
हरिया आँखा भएकी अष्ट्रेलियन बिराली आमा
सुरक्षाको खोजी
इन्दिरा दीक्षित
आकाशमा उडेका रँगिचङ्गी चराचुरुङ्गी हेर्न मलाई आनन्द लाग्छ । सिड्नी आएदेखि बिहान सबेरै चराको चिरबिरे तानले बिउँझाइदिन्छ ।
जुरुक्क उठेर बरन्डा बाहिर निस्कँदा वरिपरी रहेको झ्याम्म परेको रुखहरुमा, फूलको डालिमा र खाली चौरमा रँगिबिरँगी चराहरु छपक्क परेका हुन्छन् । ती रँगिबिरँगि चराहरु कुनकुन जातिका हुन् म उतिसारो चिन्दिन, यसमध्ये कुनैकुनैचाहिँ काठमाडौंको आकाशमा पनि देखिने भएकोले चिन्छु पनि ।
सारौँ, कौवा, भँगेरा परेवा, ढुक्कुर, सुगा आदि त राम्रैसँग चिन्दछु तर यता त धेरै प्रकारका चराहरु हुँदा रहेछन्, आफ्नै घरको बरन्डाबाट नजिकै देखिने मात्रै ३०÷४० थरिका चरा होलान् ! मैले देख्ने गरेको कान्तिपुरको आकाशमा यति धेरै चराहरु किन नभएका होलान् ! फेरि आफूले आफैलाई जवाफ दिन मन लाग्यो, खै र चरा बस्ने रुख ?
शहरभरी अन्धाधुन्ध घरैघर बनेको छ, घरको छतमा त चरा बस्दैनन् ! आफू जन्मेको ठाउँमा जेजति चराहरु देखियो, त्यो सबै बाल्यकालमा मात्रै हो, त्यतिबेला अहिले जस्तो घरैघर थिएन ! जताततै धानका बाला झुलेका हुन्थे, रुखहरु पनि थुप्रै देखिन्थ्यो तर अहिले एकादेशको कथा जस्तै लाग्छ । बिर्सिसकेको पुरानो यादलाई यता देखिएका थरिथरिका चराले ताजा बनाएछ ।
चराको जातजाती, रँगरोगन, आकार प्रकार जान्ने र चिन्ने म चरा विशेषज्ञ हैन, चराहरु चिन्नभन्दा पनि यिनका कृयाकलाप हेरेरै दँग पर्न मन लाग्छ, फेरि काठमाडौ फर्केपछि कहाँ पाएर यति सुन्दर चराहरु हेर्नु र ! आजभोलि तिनको सुन्दर रुप र चिरबिरे तानमा म मोहित बन्दै गएको छु । सधैजसो बिहान सबेरै बरन्डामा उब्भिएर चारैतिर आँखा घुमाएर केहिबेर तिनको कृयाकलाप हेर्छु अनिमात्र मेरो दिनचर्या सुरु हुन्छ ।
एकदिनको कुरा हो, म बरन्डाबाट चराहरु हेर्दै थिएँ, एकछेउमा साना खाले राता घाँटी भएका खरानी रँगका सुगाका बथान चौरमा चरिरहेका थिए, केही बेरमै अल्लि आत्तिएझै ठुल्ठुलो स्बरमा कल्याङ कुलुङ गर्दै एक्कै पल्ट भुर्रर उँडेर गए । के भएछ ! एक्कासि यसरी उँड्न नपर्ने, मैले चारैतिर आँखा लगाउँदा कम्पाउण्डको पर्खाल माथिपट्टि एउटा कालो बिरालो ढुक्रुक्क बसिरहेको रहेछ । मैले अनुमान लगाएँ, यसले पक्कै पनि सानो चरालाई ताकेर बसेको हुँदो हो, बाठा सुगाहरु भागिगए । त्यसदिन मलाई त्यो कालो बिरालो देखेर खुब रिस उठेको थियो ।
