नेपाली उडान, सपनाको गन्तब्य

नर ब लामा (जिग्मे)
हुम्ला, हालः क्यालिफोर्निया, अमेरिका

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । बैदेशिक रोजगारी, शिक्षाको सिलसिलामा सयौं आकांक्षी नेपालीहरूले खचाखच भरिएको दृश्य ।

झोला, भारीहरु एकातर्फ, अर्कोतर्फ विदावारी गर्न आएका परिवार, आफन्तजन । रसाएका आँखाहरु । विशेषगरी दोस्रो विश्वयुद्धको बेलादेखि चलनमा आएको नेपालीहरुको लाहुर जाने प्रथा विगतको राजनैतिक अस्थायित्व, कमजोर अर्थव्यवस्था इत्यादिले अहिले नियति, दिनचर्या हुन पुगेको छ । अनि खाडी मुलुक नेपाली युवाहरुको ठुलो गन्तब्य । सन् २००४ तिरको त्यो दिन र दृष्य बर्षौसम्म निरन्तर हुँदै, बढ्दै गयो । एक दिन म पनि लाग्न पुगेँ त्यहि लाइनमा ।

‘यहाँ नाम मिल्या छैन, भित्र हाकिमसँग सोध्नु पर्छ एकपल्ट …’, भित्र अध्यागमन कर्मचारीहरुसँग केहि सीधा र केही टेबलमुनिको मोलतोल भो । त्यहाँबाट उम्केर चमेना पस र वोर्डिङ गेटसम्म पुग्दा बाँकी नेपाली मुद्रा सबै टकटकिए । हल्का पाकेट अनि ठुलो सपना बोक्दै सुरु भयो हाम्रो उडान ।

केहि बेरमै हाम्रो जहाज उच्च आकाशमा पुग्यो । झ्यालबाट हेर्दा काठमाडौँ फूटबल मैदानजत्रो देखिन थाल्यो । हाम्रो देश, समाज, त्यो भूगोल जहाँ सत्ता प्राप्तिका लागि तछाडमछाड, युद्ध नै चलिरहेको थियो, बादलमै हरायो केहि बेरमै । अनि छेउछाउबाट सुसज्जित एयरहोस्टेस युवतीहरु निस्किन थाले । अनेक पेय, व्यंजनहरु पेस हुन थाले । हातमा पेय पदार्थ अगाडि निलो, अनन्त आकाश, सुकिलो बादल ।

‘तपाई केहि थप्नु हुन्छ ? जुस, बियर, व्हिस्की ?’

गाउँ शहरको मौजुदा द्वन्द, प्रदुषण, महङ्गी, गरिबी सबैवाट टाढा । एक बेर त स्वर्गकै भान भो । सँगै काउकुति हाँसो पनि उठ्यो । तर केहि बेरमै पत्तै नपाइ कतार एयरपोर्ट पुगियो । फेरी धर्ती छोइयो । एक एक गर्दै नजिकका साथीहरु आफ्ना झोला, वोरियाविस्तरा बोक्दै भिडमा हराएर गए । एयरपोर्टको गेट निस्कँदा बित्तिकै मरुभूमिको ताप, परदेशको वास, अनि कमजोर मानवाधिकार । अत्यासलाग्दो थियो साथीहरुको अवस्था ।

मेरो यात्रा अझै बाँकी थियो। सानफ्रान्सिस्को, क्याालिफोर्निया, अमेरिकासम्म । फेरि भित्र छिरेँ ।

पन्ध्रौ शताब्दीतिर स्पेनिशहरु प्रशान्त महासागर तरेर आई त्यहाँका आदिवासीहरुलाइ विस्थापित् गरेपछि अठारौं शताब्दीतिर यहाँ सुन खानी पनि पत्ता लागेको रैछ । क्याालिफोर्निया स्वर्ण दौडको रूपमा प्रख्यात् त्यस समय संसार भरिबाट अप्रवासीहरुको ओइरो लागेको रहेछ आफ्नो सुनको भागको खोजीमा । त्यसैबाट प्राप्त श्रोत अनि उर्वर, सुन्दर भुमि, वन्दरगाहको सम्मिश्रणवाट विश्वकै सम्वृद्ध, वैभवशाली सहर पनि वन्न पुगेको रहेछ । विगत केहि दशकदेखि नेपालीहरुको पनि सानो तर बढ्दो समूह बन्दै रहेछ। आफ्नो पसिना वगाँउदै, सपना बुन्दै । यस स्वर्ण शहरमा आफ्नो भाग खोज्दै ।

