढोकामा नै स्वागत गर्न आइपुगीन एउटा पेरुभियन सुन्दरी । हामीहरुको चिसो छाता लिएर अगाडिको बिनमा राखिन । हामीलाई सजाएर राखिएको काउचमा बस्न अनुरोध गरिन । त्यसपछि हामीहरु सबैको पासपोर्ट लिएर रिसेप्सन डेस्कतिर गइन । केहीबेरपछि हामीलाई छुट्याइएको कोठाको कागजी साँचो (कीकार्ड) लिएर आइन । त्यसपछि हाम्रो गाइड ओस्कार भोलि विहान छ बजे होटल आइपुग्ने बाचा गर्दै हामीबाट विदा भयो ।

समय बितिसकेको त थिएन तर पनि रात खसिसकेको थियो । पानी बन्द भएको भए एकछिन बाहिर घुमेर आएर होटलभित्रै आज रातीको भोजन गर्ने हामीले बिचार गरेर बाहिर निस्कियौं । पानी बन्दभएको रहेछ । पहाडकोबीचमा भएर हो की निशा निकै बाक्लि थिइन । बजारको अलिअलि बत्तीले अलिअलि बाटो देखिन्थ्यो । कतै हिलो र पानीको खाल्डाखुल्डी पनि थिए । ठूलो ठाउँ नभएकोले हामीले आँट गरेर निस्कियौं । मधुरो प्रकाशमा बजारभरि मान्छे थिए । अन्य किनमेलभन्दा पनि रेष्टुरेण्ट, बारहरु खचाखच थिए । साथै मुग्लिनतिरकै जस्तो भात खानलाई हात समातेर तान्न आउनेको पनि भिडै थियो । सबै रेष्टुरेण्टमा हात तान्नको लागि मान्छे खटाउने चलन पनि रहेछ । कतै रक्सीले मातिएर बसेका जवानहरु पनि देखिए । यसरी हिँडदै जांँदा एउटा राम्रो चर्चको ढोकामा पुग्यौं । त्यतिबेला पनि प्रार्थना गर्नेहरुको भिडै थियो । एक घण्टाजति घुमेर फेरि होटेल फर्कियौं । कतैकतै ज्यादै अध्यारो भएकोले फोनकै ल्फयास लाइट पनि बाल्नु प¥यो । भोलि दिन पानी नपरोस् भन्ने कामना गर्दै त्यो रात सुमाकमा बितायौं ।

उज्यालोमा एकदुई घण्टाको मेरो सोचाई मेरो भोगाइ र मेरो देखाइमा यो ठाउँको नाउँ उरुबाम्बा खोंच हुनु पर्ने हो । तर सक्कली नाउँ उरुबाम्बा उपत्यका राखिएको छ । उपत्यका भनेर भन्नु उपयुक्त जस्तो मलाई लागेन । मैले भोगेको काठमाण्डौ उपत्यका, मैले देखेको पोखरा उपत्यका अनि मैले सुनेको दाङ उपत्यका पो उपत्यका हुन् । विशाल डाँडाहरुले चारैतिरबाट घेरिको बीचमा विशाल समथर भूभाग भएको ठाउँ पो उपत्यकाको परिभाषाभित्र पर्छन् । यहाँ त यस्तो समथर भूभाग छैन । तलतिर उरुबाम्बा नदी कन्चन पानी लिएर बगिरहेको छ । नदी सडकबाट करीब बीसपच्चीस फिटजति तल मात्रै हो । नदी भएतर्फ एउटा अग्लो पहाड छ जस्को टुप्पो हेर्नको लागि पूर्बेली ढाका टोपी लगायो भने त्यो टोपी पछाडि नखसेसम्म पुप्पो देखिदैन । अलि ओबेस भएको मान्छे प-यो भने त उसको पेटनै त्यो पहाडको छातिमा ठोक्किन पुग्लापुग्ला जति नजिक छ ।