भोलिपल्ट पनि उही समयमा बाहिर निस्केँ, तर के अचम्म ! त्यसदिन चौरमा कतै कुनै चराहरु थिएनन्, परपर छिमेकीको कम्पाउण्डभित्र टम्म देखिन्थ्यो तर आफ्नोमा चाहि रित्तै ! के कारण परेछ ? म वरिपरि भएका झ्याम्म परेका रुखहरु हेर्नथालेँ, अलिअलि भार्रभुर्र उडे पनि राती जस्तो चर्को आवाजले सलबलाएका थिएनन्, आज यता आउन मन लागेनछ यिनलाई, त्यसैले अन्यत्र लागे होलान्, मन मारेर फर्कन लाग्दा पर्खालमाथि बसेको उही कालो बिरालोमाथि आँखा प¥यो, ए ! यसकै कारणले पो चरा भागेका रहेछन् ? हातमा केही भएको भए झटारो हानौ जस्तो रिस उठेको थियो तर चुप्पै लागेर फर्के मनमनै सोच्दै थिएँ, यो कसको बिरालो होला ! पहिले त कहिल्यै देखिन्न थियो तर हिजोदेखि कताबाट आएछ ?
दिउँसोको समय थियो, म आफ्नो काममा लाग्दै थिएँ । मेरी सानी नातिनीले ‘आमा आमा ऊ ऊ’ भन्दै मलाई तान्दै बरँडा बाहिर निस्कने ढोकातिर लगिन्, जालिढोकाको बाहिरपट्टि काठको बरन्डामा उही कालो बिरालो मस्त सुतिरहेको थियो, ढोकामा राम्ररी चुक्कुल हालेर नातिनीलाई तान्दै भित्रतिर लागेँ । मनमा झसक्क लाग्यो, ‘हैन, यो बिरालो अस्तिदेखि यतातिर मडारिराख्या छ, हिजोसम्म त कम्पाउण्डको पर्खाल माथि मात्रै देखिन्थ्यो आज त बरण्डासम्म आइसक्यो ! यसका मालिकले किन छाडा छोडेछन् ?’ बिरालोको डरले त्यसदिन बाहिर निस्कनै मन लागेन ।
बुढेसकालमा छोराछोरीले छोडेर अन्यत्र लागेपछि यी धनी देशका मान्छेहरु एक्लोपना हटाउन कुकुर बिरालो पालेर बसेका हुन्छन् र तिनै कुकुर बिरालासँग रमाएर बसेका हुन्छन् । सुनिन्छ, कसैकसैले त आफ्नो सम्पत्ति नै शेषपछि यिनै कुकुर बिरालाको नाममा राखेका हुन्छन्, मालिकको देहावसानपछि कुकुर बिराला मालामाल धनी हुन्छन् रे ! हाम्रा लागि हाँसोको कुरा भए पनि पुर्ण नागरिक स्वतन्त्रता भएको यो मुलुकका मान्छे आफ्नो रुचि अनुसार कानुनको हदमा रहेर जुनसुकै काम गर्न स्वतन्त्र छन् ।
कुकुर बिराला पाल्नु मेरो रुचिको बिषय हैन । अरुले पालेको देख्दा पनि झर्को लागेर आउँछ ! देख्दै डरलाग्दो भएकोले बिरालोको त झन सँगतै गर्न मन लाग्दैन र गरेकी पनि छैन, तर निक्कै बर्ष अगाडि काठमाडौंमा कुकुर्नी पाल्दाको नमिठो अनुभव अहिलेसम्म ताजै छ । अझै पनि कसैको घरमा कुकुर देख्दा बिर्सिसकेको याद ताजा भएर आउँछ । मनमनै सोच्न मन लाग्छ, किन पाल्दा हुन् यस्तो कुकुर ?
