एकथरी ‘विस्तारवादी’, अर्काथरी ‘विस्तरावादी’

ससाङ लामा
न्युयोर्क

राजनीतिक चेत आएदेखि नै ‘भारतिय विस्तारवादी’ शब्द सुन्दै आएको छु । अहिलेदेखि हो र ? सुर्यबहादुर थापा भारतपरस्त, कृतिनिधी बिष्ट चीनपरस्त भन्थे । पञ्चायतकालमा पनि भारतको गुलामी बेस्मारी हुन्थ्यो । कसैले सुइँको पाउँदैनथ्यो । भित्रभित्रै साट्टसुट्ट मिलाइहाल्थे । त्यसबेला समाजै अपारदर्शी थियो । विगतमा हुकुमी शासनमा नेता भै टोपलेकाहरु हिजोआज ‘भारतले यसो गर्न पाउँदैन र उसो गर्न पाउँदैन’ भनेर पानीमाथि ओभानो बन्न पो खोज्छ त । अर्को देशको आन्तरिक माम्लोमा हस्तक्षेप गर्नु हुँदैन र पाइँदैन भनेर जोसुकैलाई पनि थाहा छ नि । अब हस्तक्षेप गरेर ल्याइसकेपछि त्यसलाई सुझबुझ तरिकाले नसल्ट्याइ पाखुरी सुर्केर, छातीमा मुडकी बजारेर, चिच्याएर, जनतालाई सडकमा उफारेर समस्याको समाधान हुँदैन भन्ने कुरो त विगत ७० बर्षको ईतिहासले प्रमाणित गरिसक्यो ।

हाम्रा बाबुहरुले भारतको ब्यवहारप्रति चित्त दुःखाए । हामीले त के मात्र गरेनौ, ‘भारतीय विस्तारबाद मुर्दावाद’लगायत अनेक नारा लगायौँ । भारतीय राजदुतावास घेर्यौँ । भारतको हेपाह प्रवृतिप्रति अनेकानेक रोष प्रकट गर्यौँ । हामी सडकमा मरुन्जेल ‘भारतिय विस्तारवाद’ भनेर चिच्याउने, अनि हाम्रा नेताहरु तिनै विस्तारवादीको पाउमा लम्पसार परेर विस्तरावादी भएपछि विस्तारवाद कसरी हटछ र ? नेपाली नेताहरुले अब जनताको सेन्टिमेन्टसँग खेलबाड गर्ने काम बन्द गरोस् । खुबै राष्ट्रवादी भै सडकमा भारतबिरुद्व तथानाम भन्ने, अनि जब प्रम बन्न अवसर मिल्दैछ भने भारतीय प्रभुको पाउमा लम्पसार परेर विस्तरावादी भएर यसरी बिन्ती बिसाउँछन्, ‘प्रभु ! रिसानी माफ होला, अस्ति चाहिने नचाहिने बोलिएछ, आयन्दा बोल्ने छुइन ।’ नेपालका राजनीतिज्ञहरुको यस्तो डबल स्ट्याण्डर्डले नेपाल र भारतमा दुःखजिलो गरिखाने लाखौंँ नेपालीले पटक पटक दुःख पाएका छन् ।

भारत, नेपालीहरुको लागि खाए खा, नखाए घिच हो भनेर सयौँचोटि भनिसकेको छु । साथी फेर्न सकिन्छ, तर छिमेकी (देश) फेर्न मिल्दैन । भारत दक्षिण एशियामा सुपरपावर भएर देखापरेको छ । कुनै पनि हिसाबले उसँग टक्कर लिन हामी सक्दैनौ । त्यसको मतलब लम्पसार नै पर्नुपर्छ भनेको होइन । तर आकाशतिर थुक्यो भने थुकको छिटा आफ्नै मुखमा पर्छ । ठुला देशले साना देशलाई हिंग हाल्ने चलन संसारकै रित जस्तो भैसक्यो । नेपाल मात्र अपवादमा पर्दैन । तसर्थ उसका चाँसोहरुलाई अत्यन्तै सुझबुझका साथ कुटनितिक हिसाबले सल्ट्याउने कोशिस गर्नुपर्दछ ।

