काला जातिका गार्ड थिएनन्, गोरा जातिका बन्दी थिएनन्

ती विकराल वर्षहरू

नेल्सन मण्डेला
अनुवादः पूर्णभद्र अडिगा

हरेक बन्दीको लागि, विशेषगरी राजनीतिक बन्दीको हकमा, जेलजीवनभरि कसरी विक्षिप्त नभइ बाँच्ने, जेलबाट छुट्दासम्म कसरी आफ्नो वर्चस्व कायम राख्नेह र आफ्नो विचारको रक्षा मात्र होइन, कसरी अझ सुदृढ बनाउने कुरा अति नै चुनौतीपूर्ण हुन्छ । त्यस चुनौतीको सामना गर्नको लागि पहिलो कुरो त जीवन्तता कायम राख्नी के कसो गर्नुपर्छ भनेर जान्नु नै हो । त्यसको लागि दुश्मनको मूल उद्देश्य के हो भन्ने राम्ररी बुझेर मात्र त्यसलाई बिफल बनाइदिन आफ्नो रणनीति निर्धारण गर्नु पर्छ । आस्थाका बन्दी भएका मानिसको आत्मबल गिराएर उसको निष्ठालाई नष्ट पार्न नै जेलको संरचना र संचालन गरिएको हुन्छ । यसो गर्न जेल प्रशासकहरू आस्थाका बन्दीको हरेक कमीकमजोरी खोतल्न, उसका हरेक अग्रगामी प्रयास नष्ट गर्न, उसका विशिष्टताका सबै लक्षणहरूलाई निषेध गर्न लागिपरेका हुन्छन् । यी सब प्रयासहरूको उद्देश्य हो– हामी हरेकमा हुने मानवीयताको ज्योति र हाम्रो आफ्नै विशिष्ट पहिचानलाई सखाप पार्ने ।

सम्बन्धित अधिकारीहरू हामीलाई कुन प्रकारले तह लाउन खोजिरहेका छन् भन्ने बुझ्न र त्यो बुझाइ आस्थाका आफ्ना सहबन्दीहरूसँग बाँड्नु नै हामी बाँच्न सक्ने वा नसक्ने कुराको आधार थियो । एक्लाएक्लैले विरोध जनाउनु असम्भव नभए पनि अत्यन्तै कठिन काम थियो । म एक्लैको प्रयासबाट कुनै उपलब्धि हासिल हुनसक्थ्यो भन्ने मलाई लाग्दैन । अधिकारीहरूले हामीलाई सामूहिक रूपमा राख्नुक तिनीहरुको महाभूल थियो, किनभने सँगसँगै हुँदा हाम्रो दृढता एकढिक्का भएको थियो । हामी एकअर्काका सहयोगी भयौँ र एकअर्काबाट आत्मबल बढायौँ । हाम्रो जानकारीमा आएका ससाना कुरा, हाम्रो बुझाइ आदि हामी एकआपसमा बाँड्थ्यौँ र यसले गर्दा हामी प्रत्येकमा भएको साहस चुलिन्थ्यो । यसको अर्थ हामी हरेकले भोग्नु परेको दुखकष्टको सबैजना एकै प्रकारले सामना गर्थ्यौं भन्ने होइन । हरेक मान्छेमा आ-आफ्नै स्तरको अन्तर्शक्ति हुन्छ र तनाव झेल्ने तरिका आआफ्नै हुन्छ । तर हामीमध्ये मनका बलियाहरूले कसैमा कमजोरी देखिने बित्तिकै हौस्याउँथे र दुवैको मनोबल बढ्ने गर्दथ्यो । आखिर, आफ्नो जेलजीवन व्यवस्थित पार्ने त हामीले नै हो नि । जेलभित्रको शान्तिसुरक्षा हामीले नै कायम गरेका थियौँ, (गार्डहरूले होइन) यो कुरा जेल अधिकारीहरूले समेत मान्न कर लागेको थियो ।

