
हेमा मालिनी आँखैअगाडि तर हेरिरहन मन लागेन
प्रकाशप्रसाद उपाध्याय
सेवाकालको जीवनको प्रारम्भका वर्षहरू प्रायःउत्साहवद्र्धक, उल्लासमय र रोमाञ्चकारी हुन्छन् । यदि ती साहित्य, संगीत र कला क्षेत्रसित सम्बन्धित छन् भने त झन् कुरै छैन । सेवानिवृत्त भएको वर्षौं भइसके पनि ती वर्षहरूको सम्झनाले मनमा एउटा उत्साहको भाव सञ्चार गर्ने गर्दछ ।
मेरो सेवाकाल रेडियो–प्रसारण क्षेत्रबाट सुरु भएको हो । कार्यस्थल थियो– भारतीय राजधानी दिल्लीको अल इण्डिया रेडियो । जहाँ भारतभरिबाट निम्त्याइएका विभिन्न विधाका साहित्यकार, गायक–गायिका, कलाकाररूहरूको उपस्थिति हुने गर्दथ्यो । जसका पाठक, श्रोता वा दर्शकवर्गमध्ये म पनि एक हुन्थें । फिलिम क्षेत्रका अभिनेता–अभिनेत्रीहरू पनि कहिलेकाहिँ निम्त्याइन्थे अन्तर्वाता दिनको निम्ति । भारत यात्रामा आएका पाकिस्तानी एवम् बंग्लादेशी कलाकारहरू पनि बेला–बेलामा आएका हुन्थे । यी सबैलाई स्टुडियोको ऐनाबाहिरबाट देख्दा र उनीहरूका कुरा वा गीत सुन्दा रमाइलो लाग्दथ्यो । ती दिनहरूमा मैले विभिन्न प्रख्यात कलाकारहरूलाई नाउँबाट मात्रै चिनेको थिएँ– रेडियोबाट उनीहरूका गीत, गजल, शास्त्रीय संगीत आदि सुनेर वा ड्यूटी पर्दा तिनीहरूका गीत, गजल, भजनका रेकार्ड आदि बजाउने गर्दा । टेलिभिजनको प्रादुर्भाव भइसकेको थिएन । एल.पी. रेकर्डहरू आइसकेका थिएनन् । फलस्वरूप फिल्मी कलाकारहरूबाहेक तिनीहरूका अनुहारहरूबाट परिचित थिइनँ ।
प्रसारण भवनभित्र पस्न लाग्दा वा स्टुडियोबाट निस्कँदा प्रायः ती साहित्यकार वा कलाकारहरू देखिन्थे । कहिले सरकारी वाहनबाट ओर्लिरहेका हुन्थे त कहिले फर्किने क्रममा मोटरका लागि बरन्डामा कुरिरहेका । उनीहरूका व्यक्तित्व र उनीहरूसँग कुराकानी गर्दै उभिएका अधिकारीहरूलाई देख्दा उनीहरू ‘केही खास’ हुन् भन्ने बोध हुने गर्दथ्यो । सोधपूछ गर्दा थाहा पाइन्थ्यो– फलानो बिस्मिल्ला खाँ हुन् (प्रसिद्ध सहनाईवादक), त फलानो हेमन्त कुमार, फलानो मेहदी हसन, फलानो साबरी ब्रदर्श, फलानो साहित्यकार अज्ञेय, राजेन्द्र यादव आदि, आदि । फलानी गजल गायिका बेगम अख्तर त फलानी कर्नाटक संगीतकी प्रसिद्ध गायिका एम. एस. शुभलक्ष्मी । शुभलक्ष्मीको कण्ठबाट निस्कने हिन्दी भजन बडो कर्णप्रिय हुन्थ्यो । अहिले पनि सम्झना भइरहन्छ ।
समान रूपमा कहिले स्टुडियोभित्र प्रसिद्ध अभिनेता बलराज साहनी बसेका देखा पर्दथे । कहिले भारतीय क्रिकेट टीमका तत्कालिन कप्तान नवाब पटौदी त कहिले जावेद अख्तर, कहिले प्रसिद्ध पत्रकार खुसवन्त सिंह । ऐनाबाटै देखे पनि रमाइलो लाग्दथ्यो ।
एक दिन स्टुडियोको काम सकेर निस्किरहेको थिएँ । बाहिर बरण्डामा निकै चहलपहल देखियो । एकजनासित सोधेँ– के कुरा हो भाई ?
उनले भने, ‘हेमा आई है ।’
सोधेँ, ‘कहाँ हैं ?’
उनले स्टुडियो नम्बर बताउँदै भने, ‘त्यहाँ इन्टरभ्यू दिँदैछिन् ।’
म उनको फ्यान । उनका एक–दुईवटा फिलिमहरूले मेरो युवा मनमा प्रभाव जमाइसकेका थिए । हस्याङ्ग–फस्याङ्ग गर्दै पुगेँ । तर देखा परिनन् । अरू नै कोही बसेको अनुभव भयो । स्टुडियोसितै टाँस्सिएको ऐना भएको कक्षमा एक-दुईजना बसेका थिए । सायद सञ्चालकहरू थिए । सोधेँ, ‘के हेमाको इन्टरभ्यू सकिया हो ?’
ती व्यक्तिले ट्वाल्ल मेरो मुखतर्फ हेरे र भन्न थाले, ‘तिनै त हुन् हेमा, कस्तो नचिनेको ?’
म खिस्रिक्क परेँ । देखिनँ ती ठूलठूला गाजलु आँखा र भरिला गाला, जुन फिलिमहरूमा देखिएका थिए । साधारण धोती लगाएकी, बिना कुनै सिँगारपटारमा सामान्य भई कुरा गरिरहेकी उनीमा मैले त्यो छवि पाइनँ जुन फिलिममा मैले देखेको थिएँ । मेरो उत्साहमाथि तुषारापात हुँदा काम छाडेर त्यहाँ बसिरहन मन गरेन ।

यस किसिमको अनुभव एकपल्ट पहिले पनि भएको थियो । सिनेमाको पर्दामा चित्ताकर्षक देखिने एक अन्य अभिनेत्री पनि एक दिन मेरा आँखा सामुन्ने सामान्य महिलासरह नचिन्ने गरी उभिएकी थिइन् । नाउँ सोधेपछि मात्रै थाहा भयो । अनि अनुमान गरेँ, फिलिमको सुटिंगको निम्ति हुने मेकअप खास किसिमको हुँदो रहेछ र क्यामेराको प्रभाव । आफ्ना प्रशंसकहरूको भीडलाई छल्नको निम्ति विशेष मेकअप (श्रृँगार) बिना सामान्य पोशाकमा साधारण मानिसहरूसरह यसरी निस्कनु पनि यी अभिनेत्रीहरूका लागि वाध्यता हुँदो रहेछ ।
कति अभिनेत्रीहरू बजार जाँदा–आउँदा बुर्कामा हिँड्ने गर्दछन् भन्ने त सुनेको थिएँ । तर, यहाँ आँखा अगाडि सिँगारपटारबिना रहेका अभिनेत्रीहरू अन्य अपरिचित महिलाहरूसरह देखिनुबाट सिने–रिलभित्रको र रिलबाहिरको अन्तरको पनि यथार्थ बोध भएर आयो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)