म शरीर होइन, शरीर मेरो हो

दृश्य/अदृश्य

दीन पन्थी

म त अदृश्यमा विश्वास गर्छु । म अदृश्यलाई पुज्छु । म अदृश्य चैतन्यबाट परिचालित छु । मेरो मन अदृश्य छ, उसैले मेरो यस स्थूल कायालाई कजाउँछ, डोराउँछ, चराउँछ ।

आश्चर्य छ, देखिने डोरिन्छन्, नदेखिनेले डोराउँछ, देखिने कजिन्छ नदेखिनेले कजाउँछ, देखिने चर्छ, नदेखिनेले चराउँछ । जड देखिन्छ, चैतन्य देखिन्न । शरीर देखिन्छ, प्राण देखिन्न । कार्य देखिन्छ, कारण देखिन्न । विनाशशील देखिन्छ, अविनाशी देखिन्न । फूलहरु फुलेको देख्छौं, तिनमा रुप, रंग र गन्ध भर्नेलाई देख्दैनौं । फलहरु फलेको देख्छौं, तिनमा रस र स्वाद भर्ने कारिगरलाई देख्दैनौं । दुर्दमनीय कामवासनाको वशीभूत हुन्छौं, कामदेवलाई देख्दैनौं । भूकम्पको त्रासदी भोग्छौं तर भूकम्पलाई देख्दैनौं । जादूमय छ यो जगत् ।

जादूमय जगत्को जादूगरलाई हामी देख्दैनौं, चिन्दैनौं, जान्दैनौं । देखिनेभन्दा नदेखिने शक्तिशाली छन् जगत्मा । हामी वस्तु देख्छौं परमाणु देख्दैनौं । हामी चलेको देख्छौं, चलाउने ऊर्जालाई देख्दैनौं । यहाँ अदृश्यले दृश्यलाई चलाउँछ । सूक्ष्मले स्थूललाई नचाउँछ । जसले बनाउँछन् ती देखिन्नन्, जो बन्छन् ती देखिन्छन् । कारणहरु सूक्ष्म हुन्छन्, कार्यहरु स्थूल हुन्छन् । अज्ञानीहरु केवल स्थूल देख्छन्, ज्ञानीहरु सूक्ष्मको अन्वेषण गर्छन् । कारणतत्व र बीजतत्व सूक्ष्म हुन्छन् । वनस्पति र प्राणीका उत्पत्तिका कारण सूक्ष्म बीजाणु हुन् । बीजाणुबाटै तिनका, गुण र आयु प्रकट हुन्छन् । अदृश्य र सूक्ष्मको अन्वेषणमै ज्ञानविज्ञान छ । मान्छेको स्थूल शरीरका धारक, सञ्चालक र नियन्ता प्राण, मन र आत्मा हुन् ।

मान्छे हाडमासुको दृश्य पिण्डमात्र होइन । मान्छे अदृश्य आत्मा हो, मन हो, प्राण हो, विचार हो र भावपुञ्ज हो । शरीर साधनमात्र हो अदृश्य चैतन्यको । यस जडलाई चैतन्य सम्झेर हामी भ्रमित छौं । इन्द्रिय, मन र आत्मासँगको साहचर्य छँदासम्म जीवन हुन्छ शरीरको । साहचर्य सकिएपछि मरण हुन्छ । यस्तो प्रिय, कर्मकर शरीर प्राणले छोडेपछि व्यर्थ र बेकम्मा हुन्छ । माटोमा पुर्नुपर्छ वा पोलेर खरानी पार्नुपर्छ यसलाई । यो शरीर आत्माको अस्थायी घर हो । पोशाकमात्र हो यो चैतन्यको । डेरा हो यो मन र प्राणको । हाडछालाको यो पिञ्जराभित्र चैतन्यपंक्षीको निवास हुन्जेल यो व्यक्ति हो, व्यक्तित्व हो अन्यथा यो खण्डहर हो ।

म आफै अदृश्य छु । मभित्रको अदृश्य सत्ता नित्य छ, शाश्वत छ, चैतन्य छ, निर्विकार छ । म आत्मा हुँ परमात्मासँग अभेद्य र अद्वैत । म अंश हुँ परमात्मा अंशी हो मेरो । म अङ्ग हुँ परमात्मा अङ्गी हो मेरो । म प्रत्यय हुँ परमात्मा प्रकृति हो मेरो । म आधेय हुँ परमात्मा आधार हो मेरो । म निरर्थक छु परमात्माविना । परमात्मा आकाश हो, म घैटाभित्रको आकाशखण्ड ।

