खलील जिब्रान चुरोटको बट्टामा लेख्थे

सुशीला शर्मा

सन् १८८३ मा जन्मिएका खलिल जिब्रानको पूरा अरबी नाम जिब्रान खलिल जिब्रान थियो । यिनी एक लेबनानी अमेरिकी कलाकार, कवि तथा न्यूयोर्क पेन लिगका लेखक थिए । उनको आफ्नो चिन्तनका कारण त्यसबेलाका पादरी वर्गको होस उडेको थियो । उनी आधुनिक अरबी साहित्यमा जिब्रान खलील जिब्रानको नामले प्रसिद्ध छन् । जिब्रान आध्यात्मिकता र खुला हृदयले विश्व परिवर्तन गर्न चाहन्थे र जसलाई उनी आफ्नो कलामार्फत प्रस्तुत गर्दथे । अंग्रेजी, अरबी र फारसी भाषाका ज्ञाता खलील एक दार्शनिक कवि,लेखक तथा चित्रकार थिए ।

जिब्रान लेबनानको बथरी नगरमा एक सम्पन्न परिवारका जन्मिएका थिए । १२ वर्षको उमेरमा नै आफ्ना आमा बाबुको साथ लागेर बेल्जियम, फ्रान्स, अमेरिका आदि देशको भ्रमण गरेका जिब्रान सन् १९१२ देखि अमेरिकाको न्यूयोर्कमा स्थायी रुपले बसोबास गर्न थाले । बोस्टन नगरमा दुई वर्षजति विद्यालय शिक्षा प्राप्त गरेपछि पुःन लेबनानको मदरस्तुल हिकमत नाम गरेको विद्यालयमा पढ्न गए । लेबनान तथा सिरियाका ऐतिहासिक स्थलहरुको भ्रमण गर्दै सन् १९०२ मा परिवार भएको स्थानमा फर्किए ।

जिब्रान आफ्नो परिवारलाई औधी माया गर्दथे । उनले सन् १९०२ मा आफ्नी बहिनी, १९०३ मा भाई तथा त्यसको लगतै तीन महिनापछि आफ्नी आमालाई पनि गुमाए । जसको कारण उनी शोकाकुल भए । खलील जिब्रानलाई चित्रकलामा विशेष रुची थियो । सन् १९०८ मा उनले पेरिसको फाईनआर्ट एकेडेमीबाट मूर्तिकलाको शिक्षा प्राप्त गरे । पेरिसबाट फर्केपछि उनी न्यूयोर्कमा बस्न थाले । तर प्रत्येक वर्ष उनी परिवारसंग बोस्टनमा गएर समय व्यतित गर्दथे ।

खलील जिब्रानको जीवनमा आईपरेका पीडाका छापहरु उनका कृतिहरुमा पनि पोखिएका हुन्थे जसमा प्राकृतिक र सामाजिक वातावरणलाई पनि चित्रण गरिएको हुन्थ्यो । खलीलका विचारहरु सुक्ति तथा कहावतको रुपमा प्रस्फुटित हुने गर्दथ्यो । उनी ससाना कागजका टुक्रा, चुरोटको बट्टा, फाटेका गाता तथा खाममा लेखेर राख्थे । उनकी सेक्रेटरी बारबरा यङ्गले ती सबलाई एकिकृत गरेर प्रकासित गरेकी थिइन् । उनी कुनै पनि कुरा भन्नुपूर्व एक वा दुई वाक्य सुक्तीको रुपमा प्रस्तुत गर्दथे ।

जिब्रानमा अदभूत कल्पना शक्ति थियो । उनका रचना २२ भन्दा बढी भाषामा प्रकाशित भएका छन् । उनका चित्र प्रदर्शनी पनि थुप्रै देशमा भएको थियो । उनी ईशाको अनुयायी भएर पनि पादरी तथा अन्धविश्वासको कट्टर विरोधी थिए । देशबाट निष्काशन भए पनि देशभक्तिको विषयमा उनले लेखिरहे ।