मैले महसूस गरेँ, यो ठाउँ सायद भौतिक विकासको चरम चुली नै हुनुपर्छ । प्रशान्त महासागर छेउको मनोरम दृश्य ,त्यसको सेरोफेरोमा र्निर्मित सुन्दर भवन, वस्तिहरू । भित्र आफ्नो क्षमता अनुसारको काम, आम्दानीको व्यवस्था । विविध उच्च गुणस्तरको खानपान, वस्त्र, वास, इन्द्रिय मनोरन्जन । काम गर्न नसक्नेलाइ राहतको व्यवस्था । तर समय बित्दै जादा थाहा भो, जब गाँस, बास, कपडाको चिन्ताबाट मान्छे मुक्त हुन्छ, ऊ फेरि समाज खोज्छ, जीवन जगतको अर्थ खोज्छ । भौतिक अनि इन्द्रिय सुखभन्दा माथिको सुख खोज्छ । त्यहि खोज र सोचको दौडान विदेशबाट नेपाल र लामो बसाइ, डुलाइपश्चात विदेशतर्फको बाटो त्यस उडानमा फेरि आइपुगेको थिएँ । फेरि कतार एयरपोर्ट आइपुगियो । त्यहाँबाट एक हुल नेपाली निस्क्यो र भिडमा हरायो । म फेरि उडेँ सानफ्रान्सिस्को, अमेरिकातिर ।

यात्रा लामो थियो। फेरि मनोरञ्जन शुरू भयो । ‘वानरहरुको ग्रह’ नामको फिल्म शुरु भयो यसपल्ट । त्यस कथामा सान फ्रान्सिस्कोका एक वैज्ञानिक विल रोडम्यान अल्जाइमर रोगको उपचार पत्ता लगाउने आशमा दिलोज्यानले लागिपरेको हुन्छ । परीक्षणको विषयहरुमध्ये चम्किला आँखा नामक एक महिला चिम्पान्जी भर्खरै पश्चिम अफ्रिकी जंगलबाट कब्जा गरेर ल्याईएको हुन्छ । तर परिक्षणरत औषधिले आनुवंशिक रूपमा कसैले थाहै नपाइ उक्त चिम्पान्जीलाई मानव स्तरको बुद्धि, र विशेष शारीरिक शक्ति प्रदान गरिरहेको हुञ्छ। चम्किला आँखा दुई महिनासम्म प्रतिरोध गर्छिन् उनलाई कैद बनाइएकोमा । अन्तत उनीहरु उनलाई मार्न बाध्य हुन्छन् । तर उनले एक असाधारण बच्चा सिजरलाई जन्म दिन्छिन् मरणोप्रान्त । र, उनको वौद्धिक क्षमाता सिजरले प्राप्त गर्छन् । जब सिजर हुर्किन्छ, उसले विभाजित, जंगली र कैदमा परेका चिम्पान्जीहरूको दर्दनाक दृश्य देख्न र बुझ्न थाल्छ । क्रमशः तिनलाई एकत्रित गर्दै तिनको मुक्तिका लागि मानवहरूसँग कडा युद्धको नेतृत्व गर्छन उनी । ती हिंस्रक र आक्रामक मानिसहरुलाई अन्तमा हराएर सान फ्रान्सिस्को छेउ प्रशान्त महासागरको वन्दरगाहमाथि बडेमानको गोल्डन गेट पुल तर्दै मीर वुड्सको घना रेडवुड जंगलतिर लाग्छन, स्वतन्त्र, आफ्नो बाँदर सेनाका साथ ।

कथा सकिनै लाग्दा म झल्याँस्स व्युँझे । स्क्रिनमा फेरि विज्ञापनहरू चल्न थाले । के उनीसित नजिक हुन चाहनु हुन्छ ? यो अत्तर प्रयोग गर्नु होस् । एउटा नग्न मोडलको कामूक तस्वीर अगाडि थियो । शहरको रमझम र तामझाम । फेरी धर्ती पुगिएछ । केहि समयपछि मेरो पालो आयो सानफ्रान्सिस्कोमा । झोला बोकेर आफ्नो गन्तब्यतिर लागियो ।

