
कमला भन्थिन्, ‘महिलावाद कहिल्यै पुरुषविरुद्ध होइन’
श्रद्धाभाव आदरणीय कमला भासिनप्रति !
सुशीला शर्मा
‘महिलावाद मेरा लागि कहिल्यै पुरुषविरुद्ध होइन । यो पितृसत्ताको विरोध हो ।’
कमला भासिन उनको नारीवादी अभियानबाट मात्रै परिचित थिईनन्, उनका शक्तिशाली गीत, कविता, बक्तव्यहरु पनि उत्तिकै प्रेरणादायी छन् ।
‘हामीलाई पितृसत्ताविरुद्ध मातृसत्ता होइन, हामीलाई चाहिएको मात्र समानता हो । जहाँ छोराहरु पनि र छोरीहरु पनि फलुन फुलुन् ।’
‘चेतनाको आगो, ईच्छाशक्तिको आगो, हिम्मतको आगो, हौसलाको आगो अनि मेहनतभित्रको आगो भनेको आफूले आफूलाई जान्नु । यो नसोच्नु कि कसले के भन्छ भनेर । आफूभित्रको आगोले झुठको अगाडि साँचोलाई मान्दछ । हामीभित्रको आगोले सारा विश्व नै मेरो देश हो भन्ने सिकाउँछ । भित्रको आगो एक ईञ्जिन हो र इन्धन पनि हो । कसैको भित्रको आगो कसैको लागि सिर्फ पैसा कमाउनु हुन्छ र स्वार्थी र लालची बनाउँछ । असमानताको विरुद्ध समानतातर्फ जान र अन्यायको विरुद्ध न्यायको पक्षमा जान हामीभित्रको आगोले भूमिका खेल्दछ ।
‘हावासरी उड्न चाहन्छन छोरीहरु
उनीहरु बिना हिच्किचाहट हिड्न चाहन्छन्
उनीहरुलाई स्वीकार्य छैन बिनाकारण रोकिन् ।’
सामाजिक सञ्जालका भित्ताहरु कमला भासिनप्रति चढाईएका श्रद्धाञ्जलीले भरिएका छन् । उमेरले ७५ वर्ष भएकी तर आत्मविश्वास, जाँगर र क्षमताले उर्वर र महिलाको मानवता, समानता र न्यायको पक्षमा निरन्तर खटिरहेकी योद्धा थिईन कमला भासिन । उनी भारत मात्र नभएर समग्र दक्षिण एशियाकै महिला मुद्धाका लागि लड्ने जोदाहा महिला हुन् । पितृसत्ता र पूँजीवादी व्यवस्थाले कसरी महिला लगायत सिमान्तीकृत जनसमुदायलाई थिचेर राखेको भन्ने कुरालाई लिएर कमला भासिन दृष्टान्तसहित प्रस्तुत हुन्थिन् ।
कमला भासिनकी किशोरावस्थादेखिकी परिचित र घनिष्ठ साथी आभा भैयाले (जगोरी ग्रामीणकी संस्थापक, प्रशिक्षक) आफ्ना संस्मरण प्रस्तुत गरेकी छन् । ‘म १५ वर्ष र कमला १६ वर्ष हुँदादेखि जयपुरको महारानी कलेजमा हामी परिचित भयौं । यो ६० वर्ष लामो यात्रा हो । कमला जस्ती महिलाको पुनरसंरचना हुन सक्दैन् । हामी दुबै मिलेर सन् १९८४ मा संगत नेटवर्क स्थापना गर्यौ । हिमाञ्चल प्रदेशमा जगोरी ग्रामीण तालिम संस्थाको स्थापना गरेपछि कमलाले आफ्नो लिगेसी सहित पुस्तक, कविता, गीत, जोक्स, मनोरञ्जन, हाँसोमार्फत सचेतनामा निरन्तरता दिईरहेकी थिईन । उनी जहाँ जान्थिन त्यहाँ स्वतस्फूर्त उज्यालोपन छाउँथ्यो । उनी प्रत्येक वर्ष आफ्नो छोरासंगै जगोरी ग्रामीणमा आउँथिन् । यस जगोरी ग्रामीणमा आमिर खानले आफ्नो कमला भासिनसितको अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरेका थिए । ३९ जना सहभागीहरुबीच सञ्चालन गरिएको कार्यक्रममा कमला भासिनको गीत पनि गाईएको थियो । मेरो फेमिनिष्ट कमरेडलाई सलाम छ । जिन्दावाद साथी ।’

