हामीले भनेकै बुहारी ल्याउनुपर्छ

जातको पर्खाल

डा.अर्जुनदेव भट्ट

२०३१ सालमा म आफ्नो डाक्टरी अध्ययन सकेर नेपाल फर्किएँ । मेरी जीवन सङ्गिनी अक्सानाले मलाई राम्ररी बुझेकी थिइन् र म नेपाल नफर्कुन्जेल आफूलाई खुशी पाउने छैन भन्ने उनको निष्कर्ष थियो । सोहीअनुसार अमेरिका र लन्डन जाने अवसरलाई दोस्रो प्राथमिकतामा राखेर मलाई नेपाल फर्किने सल्लाह दिइन् । सँगै यसो पनि भनिन्, तिमी आफ्नोबारे अन्तिम निर्णय आफैँ गर । नेपाल फर्क भन्ने मेरो सल्लाहमात्र हो । स्वदेशमै काम गर्न पाउँदा तिमी बढी खुशी र सन्तुष्ट हुनेछौ भन्ने मेरो अनुमानमात्र हो ।

मैले यसबारेमा धेरै सोचेँ । फेरि उनैलाई सोधेँ, पछि नेपालमा गाह्रो भएर कहीँबाहिर जाऊँ भन्ने अवस्था आइपरे के गरौली ?

उनको प्रष्ट उत्तर थियो, म कष्टप्रद जुनसुकै कठिन अवस्था पनि सामना गर्न सक्ने नारी हुँ । मेरो बारेमा एक थोपा पनि पिर नलेऊ, म जस्तोसुकै परिस्थितिलाई सहजै आत्मसाथ गर्नेछु ।

अक्सानाले भनेका सबै शब्दले मलाई आधार दियो, हामी मान्छे दुई तर प्रेममा बाँधिएका एक थियौँ । सधैँ यस्तै रहन सके जीवनलाई फक्रेको फूलमा परिणत गर्न सक्छौँ भन्ने थियो । गुलाबमा सौन्दर्य देख्ने मान्छे काँडा देखेर किन तर्सिने !

जनरल सर्जरीमा पीएचडी गरेर प्रमाणपत्र पाउनासाथ एकदुई हप्ता पनि समय खेर नफाली आफ्ना सामान पठाएर हामी काठमाडौँका निम्ति उड्यौँ । कहिल्यै विदेश नगएकी र आफू जाने देशको भाषा र संस्कृति थाहा नपाएकी कच्चा थिइन् अक्साना । दुई बच्चाकी आमा थिइन् अनि काममा मात्र लागिरहनु पर्ने व्यस्त श्रीमान्को साथमा । उनलाई हतारमा उडिहाल्नु पर्दा कति गाह्रो र कौतुहल थियो, म अहिले अनुमान गर्न सक्दिनँ ।

त्यो बेला दिल्ली भएर काठमाडौँ उड्दा यात्रामा लगिएका केके सामान हराउँछ भन्ने कुनै ठेगान थिएन । यसमा हामी पनि अपवादमा परेनौँ । मेरो एउटा सानो बक्सामा सामान थियो । त्यसमा मैले श्रीमती र बच्चालाई नदिएर उपयोग गरेको समयमा लेखेको जनरल सर्जरीको एउटा किताब थियो । त्यो किताब चिकित्सा विज्ञान पढिरहेका र भर्खर काम गर्न सुरु गरेका चिकित्सक लक्षित थियो । विडम्बना ! त्यही हराउन पुगेँ ।

भारत भएर जहाँ र जहिले आउजाउ गर्दा पनि मैले केही न केही नहराएको उदाहरण छैन । करिब चार सय पानाको त्यो पाण्डुलिपि हराएको कुरा घर पुगेको पाँच दिनपछि मात्र थाहा पाएँ । पछि कहिल्यै पनि फेला परेन । सँगै चेकोस्लोभाकियन एकजोर जुत्ता, एक पोलिस मेड शूट थियो । अरू के गायब भयो ठम्याउनै सकिनँ । काठमाडौँमा शूट लगाएर जानै पर्ने खासै आवश्यकता के पर्ला र भनेर चित्त बुझाएँ । शूटै हराएपछि जुत्ताको के माया ! मनमा ठूलो चस्को भने किताबको पाण्डुलिपि हराएकोमा प¥यो । यो पिर मेरो मुटु र मस्तिष्कको एकएक कुनामा कहिल्यै नमेटिने गरी रह्यो ।