नेपाली जनतामा भारतविरोधी मानसिकता एकातिर रोप्ने र अर्कोतर्फ भारतको गुलामी गरेर पञ्चेहरुले लामो समयसम्म आफ्नो शासन सत्ता लम्ब्याउन सफल भएका थिए । तर्साउने र तलुवा चाट्ने पञ्चेशैलीलाइ गणतान्त्रेहरुले समेत अझैसम्म पछ्याइरहेको देख्दा उदेकै लाग्छ्र । हुकुमी शासनबाट गणतन्त्रमा हाम्फालिसकेपछि देशिय निती र विदेशी नितिमा पनि ब्यापक परिवर्तन आउनु पर्दछ । भारतसितको नितिमा लचकता हामीले अपनाउने हो, उसँग त बलको तुजुक छ । भारत बेसोमतीको हदैमा उत्र्यो भने उसको हेपाहपनलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ । योचाँहीँ अन्तिम अस्त्र हो ।

मलाई सम्झना छ, सोभियत संघमा अध्ययन गर्दाताकाको कुरो हो । सोभियत संघ र भारतबिच दौत्य सम्बन्ध गहिरिँदै थियो । सोभियत टेलिभिजनहरुमा भारतका मनमोहक दृष्य र भारतबासीहरुका मिलनसरिताबारे ब्यापक प्रचार प्रसार गरेर सोभियत जनतालाई नै त्यस गहिरिएको सम्बन्धप्रति चासो दिलाउन तयारी गरिन्थ्यो । सरकार मात्र घनिष्ठ नभै जनता पनि घनिष्ठ होउन् भन्ने अभिप्रायले त्यसो गरिएको होला । विश्वबिधालयका सभाहलहरुमा, भारतसित सम्बन्धित मेला, भेला, सम्मेलन र बिचरागोष्ठिहरुमा हिन्दी रुसी भाई भाई को नारा खुबै घन्किएको हुथ्यो । मलाई त मन परेको थियो, त्यो शैली । मेरा रुसी सह्पाठीले ब्यङ्गात्मक पाराले भनेका थिए, देखिस, कुन देशलाई मन पराउनु भन्ने कुरो हाम्रो सरकारले हामीलाई सिकाउँछ ।

नेपालकै सन्दर्भमा हामी यस्तो गर्न किन सक्दैनौँ ? बिहार र उतर प्रदेश मात्र त भारत होइन नि । मनोरम ठाउँहरु प्रशस्त छन् भारतमा पनि । पर्यटन मन्त्रालयले प्याकेज टुरको ब्यवस्था मिलाए हुन्छ है । बलिउडका कलाकारहरुलाई झिकाएर नेपाली जनतालाई मनोरन्जन गराउने अर्को उपाय हो । जनता राम्ररी घुलमिल हुनुपर्‍यो । दुई देशको नेताले हात मिलाएको कागजे मित्रताभन्दा जनता नै घनिष्ठ हुनु दुवै देशको लागि दिर्घकालिन रुपमा फाईदाजनक हुनजान्छ ।

भारतीय मुलका नेपाली नागरिक मधेशीहरुका बारेमा भारतले चासो राख्नु स्वभाविकै हो । ती मधेशिको उतरोतर विकासको लागि संविधानमा उचित सम्बोधन गरिँदा समस्याको दिर्घकालिन समाधान हुन्छ भन्नुलाई हस्तक्षेपको रुपमा नलिएर चासोको रुपमा लिएकै बेस होला । भारतीय शासकहरुको अनेक चाहना होला, नेपाललाई भुटानजस्तै बनाउने, सिक्किमिकरण गर्ने, मधेशलाई गाभ्ने, नेपालै खाने । तर चाहेर मात्र पनि भएन, हाम्रो भौगोलिक बनावटले गर्दा त्यसो गर्न सक्दै सक्दैन ।

जबसम्म सरकारी अवधारणा आउँदैन, तबसम्म बाइफाले पत्रिकाको हवाला दिएर उत्तेजित प्रतिकृया दिनु ठिक होला र ? त्यसमाथि पनि हाम्रा भिजनहीन नेतोहरुले भारतका बारेमा अत्यन्तै गैरजिम्मेदार अभिव्यक्तिहरु फलाक्छन् । नेपाल र भारतका सिमास्थलमा दिनहुँ वारपार गरेर बनिबुतो गरेर खाने लाखौंँ नेपालीहरुले दुःख पाउँछन्, नेताका त्यस्ता गैरजिम्मेवार कुरा गराइले । एकातिर नेपाली नेताहरु भारतलाई विस्तारबादी भन्छन् भने अर्कोतर्फ भारतीय प्रभुहरुकै पाउमा लम्पसार परेर आफु विस्तरावादी बन्छन् । यो डबल स्ट्यान्डर्डले गर्दा नेपालले दुःख पाइआएको छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button