काफ्कास्कीवाला काफ्का भन्थे, ‘पुस्तक एक मादक पदार्थ हो’

फ्रान्ज काफ्काको जीवनी

‘ए भगवान !’, मुसाले भन्यो, ‘यो सारा संसार नै दिनदिनै सानो हुँदै गईरहेको छ । शुरुमा त यो विशाल थियो त्यसैले मलाई डर लाग्थ्यो । म दौडिएको दौडियै गर्थे । र, जब कतै पर्खाल देख्थे मलाई औधी खुसी लाग्थ्यो । त्यही पर्खालकै दाँया बाँया लुकामारी गरिरहन्थे । तर, अचानक यी लामा लामा पर्खालहरु कति छिटै साँगुरा भएका । यसै पनि म अब चारैतिरबाट घेरिएको छु । त्यो कुनामा रहेको पासोको लागि दौडिरहेको छु ।’

मुसाको यस्तो बर्बराहटबीचबाट बिरालोले भन्यो, ‘तैंले मात्र दिशा बदल्नुपर्छ ।’ र, यति भनेर त्यस मुसालाई खाईदियो ।

फ्रान्ज काफ्काको लघुकथा ‘द बरो’को सानो भावानुवाद । फ्रान्ज काफ्काको ‘द लिटिल फेवल’ लघुकथा संग्रहभित्र यस कथा समावेश छ । यो कथासंग्रह काफ्काले आफ्नो मृत्युभन्दा ६ महिनाअगाडि लेखेका थिए ।

फ्रान्ज काफ्काको जन्म मध्यमबर्गीय जिविस परिवारमा भएको थियो । उनको जन्म वोहेमियाको राजधानी प्रागमा भएको थियो । यिनको परिवार चेकोस्लाभाकियन थिए । फ्रान्ज काफ्काको जन्म ३ जुलाई १८८३ मा भएको थियो । यिनी विसौं शताब्दीको एक साँस्कृतिक रुपले प्रभावशाली, लघुकथा र उपन्यासका जर्मन भाषी लेखक थिए ।

फ्रान्ज काफ्काका बाबुको नाम हर्मन काफ्का र आमाको नाम जुली थियो । यिनका बाबु व्यापारी थिए भने आमा कामकाजी महिला थिईन् । फ्रान्ज काफ्काकी आमा दैनिक १२ घण्टासम्म पनि आफ्नो श्रीमानको व्यवसायको व्यवस्था सम्हाल्नमा व्यस्त हुन्थिन् । यिनको बाबुको परिवारभन्दा आमाको परिवार बढी शिक्षित थियो । फ्रान्ज काफ्काको बाबु अलि रिसाहा स्वभावका थिए । फ्रान्ज काफ्का बाबुलाई बायोग्राफर स्टेन्ली कोर्नगोल्डले परिभाषित गरे अनुसार भयकंर स्वार्थी व्यापारी भनेकी छिन् । यिनी रिसको झोकमा आफ्ना छोरालाई पिट्न पनि पछि पर्दैनथिए । फ्रान्ज काफ्का ६ जना सन्तानमध्ये जेठा थिए । यिनका दुईवटा भाईहरु यिनी ७ वर्षको हुँदा नै मृत्यु भएको थियो भने यिनका तिनवटै दिदीहरु दोश्रो विश्वयुद्धताका होलोकास्टमा मारिएका थिए । व्यवसायका दिनहरुमा काफ्का बाबुआमा दुबै घरबाट बाहिर थिए ।

काफ्का ६ वर्षको भएपछि डच नाबेनसुला व्वाईज स्कुलमा भर्ना भए । त्यस स्कुलमा उनी जर्मनभाषी कक्षामा भर्ना भएका थिए । यिनका बाबुलार्ई जर्मन भाषी समाजमा आफ्नो पहिचान बनाउनु पनि थियो । माध्यमिक तहसम्म पढ्दा यिनले ल्याटिन,ग्रिक तथा ईतिहासको अध्ययन गरे । माध्यमिक शिक्षापश्चात यिनले एकवर्षजति केमेष्ट्री अध्ययन गर्ने विचार पनि बनाए । तर यिनले आफ्नो उच्च शिक्षा कानुनमै हासिल गरे । कानुनमा विद्यावारिदी सकेपछि एक वर्ष अवैतनिक सेवा गरेपश्चात एक ठ्रूलो इटालियन ईन्सुरेन्स कम्पनीमा कारिन्दाको रुपमा जागिरे जीवन शुरु गरे । यिनी त्यस कम्पनीमा समयको कार्यतालिकाले त्यति खुसी थिएनन् । त्यहाँ उनले १० घण्टासम्म काम गर्नुपर्दथ्यो र उनलाई आफ्नो लेखन कर्ममा ध्यान केन्द्रित गर्न समय नै पुगिरहेको थिएन् । एक वर्ष काम गरेपछि उनले त्यस कम्पनीबाट राजिनामा गरे । उनले काम छोडेको केही हप्ता पश्चात नै अर्को एक कामदारहरुको ईन्सुरेन्स कम्पनीमा काम पाए । त्यस कम्पनीमा उनले १९०८ देखि १९२२ सम्म १२ वर्ष काम गरे । उनी आफ्नो खराब स्वास्थ्यको कारण त्यहाँबाट रिटायर्ड भएका थिए ।