साच्चै ! सिड्नी बसाइमा केही दिन अगाडि मात्रै मेरी छोरीले मलाई उनको साथीको आग्रहमा उनकै घरमा लगेकी थिइन् । साथीको घरमा भएको सानो कुकुर र उनका दम्पतिको कुकुरप्रति स्नेह अनि काखैमा राखेर एकै थालमा खाना खाएको देख्दा मेरो पेट उमठ्ठेर आयो । बिर्सिसकेको पुरानो यादलाई त्यो दृश्यले ताजा बनाइ दिएको थियो । उनीहरुको घरमा त्यस दिन मेरो घाँटीबाट केही छिरेन, पेट दुखेको बहाना बनाएर भोक्कै घर फर्केकी थिएँ । बिर्सिसकेको त्यो पुरानो यादबाट मुक्त हुन मलाई अरु तिन चार दिन लागेको थियो ।
सिड्नीमा बसुन्जेल चरा हेरेर रमाएको मेरो मन यो ढाडेले हिजोदेखि चरा आउन नदिएर खटक्क बनायो । मेरी सानी नातिनी बाहिर बरण्डामा खेल्न खोज्छिन् । कसरी यो बिरालोको अगाडि लैजानु ? झम्टेर चिथ¥यो भने ? डरले त्यो दिन नातिनी लिएर ढोका बाहिर जानै सकिन ।
अर्को दिन पनि बिहानैदेखि चरा गायब भए । मलाई मनमा लागिहाल्यो, त्यै बिरालोले भगायो । तर यताउता हेदा कतै देखिएन । भर्खरै कतै गयो होला यस्तै सोचेर म आफ्नो नित्य कर्ममा लागेँ । घाम लाग्यो । म नातिनी लिएर बरण्डामा निस्किएँ । छोरीको घरको बरण्डा काठले बनेको फराकिलो लामो र वरिपरि कुर्सी मेच राखिएको थियो । खालि समयमा र बिदाको दिन सबैजना बाहिर बसेर रमाइलो गर्ने गरिन्थ्यो । कोही नभए पनि बरण्डामा बसेर बाहिरी दृश्य हेर्न निक्कै आनन्द हुने भएकोले धेरैजसो मेरो समय यसै बरण्डामा कट्थ्यो । केहीबेर नातिनी र म बल खेल्दै थियौँ, बरण्डाको पल्लो छेउमा बल पुग्यो, नातिनी डौडिदै गएर बल समात्न पुगिन् । बल समात्नुभन्दा पैल्यै उनी दँग पर्दै मलाई बोलाउन थालिन् । ‘आमा ! ऊ ऊ’ भन्दै हाँस्दै मेचमुनि देखाउन थालिन् । के रहेछ भन्दै निहुरेर हेरेको त मेचमुनी कुनामा डल्लो परेर सुतिरहेको उही कालो बिरालो हरिया आँखा पल्टाएर टुल्ल हेरिरहेको रहेछ ।
मेरो सातो गयो । नातिनीलाई तान्दै भित्र ल्याएँ । उनी भने त्यै बिरालोसँग खेल्न खोज्दै थिइन् । भित्र आएपछि पनि बाहिरै जान खोज्दै रुन थालिन् । मैले ढोका नखोलेपछि सँघारमै थचक्क बसेर बिरालोलाई ‘आ आ’ गर्दै बोलाउन थालिन् । साच्चैँ बुझे झै बिरालो पनि नजिकै आएर म्याउ म्याउ गर्न थाल्यो । बिरालोको बोली सुनेर उनी खित्का छोडेर हाँस्न थालिन् । नातिनी र बिरालोको चर्तिकला म जिल्ल परेर हेर्न थालेँ । १८ महिनाकी अबोध बालिका उनलाई जे मन प¥यो त्यही गर्न खोज्छिन्, मैले हुन्न भन्दैमा मान्ने हो र ? उनको बालहठमा कसको जोर चल्छ र ? कसै गरे पनि नातिनी बिरालो छोडेर उठ्न मानिनन् ।