खोला वारी जहाँ हामीहरु अहिले बस पर्खिरहेका छौ, यतापट्टिको पहाड अलि सानो र अलिकति पछि हटेको जस्तो देखिन्छ । पछि हटेको भन्नु भन्दापनि आमाले आफ्नो प्यारो छोराछोरीलाई काखमा राख्नको निम्ति काख फैलाएको जस्तो । आमाको काखमा जति बस्ती छ, त्यतिनै मात्र हो उरुबाम्बा उपत्यका । यहांँको बस्ती भन्नु नै बन्दव्यापार हो । त्यसैले ती घरबस्ती, होटल, लज, रेष्टुरेण्ट र पसलहरु नै यहाँको बस्ती र बासिन्दा हुन् । यीबाहेक यहाँकै स्थायी बस्तु र बासिन्दा केही भए जस्तो मलाई लागेन । पर्यटन व्यवसायका लागि मात्र सिर्जना गरिएको बस्ती हो । यहांँ भेटिने मान्छेहरु कि त पर्यटक हुन्, कि त व्यापारी हुन्, कि त कामदार ।

हामीहरुको अन्धविश्वासी परम्परा भन्छन्, खै के हो ? भगवानले सबै मान्छेलाई के भन्छन् रे भने– “हे मानव हो, तिमीहरु आँट गर, म तिमीहरुको साथमा हुनेछु । म तिमीहरुको चाहना पुरा गरिदिनेछु ।” बिहानको नित्य कर्म सकेर साढे छ बजेतिर हामी बिहानको खाना खान होटलको डाइनिङ हलमा सामेल भइसकेका थियौं । खाना खाने मन नभए पनि त्यो डाँडाको टुप्पामा के राम्रो खाना मिल्ला, कुन बेला खानाको समय मिल्ने हो निश्चित नभएकोले रुचेको खाने निधो ग-यौँ । सातबजेतिर ओस्कारको प्रतिक्षा गर्दै होटेल बाहिर निस्कियौं । यतिबेला पानी पर्ने कतै गुन्जाइस थिएन । नीलो आकाशमा बादलका साना टुक्राटाक्री पनि थिएन । कलिलो घामले तिनै वरिपरिका पहाडको टुप्पालाई म्वाइ खादै तलतल आइरहेको थियो । हामी वरपर देखिने खोलानाला, ढुंँगाबगर, रुखपात गल्छी आदि राम्रो लागेका जति चीजबीज, बस्तु सबैको तस्वीर लिदै थियौँ, ओस्कार आइपुग्यो । होटेल चेक आउट गरेर हाम्रा सामानहरु ट्रेन स्टेशनमा पु-याइदिनको लागि होटलका मान्छेलाई जिम्मा दिइसकेका थियौं । उनीहरुलाई हामीले चढने रेलको नम्बर र समय पनि दिएका थियौं । त्यसैले अब हामी एउटा हाते झोलामै ओस्कारकासाथ बस स्टपतिर लाग्यौँ । बस स्टप धेरै पर थिएन । बिहान छ बजेदेखि नै बसहरु माच्चुपिच्चुतिर दौडन थालिसकेका थिए । बसमा चढ्ने यात्रीहरुको लाइन भने निकै लामो थियो ।

पहाडी बाटोमा चल्न पर्ने बस भएर होला धेरै ठूला थिएनन् । बसमा तीसपैतीस जना जति बस्न मिल्ने होला । बस पालैपालो गरेर आइरहेका थिए, यात्रीहरुपनि पालैपालो चढी रहेकै थिए । करीब एक घण्टाजतिमा हाम्रो पालो आयो । यी बसहरु एउटै रंग र एउटै साइजका थिए । शायद एउटै कम्पनीले ठेक्का पाएको होला । बस हरियो रंगको, सफा सीट, सीटमा पनि नम्बर लगाइएको थियो । तर जो जता बसे पनि हुने । लामो दुरी नभएकोले जुन सीटमा बस्दा पनि खासै फरक नपर्ने । बस आरामदायी थिए ।