त्यहाँको केहि वसाइपछि एक दिन वाशिंगटनडिसी जाने काम, अनि रहर भयो । हिँडियो । अनि पैसा जोगाउन सार्वजनिक बसको यात्रा रोजियो । तर त्यहाँको सार्वजनिक बसनै नेपालको हवाई जहाजभन्दा आरामदायी र सफा रहेछ । तर पनि ड्राइभर ठाउँ ठाउँ रोक्दै हिँड्यो र गर्दागर्दा मलाइ निकै ढिलो भैसकेको थियो । मलाई लाग्यो कि मैले बाहिर निस्कनु पर्छ र एउटा ट्याक्सी वा केहि समात्नु पर्छ । तर रात परिसकेको थियो। स्टेशन बाहिर जाँदा त्यहाँ एउटा ट्याक्सी देखेँ तर एउटा ठूलो अजङ्गको भुसतिग्रे ड्राइभर थियो । ट्याक्सीहरूमा साँझ प ग्राहकहरू लुटिने खबर पुरानो थिएन । र, हब्सीहरुप्रति धारणा पनि नकारात्मक नै थियो । त्यो भुस्तिग्रे मतिर आएर सोध्न थाल्यो, ‘के तपाई ट्याक्सी खोज्दै हुनुहुन्छ ?’

मैले फोन गरिरहेको जस्तो गरी उसलाई पन्छाएँ । मेरो बाटो खर्च उसलाई लुटाउने पक्षमा म थिइनँ । तर एउटा बुढी आमा आएर उसलाई सोध्यो र बुक गरेर हिँड्यो । ऊ एक एकदम सभ्य पाराले पेश भयो । म अनावश्यक शंका गर्दै बसेँ । मलाइ झन् ढिलो भैसकेको थियो । त्यसपछि अर्को मान्छे आएर रोकियो । ऊ ठिक्कै कदको अधवैशे मान्छे थियो । मलाई लाग्यो, यो मान्छे ठिक देखिन्छ। सानो पनि छ बदमासी गरे पनि म यत्रो मान्छेलाइ प्रतिकार गर्न सक्छु ।

मैले सोधेँ, ‘हेल्लो , के तपाई मलाई डीसीमा लैजान सक्नुहुन्छ ? कति लिनु हुन्छ ?’ उनी केहि वर हेरिरहे अनि पछाडि फर्केर जवाफ फर्काए, ‘नेपाली हो ?’

हामी दुवै दङ्ग ।

‘हो, क्या बात यार !’, म खुसिले गदगद् ।

बाल्टीमोरदेखि वासिङ्गटनको चिल्लो बाटाहरुमा त्यहाँको विकासको बखान गर्दै हामी हुइकियौ ।

‘यहाँ नेपाली धेरै छन् । … के गर्नु म पनि नेपालको अवस्था सुध्रेला भन्दाभन्दै यहाँ आएको १५ बर्ष भैसक्यो ।’

घरतिर कुरा पुग्नासाथ् उनको अनुहार मलिन भयो ।

‘परदेश बसिरहेका लाखौ नेपाली कहिले आफ्नो घर फर्केलान है ?’, मैले सोधेँ ।

‘यहाँ तपाईं यदि मिहिनेत गर्नु हुन्छ भने राम्रो कमाइ पनि गर्न सक्नुहुन्छ । तर नेपालमा कडा परिश्रम गरे पनि त्यो निश्चित छैन । … अब त बुढो पनि हुन लागिसकेँ । आश पनि धेरै छैन नेपालको … ।’

यस देशको पुरानो नेता, मान्छेहरु जस्तो हाम्रोमा कहिल्यै पाउन सकेनौ । देशप्रति निराशा तर परदेशमा नेपाली हुनुको गहिरो साइनो जोड्दै हामी गन्तब्य पुगी बिदावारी भयौं ।