नातिनीको खाना खाने बेला भयो तर उनी ढोकाको सँघारबाट उठ्नै मान्दिनन् ! उनको बालहठलाई जित्न नसकेपछि मैले उनको खाना त्यही भुइँमै बसेर खुवाउन थालेँ । बिरालो एक टँकारले नातिनीलाई खाना खुवाएको हेर्न थाल्यो । लाग्यो, यो बिहानदेखि यतै छ, के खायो होला र ! यसलाई पनि त भोक लाग्यो होला ! उसको टिठलाग्दो अनुहार देखेर दया लाग्यो । यसलाई पनि केही खान दिन पर्ने ! तर कसरी दिनु ? ढोका खोले बिरालो भित्र पस्ला या त नातिनी बाहिर जाली ! दुबै अवस्था मलाई सैह्य थिएन । अब के गरुँ, हेर्दाहेदै नातिनीले खाना खाएर सकिन् । तर बिरालो भने एकटक हेरिरहेकै थियो । उनलाई मुख धुने बाहानामा बल्ल तल्ल उठाएँ र फ्रिजमा भएको पाउरोटीको टुक्रा ढोकाको कापबाट बाहिर मिल्काइ दिएँ । बिरालो दौडिदै गएर पाउरोटीको टुक्रा मुखले च्यापेर अन्ततिर लाग्यो । मैले सन्तोषको श्वास फेरेँ ।
त्यस दिन दिनभरी अझ राती पनि बिरालोको ध्यान मनबाट हटेन । त्यसका डरलाग्दा हरिया आँखा घरिघरी अगाडि आइरह्यो । मन बेचैन भयो, यो कताबाट आएर यता पल्क्यो होला ! सधै पो आउन थाल्यो । यसलाई भगाउने कसरी होला ? अब नातिनी लिएर बरण्डामा कसरी निस्कनु लौ ! सोच्दा सोच्दै निदाएछु । बिहान उनै चराको चिर्बिरे गानाले बिउँझायो । राती राम्रोसँग निन्द्रा नपरेकोले होला जुरुक्क उठ्न अलि असजिलो भएजस्तै भयो तै पनि उठेर बरण्डातिर लागेँ ।
चराहरु राम्रैसँग चरिरहेका थिए । मैले ढुक्क हुँदै लामो स्वास फेरेँ । बल्ल बिरालो अन्यत्र लागेछ ! घाम लाग्यो । नातिनी र म बरण्डामा निस्कियौं । उनको प्रिय बल खेल्दाखेल्दै उछिट्टेर बरण्डाबाट अल्लि तल चौरमा पुग्यो । म दौडिदै चौरमा पुगेर बल लिएर फर्कदै थिएँ । खस्य्राकखुस्रुक आवाज आयो । यसो कान थापेँ, आवाज बरण्डा मुनिबाट आएको रहेछ । जमिनभन्दा करिव दुइफुट जति अग्लो काठको बरण्डाको मुनि खालि खालि थियो । फुलबारीको लागि चाहिने कुटो कोदालो आदि सामान त्यही खालि ठाउँमा राख्नुको अलावा अरु केही भएजस्तो लाग्दैन । के रहेछ ! मुसा पो हो कि ? मेरा आँखा त्यतैतिर लागे, निउरिएर हेर्न थालेँ, के देख्नु र ! अँध्यारो मात्रै थियो । फर्किन खोज्दै थिएँ । पर केहि टल्किए झै लाग्यो । के रहेछ ? आँखा गाडेर हेर्न थालेँ । अँध्यारोमा अस्पष्ट छायाँ जस्तै देखियो । मात्र दुईवटा हरिया आँखा । ट्वाल्ल परेर डरलाग्दो किसिमले हेरिरहेको उही कालो बिरालो रहेछ । मेरो सातो गयो, दौडिदै बरण्डामा आएर नातिनी लिँदै भित्र पसेर ढोकामा चुक्कुल लगाएँ ।

