पहिलो कुक बुकदेखि कमला ह्यारिससम्म

प्रतिभा सुवेदी

महिलाहरुको भूमिकाका बारेमा अमेरिकामा सत्रौ शताव्दीसम्म उनीहरु गृहणीका रुपमा घर परिवारको हेरचाह र स्याहारसुसार गरेर बसेमा उत्तम मानिन्थ्यो । गृहस्थी जीवन पद्धति नै उनीहरुका लागि पनि मान्य थियो र समाजले त झन् आदर्श महिलाको भूमिका त्यही हो भनी ठानेको समय थियो ।

सन् १७९६ मा एमिलिया सिमन्स नामक अमेरिकी महिलाले एउटा पहिलो कुक बुक प्रकाशन गरिन् । उनले त्यो पुस्तकबाट प्रसिद्धी कमाईन् र पुस्तकको पनि धेरै संस्करण प्रकाशन भयो । ४७ पेजको पातलो पुस्तक ३० औ पटकसम्म प्रकाशनमा आयो । त्यसरी प्रसिद्धी कमाउनमा दुईवटा कारणहरु थिए भनिएको छ । त्यसताका अमेरिका भरखर वृटिसहरुको शासनवाट स्वतन्त्र भएको थियो । त्यतिबेला अमेरिकन कुक बुक प्रकाशन हुँदा आफ्नो खानाको परिकार अमेरिकी संस्कृतिमा जानकारीमा आएको भनी महत्वपूर्ण किसिममा लिईयो । दोस्रो, अमेरिकी उत्पादनका वस्तुहरु अंग्रेजी याने तात्कालिन वृटिस तवरतारिकाबाट पकाउन मिल्ने परिकारका केकहरु पनि त्यसमा समावेश थियो । र, उनीहरुले पनि यो कुक बुकका परिकारका विषयहरु मन पराए ।

एमिले कुकको काम गरेकी थिइन् । किनकी, उनीसँग विद्यालय तहको पनि अध्ययन थिएन । त्यही खाना बनाएको अनुभवका आधारमा त्यो पुस्तक निकालेकी हुन् । पुस्तकमा सरल सहज आफ्ना देशमा भएका उत्पादनलाई विभिन्न तवरबाट बनाउने विधि सामेल गरिएका थिए । पहिलो अमेरिकी कुक बुककी लेखिका एमिको बारेमा थोरैमात्र जानकारी छ र उनको पुस्तकमा उनी अमेरिकी अर्फान भनी पुस्तक परिचयमा उल्लेख छ । अनि उनको काम नै पकाउने थियो भनिन्छ ।

पहिलो संस्करण निकालिन् अनि अन्य संस्करणहरु पनि निक्लन थाले । पुस्तकमा उनको नियन्त्रण पनि रहेन । उनलाई हेपेर अन्यले पनि थपथाप गर्दै गए । कति विषयमा परिकारहरुमा उनले बनाउने तरिका पनि सच्याइनपर्ने र च्यो तोडमोड भएर प्रकाशनमा आउन लागेको विषय पाठकहरुलाई थाहा भयो । उनको अर्थात महिलाको सम्मान थिएन । हेप्ने प्रवृत्ति नै थियो, जुन विभिन्न रुपमा अझै पनि विद्यमान छ ।

आज पनि विश्वको विकसित देशमा महिलाहरुका चुनौतीबारे महिला विकासमा लागेकाहरु भन्दछन्, ‘महिलाको आफनो पहिचान बनाउने वातावरण बन्न समय लागेको हो । यहा पनि विभिन्न रुपमा महिलाहरुले अवसर पाउन अथक प्रयत्न गर्न पर्दछ । ‘द प्राइस अफ मदरहुड‘की लेखिका एन क्रिटेनडेनले सन् २००१ मा अमेरिकी समाजमा आमाको कामको मुल्यांकन भएबारेको पुस्तक प्रकाशन गरिन् ।

न्युजविक र न्यूयोर्क टाइम्सकी सम्वाददाता क्रिटेनडेनले सन्तान जन्माउने निर्णय गरिन् र जागिर छाडिन् । उनी कसरी पेशागत जीवनबाट हात धोएर, कमाउने जागिर पनि गुमाएको अवस्थामा पुगिन्, त्यो त सबै उनको आफ्नै निर्णय थियो । पेशागत जीवनमा हुँदा र आमामात्र हुँदा समाजले गर्ने व्यवहारमा आकाशजमिनको भिन्नता पाइन् र त्यो विषयलाई समाजसामु ल्याउन पुस्तक लेखिन् ।

यस देशमा २० प्रतिशत जति महिला पुरुषले भन्दा पनि बढी कमाइ गर्दछन् भने ८० प्रतिशतले भने पुरुषभन्दा कम कमाइ गर्दछन् । किनकी महिला भएकै कारण बालबच्चा र घरमा बढी काम गर्नुपर्ने स्थिति छ । झन् आमा हुन चाहने महिला जति नै योग्य भए पनि माथिल्लो तहको काममा निरन्तरता दिन सक्दैनन् । उनले काममा सफलता पाउने हो या सन्तान हुर्काउने हो कुनै एकमा सम्झौता गर्नपर्छ । यसरी आमा भएका महिलाहरु आफै नै थोरै समय काम गर्ने जागिरतिर उत्साहित हुन्छन् ।