भोलिपल्ट एउटा भेटघाटपश्चात व्हाइट हाउस हेर्ने रहर भयो। हिँडियो । वासिंगटन डिसीको अलिशान शहरबीच रमाउँदै पेंसिल्वानिया रोडछेउ पुगियो । चिल्ला रोड, आलिशान भवनहरुको लस्कर । सफासुघ्घर मान्छेहरू । सायद तीमध्यमै थिए राजनीति, व्यवसाय र कला क्षेत्रका ठूला हस्तीहरु । केहि अगाडि अमेरिकी कोष विभागको बडेमानको भवन थियो । ट्रेजरी विभाग, जहाँ विश्वकै शक्तिशाली, सम्पन्न रास्ट्र अमेरिकाको वित्तिय पूर्वाधार, प्रणालीहरू सञ्चालन र मर्मत हुन्छ । तर एक जना साथी ठट्टा पनि गर्थे कि हाल आएर यसले भएको दुधमा पानी मात्र हाल्ने काम गर्छ । जति रकम छाप्दै जान्छ, भएको रकम को मूल्य घट्दै जान्छ । जसरी एक छुद्र किसानले दुधमा पानी थप्दै जान्छ । त्यस भवनको मुन्तिर बाटोमा एउटा बुढो मान्छे स्मारिका टोपीहरू बिक्री गर्दै थिए । प्रत्यक विक्रिपछि एक एक डलर गन्दै गरेको दृश्य काठमान्डु रत्नपार्कको पसलभन्दा भिन्न थिएन । त्यहाँबाट अलि पर हिँडेपछि अगाडि ठुलो भव्य बगैचा र भित्र मान्छेहरुको घुँइचो थियो । त्यहीँभित्र डुल्दै जाँदा चकमन्न व्हाइटहाउस देखियो । म रमाउँ, घोत्लँदै बसेँ । मेरो नजिक भिडमा एकजना मान्छे एक प्रहरीसँग जिद्धी गरिरहेका थिए, के म ट्रम्पलाई भेट्न सक्छु ?

‘सक्नु हुन्छ, तर तपाईसँग अपोइन्टमेन्ट हुनु पर्छ’, जवाफ दिए उनले. ‘के तपाइँसँग छ, छैन ? र, त सोध्दै छु ।’

‘म उसलाई हेर्न चाहन्छु’, ऊ निरन्तर जिद्धी गर्दै थियो ।

केहि पल्तिर अमेरिकी ट्रम्प अनि अमेरिकी युद्ध नीतिविरुद्ध एक बुढा पाल टाँगेर विरोधमा केहि हप्तादेखि थिए । पालैभरी मध्यपुर्वदेखि अफगानिस्तानसम्मका युद्धका तस्विरहरु, त्यसविरुद्ध नाराहरु थिए । म त्यहाँबाट स्मिथसोनियन संग्रहालय अनि ट्रम्प टावर होटल हुँदै बरालिँदै, सोच्दै हिडेँ ।

अमेरिकी सुखसयलको सपना परवासीहरू माझ परिचित उक्ति हो । कुनै समय यहाँ एक सर्वसाधारणले मिहिनेत गरे भने परिवारको लालनपोषण, घर, गाडी, शिक्षा यानेकी सुखसयलको अमेरिकी सपना प्राप्त गर्न सकिन्छ भन्ने मान्यता रहेछ । आज पनि करोडौ आकाँक्षीहरू यसमा विश्वास गर्छन । अमेरिकी दुतावासअघि लाम लागेर यहा आउन हत्ते गर्छन् । तर वास्तविकतामा सारा अर्थ र सामाजिक व्यवस्था व्यापार व्यवसायी, कर्पोरेसनहरुको हातमा र ती केवल पैसा कमाउने निर्दयी प्रतिस्पर्धामा उधृत भएको अवस्था छ । व्यक्तिगत स्वतन्त्रता, फुर्सत, बचत, समाज, वातावरण संरक्षणजस्ता कुरा छायाँमा परेको अवस्था छ । जीविका चलाउन सातै दिन बाह्रै महिना कामले थकित । र, शुन्य वचत न्यून व्यक्तिगत स्वतन्त्रताको अवस्थामा यहाको अधिकांश मध्यम वर्ग छन् । र, पनि हल्लामा समाज र व्यक्तिगत सोच हल्लाउने सामर्थ हुने रैछ । र, त अझै परदेशको रहर घटेको छैन । अनि परदेश पुगेपछि त चाहेर पनि फुत्कन गाह्रो छ । केहि आर्थिक, केहि सामाजिक, केही वैचारिक परिवन्दले । केहि समयपछि नेपाल घुम्न मरिहत्ते गर्ने साथीहरूको एक समूह भेटियो र मेरो नेपाल फर्किने अवसर जुर्‍यो । फेरि लागियो एयरपोर्टतर्फ। फिलाडेलफिया ।

Ad

तर संसारको कुनै पनि ठाउँ छैन होला जहाँ नेपाली भेटिँदैन । मसँगै लाइनमा एउटा नेपालिीदिदी टपक्क आइपुग्नु भो । हलुका पाइन्ट सर्ट लगाएका अधबैंसे, मिजासिला, तर निडर जस्ता पनि।