बसको ताँती एक पछि अर्को गर्दै जंगलको बीचमा बनेको बाटो माथि विभिन्न सानाठूला डाँडाहरुको खोँच, भन्ज्याङहरु पार गर्दै उकालो लागि रहेको थियो । जतिजति बस माथि पुग्थ्यो, त्यसमा पनि डाँडाको पूर्वी पाखामा पुग्दा कमलो घामले छोएका परपरसम्म देखिने सुन्दर हरिया पहाडहरु, नीलो आकाश अनि गहिरो फेदी र ठाउँठाउँमा देखिने नागबेली सडकको चित्र मान्छेले जीवनमा बिरलै देख्न सकिने अवस्था हो । ती दृष्यहरु जीवन रहेसम्म मुटुभित्र बसीरहने छाप पनि हो । कुनैकुनै भन्ज्याङबाट माच्चुपिच्चुको दृष्य पनि झल्याकझुलुक देखिन्थ्यो । ती दृष्यहरुलाई आँखा नझिम्क्याई हेर्दै, कहिले अत्तालिदै कहिले चिच्याउँदै र तीनलाई मनभित्र सजाउदै हामी माच्चुपिच्चुको ढोकामा पुग्यौं । यो यात्रा करिब आधा घण्टाजति थियो ।

बसबाट उत्रियौँ । पहाडै त हो, फराकिलो ठाउँ त थिएन । बस घुमाउनसम्म पुग्ने ठाउँ थियो । यहाँबाट भित्र पसेपछि बाथरुमको व्यवस्था रहेनछ । त्यसैले सबैले आआप्mनो बन्दोबस्त गर्नै पर्ने । बाथरुम गइरहने पर्ने यात्रीलाई यहाँभित्र अप्ठेरो नै पर्ने रहेछ । हामी पनि बाथरुम जानेतिर लाग्यौं । बाथरुमको प्रवेश शुल्क पो रहेछ । एक जनाको एक सोल । एक अमेरिकी डलरको तीन पेरुभियन सोल प्राप्त गर्न सकिन्छ । बाथरुम त महगै भो की । पहाडको टुप्पोमा पु¥याएको सेवाको लागि ।

माच्चुपिच्चु पेरुको कुस्को राज्यस्थित आन्डीज पर्वत श्रृङखलामाथि पन्ध्रौ शताब्दीमा इन्का जातिले बनाएको बलियो ढुँगैढुँगाको किल्ला हो । यस्को उच्चाइ समुद्र सतहबाट ७,९७२ फीट माथि छ । पछि इन्काहरुले यसलाई त्यसै छोडिदिए । यो ठाउँको मुख्य विशेषता भनेको यहाँ बनेका ढुँगे घर र ढुँगे बारी नै हो । घर बनाउन प्रयोग गरिएका ढुँगाहरु यति विशाल छन् की तीनका तौलको अन्दाजसम्म पनि गर्न सकिन्न । दशपन्ध्र जना जवानले त हल्लाउन पनि सक्दैनन् होला । ती ढुँगाहरुको कटाइ यति राम्रो र चारकुना मिलेको छ कि आजभोलिको मेसिनले काटेर मिलाएको भन्दा पनि राम्रो देखिन्छ । ती ढुँगाहरुको जोडाइ सीमेन्ट, बालुवा, माटो, ढुँगाआदि कुनै पनि बस्तुको प्रयोग बिना नै गरिएको छ ।

Ad

कुनै घर एक तल्लाका छन् भने कुनै घर दुईतीन तल्लासम्मका पनि छन् । सबै भन्दामाथि केही समथर (अन्दाजी दशपन्ध्र रोपनी जति) जग्गा छ । त्यसपछि तीनतिर बिस्तारै भिरालो सुरु भएको छ । ती भिरालो जग्गालाई पनि ढुँगैढुँगाकै पर्खाल लगाएर तल्लातल्ला बनाएको छ । तीनचार फीटदेखि दशबाह« फीटसम्मको चौडाइका सानासाना सुर्काहरु बनाइएका छन् । तीनै सुर्काहरुमा त्यसबखत त्यहाँ बसोबास गर्ने इन्काहरुले आपूmलाई आवश्यक पर्ने अन्नबाली लगाउथे रे । अहिले पनि ती सुर्काहरुमा हरियो दुबो उम्रिएर टार बारी हरियै देखिएका छन् । माथिबाट हेर्दा यस्तो देखिन्थ्यो उरुबाम्बा खोलादेखि माथिसम्म ढुँगैढुँगाको भ¥याङ लगाइएको छ यहाँ । जीउज्यानको खतरा हुने भएकोले अहिले यात्रीहरुलाई कुनै पनि सुर्कातिर जाने वा ओर्लने अनुमति छैन ।