Ad

कतिपय अवस्थामा काफ्काले आफ्नो कामलाई ‘रोटीको काम’ बिल तिर्नको लागि गरिएको कामको रुपमा परिभाषित गरे पनि उनले कहिल्यै कामप्रति वेवास्ता गरेनन् । उनको करियरको दौरान उनले पाएका पुरस्कार, प्रसंसापत्र र बढोत्तरीहरुले नै उनको ईमान्दारिताबारे बताउँछ । उनी मेहनती कारिन्दा थिए । साथसाथै फ्रान्ज आफ्नो साहित्य लेखनप्रति पनि उतिकै प्रतिवद्ध थिए ।

सन् १९१२ मा काफ्काले आफ्ना घनिष्ठ मित्र मेक्सब्रोडको घरमा एक युवती फेलिस वुअरलाई भेटे । उनी बर्लिनमा बस्थिन् । ५ वर्षसम्म उनीहरु रिलेसनसिपमा रहे । अन्त्यमा सन् १९१७ मा उनीहरुले आफ्ना सम्बन्धको अन्त्य गरे ।

सन् १९१७ मा नै फ्रान्ज काफ्का टयुवरक्लोसिसले थलिए । त्यस समय उनलाई उनकी बहिनीले हेरचाह गरिन् । सन् १९२० तिर फ्रान्व काफ्काको एक चेक पत्रकार तथा लेखक जेसिन्स्कासंग सम्बन्ध रह्यो । सन् १९२३ मा फ्रान्ज बर्लिन गए । फ्रान्ज आफ्नो लेखनको ध्यान परिवारतिर केन्द्रित नहोस भनेर परिवारबाट टाढा रहन चाहिरहेका थिए । बर्लिनमा फ्रान्ज एक २५ वर्षीया किन्डरगार्टेन शिक्षक डोरा डायमन्टसंग बसे । डोरा एक कट्टर जिविस परिवारबाट सम्बन्धित थिइन् । डोरा फ्रान्जको ‘तालमड’ (जिविस कानुनको पुस्तक)प्रेम देखेर उनीबाट प्रभावित भएकी थिईन् ।

काफ्काको आफ्नो जीवनकालपछि उनका कृतिहरु बढी चर्चित भएको थियो ।

फ्रान्ज काफ्काले सन् १९१० देखि १९२३ सम्म जर्मन भाषामा लेखिएका डायरीमा अनौपचारिक अवलोकन, दैनिक जीवनका बृतान्त, दार्शनिक विचार, सपनाको लेखाजोखा र कथा लेखनका तौर तरिकाहरु पाउन सकिन्छ । उनका डायरीमा लेखकका बिचार, भावना र उनका प्रसिद्ध भनाईहरु समेटिएका छन् । काफ्काले आफ्नो डायरी लेख्न २७ वर्षको उमेरदेखि शुरु गरे । र, यो उनले आफ्नो मृत्यु हुनु अगाडिसम्म जारी राखे ।

काफ्का क्लिनिकल डिप्रेसन, सोसियल एन्जाईटी जस्ता समस्याबाट पनि पीडित थिए । माईग्रेन, अनिन्द्रा, अपचजस्ता स्वास्थ्य समस्याहरुलाई कम गर्न उनले प्राकृतिक उपचार पद्धतिको सहारा पनि लिएका थिए । तर ४० वर्षको अल्पायुमै फ्रान्ज काफ्काले टि.वि. रोगबाट नै ग्रसित भएर मृत्युवरण गर्न पुगे ।

काफ्काको डायरीले उनको छवि उदास मान्छे, साथी र परिवारबाट तिरष्कृत, असफल प्रेम सम्बन्धहरु र निरन्तर विरामीको रुपमा चित्रित गरेको पनि पाईन्छ । यो काफ्काको जीवनको अभिन्न पाटो थियो । र, यसलाई प्रकासन गर्ने उद्देश्य पनि थिएन् । सन् १९१० देखि १९१३ र १९१४ देखि १९२३ सम्मका डायरीलाई सन् १९६४ मा एउटै भोल्युममा प्रकासन गरिएको थियो ।