अब भने मलाई बाहिर निस्कन पनि डर लाग्न थाल्यो । कतै बिरालोले नातिनीलाई चिथ¥यो भने ? मलाई मनै नपर्ने बिरालो, उसमाथि कालो ! बाल्यकालमा मैले सुनेको थिएँ, कालो बिरालोले नाघ्यो भने बच्चाको सातो जान्छ अनि कहिल्यै सन्चो हुँदैन । यस्तैयस्तै अरु पनि के के नराम्रा कुरा सुनेकी थिएँ । त्यसैले होला, आजसम्म पनि कालो बिरालो देख्नै मन लाग्दैन । झन् घरैमा आएर बस्न पो थाल्यो । कसरी भगाउने होला ? सोच्दासोच्दै दिमाग घुम्न थाल्यो ।
साँझतिर म भान्छामा थिएँ । उही कालो बिरालो जालिढोकामा आएर म्याउ म्याउ गर्न थाल्यो । पक्का यसलाई भोक लाग्यो होला ! डाम्ना ! दिनभर कतै नगएर सुतिरह्यो । अहिले भोक लागेर खान माग्दो रहेछ । निन्याउरो अनुहार देखेर दया लाग्यो । यताउता हेरेँ । नातिनी कोठामा खेल्दै थिइन् । हत्तपत्त पाउरोटीको टुक्रा ढोकाबाट फुत्त फाल्दिएँ । च्याप्प मुखले समातेर उही कुनाभित्र पस्यो । असमन्जस्य स्थितिमा म हेरिरहेँ, अब यसलाई के गरी भगाउँ लौ !
साँझ छोरीज्वार्इं जम्मा भए । बिरालोको बारेमा त भन्नै पर्यो । तीन–चार दिन भइसक्यो । कति नभन्नु, बलै गरेर कुरा निकालेँ, ‘चार दिन जति भयो । एउटा कालो बिरालो हाम्रो घरमा आउन थाल्या छ । खै ! कतै जादैन । अब त बरन्डामुनि बस्न थालेछ । खै ! के गर्ने होला ?’
सुन्ने बित्तिकै ज्वाईंसाहबले भन्नुभयो, ‘ओहो ! ममी ! त्यो अर्काको बिरालो यता नपल्काइस्यो है, कसैले देखे भने नराम्रो हुन्छ !’
छोरीले भन्दै थिइन्, ‘ममले पक्का पनि केही खान दिएर पल्काको हुनुपर्छ, हजुरलाई खुब माया लाग्छ नि ! अस्तिन चरा पल्काइस्याथ्यो । अब बिरालो पल्काउन थालिसेछ ।’
छोरीज्वाईंका कुराले मलाई खुब हाँसो उठ्यो । बिरालोकोे र मेरो दुश्मनी यिनलाई के थाहा र ! म आफै पनि बिरालो भगाउने पक्षमा छु, तर कुरा लम्ब्याउन मन लागेन । म चुप्पो लागेँ ।
बिर्सिसकेको पुरानो कुरा छोरीले सम्झाइन् । सिड्नी पस्नेबित्तिकैको कुरा हो, बिदाको दिन भएकोले बाहिर बरँडामा बसेर दिउँसोको खाना खादै थियौँ, सुगाजस्तै देखिने तर सुगाभन्दा केही ठूलो टाउकोमा कल्कि भएको सेतो रँगको एक किसिमको चरा (त्यसको नाम ककडु रहेछ) नजिकै आएर बस्यो । म दँग परेँ र नजिकै आएको चरालाई आफुले खान लागेको रोटिको टुक्रा दिएँ । हातले समाए झै उसको गोडाले च्याप्प समाएर भुर्र उडेर गयो । यो देखेर म अचम्म मान्दै हेर्दै थिएँ । तर सबैले राम्रो मानेनन् । ‘यसरी खान दिन हुन्न है मम्’, छोरी भन्दै थिइन् । ज्वार्इंसाहबले कुरा थपिहाल्नुभयो, ‘यता त चरालाई घरको खानेकुरा खान दिए कानुन लाग्छ है ममी ।’
