‘एक इन्च मुस्कान’ लेख्ने मन्नु (सम्झना)
‘मैले आफ्नो पीडा कहिल्यै कसैलाई पनि बताईन किनकि मलाई लाग्छ व्यक्तिको स्वयंमा यति शक्ति सधैं हुनुपर्छ कि आफ्ना दुःख अनि संघर्षमा एक्लै जुझ्न सकून् ।’ – मन्नु भण्डारी
गत नोभेम्बर १५, २०२१ मा दिवंगत भारतकी चर्चित लेखक भण्डारीको जन्म ३ अप्रिल १९३१ मा भारतको मध्यप्रदेशको भानपुरा भन्ने स्थानमा भएको थियो । उनको महाभोज तथा आपकी बन्टी उपन्यासले ठूलो चर्चा बटुलेको थियो । ‘महाभोज’ उपन्यासमा सत्ता पक्ष या प्रतिपक्षका गुटहरुले कसरी एक सर्वसाधारणलाई मोहरा बनाउँछन् भन्ने गतिलो उदाहरण दिएकी छन् । भण्डारीले रजनी गन्धा, निर्मला, स्वामी, दर्पण जस्ता भारतीय चर्चित सिनेमाको लागि पटकथा पनि लेखेकी छन् ।
‘नयी कहानी अभियान’ हिन्दी साहित्यिक अभियानको समयमा सबैभन्दा प्रसिद्ध लेखिका मानिन्थ्यो । सन् १९५० ताका भारत स्वतन्त्र भएको केही वर्षमात्र भएको थियो । उक्त समयमा भारत सामाजिक परिवर्तनजस्ता समस्याहरुबाट गुज्रिरहेको थियो । यसकारण पनि मानिसहरु नयी कहानी अभियानको माध्यमबाट आफ्ना रायहरु प्रस्तुत गरिरहेका थिए । भण्डारी पनि यस अभियानमा सक्रिय लेखक थिईन् ।
भण्डारीको बाल्यकालको नाम महेन्द्रकुमारी थियो । आफन्तहरले मायाले उनलाई मन्नु सम्बोधन गरेर बोलाउँथे । महेन्द्रकुमारीले लेखनको लागि आफ्नो नाम मन्नु नै चुनिन र विवाहपश्चात र सधै मन्नु भण्डारीको नामले चर्चित भइन् ।
भण्डारीका पिता सुख सम्पत राय नाम चलेका लेखक तथा हिन्दीका ‘पारिभाषिक कोष’का निर्माता थिए । यिनी अलि क्रोधी, घमण्डी तथा आदर्शवादी व्यक्तिमा गनिन्थे । यिनले महिलाको शिक्षाको लागि पहल गरे । छोरीहरुलाई चुलोचौको भन्दा शिक्षालाई प्राथमिकता दिनुपर्दछ भन्ने यिनको मान्यता थियो । मन्नुकी आमा अनुपकुंवरी एक उदार, स्नेही, सहनशील तथा धार्मिक प्रवृतिकी महिलामा दर्ज थिईन् । कहिलेकाँहि मन्नूले आफ्नो बाबूको विरोध गर्दा उनकी आमा भन्थिन्, ‘छोरी मलाई केही गुनासो छैन, तिमी किन त्यसै चिन्तित हुन्छौ ? जाउ आफ्नो काम गर ।’ मन्नुको स्वीकारोक्ती थियो कि आज उनीहरु जे छन आमाबाबुकै देनका परिणाम हुन् । मन्नुका दुई भाई तथा दुई दिदीबहिनी थिए ।
मन्नुको लेखनको संस्कार पिताबाट प्रभावित थियो । मन्नुका बाबु समाज सुधारक थिए । यसैले स्वतन्त्रतापूर्वको समाजमा नारी शिक्षा अकल्पनीय कुरा लाग्दथ्यो तर पनि मन्नु तथा उनका दिदीबहिनीहरुलाई उच्च शिक्षा हासिल गर्न लगाईयो । मन्नुले मजमेरको सावित्री गल्र्स हाईस्कूलमा शिक्षा प्राप्त गरिन् । अजमेर कलेजमै कलेजकी प्राध्यापक शीला अग्रवालले छात्राहरुलाई देश प्रेम तथा अंग्रेज सरकारको विरोधमा लाग्न प्रेरित गरिन्, जसको कारण मन्नुले स्वतन्त्रता आन्दोलनमा भाग पनि लिईन् ।
