
‘क्योँकि मैं लडकी हुँ मुझे पढना है’
प्रीति आत्रेय ज्ञवाली
कुनै कुनै मानिसहरू प्रत्यक्ष नभेटिकनै र नबोलिकनै पनि कति राम्रा लाग्छन् । तिनका विचार मनपर्छन् । कसैको भावना, दृढ आत्मविश्वास र सशक्त तार्किक विचार यति मनपर्छ कि नचिने पनि अप्रत्यक्षरूपमा राम्रा लाग्छन् । तिनैमध्ये नचिनेको र नभेटेको तर प्रविधिमार्फत चिनेकी एउटी महिलावादी नारी हुन् कमला भसिन ।
क्यान्सर रोगका कारण शुक्रवार राति ३ बजे उनको निधन भएको कुरा मैले ट्वीटरमा उनकै सहकर्मी साथीले गरेको पोस्टबाट थाहा पाएँ । उनका विचार र कुराले मलाई कता कता छोएको भएर नै होला उनको मृत्युको खबरले मलाई कता कता दुखेको जस्तो भयो । उनी भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै प्रसिद्ध थिइन् । विभिन्न कार्यक्रममा सिलसिलामा नेपालमा पनि आउने जाने गर्दथिन् । नेपालका विभिन्न नारीवादी महिला व्यक्तित्वहरूसित उनको राम्रो मित्रता एवं चिनचान रहेको थियो । उनी आफैले खोलेको संस्था ‘संगत’सँग आबद्ध थिइन् ।
मैले उनलाई पहिलोपल्ट भारतीय टेलिभिजनको स्टार प्लस च्यानलबाट प्रसारित हुने कार्यक्रम ‘सत्यमेव जयते’मा कार्यक्रमका सञ्चालक एवं चलचित्र अभिनेता अमीर खानसित कार्यक्रममा भएको सम्वादबाट चिनेकी हुँ । त्यतिबेला उनले दिएको अन्तर्वार्ता निकै सशक्तखालको थियो ।
‘पितृसत्तात्मक व्यवहारले गर्दा नै महिलाहरू पिछडिएका छन् । अगाडि आउन सकेका छैनन् । त्यसो भन्दैमा मातृसत्तात्मक व्यवहार हुनुपर्छ भनेको पनि होइन । त्यसो भो भनेको त कुरा फेरि उस्तै हुन्छ । न पितृसत्तात्मक न मातृसत्तात्मक केवल बराबरी व्यवहार गरिनुपर्छ भनेको मात्र हो ।’
उपर्युक्त कुराको मिडियामा निकै चर्चा भएको थियो ।
उनले एक अन्तर्वार्तामा ‘महिलालाई फेयर एण्ड लभ्ली लगाएर गोरी बत्रुपर्छ भनेर टिभीमा देखाइन्छ । के गोरी हुँदैमा मात्र महिलाको क्षमता देखिने हो र ! छाला गोरो हैन व्यवहार पो गोरो हुनुपर्छ भनेर सिकाउनुपर्यो …’ जस्ता कुरा पनि भनेकी छन् । यसैगरी उनले नारीलाई श्रृृङ्गार गरेर चिटिक्क बनेर बस्न सिकाइने र घरै बस्न लगाउने परम्परा पहिलेदेखि नै चलेको हो जसबाट अझै पनि कति नारीहरू उन्मुक्त हुन सकेका छैनन् । सिङ्गारपटार र नक्कल झक्कलबाट बाहिर पनि नारीको संसार छ । उनीहरूले आफ्नो जीवन जिउनुपर्छ । स्वतन्त्र भएर बाँच्नुपर्छ । नारीलाई समान अधिकार दिनुपर्छ भनेर नारीप्रतिको अधिकारको वकालत गर्दै महिलावादी नारीको रूपमा प्रस्तुत भएकी थिइन् ।
उनी सामाजिक रूपले नारी अभियन्ता हुनुका साथसाथै एक लेखक र कवि पनि हुन् । उनका लेखेका बहुप्रचलित कविताहरूमध्ये ‘क्योँकि मैँ लडकी हुँ मुझे पढना है’ र ‘उमडती लडकियाँ’ निकै प्रसिद्ध छन् ।
पढनेकी मुझे मनाही है सो पढना है
मुझ में भी तरुणाई है सो पढना है
सपनों ने ली अँगडाई है सो पढना है
कुछ करने की मन में आई है सो पढना है
क्योँकि मैं लडकी हुँ मुझे पढना है ।
उपर्युक्त कविताको अंश उनकै बहुचर्चित एवं प्रसिद्ध कविता ‘क्योँकि मैं लडकी हुँ मुझे पढना है’बाट लिइएको हो ।
पढेलेखेको परिवारमा जन्मिएकी उनी आफु पनि पढेलेखेकी नै थिइन् । उनले पढाइमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी थिइन् । उनले जर्मनबाट पनि समाजशास्त्रको अध्ययन गरिन् । उनको जीवनमा पनि केही उतारचढाव आए तापनि उनले सबैसित जुद्धै अगाडि बढ्दै गइन् । उनको दाम्पत्य जीवन लामो समयसम्म सुखपूर्वक चल्न नसक्दा उनी श्रीमान्सित अलग्गै भएर बसिन् । उनले आफ्ना दुइ सन्तानमध्ये वयस्क भैसकेकी छोरीलाई अचानक गुमाउनुपर्यो भने बच्चाबेलामा दिइने खोपको सुई लगाउँदा भएको प्रतिकूल प्रभावका कारण उनका छोरा विकलाङ्ग बन्न पुगे ।