चरालाई खुवाउँदैमा कही कानुन लाग्छ र ? मलाई ज्वाईंसाहबको कुरा चित्त बुझेन, तै पनि केही नबोलि बसेँ । नभन्दै अर्को दिन पनि उही समयमा त्यो चरो भुरुर्र उडेर आयो र बरण्डाको बारमा टक्क बस्यो । म दँग पर्दै हेर्न थालेँ । चरोले एकोहोरो मलाई हेरिरह्यो । सायद हिजोजस्तै खानेकुरा मागेको होला, मेरो छैटौ इन्द्रियले काम गरेछ क्यारे । उसको भाषा बुझेझैँ दौडिदै भित्रबाट पाउरोटीको टुक्रो बोकेर बाहिर निस्किएँ । उसको नजिकै गएर हात लम्काएको थिएँ । मेरै हातबाट उसको हात जस्तै गोडाले च्याप्प समायो र भुरुर्र उँडेर रुखको डालिमाथि बसेर खान थाल्यो । खुसी हुँदै बेलुकी छोरीलाई चराको बेलिबिस्तार लगाएँ । तर उनले डराएझै गर्दै भनिन्, ‘मम् ! अबदेखि नदिस्यो है, त्यो चराले एकपिस ब्रेड खाएर सक्किने हैन, तर हामीले खान दिएको कसैले देखेर काउन्सिललाई खवर ग¥यो भने जरिवाना हुन्छ, क्यै गरी चरा म¥यो भने ह्युम्यान साइटस्को कानुन लाग्छ अनि जे पनि हुन सक्छ ।’
ओहो ! यो देशको कानुन मलाई के थाहा र ? म जुन देशमा जन्मिएँ, त्यो देशमा बिहान सबेरै चरालाई एकमुिठ्ठ अन्न चारो दिने चलन थियो र गरेकै पनि हो । परदेशको कुरा जान्न आवश्यक त हैन तर अन्जानमै मबाट ठूलो गल्ती भएको महसुश भयो ।
पुरानो कुरा सम्झिँदा मलाई झन डर लागेर आयो । कतै यो बिरालोले पनि कुनै काण्ड मच्चाउने त हैन ? रातभरी मन पिरोल्लिरह्यो । भोलि त जसरी पनि त्यसलाई भगाउनै पर्छ । के बेकारको झण्झट आईलाग्या होला ब्यर्थैमा, न राम्रो होस्, न मन परोस् ! कैल्यै सँगत गर्न मन नलाग्या चीज कसरी आइलाग्या होला ? फेरि लिसो झै टाँस्सिन खोज्छ । लौरो घुसारेर भए पनि निकालेरै छोड्छू । जसको घरको हो, उसैकोमा जान्छ । अगाडि आएर म्याउ म्याउ गर्दै खान माग्यो भने लौराले हान्नु पर्ला । यस्तैयस्तै तर्कनामा आधिरात बितेछ ।
बिहान सधैँको समयमा निन्द्रा खुलिहाल्यो । सधै झै बरण्डामा निस्किएँ । चराहरु पातल्लिएका थिए । मलाई लागिहाल्यो, त्यो बिरालो यतै कतै छ । देखेँ भने झट्टी हान्ने सुरले भित्रबाट कुच्चो बोकेर ल्याएँ । चारैतिर हेर्दा पनि कतै देखिएन ! कता लुकेछ डाम्ना ! यै बरण्डाको मुनि त होला, आज चै बिहानै यसलाई भगाउँछु । म निडर हुँदै पुरानो पर्दाको लामो डण्डी हातमा लिएर बरण्डा मुन्तिर लागेँ । नजिकै पुग्ने बित्तिकै कताकता कल्याङ कुलुङ आवाज आयो । मसिनो तर धेरै, आवाज त मुनिबटै आए जस्तो लाग्यो । नियालेर भित्रतिर हेर्दा त साना साना थुप्रै बच्चाको बीचमा बिरालो बसिरहेको रहेछ । ओहो ! यसले त बच्चा पो पाएछ । यो सुत्केरी बिरालीलाई यसका साना न्याउरासहित कसरी निकाल्नु लौ ! मन मानेन । फरक्क फर्किएँ ।