जेल र त्यसका अधिकारीहरू हरेक बन्दीको आत्मसम्मान लुट्न अनेक षडयन्त्र गरिरहन्छन् । त्यसैले होला, यसले मलाई जीवन्त राख्नसकेको थियो किनकि कुनै हालतमा मैले आफ्नो आत्मसम्मान कुनै व्यक्ति वा संस्थासमक्ष समर्पण गर्ने छैन र अन्त्यमा यस्ता कुप्रयास गर्ने आफै हार खानेछ । म जेलजीवनबाट कहिल्यै मुक्त हुन सक्दिन भन्ने सोचबाट म कुनै बेला पनि ग्रस्त भइन । आजीवन कारावासको सजाय भनेको जीवनको नै अन्त्य होइन भन्ने बुझाइले गर्दा म झ्यालखानाभित्रै मर्छु होला भन्ने कहिल्यै लागेन । हुनसक्छ, त्यस्तो सोचाइ आफैमा त्रासपूर्ण हुन्छ भनेरै मैले त्यो सोच त्यागेको हुँ । जे होस्, कुनै दिन स्वतन्त्र भएर घाम ताप्दै बगैँचाको घाँसमा खाली खुट्टा धित् पुगुञ्जेल डुल्न पाउँछु भन्ने अन्तरबोध थियो ममा ।

म तात्विकरूपमा एक आशावादी व्यक्ति हुँ । त्यो गुण ममा प्रकृतिको देनको रूपमा आयो वा संस्कारबाट आयो, म यसै भन्न सक्दिन । आशावादी हुनुको एउटा अर्थ सँधै उज्यालोतिर फर्केर अग्रगामी पाइला बढाइराख्नुु नै हो । जीवनमा यस्ता धेरै विकराल क्षणहरू आए, जब मानवीयतामा मेरो अटल विश्वास ठूलो संकटमा पर्यो तर मैले आफूलाई निराशाको यात्रामा धकेलिन दिनु हुन्नथ्यो, दिइन पनि । त्यसो हुनु त हार खाएर मृत्युवरण गर्नु हुनजाने थियो ।

रोबेन आइल्यान्डमा (टापू) हामी थुनिएको पहिलो वर्षका जून र जुलाई महिना त अत्यन्त कष्टकर थिए । हावाले शिशिरयामको चीसो बोकेको थियो र पानी पर्न थालेको थियो । तापक्रम चालिस डिग्री फाहरेनहाइटभन्दा माथि कहिल्यै नचढ्ला जस्तो थियो । घाममा बस्दा समेत म मेरो पातला खाकी कमिजमा जिउ नतातेर काम्थेँ । मुटु कमाउने जाडो भन्ने तुक्काको मर्म मैले त्यसबखत पहिलोपल्ट चाल पाएँ । मध्यान्हतिर हामीलाई ‘भोजन’ गराइन्थ्यो । पहिलो हप्ता हामीलाई फगत सुप दिइयो, त्यो पनि गन्हाउने । दिउँसो हामीलाई व्यायाम गर्ने अनुमति दिइन्थ्यो, कडा निगरानीमा । हामी एक लहरमा फटाफट चोक वरिपरि हिँड्थ्यौं ।

ढुङ्गा फोर्नुपर्ने हाम्रा सुरूका दिनहरूमा चोकमा एउटा बडेमान्‌को भकारी राखियो र त्यसलाई हप्तादिनमा आधा भर्नुपर्ने आदेश दिइयो । हामीले परिश्रम गरेर काम फत्ते पायौँ । अर्को हप्ता गार्डले भकारी तीन चौथाई गिट्टीले भर्नु पर्ने आदेश दियो । हामीले कडा परिश्रम गरेर त्यो पनि गरेर देखायौँ । त्यसपछिको हप्ता भकारी टन्नै भर्नुपर्ने भन्यो । हामीलाई लाग्यो यो तालले त चोकमै मरिन्छ, तर केही बोलेनौँ । हामीले टन्नै भरेर पनि देखाइछाड्यौँ, तर गार्डहरूले हामीलाई भड्काइसकेका थिए । तिनीहरूले चाल नपाउनेगरी खासखुसमा हामीले एउटा नीति लियौँः यतिउति तोक्न पाइन्न । त्यसपछिको हप्तामा हामीले त्यस टापूको पहिलो ‘सुस्तगति हडताल’ सुरू गर्यौँः हामीले श्रम त गर्ने तर पहिलेको भन्दा आधा गतिमा गरेर अन्यायी र अत्याचारी आदेशप्रति विरोध जनाउने । गार्डहरूले हाम्रो चालामाला थाहा पाईहाले र हामीलाई धम्क्याए पनि, तर हामीले हाम्रो गति बढाएनौँ र त्यसरी नै सुस्त गतिमा चोकमा श्रम गर्नुपर्ने दिनहरू बितायौँ ।