विरामी आमा भेट्न जान लागेको भाइ । विदा धेरै छैन । भेटपछि फेरि नेपालका कुरा भए । फेरि कतार एयरपोर्ट पुगियो । त्यहाँ पुग्दा हाम्रो समूहमा अरु पनि थपिए । कोहि जर्मनीबाट, कोहि जापानबाट अनि एउटा ठुलै महिला अधिकारकर्मी नेत्री स्वीजरल्याण्डको एउटा अन्तर्रास्ट्रीय सम्मेलनबाट । उनी आफ्नो वखान गर्न थालिन् ।अमेरिकामा उमेर ढल्दासम्म दुख खेपेका, देशको हालतदेखि अवाक ती दिदीलाइ अवसर जुर्‍यो क्यार । आफ्नो वह पोख्ने । हामी आफ्नो देशको अवस्थावाट पिडित भित्र र विदेशमा रहेकाहरुको नेपालमै गरिखाने वातावारण बनाउन चै केहि गर्नु भा छ हजुरहरुले ? यो सम्मेलनबाट हामी जनताले पाउने के ? … देशमा न बत्ती छ, न बाटो छ, न पानी । व्यवसाय गर्ने माहोल छैन … ।

कुरा हुँदै गयो । ती नेतृसँग जवाफ निस्केन । अन्तमा उनी सिट छोडेर अन्तै लागिन ।

विगत केहि दशकभित्र नेपाली भूमि, समाजमा अनेक राजनैतिक परिवर्तन भए । तर समाजको समस्या ज्युँका त्युँँ छ भन्दा फरक नपर्ला । प्रवासीहरूको प्रश्न स्वभाविकै छ, देश फर्कने वातावरण कहिले, कसरी बन्ने होला ? रोजगारी, व्यवसायको वातावरण कसरी, कहिले वन्ने होला ?

तर फेरि गाँठी कुरा केहो भने हरेक ठाँउ, हरेक गाउँमा धैर्य र मिहिनेत गरे एक दिन पालो आउने रैछ । मेरो उडानको केहि महिना पहिले संखुवासभाको एक दुर्गम गाउँमा एक विकासे योजनाको सिलसिला पुगेको थिउँ । खाँदबारीवाट दुइ दिनको बेजोड हिडाई र थकानपछि अरूण नदीको मास्तिर एक गाँउ आइपुगियो । भरे पानी पनि पर्न थाल्यो वेजोडले । कठांग्रिने चिसो थियो । एउटा अनकन्टारको गाँउ, त्यसको सानो कोठामा बासपछि हामी आगो ताप्न अँगेनामा झुम्मियौं । तर खेतबारीवाट भर्खर फर्केका घरबेटी बुढाको नजर अँगेनाभन्दा अन्तैतिर गयो । दाउराको चाङ्ग पल्तिर खोतल्दै, वियरको थाङ्ग निस्कियो उनीसँगै ।

‘यत्रो वियर बेच्नलाई हो दाइ ?’, हाम्रो साथीले सोधिहाले ।

‘हैन, यसो आफु खानलाई ।’

केहि सालयता अलैचीले बेजोड भाउ पाउन थालेपछि गाँउठाँउमा पैसाको छेलो भेलो भएको कुरा सुनाए बुढाले ।

‘खानको कुरा नगरम भाइ, एकताका मान्छे यहाँ बियरले मुख धुन्थे’, बुढा वात् मार्दै गए । यसपाली अलि भाउ घटेको रैछ तैपनि १५-२० लाख त सजिलै पाउने आँकलन रैछ चल्तीको भाउले । त्यहाँबाट केहि दिनपछि पुर्व झापा, इलाम जाँदा पनि त्यस्तै थियो । हामी वसेको सानो लजले सजिलै महिनाको केहि लाख कमाइ हुने हिसाब हाम्रै अगाडि देखाए। नजिकको छिमेकी भारतको गर्मी र तिनको बड्दो आम्दानी अनि त्यही पल्तिर नेपालमा शीतल, सुन्दर वातावरण, अतुलनीय आथित्य सत्कार । आम्दानी, व्यवसायको सोझो मौका प्रर्स्टै थियो । केवल समय र केहि मिहिनेत, लगानीको जरूरी । अनि पश्चिम डोल्पामा त उखान नै रैछ, दुनइ इज बेटर द्यान दुवई ।