फुर्सदको समयमा काफ्का आफ्ना परिवारका सदस्य तथा साथीहरुलाई पत्र लेख्दथे । आफ्ना बाबु जो उनलाई कडा व्यवहार गर्दथे र बाबु छोराको औपचारिक सम्बन्ध मात्रै थियो फ्रान्ज काफकाले ती आफ्ना बाबुलाई पनि कयौं पत्र लेखेका छन् ।

काफ्काको मान्यता थियो कि मानिस आफ्नै ईगोको गुलाम बनेका छन् । व्युरोक्रेसीमा मानवीय सम्बन्ध भनेको कामसंग मात्र सम्बन्धित छ । यदि काम गरिरहेमा सम्बन्ध पनि बचिरहन्छ । काम छैन त सम्बन्ध पनि छैन् । आधुनिक विश्व बनाउने पनि मान्छे र मान्छेकै हेलाहोचो गर्ने पनि मान्छे नै हुन भन्ने आसयहरु उनका कृतिहरुमा पनि पाउन सकिन्छ । जादुई कल्पना पनि काफ्काको लेखनीमा पाईन्छ ।

फ्रान्ज काफ्काको केही प्रसिद्ध कृति

द मेटामोर्फोसिस, द ट्रायल
द जजमेन्ट
अ हंगर आर्टिष्ट
लेटर टू फेलिस

काफ्काको लेखन शैलीलाई ‘काफ्कास्की’को नामले पनि चिनिन्छ । उनका लेखनमा लामा भूलभुलैया पनि हुने हुनाले पनि उनको लेखनलाई काफकास्की उपनाम दिईको थियो । प्रागमा फ्रेन्ज काफ्का संग्रहालय रहेको छ जहाँ उनका पुस्तक, उनले बनाएका चित्र, उनका डायरी, हस्तलेखनको प्रदर्शनी पनि छ । काफ्काले आफू जिवित हुँदै आफ्ना लेखनीलाई कमै प्रकाशन गरे । उनले आफ्ना कयौं लेखनहरु जलाएका थिए । बाँकी लेखन पनि उनको मित्रलाई प्रकाशन नगर्ने र जलाईदिने शर्तमा छोडेका थिए । तर, काफ्काको काम देखेर उनका साथीले म्याक्स ब्राडले सन् १९२५ देखि १९३५ सम्म उनका लेखनको प्रकाशन गरिरहे । काफ्काकी अन्तिम प्रेमिकासंग पनि काफ्काका रचनाहरु थिए । उनलाई पनि काफ्काले आफ्ना लेखनहरु प्रकासन नगर्न बचनबद्ध गराएका थिए ।

काफ्का कथन

हर क्रान्ति भाव बनेर उड्दछ र आफ्नो पछाडि एक नयाँ नोकरशाहीको अवशेष छोडेर जान्छ ।

तिमीलाई तिम्रो कोठा छोड्नुपर्ने आवश्यकता नै छैन् । चुपचाप कुर्सीमा बस, सुन र पर्ख । यहाँसम्म कि नसुन । मात्र प्रतिक्षा गरेर बस् । शान्त र एक्लै बस प्रकृति आफैंले निसंकोच तिम्रो अगाडि प्रस्तुत हुनेछ किनकि उसंग कुनै विकल्प नै छैन् । ऊ तिम्रो पैतालामुनि निकै उत्साह लिएर घुम्ने छ ।

म एक पिंजडा हूँ र म एक चरीको खोजमा छु ।

जीवनको अर्थ नै रोकिनु हो ।

म स्वतन्त्र भएकै कारण मैले हारे ।

मेरो आफ्नै लागि एक साँचो भावना त्यतिबेला आउँछ जब म दुखी र बेसाहारा भएको हुन्छु ।

यस सृष्टिमा जीवनका कैयन सम्भावनाहरु छन तर ती हाम्रा लागि होईनन् ।

पुस्तक एक मादक पदार्थ हो ।

पुस्तकले हामीभित्र जमेर बसेको समुन्द्र निकाल्ने औंजारको काम गर्नुपर्दछ ।

मृत्युको ईच्छा नै बुझाईको शुरुआतको पहिलो संकेत हो ।

मानव जातीको ईतिहास एक यात्रीले चालेको दुई कदमको बीचको अन्तराल हो ।

(फ्रान्ज काफ्काको बायोग्राफीबाट साभार)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button