Ad

सन १९६२ मा करिब दुई हप्ता बस्नुपर्दाको बखतदेखि यता रोबेन आइल्यान्ड निकै बदलिएको थियो । त्यतिबेला बन्दीहरू थोरै थिए, त्यो ठाउँ स्थायी जेलभन्दा पनि एउटा प्रयोगशाला जस्तो मात्र थियो । दुई वर्षमै रोबेन आइल्यान्डलाई दक्षिण अफ्रिकाको दण्ड प्रणालीको क्रूर र कठोरतम एकलास कारागार बनाइको थियो । यहाँको कठोरता बन्दीहरूको लागि मात्र नभएर जेल कर्मचारीहरूको लागि पनि थियो । लुकाएर चुरोट र सान्त्वना बाँड्ने अश्वेत गार्डहरू अब रहेनन् । सबै गार्डहरू गोरा जातिका अफ्रिकान भाषा बोल्ने र मालिक, नोकरको सम्बन्ध खोज्ने नै थिए । उनीहरू आफूहरूलाई बास (अफ्रिकान भाषामा मालिक) भनेर सम्बोधन गर् भन्थे, जुन हामीले कहिल्यै गरेनौँ । रोबेन आइल्यान्डमा जातीय विभेद प्रष्ट र निश्चित थियो, काला जातिका गार्ड थिएनन्, गोरा जातिका बन्दी थिएनन् ।

एउटा कारागारबाट अर्को कारागारमा सर्नुपर्दा जसलाई पनि नयाँ ठाउँमा अभ्यस्त हुन केही समय लाग्छ नै । तर रोबेन आइल्यान्डको यात्रा गर्दा अर्कै मुलुकमा पुगे जस्तो हुन्छ । यसको एकलासपनले गर्दा यो ठाउँ अर्को एउटा जेल त हो नि भन्ने मात्र नभएर हाम्रो आफ्नो मुलुकभन्दा बेग्लै अर्कै दुनिया हो जस्तो लाग्छ । हामीले प्रिटोरिआ छोड्दा हामीमा जुन उच्च उल्लास थियो त्यसलाई यहाँको कठोर वातावरणले अँठ्याइ दियो । हाम्रो जिन्दगी अब दुखकष्टबाट उन्मुक्त हुन सक्दैन भन्ने सोचसँग निरन्तर भिड्नु पर्ने भयो । प्रिटोरिआको जेलमा हुँदा हामी हाम्रा अनुयायीहरू र परिवारजनसँग जोडिइरहेका छौँ जस्तो लाग्थ्यो । यो टापूमा चाँहि हामी अलग्गिएका छौँ भन्ने लाग्थ्यो र थियौँ पनि । हामी बन्दी साथीहरू सँगसँगै त छौँ भन्ने सान्त्वना हुन्थ्यो तर त्यो आखिर सान्त्वना मात्र त हो । मेरो निराशालाई चाँडै नै ‘ल, अब एउटा नयाँ नौलो संघर्ष शुरू भो’ भन्ने सोचले हटायो ।

पहिलो दिनदेखि नै मलाई कट्टु (हाफपाइन्ट) मात्र लगाउन बाध्य पारिएकोमा मैले विरोध जनाएको थिएँ । जेलको हाकिमलाई भेट्न पाउन मैले माग राखेको थिएँ र गुनासोका फेहरिस्तै बनाएको थिएँ । गार्डहरूले मेरो मागको बेवास्ता गरे, तर दोस्रो हप्ताको पुछारमा, मैले मेरो कोठरीको भूईँमा एउटा पुरानो खाकी पाइन्ट फालिएको पाएँ । त्यो भेट्टाउँदा इस्टकोट सहितको महँगो सूट पाएभन्दा बढी खुशी लागेको थियो । त्यो लगाउनुअघि मैले मेरा अरू बन्दीसाथीहरूले पनि पाए वा पाएनन् भनेर बुझेँ ।

