अस्ट्रियामा ‘हिमालय मसला’

बाबा राजेश्वरी थापा
भिएना, अस्ट्रिया ।

अस्ट्रियाको दोश्रो ठुलो शहर ग्राज़ पुरातात्विक हिसाबले निकै प्रख्यात छ । राजधानी भिएनाबाट झन्डै २०० किलोमिटर टाढा रहेको यो शहरमा निजी सवारी साधन वा सार्वजनिक यातायात (रेल, बस) दुई घण्टामै पुगिन्छ । अस्ट्रियन राजसंस्था हब्स्बुर्गको आफ्नै इतिहास बोकेको ग्राज़मा बसेर चौधौं शताब्दीमा अस्ट्रियाका राजाहरु यहाँ बसेर स्लोभेनिया र इटालीका केहि भागहरुमा शासन गर्थे । सोह्रौ शताब्दीमा इटालियन आर्किटेक्टहरुले पुनसंरचना गरेको यो शहर विश्वविद्यालयको लागि प्रख्यात छ । १५ औं शताब्दीको प्रारम्भमा ग्राज हब्सबर्गको पछिल्लो निवास थियो र सम्राट फर्डिनाण्ड द्वितीयले शाही सिंहासनमा राज गरेपछि राजधानी भियना सारियो ।

१७९७ मा नेपोलियनको सेनाले ग्राज कब्जा गर्यो । पुन यो शहरले फ्रान्सेली सेनाको अर्को आक्रमणको सामना गर्यो । नेपोलियन को ३ हजार सेनाविरुद्ध लड्न ९०० सय सैनिक खटिएको थिए । उनीहरुले सफलतापूर्वक आठ आक्रमणहरुको बिरुद्ध राजदबार स्लोस्बेर्ग बचाऊ त गरे तर सैनिकहरुले भियना कब्जा गरे र सम्राटले आत्मसमर्पणको आदेश दिएपछि उनीहरु हार मान्न बाध्य भए । युद्धमा नेपोलियनका सेनाहरुद्वारा अस्ट्रियाको हारपछि, किल्लाहरु विस्फोटकहरुको प्रयोग गरी ध्वस्त पारिएको थियो, त्यहि बर्ष शनब्रुनको शान्ति सम्झौता भयो ।

ग्राज़ शहरबाट करीब १० किलोमिटर टाढा विश्वविख्यात हलिवुड नायक तथा अमेरिकन गभर्नर आर्नोल्ड स्च्वार्ज़ेनेगेरको जन्म भएको थियो । नायक आर्नोल्ड स्च्वार्ज़ेनेगेरको जन्मस्थानमा अझै पनि उनले आफ्नी श्रीमतीलाई विवाहको प्रस्ताव राखेको डुंगा, उनले व्यायाम र कसरत गर्ने खुल्ला चौर, संग्राहलय पर्यटकीय आकर्षण बनेको छ । अस्ट्रियाको इतिहास बोकेको यहि ग्राज़मा छ नेपाली रेस्टुरा, हिमालय मसला । अत्यन्तै व्यस्त र स्थानीय साथै पर्यटकहरुको समेत भिड लाग्ने यसै ‘हिमालय मसला’का मालिक डायमण्ड राईसँग गरिएको कुराकानीको केहि अंशः

तपाइको विदेश यात्रा कसरी शुरु भयो ?
म साइप्रसमा सन् २००४ मा एमबिए गर्ने भनेर आको । तर, त्यहाँ पढाई पूरा गर्न नसक्ने भएर ३ महिनापछि यता आएँ ।

अस्ट्रिया कामको लागि आउनु भएको ?
पढ्ने भनेर नै यहाँ (ग्राज) आएको । ६ महिना प्रि युनिभर्सिटी कोर्ष गरेर छोडेँ । विभिन्न कारणले पढाईमा निरन्तरता दिन सकिनँ । अहिले हामीले चलाइराखेको रेष्टुराँमै सरसफाईको काम पाँए, जहाँ अर्कैको ईण्डिएन रेष्टुरा थियो ।

त्यसपछि आफैले लगानी गर्नु भयो ?
६ महिना जति सरसफाईको काम गरेपछि अलि भाषा जान्ने भएपछि वेटरमा बढुवा भयो । ३ बर्ष जति गरें । कागजपत्र थिएन । बारम्यानदेखि कुक र सरसफाई सबै गरें त्यहाँ । वान म्यान आर्मीजस्तै थिएँ। यसै बीचमा २०१२ को सुरुमा यताको पेपर पाइयो । पुग नपुग फुल टाईम र पार्ट टाईम गरेर ५ बर्ष त्यहाँ काम गरें । त्यसो गर्दागर्दा काम सिकियो अलिकति । आफैले चलाउन सकिन्छ भन्ने आत्मविश्वाश भयो । तर, परिवार र बालबच्चा भएपछि अलि समय लाग्यो ।

किन राजधानी भियनामा नपस्किएर २०० किलोमिटर टाढा नेपाली स्वाद पस्किनु भयो ?
म ग्राजमै बसिआएकोले यतै रस भिज्यो, यतै बसियो । साथीभाइ र चिनजान अलि अलि यतै बनाइयो । भियनाको बारेमा मलाई खास जानकारी पनि नभएकोले उता गर्ने सोचाई नै आएन ।


खोटाङमा जन्मिएका डायमण्ड राई श्रीमती र दुई छोराहरुसहित ग्राज़ बस्छन् । उनको रेस्टुरा हिमालय मसला ग्राज़मा बस्ने र घुम्न जाने नेपाली, स्थानीय अष्ट्रियन र नेपाली खानाको स्वाद गढ़ेका अन्य विदेशीहरुबीच लोकप्रिय छ । स्वादिस्ट नेपाली परिकार र मिठो मुस्कानले सधैं आफ्ना ग्राहकहरुको सेवामा खटिने राई र उनले रोजगारी दिएका नेपालीहरुको कारण नै सधै ग्राहकले खचाखच हुने गरेको रहस्य हिमालय मसलाकी एक नियमित ग्राहकले पंक्तिकारलाई बताइन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button