खाडीको नेपाली गोठालो

जीवन भुजेल

रातिको ३ बजेको छ । सदा झैं आज पनि म सबेरै उठेको छु । गर्मी त खास्सै घटेको छैन । मुख धुनुभन्दा पनि अन्तिम पटक कहिले धोएँ ? बिर्सिसकेँ । ३० फिटभन्दा तल रहेको पानीलाई डोरी र बाल्टीको साहाराले माथि तानेँ । पानी ७० डिग्री तातो । जसोतसो मुख धोएको जस्तो गरेँ । धोएको जस्तो भन्दा पनि भिजेको कपडाले पुछे जस्तो गरेँ ।

नेपालबाट आएदेखि घरमा कुरा नभएको एक वर्ष भयो जस्तो लाग्छ । कुरा पनि कसरी हुन्छ बालुवै बालुवाको बीचमा काँडेतारको बारले बारेको बीभागमा मेरो खेमा छ। अरबी भाषामा सिमित समयको लागि त्रिपालले बनाएको घरलाइ खेमा भन्दा रहेछन् । । मेरो कार्यथलोमा ७० वटा उठ १ सय भेंडाहरु छन् । मेरा ईष्टमित्र, साथीभाई, छिमेकी अनि दुख सुखका सहयोगी जे भने पनि यिनै भेंडा अनि ऊँटहरु हुन् । चतुरे, काली, माली प्राय सबै उठको नामाकरण मैले गरेको छु । ऊँटहरुमा मलाई माली सबै भन्दा मन पर्ने ऊँट हो ।

गाउँमा माली मेरो सबभन्दा मन पर्ने गाइ थिई । मलाई गाइको दुध साह्रै मन पर्छ । म सानो छँदा आमाको दुध कमि हुँदा मालीकै दुध खाएर हुर्केको थिएँ । मालीले मेरो कपाल चाटेर मिलाइदिने गर्थी । वनमा चराउन जाँदा कहिले नहराउने, जहिले भनेको मान्ने, कसैको बालीमा नजाने, कहिले अन्य वस्तुहरूसंग झगडा नगर्ने । सोजो रुखलाई छानी छानी काट्छन् भने झै पछि गोठबाटै बाघले लगेको थियो मालीलाई । मालीले मलाई माया ममता सबै दिएकी थिई । त्यो घटनाले सारा परिवारलाई नै दुखी बनाएको थियो ।

भेंडाहरुमा मलाई चतुरे सबैभन्दा मन पर्ने भेंडा हो । चतुरे भेंडाको भिडमा भिन्न स्वभावको छ । यो भेंडाहरुको नाइके हो । सबै भेंडाहरु चतुरेको पछाडि पछाडि हिड्छन् । चतुरेले कहिले बिगार काम गरेको छैन । मलाई कहिलेकाँही बिसन्चो हुँदा मेरो सामुन्ने आएर एकनासले हेरेर सुम्सुमाएर चाटेर सहानुभूति प्रदान गर्ने गर्छ । सायद मानिस र पशुमा फरक यही होला । चतुरेका ४ वटा पाठा छन् । जसलाई ऊ यसै गरी धेरै माया गर्ने गर्छ ।

एकाबिहानै भेंडा अनि उठेको गोबर सोरेर एउटा ठुलो खाल्डोमा मिल्काए। दुध दिने १५ ऊँट र २० भेंडा दोएँ । ऊँटको दुध मलाई गाइको जस्तै लाग्छ । मिठो पनि लाग्छ । भेंडाको भने खास्सै मन पर्दैन । भेंडालाई दुन खास्सै गाह्रो हुँदैन तर ऊँटले भने ठुलै परिक्षा लिन्छ । कति पटक खुट्टाले हानेर मलाई थला बनाएको थियो । एक पटक छातीमा लागेर दुई दिन सुतेको सुतै भएँ । अहिले पनि मेरो दाहिने छातीमा एक बित्ता लामो दाग छ । बेला बेलामा खोक्दा अस्हैय भएर आउँछ । अहिले सबै मेरा आफ्नै मित्र जस्तै भएका छन् । खत्राको संकेत भएका ऊठका खुट्टा डोरीको साहाराले बाँधेर दुध दुने गरेको छु । जम्मा दुधलाई मुदिर (मालिक) गाडीमा राखेर बजार लगेर खाली गरेर आउँछ ।

घरमा गाइको दुध जति पिउँदा पनि नअघाउने म यहाँ दुध देख्ने बित्तिकै अमन भएर आउँछ । तर रासनको रुपमा दुध र खुबुसबाहेक अरु केही छैन यहाँ । खुबुस मैदा अनि गँहुको पिठोले बनेको एक किसिमको रोटी हो, जसलाई हप्तौं राख्दा पनि केही हुदैन । गाउँमा कोदाको बाक्लो रोटी खाए जस्तो लाग्छ मलाई । यही खुबुसलाई ऊँटको दुधको साहारामा खाने गरेको छु । सुरुमा खान गाह्रो भएको थियो । अहिले बानी भएर होला साधारण लाग्छ । दिन, रात, साँझ, बिहान केही नभनी यहाँको मौसमले चिसो हुन भने कमै जानेको छ । यसरी नै कट्छ मेरो खाडीको गोठालो जीवन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button