Ad

म शरीर होइन, शरीर मेरो हो । यो शरीर, यी अङ्गप्रत्यङ्गहरु म होइनन्, मेरा हुन् । म त अदृश्य छु, निराकार छु । देखिने, छोइने, नाशिने म होइन, मेरो शरीर हो । म शून्यबाट बनें, म शून्य हुँ र शून्यमै बिलाउँछु । पानीका फोका झैं पानीमा । शून्य मेरो परमात्मामा म तल्लय हुन्छु, पानीमा पानी झैं, वायुमा वायु झैं, आकाशमा आकाश झैं । खुट्टा बजार्दै, हात हल्लाउँदै हिड्ने मेरो शरीर, हाँस्ने, रmने, सुँघ्ने, सुन्ने, छुने मेरा इन्द्रियहरु देखिन्छन् तर म देखिन्न । विद्युत्को तार देखिन्छ तर ऊर्जा देखिन्न । मान्छेको आत्मा त्यस्तै ऊर्जा त हो नि । जगत् सूक्ष्म र अदृश्य ऊर्जाबाट सञ्चालित छ । हामी पृथ्वीलाई जड भन्छौं । यसभित्र ऊर्जाको अक्षय भण्डार छ । सूक्ष्म एकाईमा सबै पदार्थहरु परमाणुमय छन्, सबै प्राणी र वनस्पतिहरु बीजमय छन्, कोशमय छन् । पीपलको बीजबाट पीपल उत्पन्न हुन्छ, तुलसीको बीजबाट तुलसी उत्पन्न हुन्छ, मान्छेको बीजबाट मान्छे उत्पन्न हुन्छ, बानरको बीजबाट बानर उत्पन्न हुन्छ । सृष्टिक्रम विस्मयकारी रुपमा व्यवस्थित छ । आत्माझैं तत्वहरु पनि अविनाशी हुन्छन् ।

रुप फेरिन्छन्, नाम फेरिन्छन्, काम फेरिन्छन्, तत्व फेरिन्न । सबै वस्तुको पुनर्जन्म सम्भव छ रुपान्तरणमा । तत्व नित्य छन्, रुप अनित्य छन् । वासनाहरु अदृश्य छन्, असत्य छैनन् । भावना र विचारहरु असत्य छैनन्, दृश्य जगत्मा तिनले हलचल उत्पन्न गर्छन् । अनुभूति र कल्पनाहरु अदृश्य छन् तर प्रबल छन् । क्रोध अदृश्य भएर जगत् जलाउँछ । प्रेम अदृश्य भएर जगत् भिजाउँछ । अदृश्य ऊर्जाविना दृश्य निर्जीव छ । सूक्ष्मशक्ति नभई स्थूल पिण्ड गतिहीन छ । दृश्य स्थूल हुन्छ, द्रष्टा सूक्ष्म हुन्छ । अदृश्य भूकम्पको प्रलय हामी देख्छौं । सूक्ष्म वायुको वेग हामी अनुभव गर्छौं । मान्छेको चेतना जादूमय छ ।

गहिरिएर हेर्दा यो जगत्, यो सकल सृष्टि नै जादूमय छ । हामी अदृश्यको बोध गर्छौ चेतनाले, अनुमानले, कल्पनाले । हामी मान्छे शरीरले चलेको देख्छौं आँखाले । यथार्थमा मान्छे शरीरले चल्दैन । मृत शरीर किन चल्दैन ? मृत शरीरलाई किन दुख्दैन ? मान्छे प्राणबाट चल्छ, मनबाट चल्छ । प्राण ऊर्जा हो शरीरको । मन भोक्ता हो सुख–दुःखको । बस चलेको देख्छौं । बसको बोडीले बस चल्दैन, बस इन्जिनले चल्छ, इन्जिन ऊर्जाले चल्छ । स्थूलदर्शी सबै हुन्छन् । सूक्ष्मदर्शी नै तङ्खवदर्शी हुन्छन् । जसले अदृश्य सत्ता अनुभव गर्छ त्यही ज्ञानी हो । जे देखिन्नन् ती छैनन् भन्नु मूर्खता हो बरु नदेखिने शक्तिहरु देखिनेभन्दा शक्तिशाली छन् र महत्वपूर्ण छन् ।

विचारवान्हरु मान्छेभित्र रहेको मन देख्छन्, प्राण देख्छन् र आत्माको अनुभव गर्छन् । विचारवान्हरु अणुमय बीजभित्र वृक्ष देख्छन्, सृष्टिका रहस्य बुझ्छन्, परमाणुमा विश्व देख्छन्, शरीरभित्र आत्मा देख्छन्, शून्यमा शक्ति देख्छन् । ढुंगामूढा गनेर, देखिनेबाहेक केही छैन भन्ने मूढधीहरुले यो जगत् र जगत्को जादूमय रहस्य बुझ्दैनन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button