जिब्रान भन्ने गर्दथे कि जुन विचारलाई मैले सुक्तीमा बन्द गरेको छु, मैले आफ्नो कार्यले त्यसलाई स्वतन्त्र गर्नुछ । सन् १९२६ मा उनको कहावत (दार्शनिक भनाई)सम्बन्धी पुस्तिका प्रकाशित भयो । यी पुस्तिकाका भनाईहरुमा गहिराई, विशालता तथा समयहिनता जस्ता विषयमा गम्भिर चिन्तन देखिन्थ्यो ।
द प्रोफेट, द म्याड म्यान, ब्रोकन विङ्गस, सेन्ड एण्ड फोम जस्ता कृतिहरु जिब्रानका प्रसिद्ध कृति हुन् । उनका द प्रोफेट, ब्रोकन विङ्गस, द थ्री एन्ट्स जस्ता कृतिमा फिल्म पनि बनेका छन् । “ब्रोकन विङ्गस” खलील जिब्रानको मेरी एलिजाबेथ हस्केलसँगको असफल प्रेमलाई आधार मानेर लेखिएको फिक्सनमा आधारित सिनेमाको रुपमा लिईन्छ । “ब्रोकन विङ्गस”मा त्यतिबेलाको सामाजिक परिवेश, महिलाका अवस्था, खुसी तथा माया प्रेमलाई धनदौलतसँग तौलने प्रवृतिको बारेमा उजागर गरिएको छ । ४८ बर्षको उमेरमा न्यूयोर्कमा कार दुर्घटनामा परेर खलील जिब्रानको मृत्यु भयो ।

खलील जिब्रानका केही सर्वोत्कृष्ट सुक्तीहरु यस प्रकार छन्ः

केही सुखको चाहना नै मेरा दुःखका अंश हुन् ।

दानशिलता यो होईन कि तिमी मलाई त्यो चिज देऊ, जसको आवश्यकता तिमीलाई भन्दा मलाई बढी छ , तिमी मलाई त्यो चिज देऊ जसको आवश्यकता तिमीलाई बढी छ ।

सत्य जान्नुपर्छ तर भन्नु कहिलेकाँहि मात्रै पर्दछ ।

यदि तिमी आफूभित्र केही लेख्ने प्रेरणाको अनुभव गर्दै छौ भने तिमीभित्र यी कुराहरु हुनुपर्नेछ– ज्ञान र कलाको जादू, संगीतको ज्ञान तथा श्रोताको माया बटुल्ने खुबी ।

तिम्रो हात रुपैंयाले भरिएको छ भने प्रार्थनाको लागि त्यो कसरी उठ्छ ?

धेरै युवतीहरु पुरुषको मन चोर्दछन् तर विरलै युवती ती पुरुषलाई आफ्नो वशमा राख्न सक्दछन् ।

जो पुरुष स्त्रीको साना साना गल्तीको क्षमा गर्न सक्दैनन् उनीहरुस्त्रीका महान गुणका सुख भोग्न सक्दैनन् ।

वास्तवमा असल त्यो हो जो खराब सम्झिइनेहरुसँग मिलेर बस्न सक्दछन् ।

ईच्छा आधा जीवन हो भने उदासिनता आधा मृत्यु ।

संसारमा केवल दुई तत्व छन् । एक सौन्दर्य र अर्को सत्य । सौन्दर्य प्रेम गर्नेहरुको मनमा र सत्य किसानका पाखुरीमा ।

नुनमा एक विलक्षण पवित्रता छ । त्यसैले यो हाम्रो आँशुमा पनि छ र समुन्द्रमा पनि ।

यति सूचनाले मात्र होइन, अब खलील जिब्रानका कथा तथा लेखनहरु जान्नको लागि उनका कृतिहरु खोजेर पढ्नुपर्ने हुन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button