काठमाडौँ ओर्लेपछि अनौठो किसिमको एउटा रमाइलो भयो । मलाई आफ्नो घर पत्ता लगाउनै गाह्रो प¥यो । एयरपोर्टबाट निस्किँदा बाहिर मुसलधारे पानी परेको थियो । एउटा ट्याक्सी लिएर सबै मालसामान राख्यौँ र हामी चारैजनाभित्र छि¥यौँ । बच्चाहरू काखमा बस्न मिल्ने हुँदा सबै अटायौँ । जानु थियो डिल्लीबजार, कालिकास्थान । अहिलेको जस्तो मोबाइलफोनको जमाना थिएन । कालिकास्थान पुगेपछि डा. यादवप्रसाद पन्तको घरपछाडि आधा भत्केको पर्खाल नाघेर घर पुग्ने इरादा थियो । त्यहाँ पुग्दा त भत्केको पर्खाल नै छैन । पल्लो घरमा कसरी पुग्ने भनेर त्यहाँ सोध्यौँ । फेरि डिल्लीबजार फर्केर देब्रेतिर ओह्रालोमा पुगेपछि बीचैमा देब्रेतिर उक्लनू भने । मैले कुरा बुझिनँ । अरू तीनजना तीनछक्क परे । ितम्रो ड्याडीको घर हरायो भन्दै ट्याक्सी ड्राइभरले ठट्टा गरे । आखिरमा उनैले कताकता घुमाउँदै घर पु¥याइदिए । भत्केको पुरानो पर्खाल त म चिकित्सक बनेर फर्किंदासम्म चीनको पर्खालमा परिणत भइसकेको रहेछ ।

त्यो दुई तले घर लामो थियो, जो मैले यसअघि देखेको थिइनँ । म डेराबाट चिकित्सा शिक्षा पढ्न विदेश गएको थिएँ । पढाइ पूरा गरेर फर्किंदा आफ्नै पैत्रिक घरमा आइपुगेँ । घर निर्माणमा मेरो एक कौडी पनि योगदान थिएन । म त आर्थिकरूपले कङ्गाल र टाट पल्टेको अवस्थामा थिएँ । त्यो घर त चिट्ठा परेको थियो मेरो निधारमा । म जानुअघि त्यहाँ मकैबारी थियो हरिहर रेग्मी मास्टर साबको । त्यो मकैबारी दुई तले घरले विस्थापित भएको थियो । मकैको ठाउँमा घर उम्रेको थियो ।

हामी झन्डै सत्रवर्ष बसेको डा. यादवप्रसाद पन्तजीको घर पूर्णरूपमा भत्काएर आधुनिक, नयाँ घर बनेको थियो । पैतृक घर पुगेपछि त मलाई कताआएर फालिएजस्तो लाग्यो । कोठा साना, झयालकिनहो कोठाका निम्ति पनि नपुगजस्ता साना, त्यसमा फेरि फलामका डण्डी । झट्ट हेर्दा सोभियत संघका ठूला झ्याल भएका अग्ला र ठूला कोठा सम्झेर यताका कोठा अनौठा देखापरेका हुन्, आखिर बानीको कुरा न हो !