मन्नुले हिन्दी प्रोफेसरको रुपमा आफ्नो करियर शुरु गरिन् । सन् १९५२ देखि सन् १९६१ सम्म यिनले कोलकाता बालीञ्ज शिक्षण सदनमा प्राध्यापन गरिन् । त्यस्तै यिनले कोलकाता रानी बिरला कलेजमा तथा दिल्लीस्थित युनिभर्सिटीमा पनि अध्यापन गरिन् । सन् १९९२ देखि १९९४ सम्म यिनी विक्रम यूनिभर्सिटीको उज्र्जन प्रेमचन्द सृजनपीठमा डाईरेरक्टर थिईन् ।
मन्नुले सन् १९५९ मा राजेन्द्र यादवसँग अन्तरजातिय विवाह गरिन् । मन्नु र उनका श्रीमान तथा लेखक राजेन्द्र यादव मिलेर एक उपन्यास लेखे । जसको शीर्षक थियो, ‘एक इन्च मुस्कान’ । यस उपन्यासमा पुरुष पात्रको बारेमा राजेन्द्रले लेखेका छन् भने महिला पात्रको बारेमा मन्नुले । यो उपन्यासमा संवेदनशील तथा प्रतिभा सम्पन्न लेखक अमरको कथा बुनिएको छ । यस उपन्यासमा त्रिकोणात्मक सम्बन्धलाई जेलिएको रुपमा व्यक्त गरिएको छ । पुरुष पात्र अमर पत्नी तथा प्रेमिकाकोबीच अन्तरद्धन्दले ग्रसित भएर एकांकी जीवन ज्यून बाध्य हुन्छ ।
भण्डारीको बहुचर्चित उपन्यास ‘आपका बन्टी’ बाल मनोविज्ञानमा आधारित उपन्यास हो । यस उपन्यासले परिवारमा श्रीमान–श्रीमतीको सम्बन्ध खराब हुँदा ती दृष्य हेरिरहेका र परिस्थितिसँगै चलिरहेका बालबालिकाको मानसिक स्थिति कस्तो हुन्छ भन्ने कुरालाई उल्लेख गरिएको छ । आपका बन्टी सन् १९७९ मा प्रकाशन भयो । उपन्यासमा कलकत्ताको बाकुरा भन्ने स्थानलाई लिइएको छ । यस उपन्यासमा बन्टी मुख्य बाल पात्र हो, जो आफ्ना बाबु आमा हुँदाहुँदै पनि एक असहाय जस्तो जीवन व्यतित गर्न पुग्दछ ।सकून बन्टीकी आमा हुन्, जो एक शिक्षित, आधुनिक र स्वतन्त्र विचारकी महिला तथा कलेजकी प्राध्यापक पनि हुन् । अजय बन्टीका बाबु हुन् । अन्य पात्रहरुमा वकिल चाचा छन्, जो बन्टीका बाबुको खबर बन्टी समक्ष ल्याईरहन्छन् र उनका बाबुबाट पठाईएको उपहारहरु पनि बन्टीलाई ल्याईदिन्छन् । फुफी भन्ने सकूनकी सेविका छिन्, जो अजयलाई घृणा गर्छिन् । डा.जोशी भन्ने पात्र छन्, जो आफू पनि डिभोर्सी हुन र दुई सन्तानका पिता हुन् । अमि र जोन नाम गरेका दुई बच्चा छन् डा.जोशीका ।
उपन्यासमा बाल पात्र बन्टी चाहन्छ कि उसका आमाबाबु संगै रहुन् । उसलाई बा आमा दुबैको माया चाहिन्छ । तर बन्टीले भने जस्तो हुँदैन । उसका बाआमा सधैं झगडा गर्दछन् । अन्त्यमा दुबैको डिभोर्स हुन्छ । बन्टीका बाबू मीरा नामकी महिलासँग बस्न थाल्दछ । यो देखेर बन्टीकी आमा सकूनलाई लाग्दछ कि म मात्रै किन सधैं उदास र निरस जीवन जिउँ, अजय मीरासँग खुसी छ भने । सकूनले पनि तिनैै डा.