पाएका रहेन छन्, अनि मैले गार्डलाई त्यो पाइन्ट फिर्ता लान भनेँ । सबै काला बन्दीहरूले सिङ्गो पाइन्ट पाउनु पर्छ भनेर मैले जिकिर राखेँ । गार्डले झर्किएर भन्यो, ‘मन्डेला, तिमी लामो पाइन्ट चाहियो भन्ने अनि दिँदा चाहिन्न भन्ने ?’ गार्डले काला जातिले लाएको पाइन्ट टिप्न हिच्‌किचायो अनि त कमान्डिंग गार्ड नै मेरो कोठरीमा आयो । भन्यो, ‘ठीक छ मन्डेला, तिमीले अरू सरह नै कपडा पाउने छौ ।’

‘मलाई चाँहि लामो पाइन्ट दिने, अरूले चाँहि किन नपाउने ?’, मैले सोधेँ । ऊ चुँक्क नबोली गयो।

हामीले ढुङ्गाखानीमा काम शुरू गरेको केही समयपछि, सेक्सन बीमा अरू अगुवा राजनीतिक बन्दीहरू थपिए । यी साथी बन्दीहरुको थप शक्तिलाई निस्तेज पार्न अधिकारीहरूले हाम्रो सेक्सनमा केही फौजदारी अभियोगका कैदीहरू थपे । ती कैदीहरू हत्या, बलात्कार, डकैती आदिका जघन्य अपराधी थिए। टापूका बिग फाइभ वा ट्वेन्टि एट भनिने कुख्यात अपराध मण्डलीका सदस्य तिनीहरू अरू बन्दीहरूलाई त्रसित पार्ने गर्दथे । गिरोह सदस्यहरुको अनुहारमा अक्सर देखिने छुरी प्रहारका खत बोकेका तिनीहरू सँधै निहुँ खोजिरहने हुन्थे, यसको साथसाथै तिनीहरू हट्टाकट्टा त थिए नै । हाकाहाकी भड्काएर भाँडभैलो मचाउने भूमिका पाएका तिनीहरू हामीलाई उक्साउने, हाम्रो खाना खोस्ने र हामीबीच केही राजनीतिक कुरा हुननदिने गर्दथे ।

यी गिरोह सदस्यहरू ढुङ्गाखानीमा चाँहि आफ्नै समूहमा काम गर्दथे । एक दिन तिनीहरूले रोपाहारले जस्तै गाउन थाले । खासमा यो एउटा प्रचलित रोपाईँ गीत नै थियो, खालि उनीहरूको आफ्नै शब्दमा ‘बेनिफुनानी एरिभोनिआ’, जसको अर्थ हो, ‘रिभोनिआमा तिमीले के खोजेको हो ?’ अर्को हरफको सार थियो, ‘के तिमीले सरकार चलाउँछु भन्ने ठानेको हो ?’ व्यङ्ग्यात्मक किसिमले उनीहरू मच्चिमच्चि गाउँथे । हामीलाई भड्काउने हेतुले गार्डहरूको निर्देशनमा तिनीहरूले गाएको निश्चितै थियो ।

हामीमध्येका केही जाइलाग्ने खालकाले तिनीहरूसँग भिडन्तमै जाने सोच राखेका भएता पनि, हामीले सल्लाह गरेर उही प्रकारले जवाफ फर्काउने रणनीति बनायौँ । गायकीमा हाम्राहरू बढी उत्कृष्ट भएकाले, हामीहरू एकछिन झुम्मिएर योजना बनाइहाल्यौँ । अनि हामी सब ‘स्टिमेला’ गाउन थाल्यौँ– दक्षिणी रोडेशियाबाट हानिँदै झर्ने रेलको तारिफमा एक जोशिलो गीत । स्टिमेला कुनै राजनीतिक गीत त हैन, तर त्यहाँको सन्दर्भमा बन्यो, किनकि त्यस गीतमा दक्षिण अफ्रिकाको सेनासँग भिड्न त्यो रेल टन्न छापामारले भरिएको छ भन्ने सन्देश लुकेको थियो ।