तर पनि परदेशको रहर, लहर गाँउघरमा कम थिएन। तुम्लिंग्टार विमानस्थलबाट फर्किँदा झिटिगुन्टामा फ्ल्याटस्क्रीन टिभी कसेर आउनेको एक हुल भेटियो । त्यहि पर मकैबारी जोतिरहेका बाहिर कहिल्यै नगएका खेतालालाई कसरी रहर नलाग्दो हो ? कालो चश्मा, सफा कपडा र भारीमाथिको फ्ल्याटस्क्रिन टीभी । त्यहि अन्धो रहरले आज ६० लाख मान्छे परदेशिएका छन् । केहि दिनअघि तल तराइको एक गाँउमा साउदी नजाने घर भेट्न गारो रैछ भन्थे एकजना । घरबारी बेचेर पनि गएका धेरैजसोलाई कमाइ जोडजाम गर्दा फर्किंदा बेचेको बारी दलालको कब्जाबाट किन्न नसकिने वास्तविकता रहेछ । मैले सोचेँ, आखिर गरिबी, दुख, परदेशिने रहर इत्यादि केवल एक मानसिक झ्याउँकिरी, एक भ्रम मात्र हो । एउटा माछाले शिकारीको जालमा आहार देखेजस्तै । तर यही भ्रमले नेपाली समाज तितरवितर परिसकेको अवस्था छ ।

मेरो फिर्ती यात्राको दौरान विशाल महासागरमाथि हाम्रो जहाज उड्न थाल्यो । एकतमासको नीलो सागर हेर्दै सोचेँ, के र कसरी सम्भव होला परदेशिएकाहरू घर फर्कने ? विछोिडएको घरहरू जोड्ने ? विथोलिएको समाज जोडने ? के चीज लिएर उनीहरू फर्कनु महत्वपुर्ण होला ? अनि नीलो सागर हेर्दै सोचेँ, हाम्रै हिमालयको नदी, पानी पनि त बगेर आउँछ यहाँ बंगालको खाडी हुदै । अनि देखेँ घामको किरणसँगै महासागरबाट वाष्प, अनि बादल, विशुद्ध जलमन्डल भएर, गगनमन्डल हुँदै फर्किन्छन् पनि । हिमालय, पर्वत, पठारतिर वर्षा बनेर पुग्छन् । जगत सिंचित हुन्छ । अन्न फल्छ, बसन्त आँउछ, खुसियाली छाँउछ । सोचेँ, सायद त्यो सन्देश हुनु पर्छ परदेशी मनहरुका लागि । चेतनाको तापसँगै मानव महासागरबाट सतही लोभ, ग्राह, संकोच, मोहको छालबाट उठेर वाष्पिकरण, शुद्धिकरण हुदै बादल झैँ हल्का, गतिशील, अनि आकाशझैँ खुला सोचको सन्देश । न आलस्य, न अन्धो रहर, न लोभ, न डाह न अपेक्षा, न उपेक्षा , न डर । विशुद्ध, स्वतन्त्र, तर परोपकारले ओतप्रोत चित् । यही चीज नै सबभन्दा महत्वपूर्ण देखेँ । सोचेँ, त्यस्तो चित्त लिएर हिमालय, पर्वत, पठार, तराईका समाज सिंचित गरे सुख, सयल, सम्बृद्धी, शान्ति कसो सम्भव नहोला ?

केहि बर अन्तर्मनको मन्थनपछि काठमाडौँतिर लाग्यो हाम्रो उडान । अनि फेरि आकाश, अनि फेरि धर्ती टेकियो । विमानस्थलमा अध्यागमनले सबका झिटिगुन्टा खोतले एक एक गरी । बाँकी रहेको विदेशी खुद्रा त्यहाँ टकटक्याउँदै केहि बेरमा हामी बाहिरियौ । हामीसँगै पल्तिर कसैका मृत परिवारका शव थिए त केहि जिउँदाहरु आफ्नो झिटिगुन्टासँगै फ्ल्याटस्क्रीन टिभी डोरीमा कसेर स्वतन्त्रताको लामो स्वाश फेर्दै घर फर्किदै थिएँ । अनि फेरि हाम्रो पछाडि उल्टो दिशामा एक नयाँ जत्था लाइनमा थियो । एक नौलो नेपाली उडानमा । जिन्दगीको, सुख, शान्तिको एकतर्फी खोजीमा ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button