
नमरी बाँचे धेरै थोक सुन्न, हेर्न र खान पाइन्छ बाबु !
प्रलयको संकेत
प्रकाशप्रसाद उपाध्याय
‘नमरी बाँचे, कालले साँचे धेरै थोक सुन्न, हेर्न र खान पाइन्छ बाबु । यसैले धैर्य राख्ने गर, सन्तोष गर्ने गर’ भन्ने गर्नुहुन्थ्यो आमा ।
काँचो उमेरमा आमाका कुराहरूको अर्थ बुझ्दिनथेँ । तर आज, जब केशहरू सेताम्मे भैसके, र सोच्नकै निम्ति प्रशस्त समय छ, अनि विगतका अनेक कुराहरू सम्झिने र वर्तमानका विभिन्न घटनाहरूमाथि सोच्ने गरिन्छ । देशको वर्तमान स्थिति, महामारीका क्षण र घरभित्र खुम्चिएर बस्नुपर्ने वाध्यताको बेलामा आमाका कुराहरूको पनि सम्झना हुन्छ । यस्तो दिन पनि आउला, यस्तो महामारी पनि फैलिएला, जीवन यति अस्तव्यस्त होला, पारिवारिक दायित्वको परिपूर्ति, धार्मिक कृत्यहरूको परिपालन र चाडपर्व एवम् बिहेबारीका अवसरहरूमा सामाजिक भेटघाटमा यसरी वाधा उत्पन्न होला, भन्ने कुरा के सन् २०२० को पहिलो वा दोस्रो दिनमा कसैले चिताएको थियो ?
बिसौँ शताब्दीको अन्त्यसम्म हामीले टीबी, हैजा, प्लेग, बिफर वा एचआइभी एड्स जस्ता रोगहरूको सम्बन्धमा मात्रै सुन्ने गरेका थियौँ । तर एक्काइसौं शताब्दीका यी वर्षहरूमा कोभिड–१९ (कोरोना) र यसका नयाँ–-नयाँ प्रजातिको महामारीले मानवजातिसामु अस्तित्वको प्रश्न खडा गरेको पाउँदा, नमरि बाँचे, कालले साँचे थेरै थोक सुन्न, हेर्न र खान पाइन्छ बाबु, यसैले सन्तोष गर्ने गर, भन्ने आमाका कुराहरूले यथार्थता पाइरहेको अनुभव हुन्छ । मानिसमा असन्तोष र धैर्यताको अभावले कस्तो भयावह रूप लिँदो रहेछ र घपरिवार एवम् देशको दशा र दिशासमेत कसरी बिगार्ने काम गर्दोरहेछ भन्ने कुरा पनि छर्लंग भइरहेछ ।
सधै हुने सूर्योदय र सूर्यास्तले समयचक्र गतिशील रहेको संकेत दिए पनि वरिपरिका घटनाहरूले सन्त कबिर दासको एउटा दोहाको पंक्ति– ‘सब दिन नही हो त एक समाना’को स्मरण गराइरहेछ । जीवनको गतिशीलतालाई सीमित पारेको पाउँदा मन खिन्न हुन्छ । एकातिर महामारीको भयावह वातावरण र यस्तो स्थितिमा पनि विभिन्न किसिमका षडयन्त्र र अनियमितताका घटना, अर्कोतिर बर्डफ्लु, चक्रवात, हुरी, वर्षा र पहिरो आदिले सबैसामु ज्यानमाल जोगाउने चिन्ता उत्पन्न गरिरहेको पाउँदा मन खिन्न हुन्छ । कहिले अर्थशास्त्री माल्थसले जनसंख्याको वृद्धि भएको खण्डमा प्रकृतिले सन्तुलन कायम गर्न यस्तो स्थिति उत्पन्न गर्दछ भनी भनेका कुराको सम्झना हुन्छ ।
कहिलेकाहिँ प्रश्न उठ्दछ– कलियुगको अन्त्य हुने बेलामा यस्तो स्थिति उत्पन्न हुन्छ भन्ने बुढापाकाका कुराको सम्झना हुन्छ । कहिले के प्रलय हुन थालेको संकेत त होइनन् यी सबै कुरा भन्ने प्रश्न पनि उठ्छ ? वा प्रलयको स्थिति अर्कै हुन्छ ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)