म आफू पनि सन् २०१९ को जून, जूलाईमा नेपालका विभिन्न संस्थाहरुसंग आवद्ध साथीहरुसंगै फेमिनिज्म तालिमको लागि भनेर हिमाञ्चल प्रदेश अवस्थित काँगडा रक्कड भन्ने गाउँमा अवस्थित जगोरी ग्रामीण तालिम केन्द्रमा पुगेको थिए । पहिलो पटक त्यही हो कमला भासिनलाई प्रत्यक्ष देखेको । टेलिभिजनमा र पत्रपत्रिकामा अन्तरवार्ताहरु सुनिरहेको अनि समाजशास्त्रको पुस्तकमा पनि उनको नाम उल्लेख गरेको पढिएकोले यसरी सबैको पहिचान पाउन सफल व्यक्तित्वलाई प्रत्यक्ष भेट्न पाउनु गौरवकै कुरा लाग्यो । अनि तालिमको प्रशिक्षक पनि उहाँ र उहाँकै साथीहरुको टिमले हाम्रा १४ दिने तालिमलाई एकदम महत्वपूर्ण बनाएको थियो । मलाई व्यक्तिगत रुपमा कमला भासिनको फेमिनिज्म तालिमपछि आफू महिला लगायत लैङ्गिक अल्पसंख्यक लगायत अन्य सिमान्तिकृत समुदायप्रतिको दृष्टिकोणमा नै बदलाव आएको महसुस भएको थियो । हुन त हामी महिला हिंसाविरुद्ध, बाल अधिकारको पक्षमा काम गर्ने संस्थामा नै आवद्ध थियौ र सचेतनाका कार्यक्रममा सहभागी पनि भईरहेका थियौं । यही तालिमले नै कसरी महिलाहरु शताब्दीयौदेखि पुरुषवादी सत्ता र संरचनामा जेलिदै झेलिदै आएका छन, धर्म संस्कृतिहरुले कसरी महिलालाई विभेद गरेको छ, पूँजीवादमा महिलाहरु कसरी फसेका या फसाईएका छन भन्ने कुराको जरो बुझ्न कमला भासिनको तालिमले धेरै नै मद्धत गरेको छ । उक्त तालिमबाट फर्केपछि मैले आफ्नो महिला सम्बन्धित लेखहरुमा कतै न कतै उनका दृष्टान्तहरुलाई सम्झने या जोड्ने गरेको छु । कमला भासिनको प्रष्ट भाषाशैली र शरीर स्वस्थ राख्न नियमित उनले अप्नाउने योगाभ्यासहरु, खानपानमा सतर्कता पनि हामीले सिक्नुपर्ने कुराहरु नै थिए । तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई योगा तथा शारीरिक अभ्यास गराउने काम पनि कमला भासिनले गरेकी थिईन् ।

तालिम पश्चात पनि वन विलियन राईजिङ्ग कार्यक्रममा कमला भासिनलाई मञ्चमा सार्क राष्ट्रका महिलाहरुलाई हौसला दिदै गाउँदै नाच्दै गरेको देखिएको थियो । उनको ‘आजादी’ नारा चर्चित र युवाहरुलाई झकझक्याउने खालको छ ।
सन् २००२ मा स्थापित नारीवादीहरुको सञ्जाल संगतको स्थापना गरेपछि यो सञ्जालले भारतको ग्रामीण गरीब तथा आदिवासी महिला समुदायमा काम गरिरहेको छ । विशेषत ः नाटक, कला, गीतको माध्यमबाट सचेतना अभियान जारी नै छ । संगतको विस्तारित रुप नेपालमा पनि सञ्चालित छ र संगत नेपालको नामले विभिन्न कार्यक्रम पनि गर्दै आईरहेको छ । सन् १९७० देखि नै महिला आन्दोलनमा सक्रिय र अग्रणी भूमिका खेल्दै आईरहेकी कमला भासिनको भारत तथा दक्षिण एशियामै प्रभावशाली भूमिका रहेको छ । लैङ्गिक सिद्धान्तमा आधारित भएर लेखिएका उनका थुप्रै पुस्तकहरु जुन ३० वटा भन्दा बढी भाषामा अनुदित भएका छन् । उनका कृति र जुझारुपन अनि मार्गनिर्देशन महिला सवालका लागि उत्प्रेरणा र मार्गनिर्देशक हुनेछन् ।
अलविदा आदरणीय कमला भासिन !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)