अक्सानाले रुसी भाषामाबिस्तारै सोधिन्, बच्चालाई के खानदिने ? उनी सर्वत्र नौलोको मारमा परेर होला केही सुस्त र मलीन देखिन्थिन् । छोरो काखमा अर्धनिद्रामा थियो । छोरी अर्कोतिर बसेर चञ्चल र जिज्ञासु अनुहार यताउता घुमाउँदै थिइन् ।

म अक्सानाको दाहिनेतिर बसेर आफूभित्र हराएजस्तो भए पनि भाइहरू ध्रुव र कृष्णसँग कुराकानी गर्दै थिएँ । यी दुबै भाइको सहयोगले हामीलाई यो मातृभूमिमा खुट्टा टेक्न निकै भर भएको अनुभव भइरहेथ्यो । उनीहरूको सहयोग र आत्मीयताले हामीलाई एक्लोपन महसुस गर्न दिँदैन थियो । मैले पनि बिस्तारै भाइलाई अक्सानाले सोधेकै कुरा सोधेँ ।

त्यस बेलाआफ्ना खुट्टामा टेक्नबाँकी रहेका भाइहरूलाई मैले प्लेनमा हलुका निदाउँदा कल्पना गरेका अतीतका सेल रोटी, बट्टुक, गहतका डुप्का, पुडी, बैतडीमा बजेईले दिने धिनाली (दही) र नुवाकोटमा बुबाज्यूले पकाएर खुवाउने माछाको परिकार अपेक्षा गर्ने ठाउँ थिएन । हामीलाई खालि बच्चाहरू भोक लाग्यो भनेर नरोऊन् भन्ने थियो ।

भाइहरूलाई थाहा थियो, सोभियत संघमा आलु एउटा मुख्य खाना हो भन्ने, हाम्रो भात भनेजस्तै । उनीहरूले उसिनेको आलुले हाम्रो स्वागत गरे । त्यो आलुभित्र उनीहरूको विशाल सहयोगी मन, सद्भाव र प्रेम गाँसिएको थियो । हामीले निकै मिठो मानेर स्नेहपूर्वक खायौँ । ती आलु साना थिए, झन्नै गुच्चाजत्रै । ती असामान्य आकारका आलु अक्सानाको सम्झनामा अहिलेसम्म ताजै छन् । म त यस्तो आलु किनेर ल्याउन र खानमा अभ्यस्त नै थिएँ नेपाल छँदा ।

आमा त्यस बेला काठमाडौँमै हुनुहुन्थ्यो । शायद मैले सबैभन्दा ठूलो पीडा आमालाई नै दिएको थिएँ । डाक्टर भएर त आएँ तर उतैबाट ‘म्लेच्छ’ केटीलाई श्रीमती बनाएर दुई बच्चासहित आएको थिएँ । मेरो त ब्रतबन्ध नै भएको थिएन । यस्तो प्यारो छोरो म्लेच्छ श्रीमती र दुई बच्चा लिएर आएको थियो । हामी नेपाल फर्कंदा बुबाज्यू जागिरको सिलसिलामा काठमाडौँबाहिर हुनुहुन्थ्यो । उहाँ मेरो विवाहप्रति आमाभन्दा निकै बढी उदार दृष्टि राख्नुहुन्थ्यो ।

आमाका लागि निकै कठिन अवस्था थियो । उहाँलाई त्यो क्षण खुशीको थिएन । १९१० सालको मुलुकी ऐनअनुरूप पापमोचनको लागि पतियाले दैनिक एक छाकमात्र खाएर धार्मिक क्वारेन्टिन गर्नुपर्ने नियम म नेपाल आएको समयमा लागू थिएन । नियम बनाउने जङ्गबहादुर राणाको सन्तानको सत्ता नै गुमेको झण्डै २५ वर्ष भइसकेको थियो । सरकारी नियमकानूनमा के लेखिएको छ, त्यसको ठूलो अर्थ हुँदो रहेनछ । पण्डितकी छोरी, मेरी आमामात्र होइन लाखौँ नेपाली आमा त्यही जङ्गे नियम आफूअनुकूल केही परिमार्जन गरेर अहिलेसम्म अनुशरण गर्दैछन् । अझै कति पुस्ताले ससानो परिमार्जन गर्दै पछ्याउँदै जानेछ के थाहा ! हाम्रै परिवारको कुरा गरौँ । बडो मुश्किलले हामी मक्काएको डेराघरबाट मुक्त भएका थियौँ । बुबाज्यूले एक पैसा पनि जथाभावी खर्च नगरी र सञ्चय कोषबाट पैसा निकालेर २१ इन्च मोटो भित्ता भएको र कालो सिमेन्टीले पोतेको घर बनाएर जति सहजतरिकाले नयाँ घरमा सर्न समर्थ भएका थियौँ, त्यति नै सकस भयो परिवारमा मेरो स्थिति स्वीकार गर्न । हामी परम्पराबाट मुक्त हुन सकेनौँ । अझै पनि सक्दैनौँ । सञ्चय कोषमा जम्मा भएको पैसा र अरू ऋणदानले घर बनाएजस्तो कुरो होइन रहेछ परम्परा । नयाँ घर बनाउनजति सकस र यातना सहे पुग्छ, त्यतिले पुरानो परम्पराबाट मुक्त हुन सकिँदैन रहेछ ।