गीत थप्दै, शब्द फेर्दै, शारीरिक श्रमका बेला हाम्रो जुहारी निकै हप्ता चल्यो । हाम्रो गीतसंग्रह बढ्दै गयो, र हामीले क्रमशः ठाडै राजनीतिक गीत पनि गाउन थाल्यौँ, जस्तैः छापामार सैनिक बारेको अमाजोनी, जसको शीर्षकमा अंग्रेजहरूले सिपाहीलाई जिस्क्याउने नाम जोह्‌नीको अपभ्रंश रहेको छ । अनि शोट्‌शोलजा, जुन गीतले हाम्रो संघर्षलाई गुडिरहेको रेलको आवाजसँग दाँज्दछ । (तपाईंले यस शीर्षकलाई फटाफट दोहोर्‍याउनु भयो भने त्यसबाट कुदिरहेको रेलको आवाज निस्कन्छ । हामीले फ्रीडम चार्टर र ट्रान्स्काइको बारेमा पनि गायौँ । पछिल्लो गीतको बोल थियो, ‘दुई बाटा छन्, एउटा बाटो माटान्जिमा रोड, अर्को बाटो मन्डेला रोड, भन कुन बाटो लिने हो ?’

गीतहरूले ढुङ्गा फोर्ने काम केही हलुका बनाएका थिए । हामीमध्येका केहीको स्वर अचम्मकै थियो र बेलाबेला मलाई घन बिसाएर सुनिराखुँ जस्तो लाग्थ्यो । गिरोहवालाहरू हाम्रा सामु टिक्न सकेनन् र बिस्तारै तिनीहरूको गायकी बिलायो, हामी भने गाउन छाडेनौं । एउटा गार्ड झोसा (काला जातिले बोल्ने एक स्थानिय) भाषा बोल्न जान्दो रहेछ र उसले हाम्रो गीतको रहस्य बुझिहाल्यो । हामीले गाउन नपाउने भयौँ । सुसेल्न पनि पाइएन । त्यस दिनदेखि हामी चुपचाप काम गर्न बाध्य भयौँ ।

मैले ती गिरोहवालाहरूलाई प्रतिद्वन्दीका रूपमा लिइन, बरू हाम्रो सहयोगी हुनसक्ने कच्चा पदार्थको रूपमा लिएँ । हामीबीच जो माइ बेबी भनेर चिनिने एकजना अराजनीतिक बन्दी थियो, जसले पछि गएर एएनसी (अफ्रिकन नेशनल कांग्रस)को सदस्यता लियो । हाम्रा लागि जेल भित्रबाहिर मालसामान लुकीछिपी ओसारपसार गर्न उसको सहयोग अन्ततः अमूल्य हुन पुग्यो ।

राजनीतिक बन्दीहरूको लागि अखबारहरू सुन वा हीराभन्दा बढी मूल्यवान हुन्थे, मिठाइ वा चुरोट बीडीको लागि भन्दा बढी तलतल लाग्ने हुन्थे । रोबेन आइलान्डमा ती नै हदैसम्म प्रतिबन्धित थिए । हाम्रो आन्दोलनको बौद्धिक कच्चा पदार्थ समाचार नै थिए । हामीलाई कुनै समाचार दिइदैन थियो जबकि हामी यसको लागि मरिमेट्थ्यौँ । मभन्दा पनि बढी वाल्टर सिसुलु हालखबरको विरहमा छट्‌पटाउँदथे । सरकार हामीमाथि खबरबिनाको अन्धकार थोपर्ने प्रयासमा हुन्थ्यो । जनताले हामीलाई बिर्सेका छैनन् भन्ने जानकारी पाएर हाम्रो मनोबल उच्च पार्ने कुनै सुइँको दिन चाहदैनथे थिए तिनीहरू ।