भित्र पसेर सोफामाथि थचक्क बसेर सोच्न थालेँ, यो त बच्चा जन्माउने आश्रयको खोजीमा निस्केकी बिराली पो रहिछे । यस्तो सुत्केरी बिराली यी सानासाना यसका न्याउरा कसरी निकाल्नु ? मान्छे सुत्केरी हुँदा कत्रो स्याहारसुसार हुन्छ तर यो बिरालीलाई कसले वास्ता गर्छ र ? यत्तिका न्याउराकी आमा ! यसलाई कत्ति भोक लाग्या होला ? मेरो मन कटक्क भयो, केही त खान दिनै प¥यो, जुरुक्क उठेर फ्रिज खोलेँ, उसले खान लाएकको चिज त्यै पाउरोटी चार टुक्रा जतिमा मख्खन दलेँ, लगेर त्यै प्वालबाट छिराइ दिएँ । खानेकुरा देख्ने बित्तकै म्याउ म्याउ गर्दै जुरुक्क उठेर लम्किदै आएर च्याप्प पाउरोटी समातेर खान थाल्यो । म हेरिरहेँ । तिन टुक्रा एकैछिनमा खाएर भ्यायो । अर्को टुक्रा परै पु¥याएर राख्यो, सायद पछि खान राख्या होला । मेरो मुखबाट अनायास निस्कियो, ‘कठै ! कति भोग लागेछ ।’ एकछिन हेरेर म फर्किएँ ।
मेरो ध्यान घरिघरि त्यै बिरालीमाथि चलिरह्यो । त्यो चिसो भुँइमा ति सानासाना न्याउरा कसरी बसेका होलान् ? भोकै बसेकी त्यो बिरालीको कति दुध आउँदो हो ? बिचरा ति न्याउरा भोकले मर्ने त हैन ? मेरो दिमागमा अनेकौ अनुत्तरित प्रश्न दौडिन थाल्यो । फेरि बिरालोले बच्चा जन्माएर बसेको छ भनेको सुन्दा छोरीज्र्वांले के भन्ने हुन् ? कतै आधिरातमै निकालेर बाहिर पठाए भने ? बिचरा बिराली अनि त्यसका सन्तानको कति बिजोग होला ? भो यसरी यस्तो अवस्थामा घरबाट निकाल्नु हुन्न है, ठूलो पाप लाग्छ । बरु यिनलाई नभनी बस्नु पर्ला, दुईचार दिनमा त गइहाल्छ होला। कसलाई के थाहा हुन्छ र ? मन दरो बनाउँदै मैले अठोट गरेँ, अब कसैलाई भन्दिनँ ! पाँच–छ दिन यसैगरी बित्यो । प्वालबाट मैले छिराएको खाना खादै भित्र आफ्नो न्याउरासँग गुडुल्केर बसेकी बिरालीलाई कसैले देखेन ।
बिदाको दिन थियो, सबैजना खाना खाँदै थियौं, नातिनी बरण्डामा खेल्दै थिइन् । एकैछिनमा उनी दँग पर्दै खित्का छोडेर हाँस्न थालिन् । उनको हाँसोले सबैलाई तान्यो । मलाई शंका लाग्यो, कतै बिरालो त आएन ? उनी हाँस्दै ‘मम् मम्’ भन्दै भित्र पसिन् । फर्केर हेर्दा त उनको हातमा बिरालोको सानो बच्चो रहेछ । ज्वाईंसापको मुखबाट डर र आश्चर्य मिस्रित आवाज निस्कियो, ‘ओहो ! ममी ! काँबाट यसले बिरालोको बच्चा समातेर ल्याई छे ?’