परदेशमा बस्दा डुबेको जातफिर्ता नबोलाई नहुने ! सुनपानी नछर्की नहुने ! बाच्छीको पुच्छर समातेर ब्राह्मणलाई दान नगरी नहुने ! यस्तो व्यवस्था थियो समाजमा । म त कथित म्लेच्छ श्रीमती र छोरोछोरी लिएर घर फर्केको थिएँ ।

घरको एउटा शुद्ध कुनामा पूजापाठमा तल्लीन आमाको मनमा सिकसिक लाग्दो हो । परिवारकाले होइन, अलि बाहिरकाले त उनीहरूलाई लागेको भन्न पनि भ्याए । कतिको भनाइ त ‘आफूमात्र आएर स्वास्नी छोराछोरीलाई उतै छोडिदिएको भए हुन्थ्यो नि’ भन्ने पनिथियो । कति सजिलो तर बज्रजस्तो वाणी ! तर यसो भन्न उनीहरूलाई कुनै हिम्मत चाहिएको थिएन ।

मैले पनि कथित म्लेच्छ श्रीमती र छोराछोरीसहित आउँदा सबै प्रकारले मेरो स्वागत हुनेछ भन्ने सोचेको थिइनँ । केराका थम्बा गाडेर, रातो तुल ओछ्याएर फूलमालाले हाम्रो स्वागत हुनेछ भन्ने कुरा मनको कुनै कुनामा पनि थिएन ।

मलाई त आफ्नो शक्ति जाँच्नु थियो । आफ्नो ज्ञान र कार्य क्षमताको परीक्षा लिनु थियो । आउन सक्ने बिघ्नबाधा तथा अप्रिय स्थिति व्यवस्थापन गरेर आफ्नै जन्मभूमिमा सेवा गर्नु थियो । मैले आफ्नो जन्मभूमिलाई दुःखको समुद्र कहिल्यै ठानिनँ । त्यो युवा जोशमा त झन् आफ्नो मातृभूमिप्रति निराश हुनुपर्ने नै थिएन । नेपाल त अपार सम्भावना भएको कर्म भूमि हो भन्ने कुरा मेरो मनमस्तिष्कमा गहिरोसँग स्थायी भएको थियो ।

यहाँ त जन्मिन बाँकी रहेका भ्रुणदेखि शतायुसम्मका नागरिक चिकित्सकको सेवा नपाएर पानीबाट भर्खर निकालिएका माछा जस्ता थिए । त्यसरी छटपटिएकाहरू नै मेरो जीवन र पेशाका लक्षित वर्ग थिए ।

हम्मेसी कसैको पनि जीवनयात्रा धेरै सहज र सरल रेखामा हुँदैन, प्रायःनिकै कठोर र जोखिमपूर्ण हुन्छ । यो परिस्थितिको कुशलतापूर्वक सामना गर्न सक्नु नै जीवनको सार्थकता हो । मेरो विश्वास सधैँ यही रह्यो ।

