छोरी ! तँ पेटमा हुँदा सपनामा कसैले भनेको थियो, ‘आँशु पुछ्ने छोरो जन्मिन्छ’

लघुकथाः आमाको हुन नसकेको छोरो

नमिता दवाडी

२०३९ सालतिर सोलुको दूरगाउँमा परिवारको तिरस्कार, धोका र निराशाको भुमरीमा फसेकी एक आमाको मनभरी आशाको जून र बाँकी सबको ह्र्दयमा त्रास, द्वेस र घृणाको औँशी पोखेर जन्मिएकी रे आशा।

धेरै दिनदेखिको भोको पेट, अति क्षीण स्वास्थ्य अवस्था र असैह्य लामो प्रसव पीडापछि जन्मिएकी उसलाई आमाले मनमनै पुकारिन् आशा ।

आशाको जीवनमाथि अधिकार राख्नेहरुले अरु नै नाम राखिदिए । नाम, परिचय, भोगाई जिन्दगीको, चेपचाप, छोपछाप गरेर देखाइएको जिन्दगीको सुकिलो पाटो यतातिर लेख्न थाले लघु कथा होईन उपन्यास बन्छ । त्यता लाग्दिनँ हस् ?

आशा बिस्तारै हुर्किदै गई । आमाको दुखको सारथी उही मात्र थिई । उसको आमाको कोख भरिएन फेरि । एकल आमाको एक्लो सन्तान । आमाको निमेकी दैनिकी, झुप्रोको कारुणिक परिवेश र गरिबीको सगरमाथा छेउमा उसले कहिल्यै उभ्याईन, आफ्ना रहरका चुरेभावर । कुनै दिन मागिन, पिपलमेट किन्न एक सुका । कहिल्यै मागिन ५ रुपैयाँ राता चुरा किन्न तीजमा । बरु बिस्तारै बटुल्नथाली बाँसको खपैँचा चुलो बाल्न । बिस्तारै सिकी आगो बाल्न, तावामा कोदोको रोटी पथार्न, वल्लो पल्लो घर गई मोही बेसाउन ।

समय सधैं एकैनास रहेन । सानैदेखि पढ्नमा तेज आशाको कक्षा ६ को शुरूवातले छुटायो आमाको काख । किताब किन्न, कलम कापीको खर्च जुगावट गर्न नसक्ने भएपछि कहिले मामाघर, कहिले बा र कान्छी आमा, कहिले फुपुको घर गरेर पुरा गरी आशाले बाकी विद्यालयस्तरिय शिक्षा ।

अब १६ बर्षकी आशा र आशाकी आमाको इच्छा रजामन्दी बिना नै आशाको धुमधाम बिहे भयो, बिहेले छोपिदियो आशा र आशाकी आमाले भोगेको जिन्दगीको कहालीलाग्दो गरिबी । सम्बन्धहरुले लाज मिचेर ङिच्च हाँसे । आशाको बिहे गजबको घरमा भएको रहेछ । उसलाई उसको बिहेप्रति गुनासो छैन ।

Ad

ऊ आमासँग साथ रहँदा या एक्लै भौँतारिँदा जिन्दगीका गोरेटोहरुमा कहिल्यै बिर्सिन आफू हुनुको कर्तव्य, विवाहपश्चात स्वदेशमा स्नातकोत्तर र विदेशमा ब्यापार ब्यबस्थापनमा स्नातक गरेकी आशाले आमाको राम्रो हेरचाह, आमाले चाहेको जिन्दगी आमालाई दिलाउनुका साथै आफूलाई एक सबल, स्वाभलम्बी नारी हस्ताक्षर प्रमाणित गरिसकेकी छ ।

बिहान चराहरुको बडो मीठो चिर्बिर चिर्बिरले बिउँझी आशा । सिरानी नजिकै बेड टेबुलबाट फोन तानेर समय हेरी । बिहानको पाँच बजेको रहेछ । फोनको स्क्रिन तलमाथि सार्दै हराउन थाली फेसबुकमा आशाा । अङ्ग्रेजी नयाँ बर्ष र नेपाली टोपी दिवसको दिन रहेछ । नेपाली ढाका टोपी, भादगाउँले टोपी, विभिन्न अरु नेपाली टोपी लगाएर खुलेका नेपाली तस्बिर देखेपछि जुरुक्क उठी आशाा । बिहानको नित्यकर्म सकेर सर्लक्क लगाई । सेतो सर्ट, कालो प्यान्ट, कालै स्टकोटमा ऐना अगाडि उभिएर लगाई चन्द्र सुर्य अंकित कालो टोपी शिरमा र के सोचेर हो कुन्नि मुसुक्क मुस्कुराई ।

नेपाली साहित्यमा खुब रुचि राख्छे आशा । कथा, कविता, गजल उसका लेखनका विधा हुन् । आजको साहित्य मेलामा सामेल भै ऊ । धेरैलाई सुनी । आफूलाई सुनाई । सरुभक्तका कविता, शरण आँसुका कविता, प्रदिप रोदनका गजल मनभरी राखेर साँझ आमाको घरतर्फको बाटो लागी ।

उसलाई हतारो थियो आमाको लागि बोकेको सर्प्राइजको झोला आमाकै अघि खोल्न, जसमा थियो आशाको १५ दिनको हिँउदे छुट्टीको खुलासा र आमाछोरीको लागि तय गरिएको चारधाम यात्राका टिकटहरु ।

आमा कहाँ पुगेको साँझ, ग्याँस चुलो भुइँमा राखेर पिर्कामा बसी सेल फन्काउँदै आमाले भन्नू भयो, ‘आशा, तँ पेटमा भएको बेला सपनामा कसैले भनेको थियो, आँशु पुछ्ने छोरो जन्मिन्छ, तँ जन्मिइस् ।’


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button