म हुँ पानी, हुँ म रानी

पानी

दीन पन्थी

म हुँ पानी । दुनियाँकी म हुँ रानी । म लक्ष्मीकी हुँ माता । सागरमा छ बास मेरो । मविना चल्न सक्दैन जीवनको सेरोफेरो । थलचर, जलचर, नभचर सारा, बाँच्न सक्दैनन् नपाई मेरो सहारा । मविना जगत् बन्छ मरु, जीवन बन्छ शुष्क तरु । म कल्पतरु हुँ धराकी । म झरें स्वर्गबाट स्वर्गब्गा भएर । शिवले थामे मेरो वेग ।

म जल, म शीतल, म धवल । म प्राणाधार जगत्की । मलाई खोजेर रुन्छ काकाकुल, बनी व्याकुल ग्रीष्ममा । म नहुँदा जगत् मर्छ । मेरो कलकलमा जगत् जिउँछ । म स्वच्छ, पावन र निर्मल छु । मान्छेले मैलाउँछ मलाई । उल्टै धमिलो भन्छ मलाई । म ऊर्जा हुँ, बल हुँ, ज्योति हुँ । म बल्छु ज्योति बनेर घरघरै । म चलाउँछु यन्त्रहरु ऊर्जा बनेर । म ठोस भएर हिउँ बन्छु बाफ भएर बादल । घामसँग मितेरी लगाएर म बन्छु नौरंगे इन्द्रेनी । बादल बनेर कपास झैं म उड्छु सगरमा । सागरदेखि सगरसम्म बास छ मेरो । म जमें हिमालमा । त्यहाँ म विश्राम गर्न चाहन्थें, समाधिमा जम्न चाहन्थें, तप गर्न चाहन्थें । जगत्को करmणाले म पग्लें । लोकहितार्थ म बगें । फाँटहरु सिंचेर हरिया बनाएँ । जगत्को भोकप्यास मेटें । म गंगा, यमुना, सरस्वती, सिन्धु र गण्डकी बनेर धुन्छु मान्छेका कल्मषहरु । म नाइल, अम्याजन, मिसिसिपी, भोल्गा, ह्वाब्हो र इरावती बनेर सिंगार्छु मैदानहरु ।

म मानसरोवरमा थकाइ मार्छु । त्यहाँ म हाँसहरुसँग खेल्छु । कैलाशलाई छातीमा राख्छु । म रारामा चन्द्रमालाई काखमा सुताउँछु । म फेवामा माछापुच्छ्रे सजाउँछु । म बादल बनेर सगरमा सयर गर्छु । बताससित म हिड्छु । म मादल बजाएर नाच्छु बिजुलीसँग, चपल, चञ्चल, उज्ज्वल बिजुलीसँग ।

म स्वच्छ, निर्मल, शीतल बूँद भएर झर्छु धरतीमा । म झर्दा माटोमा महक आउँछ, जीवन लहराउँछ । म सकिन्छु आफै । आफू सकिएर लोकहितमा म छरिन्छु प्राणीमा, वनस्पतिमा, माटोमा । गतिको प्रेरणाले म बगें । धर्तीका विभेद, अन्याय र पन्पक्ष देखेर म गर्जें । संसार अँध्यारो देखेर म चम्कें । जीवनका अनन्त दुःख देखेर म रोएँ । पृथ्वीका सौन्दर्य देखेर म इन्द्रेणी बनेर चम्कें । म शितबिन्दु बनेर टल्कें । मान्छेका बैंस देखेर मलाई रहर लाग्यो । म किशोरी झैं चपल झर्ना बनेर उफ्रें, गाएँ, किलकारी भर्दै हाँसे । म इन्दे्रनी बनेर घामपानीमा नववधू झैं मुस्काएँ । कविहरुले गाए मेरो सौन्दर्यगान । म हुँ जीवनजल । म स्रोत हुँ सत्यकी, शिवकी र सौन्दर्यकी । ममा घोलिन्छन् रसहरु, रंगहरु, रुपहरु । म शुद्ध छु, पवित्र छु, निर्मल छु। म शीतल छु, संसारको तापले तात्छु । म निर्मल छु संसारको मलले मैलिन्छु । मैले नै बनाउँछु धरतीलाई शश्यश्यामला । शुष्क मरुभूमिमा मैले नै सजाउँछु मरुद्यानहरु ।

म कोमल, म स्निग्ध, म भयंकर, प्रलयकी हुँ म कारण । म अमित बलशालिनी बाढी बनेर खैलाबैला मच्चाउँछु । सुनामी बनेर डुबाउँछु टापुहरु । कसले नाप्छ मेरो शक्ति ? झञ्झावात बनेर काँप्छु म । आँधी, हुरी र तूफान बनेर नाच्छु म । पेटमा आगो छ मेरो–वडवानल । म हुँ आगाकी जननी ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button