हामी आफूलाई मुलुकको समसामयिक राजनीतिमा के भइरहेको छ भनेर जानकारीमा राख्नु आफ्नो कर्तव्य ठान्थ्यौं र अखबार पढन पाउने हाम्रो अधिकारको लागि हामीले लामो कडा संघर्ष गर्‍यौं । वर्षौभरि हामीले बाहिरी खबर पाउन अनेक थरीका जुक्ति निकाल्यौँ, तर त्यतिबेला हामी खप्पिस् भने भएका थिएनौँ । ढुङ्गाखानी जाँदाको एउटा फाइदा के थियो भने गार्डहरूले खाने खाजा अखबारमा पोको पारिएको हुन्थ्यो र तिनीहरू त्यो कागज रद्दीको टोकरीमा फाल्थे, अनि हामी गोप्य तरिकाले त्यस कागज झिक्दथ्यौँ । तिनीहरूको ध्यान अन्तै फर्काएर हामी कागज टोकरीबाट खुसुक्क टिपेर लुसुक्क कमिजभित्र लुकाउथ्यौँ ।

मैले बाध्य भएर सहनु परेको अनैतिक तर एउटा पक्का तरिका थियो घुस ख्वाएर अखबार वा जानकारी लिने । गार्डहरू जहिले पनि पैसाको अभावमा रहेका देखिन्थे र तिनीहरूको खाँचो हाम्रो अवसर हुने गर्थ्यो ।

हाम्रो हातमा अखबार पर्दा त्यसलाई एकआपसमा बाँड्नु खतरनाक हुन्थ्यो । अखबार भेट्टिनु गम्भीर अपराध ठानिन्थ्यो । बरू एक जनाले, अक्सर क्याथी (अहमद क्याथ्राडा)ले, पछि गएर म्याक महाराजले अखबार पढ्थे । क्याथी त हाम्रा संचार प्रमुख नै थिए । उनी हालखबर फिजाउन खासाको जुक्ति झिक्न जान्दथे । क्याथी अखबार पढिसकेर हाम्रा लागि सान्दर्भिक सामग्री च्यातेर निकाल्थे र ती हामीमाझ लुकाइछिपाइ बाँडिन्थ्यो । हामी प्रत्येकले आफूले पाएको सामग्रीको सारांश तयार पारेर हामीबीच घुमाउथ्यौँ र पछि त्यो जनरल वार्डमा पुग्थ्यो । जेल अधिकारीहरू विशेष चनाखो भएको सुइँको पाउँदा चाँहि क्याथी वा म्याक आफैले सारांश निकालेर अखबार नष्ट गर्थे– अक्सर च्यातचुत पारेर दिसा गर्ने भाँडोमा हाल्थे, जुन गार्डहरूको निरीक्षणमा पर्थेन ।

ट्वाइलेट पेपरका ससाना टुक्राहरूमा साना अक्षरमा गोप्य भाखामा लेख्ने अर्को एक तरिका थियो । ती टुक्रा यति साना र लुकाउन सजिलो हुन्थे, तीमार्फत आफ्ना कुरा जेल बाहिर पठाउने तरिका राम्रै चल्तीमा थियो । अधिकारीहरूले यस्ता केही सन्देश फेला पारेपछि भने ट्वाइलेट पेपर नै घटाउने जघन्य काम गरे । त्यतिखेर गोभन बिरामी भएर ढुङ्गा फोर्न जाँदैन थिए, त्यसैले उनलाई हामी प्रत्येकको लागि दिनमा आठ टुक्रा छुट्याएर राख्ने जिम्मा दिइयो ।

बन्दी भएर बस्दा उसको लागि महत्वपूर्ण व्यक्ति भनेको न्यायमन्त्री होइन, जेल व्यवस्थापन विभागको हाकिम होइन, आफू बसेको जेलको हाकिम पनि होइन, तर आफ्नो खबरदारी गर्ने गार्ड हो । आफूलाई धेरै जाडो भो र थप एक थान कम्बल चाहियो भने न्यायमन्त्रीकहाँ निवेदन गर्न त सकिन्छ, तर सुनुवाइ नै हुन्न । विभागको हाकिमलाई निवेदन गर्दा उसले मिल्दैन, नियम विपरीत हुन्छ भन्ने गर्छ। आफ्नै जेलको हाकिमलाई भन्दा उसले भन्नेछ, मैले तिमीलाई कम्बल थपेँ भने सबैलाई थप्नु पर्ने हुन्छ, मिल्दैन । तर आफ्नै गार्डलाई अनुरोध गर्दा उसले खुरुक्क भँडारकोठाबाट एक थान कम्बल ल्याइदिने छ, यदि ऊसँग सम्बन्ध राम्रो छ भने ।