सरकारको निर्देशनमा मेरो मनको चाहना र नेपाली जनताको आवश्यकता बोधले मलाई विदेशी भूमिमा चिकित्सा शिक्षा पढ्न पठाएको थियो । त्यो मेरो निम्ति जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो । पढाइको सर्टिफिकेट भित्तामा सजाउन वा दराजमा थन्क्याउनका लागि थिएन, जिम्मेवारी बहन गर्न, दायित्व निर्वाह गर्न र नागरिकको स्वास्थ्य रक्षाका लागि थियो ।

म कथित म्लेच्छ र कम्युनिस्ट देशबाट श्रीमती लिएर आएको भए पनि त् यसले मेरो लक्ष्यमा केही फरक पारेको थिएन । म स्वदेशमै आजीवन उपचारसेवा गर्न दृढ निश्चयी थिएँ । कसैलाई म पढ्न गएको देश मन नपरे वा कसैलाई धेरै मन परे पनि मेरो लक्ष्यमा केही फरक पर्दैनथ्यो । अरूले श्रीमतीको जात मन नपराए पनि मलाई केही फरक पर्दैनथ्यो । कसैलाई हाम्रा प्यारा छोराछोरी मन नपरे पनि सेवाको मेरो मार्गमा बाधा हुँदैनथ्यो । म यति निश्चयका साथ श्रीमती र छोराछोरी लिएर मातृभूमि फर्केको थिएँ ।

म मेरो परिवारका साथ कुनै विकसित देशमा काम गरेर बस्न सक्थेँ । यता उपचारसेवा नपाएर छटपटाइरहेका अनुहारप्रति आँखा चिम्लिन सक्थेँ । मेरो समाजको क्यालेन्डर कहिल्यै फेरिँदैन र घडी सधैँको निम्ति जाम भएर बस्छ भन्दैमा म पनि त्यसैमा रोकिनुपर्छ भन्ने थिएन । अघि बढ्न चाहन्थेँ ।

म ११ वर्षपछि फर्केर आउँदा मैले मेरो समाजको नफेरिएको क्यालेन्डर जस्ताकै तस्तै देखेँ । म त्यतिका वर्ष चिकित्सा विज्ञानकै संसारमा रमाउँदै थिएँ । नाटककार बालकृष्ण सम आकस्मिकतालाई नकार्छन् र हरेक आकस्मिकताको पछाडि नियमितता देख्छन् । यही दर्शनमा उनको ‘नियमित आकस्मिकता’ कृति प्रसिद्ध छ ।

समाजको समय र पात्रो जाम गर्न पनि नियमितरूपमा कतिपयको सधैँ सक्रियता छ । यस्ता व्यक्तिलाई जे अजम्मरी लागेको छ, त्यो उनीहरूलाई लाग्न पाउँछ । ती दृष्टिभ्रमप्रति मलाई कहिल्यै केही आपत्ति भएन । मेरो अनुभव र ज्ञानले भन्छ, अन्तर्राष्ट्रिय वा अन्तर्जातीय विवाह गर्नेहरूले आफ्नो समाजमा स्वागतको अपेक्षा नगर्नू, कुशलतापूर्वक सामना गर्नू । अपेक्षाविहीन तर लक्ष्यमा दृढ व्यक्तिको मन हलुङ्गो हुँदो रहेछ ।

म अहिले सोच्दै छु, मेरी आमालाई आफ्नो छोरो डाक्टर भएर फर्केकोमा ठूलो खुशी थियो । सोच्नुस् त ! म छोरी थिएँ र विदेशी लोग्ने र बच्चाहरू लिएर आएको थिएँ भने मेरी आमाको मन कति कुँढिएको हुन्थ्यो होला ! आफ्नो परिवारमा कति ठूलो कलंक आइलागेको ठान्नु हुन्थ्यो होला ! मेरो कारणले पनि आमाको मन अवश्य कुँढिएको थियो तर दोस्रो कल्पना जस्तो चाहिँ होइन ।