Ad

प्रायः पुरुषले यस किसिमको सम्झौता गर्दैनन् । कामदार महिला र पुरुषमा त्यतिबेला भिन्नता पर्दछ ।

कार्यकारिणी पद सम्हालेर बसेका महिलामध्ये ५० प्रतिशतमात्र आमा भएका छन् । बाँकीले सन्तानको चाहना राख्न पाएनन् । जबकी त्यो स्तरमा काम गर्ने पुरुषको भने धेरैको सन्तान भएको विषय बाहिर आएको छ ।

यतिसम्म कि कामको अवसर आएमा एउटी विवाहित महिलाले विवाहको चिन्ह स्वंयम्बरको औंठी घरमा राखेर गएको कुराहरु पनि पुस्तकमा भेटिन्छन् । त्यसरी यहाँको समाजमा आमा हुन चाहने महिलाले चर्को लागत बेहोर्नुपर्छ । संयुक्त परिवारको प्रचलन नै हराइसकेको छ । छोराछोरीले पनि २५ वर्षको उमेरमा बाबुआमाको घरमा बस्न छाडिसकेका छन् । आमाबुवा पनि एक्लै वा वृद्धाश्रम बस्ने गर्दछन् । विश्वमा कोभिडको महामारीले अमेरिकालाई धेरै आक्रान्त बनाएको समयमा वृद्धाश्रममा बसेका वृद्धवृद्धा धेरैले मृत्युवरण गरेको समाचार छापामा आएकै हो ।

साक्षरताका कुरा गर्दा महिला र पुरुषको साक्षरता बराबरी छ । साक्षरता प्रतिशत ९९ छ र दवै साक्षर छन् । यस देशमा जनसंख्याको करिब ५८ प्रतिशतले विश्वविद्यालयबाट स्नातक गर्दछन् । विश्वविद्यालयबाट स्नातक गरेपछि त्यो व्यक्ति बुद्धिजीवी मानिन्छ र राम्रो दर्जाको काम पनि पाउँद्छ । मात्र महिलाहरुले राम्रो काम पाउन गृहस्थी र क्यारियर बीच सम्झौता गर्न पर्दछ । राजनीतिमा महिला राष्ट्राध्यक्ष भएका छैनन् । सन् २०१६ को अमेरिकाको राष्ट्रपतिका लागि भएको चुनावमा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवारी दिएकी थिईन् । उनले पपुलर भोटमा जीत हात पारे पनि इलोक्टोरल भोटमा हार खाइन् । तर उनका प्रतिद्वन्दी व्यापारिक क्षेत्रका पुरुष राजनितिज्ञ डोनाल्ड ट्रम्पले जीत हाँसिल गरेका थिए । ती महिला हिलारी क्लिन्टन कुटनितिज्ञ, राजनितिज्ञ र कानूनको पनि ज्ञाता हुँदाहुँदै पनि अमेरिकाको राष्ट्रपति बन्न सकिनन् । भन्न खोजेको के भने महिलाहरुलाई निर्णायक पदमा विजय हाँसिल गर्न त्यति सहज छैन ।

यसपालाको चुनावमा भने उपराष्ट्रपति पदका लागि कमला ह्यारिसले सफलता हात पारिन् । अनवरत प्रयासपश्चात अमेरिकी महिलाहरुले सन् १९२० मा भोट दिने अधिकार पाएका हुन् । त्यसैताका नारीहरुले आफ्नो कमाइ आफैले राख्न पाउने, आर्थिक कारोबार गर्न पाउने र शिक्षामा समान अवसर जस्ता अधिकार पाइसकेका थिए तापनि कामका अवसर र ज्याला वितरणमा लिङ्गको आधारमा भेदभाव गरिन्थ्यो । सन् १९६३ मा आएर मात्र समानतासम्बन्धी ऐनहरु जस्तै– समान सीप भएका पुरुष र महिलालाई ज्यालामा समानता, लिङ्ग–भेदका आधारमा रोजगारी र ज्यालामा भेदभाव नगर्ने ऐन आदि पास भएका थिए ।

औपचारिक काममा ज्यालामा भेदभाव छैन तर कार्यकारी पदका काममा पुग्न महिलाहरुलाई सहज छैन । हुन त अमेरिकी सेनामा पनि महिलाहरु कार्यरत छन् । द्वितिय विश्व युद्धको ३ वर्षपछि सन् १९४८ मा महिलाहरु सैनिक पेशामा काम गर्न पाउने कानूनी मान्यता पाएको हो ।

तापनि पहिलो कुक बुकदेखि कमला ह्यारिसको विजयसम्म आइपुग्न लागेको समयलाई हेर्दा विगतका इतिहासले नै वर्तमानलाई रुप र आकार दिने रहेछ भन्ने पुष्टि गर्दछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button