मैले जहिले पनि आफ्ना शाखाको गार्डसँग राम्रो सम्बन्ध राखेँ । निहुँ खोज्नु त आफ्नै पराजय खोज्नु हुन्थ्यो । गार्डहरूमाझ कसैलाई शत्रुवत व्यवहार गर्नुको कुनै अर्थ हुन्न । एएनसी को नीति नै थियो, सबैलाई हाम्रो विचारधारामा ल्याउने, तत्कालिन हाम्रा शत्रुहरू समेतलाई । सबै मान्छेको, ती जागिरे गार्ड समेतको, सोचाइमा परिवर्तन ल्याउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास थियो र हामी त्यही प्रयासमा लागिपर्थ्यौँ ।

साधारणतया, गार्डहरूले हामीसँग जस्तो व्यवहार गर्थे, हामीले पनि उस्तै व्यवहार फर्काउथ्यौँ । कुनै गार्ड हामीप्रति उदारभाव राख्थ्यो भने हामी पनि उदार नै हुने गर्थ्यौँ । राक्षस त हाम्रा सबै गार्डहरू थिएनन् नि । हामीले शुरूदेखिन् नै केही गार्डहरू अन्याय नगर्ने खालका भनेर पहिल्याएका थियौँ । तैपनि, तिनीहरूसँग नजिकिन खोज्नु सजिलो थिएन किनकि कालेसँग नजिकिनु तिनका लागि घिनलाग्दो काम हुन्थ्यो । हामीप्रति उदारभाव राख्ने गार्डहरू हाम्रो लागि उपयोगी हुने हुनाले म बेलाबेला हाम्रा केही साथीलाई त्यस्ता गार्डहरूसँग हेलमेल गर्न भन्थेँ । कोही पनि यस्तो काम चाँहि लिन चाँहदैनथ्यो ।

हामीप्रति अति नै हेपाहा हुने एउटा गार्ड थियो । तनाव बढ्ने निश्चित थियो किनकि त्यो गार्डले ढुङ्गाखानीमा हामीबीच हुनेगरेको छलफल कुराकानीमा पूरै बन्देज लगाएर समस्या सृजना गर्यो। हाम्रो कुराकानीमा दखल नहोस् भनेर मैले हामीमध्येको एकजना कमरेडलाई त्योसँग दोस्ती गर्न भनेँ । गार्डको व्यवहार निकृष्ट त थियो नै, तर ऊ त्यस कमरेडप्रति अलि लचिलो हुन थाल्यो । एक दिन त्यो गार्डले ती कमरेडको ज्याकेट माग्यो– त्यो ओछ्याएर आफू घाँसमाथि बस्नको लागि । कमरेडको पारो चढ्न लागेको थाहा हुँदाहुँदै, मैले उसलाई मान्न संकेत गरेँ ।

केहि दिनपछि, एक दिन हामी छहारीमा बसेर खाना खाइ रहँदा, त्यो गार्ड हामी छेउ आइपुग्यो । त्योसँग उभ्रेको खानेकुरा (स्यान्डविच) रहेछ जुन उसले घाँसमा फालेर भन्यो, ‘ल खा ।’ उसको मित्रता प्रदर्शन यस्तो खाले थियो ।

यो व्यवहारले हामीलाई असमञ्जसमा पार्यो । एकातिर उसले रछानमा फाल्ने वस्तु फालेर हामीलाई पशुलाई जस्तो व्यवहार गरिरहेको थियो, जुन वस्तु टिप्दा हाम्रो आत्मसम्मानमा आँच आउँछ भन्ने पक्कै थियो । अर्कोतिर, हामी भोका त थियौँ नै, र त्यो नटिप्दा हामीले नजिकिन चाहेको गार्डले आफूलाई नटेरेको, हेपेको ठान्ने निश्चित थियो । त्यो गार्डसँग नजिकिएको कमरेडले फालिएको स्यान्डविचमा आँखा लाएको मैले देखेँ र मौन स्वीकृति दिएँ ।

