नेपालमा नयाँ जीवन पाएकी ममिना बंगलादेश फर्कर्दै
आश्रम छाडेर जाँदै गर्दा मन भक्कानिएको छ तर आफ्नै देश फर्कन पाउँदा ११ बर्षदेखि सम्पर्कविहीन परिवार भेट्दा खुशीको आँशू बगेको छ ।
उद्धारको समयमा मनोरोगको कारण घर परिवार र आफ्नोबारे समेत बेखबर रहेकी उनको नाम मानवसेवा आश्रमले नै गिता मानव राखिदिएको थियो । क्षतविक्षत भएको मन र करिबकरिब कुहिएको हात लिएर खुला आकाशमुनि कष्टपुर्ण जीवन विताउन विवश गिता मानवलाई २०७२ बैशाख २५ गते चितवन रामनगरको जङ्गलबाट उद्धार गरी आश्रममा ल्याइएको थियो ।
ठूला शहरको छेउछाउको राजमार्गसँग जोडिएको जंगलमा बेवारिसेरुपमा मनोरोगी भई खुला आकाशमुनि रात बिताउन पर्ने बाध्यात्मक अवस्थाले एक चेलीलाई दिने पीडा र उनले सामाना गर्नुपर्ने जोखिमलाई हाम्रो हृदयले सजिलैसँग अनुभूती गर्न सक्दैन । एक पटक गिता दिदीको ठाउँमा आफ्नो छोरी चेली, श्रीमती वा आमालाई राखेर हेरौं त ?
पुरै हात कुहिएकी, मनोरोगको कारण आफैलाई समाल्न नसक्ने अवस्थामा मृत्युसँग पौठेजोरी खेलिरहेकी गिता मानव यदि सडकमै हुन्थिन् भने सायद उनको परिवारले उनलाई सदाको लागि गुमाउन पर्ने थियो ।
तर यस्तो हुन पाएन । घरबाट सम्पर्कविहीन भएको ५ बर्षअघि उनलाई मानवसेवा आश्रमको टोलीले उद्धार गर्यो । करिब ६ बर्षसम्म आश्रमले उपचार गरायो र पारिवारीक स्नेह दियो । उनको हराएको स्मृति फिर्ता भयो । आफै विरामी बनेकी गिता अब अरु आफूजस्तै समस्यामा परहेकाहरुको सेवा गर्न सक्ने भइन् । परिवार र आफन्तको बारेमा बताईन ।
बंगलादेश घर भएको खुलेपछि मानवसेवा आश्रमले नेपालका लागि बंगलादेश दुतावाससँग समन्वय गर्यो । दुतावासको पनि राम्रै सहयोग गर्यो ।
गिता मानवसेवा आश्रमले दिएको परिचय थियो । उनले आफ्नो नाम ममिना बेगम (मिनु) बताएकी छिन् । हाल हरेक दिन छोरासँग घण्टौ भिडीयो कल गर्ने भएकी छिन् मिनु । र, यही पौष ८ गते बंगलादेश एयरलायन्समार्फत घर फर्कदै छिन् ।
… र उनी ११ बर्षपछि घर फर्कदै छिन् । तर, मृत्युको मूखबाट बचाएर पाँच बर्षसम्म सँगै राखेको मानवसेवा आश्रम पनि उनका लागि अर्को परिवार बनिसकेको छ । त्यसैले एक परिवारको मिलन अर्को परिवारको विछोडको कारण बन्यो ।
(मानवसेवा आश्रमले इमेलमा उपलब्ध गराएको सामाग्री)