हरेक सुर्कातिर ओर्लन सक्ने ठाउँमा सुरक्षा कर्मीहरु तैनाथ गरिएका छन् । केही लामाहरु त्यही हरियो दुबैमा चर्दै थिए । उनीहरुका चिटिक्क परेका पाठाहरु, जसलाई अलपाका पनि भनिन्छ, दुबोतिर नहेरी आप्mनी आमाको मीठो दूध चुसीरहेका थिए । पच्चिससय यात्रीहरु रंगीचङ्गी पहिरनमा डाँडाभरी छरिएका थिए । नीलो आकाशलाई हातैले छुन पो सकिन्छ कि जस्तो । फुत्त उपे्रmर अर्को डाँडामा पुग्न पो सकिन्छ कि । मानौ माच्चुपिच्चु आपैm एउटा सप्तरंगी पहाड हो ।

बिहान बस चढ्ने बेलाको विशाल लाइन र भीड देख्दा त हामीले माथि गएर फोटा खिच्ने ठाउँ पनि पाउदैनौ कि जस्तो लागेको थियो । मान्छे जतिसुकै ठूलो भएपनि प्रकृतिका अगाडि केही होइन रहेछ । त्यति ठूलो बिहानको भीड डाँडाभरी छरिदाँ त कता हो कता । यो तीर्थस्थलीमा एकैछिन बसेर सोच्दा यस्तो लाग्थ्यो कि आधुनिक स्वर्ग यही हो कि । गौतम सिद्धार्थले जस्तै घरपरिवार छोडन सक्ने भए, पेट पुजा गर्न नपर्ने भए, केटाकेटीको भविष्यको आशामा डुब्न नपर्ने भए अनि जिन्दगीका अनगिन्ती आशा र रहरहरु मनबाट निकाल्न सक्ने भए यही माच्चुपिच्चुको शिखरमा आएर ध्यानमा बसी दिन्थेँ । यत्रो दुख कष्ट झेलेर इन्काहरुले यो किल्लाको निर्माण किन गरेका होलान् । यस्को रहस्य अभैm अभैm बाहिर आउन सकेको छैन ।

यहाँ दिनमा पच्चिस सय भन्दा बढी पर्यटकहरुले पाइला टेक्छन रे । हामी तीनै पच्चिससय भित्र प-यौं । चार घण्टा बितेको हामीलाई पत्तै भएन । हामीलाई त्यही दिन कुस्कोसम्म फर्कनु थियो । तलमाथि दायाँबायाँ उक्लदाओर्लदा हामी थाकी पनि सकेका थियौं । जीवनमा कहिले नदेखेको अति सुन्दर र मनमोहक सपनामयी ठाउँप्रतिको हाम्रो आर्कषण र उत्ताउलोपनाले मात्रै हामीलाई शक्ति दिइरहेको थियो । भोक पनि लागिसकेको थियो । त्यसैले हामी माच्चुपिच्चुबाट बिदा लिने मुडमा अघि बढ्न थाल्यौं । माच्चुपिच्चुको सेरोफेरो घुमेर प्रवेशव्दारमा आइपुग्दा नपुग्दा मेरो मन बेहुलीको जस्तो हुन पुगेछ । यहाँबाट मलाई टाढिनु थियो नै, बस्न आएको त हैन । तैपनि कमलो मन पग्लियो । ढोका बाहिर अध्यागमन कार्यालय जस्तै एउटा टेबुल राखेर अध्यागमनको छाप जस्तै “माच्चुपिच्चुको भ्रमण गरेर प्रस्थान” पुरातात्विक पार्क, माच्चुपिच्चुको छाप पासपोर्टमा लगाइ दिने चलन रहेछ । यो पनि आफुले भ्रमण गरेको तिथिमिति र समय सम्झनामा राख्न सजिलो बनाइ दिएको राम्रै लाग्यो ।

बसमा बिहानको जस्तो भीड थिएन । खिन्न मन लिएर हामी सबैजना बसमा बस्यौं ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button