छोरी दौडिँदै आएर नातिनीको हातबाट बिरालोको बच्चा तान्न थालिन् । नातिनी छोड्दै नछोडेर रुन थालिन् ।
उत्निखेरै तमासा मच्चियो, दुवैजना बाहिर बरण्डातिर निस्किए । सबैतिर खोजखाज गरेपछि बिरालो बसेको ठाउँ पनि पत्तो लाग्यो । म चुप्पो लागेर तमासा हेर्दै थिएँ, ज्वाईसाहबले हट्याङ हुटुङ गरेर एकैछिनमा सबै न्याउरासहित बिरालो बाहिर निकाल्नुभयो । म परै बसेर हेर्दै थिएँ । मतिर मुखारित हुँदै भन्नुभयो, ‘हेरिस्यो त ममी ! छ वटा बच्चा रहेछ, कति दिन भयो होला यता बसेको ! हजुरलाई पनि थाहै भएन छ ।’
छोरी उता गनगनाउँदै थिइन्, ‘कसो चिथोरेन !’
नातिनी बच्चो बोक्न नपाएर कोलाहल गर्दै थिइन् । म मुर्ति जस्तै सबैथोक हेर्दै थिएँ, मानौ यो सबै चिज पहिलो पटक देख्दैछु ! एकैछिनमा ज्वाईंसाहब भित्र पस्नुभयो, कता कता हो फोन घुमाउन थाल्नुभयो । हामी सबै बाहिरै थियौं । बाहिर निस्केर भन्न थाल्नुभयो, ‘एकहप्ता जति अगाडि हाम्रो नगिचै बस्ने बुडो मरेछ, ऊसँग एउटा कालो बिरालो थियो रे । सायद यही होला, मैले काउन्सिलाई पनि बोलाको छु । एकघण्टा जतिमा आउँछु भन्या छ ।’
बल्लतल्ल आँखा खुलेका सल्याङबल्याङ गरिरहेका बिरालाका न्याउरा उनकी आमाले खोकिलामा घुसारेझैँ टाङमुनि घुसारेकी थिई । बच्चाहरु आमाको दुध चुस्दै थिए । हरे ! त्यो खिङरिङ्ङ परेकी बिरालालीको के दुध आउला र यिनको पेट भरिएला ? बिरालीको अनुहार देख्दा सारै माया लागेर आयो । सुरुमा त उसको पेटमा बच्चा भएर होला निक्कै मोटी देखिएकी थिई । सुत्केरी भएर चार-पाँच दिनसम्म भित्र बस्दा त्यो मैले मिल्काएको पाउरोटीको अलावा यसले के खाई होला र ? उसमाथि यत्तिका बच्चाले चुसेको चुस्यै गर्दा हाडछाला मात्र बाँकी थियो ।
बाहिर निक्कै खल्याङबल्याङ सुनियो । ज्वाईंसाहब लम्किँदै बाहिर निस्किनुभयो । एकैछिनमा चार–पाँचजना सँगसगै आए । बिरालो हेर्न आएका रहेछन् । सबैजनाले बिरालाको निरिक्षण गरे । उनीहरुले त्यो बिरालाको एउटा फाइल नै बोकेर ल्याएका रहेछन् । यताउता पल्टाएर हेरे । उनले भने बमोजिम त्यो हराएकै बिरालो भएको पुष्टि भयो । एउटा राम्रो खाले बाकस पनि ल्याएका रहेछन् । एक-एक गरी उठाएर बाकसमा हालेर टम्म पारे अनि थ्याङक्यु भन्दै बोकेर गए । ज्वाईंछोरीले ‘बल्ल आनन्द भो’ भन्दै लामो श्वास लिए । नातिनी कोलाहल गरेर रुँदै थिइन् । म भने बिरालो बोकेको गाडी पर नपुन्जेल हेरिरहेँ !
(दीक्षितकृत ‘परदेशी मित्र’बाट)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)