एकपटक मैले फेसबुकमा भसिनले लेखेको एउटा पोस्ट पढें जसमा केही कुरा लेखेर एउटा भिडियो शेयर गरिएको थियो । त्यस भिडियोमा नासिर खान नामक व्यक्तिले ‘तुम्हेँ भी बनाया है खुदको मिटाके’ नामक नारीप्रति विशेषगरी आमा र पत्नीप्रति समर्पित कविताको स्वराङ्कित भिडियो थियो जसमा कविले नारीको महत्ता प्रदर्शित गरेका थिए । उनले ‘कवितामार्फत नारीको अदृश्य रूप, नचिनिएकी, नबुझिएकी प्रशंसा नगरिएकी नारीलाई सुन्दर प्रस्तुतिमार्फत कविता भन्दै दर्शाएको मलाई अति नै मनपर्यो’ भन्दै त्यसै कुरालाई कमला भसिनले, एउटा स्ट्याटसमा, ‘कवि नासिर खानलाई मैले व्यक्तिगत रूपमा नचिने पनि म उनलाई सलाम गर्छु । जब हामी अर्काका पीडा अनुभव गर्छौँ, हामी मानव हुन्छौँ’ जस्ता कुराहरू उद्धृत गर्दै …मैले पत्नी भएर गर्नुपर्ने अवसर गुमाउनुपरे पनि मलाई र मेरो छोरालाई ख्याल गर्ने सबैलाई यो कविता समर्पण गर्न चाहन्छु जस्ता कुराहरूलाई अंग्रेजीमा लेखेर भनाइसहितको त्यो कवितात्मक भिडियो सन् २०२० नोभेम्बर महिनाको २५ तारिखमा शेयर गरेकी थिइन् । त्यस कविताका र उनले अपरिचित कविप्रति दर्शाएको भावात्मक शब्दहरू राम्रा लागेर मैले पनि उनको त्यो स्ट्याटससहितको भिडियोमा आफ्नो स्ट्याटसहित पोस्ट गरेकी थिएँ ।

उनलाई मैले हरेक कार्यक्रममा सादा पहिरन र हँसिलो मुहारमा नै देखेँ । उनी चिन्तित हुने भनेको केवल महिलाको हक, हित र महिलावादी, महिलामुखी, महिला सशक्तिकरणका कुरालाई लिएर मात्र थियो । महिलाको उत्थानको निम्ति समर्पित रहन उनले यु.एन.को जागिर छोडेर संगत नामक संस्था खोलेकी थिइन् । सदैव नारीजातिको हितका लागि समर्पित रहिन् । उनको त्यो त्याग, समर्पण केवल भारत मात्र नभएर सबै नारी जातिको लागि नै थियो जसको लागि उनी प्रतिबद्ध भएर लागिपरेकी थिइन् । भारत, नेपाल लगायत सबै दक्षिण एसियाली मुलुकमा उनी नारी अभियन्ताका रूपमा परिचत थिइन् । उनको देहावसानले भारत, नेपाल लगायत उनलाई चित्रे सबै मुलुकका व्यक्तिहरू उत्तिकै भावविह्वल बनेका छन् । उनी नेपाललाई माया गर्थिन् । नेपाल आउँदा आफ्ना विचार र भावनाहरूलाई पनि बाँड्ने गर्दथिन् । अब उनी सम्झना मात्र बनेकी छन् । तर उनका काम र विचारहरूका माध्यमबाट उनी सदैव जीवित रहनेछिन् ।
उनको इच्छानुसार कुनै पनि नारीजातिलाई दबिएर बस्नु नपरोस् । सबै नारीहरू आफ्नो शिर ठाडो पारेर हिँड्न सकून् । सबै महिलावर्गलाई समान अवसर मिलोस् । कुनै पनि नारीलाई दुःख भोग्नु नपरोस् । सबैले आआफ्नो अनुकूल जीवन जिउन पाऊन् । साथै सबैले सबै नारीलाई सम्मानको नजरले हेर्नसके भसिनको त्यो त्याग र समर्पणले पूर्णता पाउनुका साथै उनको आत्मालाई पनि शान्ति मिल्नेछ । उनीप्रति सच्चा श्रद्धाञ्जलि ठहरिनेछ ।
कहिल्यै प्रत्यक्षरूपले भेटेर बोलेर कुराकानी नभए पनि कसरी कसरी उनको व्यक्तित्वप्रति तानिएकी मैले आज उनको सम्झनामा यिनै शब्दहरूमार्फत उनलाई श्रद्धाको फूल चढाएँ । धेरै धेरै सम्झना छ कमला भसिन ।
(विविध समसामयिक विषयमा कलम चलाउने कवि एवं गीतकारसमेत रहेकी फलित ज्योतिषाचार्य प्रीति राशि स्तम्भकार पनि हुन् ।)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)