जोशीसंग विवाह गर्छिन् । बन्टीलाई डा.जोशीको घर मन पर्दैन् । उसलाई लाग्छ उसकी आमाको माया पनि तीनतिर बाँडिएको छ । बन्टी सार्है दुःखी हुन्छ । उसलाई आफ्नी पुरानै आमा चाहिएको थियो, जो ऊसँगै सुत्थिन् । उसलाई काखमा लिन्थिन् । अब यस्तो केह बाँकी रहेन् । त्यसपछि बन्टी आफ्नो बाबुलाई फोन गर्छ र कलकत्ता जाने कुरा गर्दछ । तर त्यहाँ पनि उसले त्यो वातावरण पाएन, जो ऊ चाहन्थ्यो । उसले सौतेनी आमालाई पूर्णतः अप्नाउन सकेन् । बन्टीको स्थिति आमाबाबु भएर पनि असहाय झैं भयो र उसले आफ्नो बाल्यकाल होस्टलमा बिताउनु पर्यो ।
उपन्यासले पात्रहरु आफ्नो ठाउँमा गलत नभए पनि बालबालिकाको मनोभावको ख्याल नगरिएको पक्षलाई उजागर गरेको छ । सम्बन्धविच्छेद पश्चात कयौं कारणहरुले छोराछोरी भएका अभिभावकलाई समस्यामा पारेका उदाहरण त आधुनिक समाजमा पनि छँदैछन् । अझ महिलाको लागि सम्बन्धविच्छेदपश्चात छोराछोरीको विषयमा निर्णय लिनुपर्दा सामाजिक, मनोबैज्ञानिक रुपले पनि असाध्यै कठिन परिस्थिति आउने गर्दछन् । यस उपन्यासले देखाउन खोजेको पक्ष भनेको सन्तानको मनोविज्ञान नबुझी गरेका निर्णयले कलिलो मनस्थितिमा कतिको असर पर्ने रहेछ भन्ने नै हो । मत नमिल्दा अलग बस्ने व्यक्तिगत स्वतन्त्रता त आए तर सन्तानको मनोविज्ञानमा के असर पुग्छ भन्ने मनन नगर्दा पनि समाजमा नैराश्य पुस्ताको उदय हुन सक्छ भन्ने सन्देश पनि यस उपन्यासले दिन खोजेको छ । उपन्यास लेखनमा यो नयाँ प्रयोग थियो जसको कारण यो उपन्यास बंगाली,फ्रेन्च तथा अंग्रेजी भाषामा पनि छापिएको थियो ।
भण्डारीको शब्द ‘लेखनले मलाई आफ्नो अन्तरनिहित निजी समस्याप्रति वस्तुगत हुन र त्यहाँबाट निक्लन सिकायो ।’
उनका पति तथा लेखक राजेन्द्र यादवको अनुसार मन्नुको लेखन व्यर्थैको भावनामा तरंगित हुँदै नारीका आँचलमा दूध र आँखामा आशु देखाएर पाठकबाट दया असुल्ने खालको थिएन । यिनी यथार्थको धरातलमा रहेर नारीको नारीकै दृष्टिले हेर्थिन् ।
मन्नुका लेखन जहिले पनि लैङ्गिक असमानता, वर्गीय असमानता तथा आर्थिक असमानतामा आधारित हुन्थ्यो ।
भण्डारीका कथासंग्रहः एक प्लेट सैलाव, मैं हार गयी, तीन निगाहो की एक तश्वीर, यही सच है, त्रिशंकु, श्रेष्ठ कहानीया, आँखो देखा झूठ, नायक, खलनायक, विदुषक ।
उपन्यासः आपका बन्टी, महाभोज, स्वामी, एक इन्च मुस्कान ।
पुरस्कारः हिन्दी अकादमी, दिल्लीका शिखर सम्मान, बिहार सरकार भारतीय भाषा परिषद, कोलकाता , राजस्थान संगीत नाटक एकेडेमी, व्यास सम्मान,उत्तर प्रदेश हिन्दी संस्थानद्धारा पुरस्कृत ।
(श्रोतः मन्नु भण्डारीको बायोग्राफी)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)