
विद्यालय जाँदा सावित्रीलाई मानिस ढुङ्गाले हिर्काउँथे, गोबर छयापिदिन्थे
सावित्री बाई फुलेः दलित तथा महिला समुदायको लागि स्मरणीय नाम
सुशीला शर्मा
भारतकी पहिलो महिला शिक्षक तथा समाज सुधारक (सामाजिक अभियन्ता) सावित्री बाई फुलेको जन्म ३ जनवरी १८३१ मा भएको हो । सावित्री बाई ज्योति राव फुले मराठी कवि पनि थिईन् । सावित्री बाई फुलेले आफ्ना पति ज्योतिराव गोविन्द राव फुलेसँग मिलेर महिला अधिकार तथा शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेकी थिईन् । उनलाई आधुनिक मराठी काब्यको अग्रदूत पनि मानिन्छ । सन् १८५२ मा सावित्रीले बालिकाहरुको लागि एक विद्यालयको स्थापना गरेकी थिईन् ।
सावित्रीको बाबुको नाम खन्दोजी नैवेसे र आमाको नाम लक्ष्मी थियो । उनको विवाह सन् १८४० मा ज्योतिबा फुलेसँग भएको थियो । उनका पति ज्योतिबालाई भारतमा सामाजिक सुधार आन्दोलनको एक महत्वपूर्ण व्यक्तित्वको रुपमा सम्मान गरिन्छ । उनी महिला तथा दलित समुदायलाई शिक्षित बनाउन प्रयासरत सामाजिक सुधारकको रुपमा परिचित छन् । सावित्रीले आफ्नो जीवनलाई एक उद्धेश्यको रुपमा जिईन् । उनको कामको प्रमुख उद्धेश्य थियो विधवा विवाह, छुवाछुत हटाउने तथा महिला मुक्ति र दलित महिलालाई शिक्षित बनाउने ।
उनको भनाई थियो, ‘हाम्रा प्रमुख शत्रुको नाम हो अज्ञान । यसलाई पक्डेर बेस्करी पिटेर आफ्नो जीवनबाट लखेटी देऊ ।’
सावित्री विद्यालय जान्थिन् तर मानिसहरु उनलाई लक्षित गरेर ढुङ्गा, गोबर, फोहरले हिर्काउँथे, छयापिदिन्थे । झण्डै १ सय ७२ वर्ष पहिले महिलाले पढ्नु या बालिकाको लागि विद्यालय खोल्नु पापकर्म नै मानिन्थ्यो । यस्तो अवस्थामा सावित्री बाई एउटा अतिरिक्त साडी आफूसंग बोकेर हिँड्थन्, जसले गर्दा बाटोमा उनीलाई फयाँकिएका फोहर लागेको साडी बदल्न पाउँथिन् । यति हुँदा पनि यिनी आफ्नो लक्ष्यप्रति अडिग भईरहिन् । सन् १८४८ मा यिनले आफ्ना पतिसँंग मिलेर विभिन्न जातीय समुदायका ९ जना छात्राहरुसँगै यिनले एक विद्यालयको स्थापना गरिन् । एक वर्षको अवधीमा ज्योतिवावा फुले र सावित्री मिलेर पाँचवटा विद्यालय खोल्न सफल भए । तत्कालिन सरकारले यिनलाई सम्मान पनि गरेको थियो । महिला शिक्षा निषेध भएको समयमा महिलाहरुको लागि विद्यालय सञ्चालन गर्न कति कठिन थियो होला हामी कल्पना गर्न सक्छौं । तैपनि सावित्री बाई फुलेले आफूले पनि पढिन र अरु महिलालाई पनि पढाईन् । सन् १८९७ मा प्लेगको कारण सावित्री बाईको मृत्यु भयो ।
सावित्रीको जीवनबाट हामी यो जान्न सक्छौं कि जुगमा कोही न कोही पथप्रदर्शक जन्मेका हुन्छन्, जो आफ्नो बाटो पहिल्याउँछन् र अरुलाई पनि बाटो देखाउँछन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)