त्यस रणनीतिले काम गर्यो, त्यो गार्ड त्यसपछि हामीप्रति कम चनाखो हुन थाल्यो । एएनसी बारे जिज्ञासु पनि हुन थाल्यो । सिद्धान्ततः कुनै व्यक्ति जेल प्रशासनमा काम गर्छ भने, सरकारले उसको दिमाग सरकारी प्रोपोगान्डाले भरिदिएको हुन्छ । उसले ठान्दो हो, गोराहरूलाई समुद्रमा लगेर फ्याल्न खोज्ने आतंकवादी साम्यवादी हौँ हामी । हामीले हाम्रो रंगभेदविरोधी नीति, समान अधिकारको हाम्रो चाहना, र पूँजीको पुनर्वितरणबारे उसलाई राम्ररी सम्झाउँदै गएपछि, एक दिन उसले टाउको कन्याउँदै भन्यो, ‘यो त मोरा न्याट्स (नेशनालिस्ट)हरूले भन्ने गरेको भन्दा दामी कुरो रैछ नि ।’

यिनै लामा एकलास वर्षहरूमा मेरा आत्मजनका मुक्तिको लागिको दृढता सबै मानिसको, गोरा हुन् वा काला, स्वतन्त्रताको लडाईंमा परिणत हुँदै गयो । पीडितको उन्मुक्ति जति जरूरी छ, पीडकको उन्मुक्ति पनि उत्तिकै जरूरी छ भन्ने भावना ममा राम्रै झ्याङ्गियो । जुन मान्छेले अरूको स्वतन्त्रता वा अधिकारको हरण गर्छ ऊ आफै घृणाको बन्दी हो, ऊ भेदभाव र सङ्कीर्णताको पिँजरामा जकडिएको हुन्छ । म कसैको स्वतन्त्रता हर्छु भने म जसरी आफै साँच्चिकै स्वतन्त्र हुन्न, त्यसरी नै कसैले मेरो स्वतन्त्रता खोस्यो भने म स्वतन्त्र हुन सक्दिन । पीडित र पीडक दुवैको मानवीय सम्वेदना खोसिएको अवस्था हुन्छ ।

जब मैले जेलजीवनबाट छुटकारा पाएँ, मेरो अन्तिम लक्ष्य नै थियो, पीडित र पीडक दुवैको उन्मुक्ति गर्ने । कोही भन्छन्, त्यो लक्ष्य हाँसिल भयो । तर म भन्छु, त्यसो भइसकेको छैन । सत्य के हो भने, हामी अझ स्वतन्त्र भइसकेका छैनौँ, खालि स्वतन्त्र बन्ने स्वतन्त्रता पाएका छौँ, परपीडित हुन नपर्ने अधिकार पाएका छौँ । हामीले हाम्रो गन्तव्यमा पुग्ने अन्तिम पाइला टेकिसकेका छैनौँ, खालि अझ लामो र कठिन यात्रामा हिंडने पहिलो पाइला सारेका छौँ । किनभने साँच्चिकै उन्मुक्त हुन आफू बाँधिएको साङ्लो फालेर मात्र पुग्दैन, अरूको उन्मुक्तिको सम्मान गर्न र त्यसको लागि प्रयासरत रहने जीवन जिउन आवश्यक छ । उन्मुक्तिको लागि कत्तिको समर्पित छौँ त भन्ने परीक्षा भर्खर सुरु हुँदैछ ।

मैले स्वतन्त्रताको लामो बाटो हिडेँ । मैले नलड्खडाउने प्रयास गरेँ । हो, हिँड्दा एकदुई पाइला यताउति परे होलान् । तर मैले के भेट्टाएँ भने एउटा नेटो काटिसक्दा पारितिर त त्यस्ता कति नेटा रैछन्, रैछन् । अब म एकछिन यहाँ थकाइ मार्छु, र हेर्छु मेरा चारैतिरका विशाल सुन्दर, भव्य दृश्य र त्यो लामो बाटोलाई जुन मैले पार गरेँ । थकाइ मार्ने केही क्षण मात्र हो, किनभने स्वतन्त्रता सँगै जिम्मेवारी बढ्छ, र म धेरै बेर अलमलिन पाउन्न । मेरो अविरल यात्रा टुङ्गिएकै छैन ।

(दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको ‘लङ्ग वाक टु फ्रिडम’ पुस्तकबाट)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button