प्रत्येक व्यक्तिले आफ्नो जीवनमा एक्लै संघर्ष गर्नुपर्छ । अहिले त विश्व नै सर्वमिश्रित भइरहेछ । परिवर्तित संसारको चेहरा नै देख्न नपरोस् भनी आँखामा पट्टीलगाएर लम्किन खोज्नेहरूलाई जाँदाजाँदै ठूलो दुर्घटना हुने गरी खाल्टोमा नपर्नमात्र सल्लाह दिन सकिन्छ, काँध थाप्न सकिँदैन । अझ यो कोरोना भाइरसले संसारको अनुहारै नचिनिने गरी फेर्न खोज्दैछ ।

लामो समयसम्म मेरी श्रीमतीलाई आमाले सहजरूपमा लिनुभएन । मेरो निर्णय पचाउन सक्नुभएन तर अक्सानाको व्यवहारबाट उनीप्रति कहिल्यै नराम्रो सोच्नेसम्म पनि मौका आमाले पाउनुभएन । भुकुल्ले छोरो कसैलाई मन नपर्ने कुरै थिएन । छोरी त जस्तै भए पनि दोस्रो वा तल्लो स्थानमा हुनै पर्ने समाज ! पुरुषप्रधान समाजको भार मेरी छोरीले चाहिनेभन्दा बढी नै अनुभव गर्नुप¥यो । सानो छँदा ऊ बालसुलभ नजरले सबैतिर हेर्थी । उसलाई आफ्नी हजुरआमा एक कुनामा गई पिर्कामा बसेको; घण्टी बजाएर पूजा गरेको; धुपबालेर हात घुमाएको; फूल, दुबो र अक्षता देउतालाई चढाएको इत्यादि उसलाई खुब मन पथ्र्यो । ऊ ढोकाबाहिरबाट एक टकले आफ्नी हजुरआमाको गतिविधि नियालिरहन्थी । ऊ हजुरआमासँगै पूजामा सहभागी हुन, फूल चढाउन र घण्टी बजाउन चाहन्थी तर उसलाई पूजाकोठामा पस्ने अनुमति थिएन । त्यो बालमनोविज्ञान अनुभव गर्ने आमाको शिक्षादीक्षा थिएन । सामाजिक र पारिवारिक वातावरण पनि त्यस्तो थिएन ।

नातिनीले नछोओस् भन्ने मनसायले आमा उसलाई ढोकाबाहिरै बस्न अह्राउनुहुन्थ्यो । आमाभन्दा कठोर चाहिँ अरू देखिन्थे र उसले ढोकाबाट पनि नहेरोस् भन्ने ठान्थे ।

खोइ ! कहिले कसले के भनेको हुन्थ्यो कुन्नि छोरी दगुरेर आफ्नी आमाकहाँ गएर डाँको छोडेर रुन्थी । अक्साना उसलाई फकाउँथिन् । यस्तो घटना अलिक बाक्लै भए आमाछोरी नै एउटा कुनामा बसेर संयुक्त रूपमा आँसु वर्षा गर्थे अनि कुँढिएका मन धुन्थे ।

छोरो सधैँ अक्सानाको बडीगार्डजस्तो आफ्नी आमाकै वरिपरि भइराख्थ्यो । कहिलेकाहीँ तिनछक्क परेको अनुहार लिएर एक छिन बस्थ्यो । छोरी पूजा कोठाको ढोकाबाट र भान्साको ढोकाबाट धपाइएपछि आफूलाई ककसले धपाए भनेर गुनासो गर्थी । आमाले पूजाकोठा र भान्साकोठाबाट ‘जा, उता जा’ भनेका शब्दले उसलाई अझै पछ्याउन छोडेका छैनन् । यी शब्द छोरीका निम्ति चट्याङ झैँत्रास बनेर उपस्थित हुन्थे । यी शब्द उसको जिन्दगीका लागि बैरी भएर मनमस्तिष्कमा बसे । आजसम्म कुनै पनि इरेजरले मेटाउन सकेको छैन । मैले कहिल्यै नबुझेको देउता र धर्म भनिने चलनले मेरो तुलनामा छोरीलाई अगणित अनुभव दिएको छ । अहिले आएर छोरी भन्छे, ‘म अब त्यो समय नै नभएजस्तै गरी सहज छु ।’ यहीबीचमा म जागिरको खोजीमा थिएँ । मेरी ठूली भाउजु सुशीलाले रुद्र क्लिनिकमा डा. रत्नप्रसाद लोहनीसँग भेट गराइदिनुभयो । पहिलो दिन त्यहाँ मैले डा. कान्ति गिरीलाई पाठेघर निकाल्ने शल्यक्रियामा सहयोग गरँे । डा. गिरीले पाठेघरलाई योनिबाट अलग गर्दा प्वाट्ट आवाज आयो । मैले अब पाठेघर छुट्टिँदैछ भने । उहाँ अति खुशी हुनुभयो र भन्नुभयो, हा ! डा. भट्ट तपाईंलाई थाहा रहेछ ।

घर फर्किंदा मलाई डा. लोहनीले पचास रुपैयाँ दिनुभयो, दशका पाँचओटा नोट । त्यो बेला डाक्टरको तलब महिनाको ४५० रुपैयाँ हुन्थ्यो । म पर्नसम्म फुरुङ्ग परेँ । मलाई त एक डोको सुन पाएजत्तिकै हर्ष भयो । नेपालमा मेरो आफ्नो पहिलो कमाइ यही थियो ।

म त्यो दिन अलिक छिटो, झन्डै दगुरेको शैलीमा घर गएँ र त्यो पैसा अक्सानालाई बुझाएँ । बच्चाहरूलाई सामिषखाना खुवाउन निकै ढिलो भइसकेको थियो । अर्को दिन भाइहरूले त्यसबाट टिनका माछा किनेर ल्याइदिए । प्रत्येक पटक डा. लोहनी मलाई आठ रुपैयाँदेखि पचास रुपैयाँसम्म दिने गर्नुहुन्थ्यो । नेपालमा प्राइभेट प्राक्टिस र त्यसको तरिका मैले रुद्र क्लिनिकमै डा. रत्नप्रसाद लोहनीसँग सिकेँ । अनुभव बटुलेँ र केही कमाइको स्वाद पनि चाखेँ । उहाँप्रति म निकै आभारी छु ।

भाइहरू ध्रुव र कृष्णको सहयोग र हार्दिकता पाएर अक्साना बच्चाहरू हुर्काउनमा व्यस्त थिइन् । उनी बयस्क व्यक्तिलाई परम्परा तोड्न सजिलो हुन्न भन्ने कुरा राम्ररी बुझ्थिन् । म काममा व्यस्तहुँदै गएँ । आमा धेरैजसो पूजामा व्यस्त रहनुहुन्थ्यो । म सोभियती वृद्धा नारी र हाम्रो देशका वृद्धा नारीको तुलना गर्थें । मैले मेरी आमाको सकस देखेँ । डाक्टर भएर एघार वर्षपछि आएको छोराले विदेशी श्रीमती र ऊबाट जन्मेका छोराछोरी ल्याएको छ । आमालाई हामी सबैको स्वागत गर्ने इच्छा छ तर मन फराकिलो पार्न सक्नुभएको छैन । बरु आमाबाट नजानेरै पनि बुहारी र नातिनातिनाको अपवित्रीकरण भएको हुन्थ्यो । म त्यो अपमानबोध गर्थें ।

आमा परम्पराको नेलले बाँधिनुभएको थियो । छोराले हामीले भनेकै बुहारी ल्याउनुपर्छ, त्यसमा जातमात्र होइन, पूर्वीय, पश्चिमेली धर्म संस्कृती सबै ख्याल गर्नै पर्छ । हाम्रो समाजको नारा यही छ । आमा परम्पराको गाँठोमा साह्रै जोडले कसिनु भएकोमा दुःख लाग्थ्यो । तर प्यारी आमाको के दोष ?

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button