बलबीरको लेबर डे !

(अम्रिकाने श्रम दिवसको उपलक्ष्यमा ! संसारभरी नै श्रम दिवस मे १ का दिन मनाइन्छ । तर किन हो कुन्नी, अमेरिकामा, सेप्टेम्बर महिनाको पहिलो सोमबार श्रम दिवस मनाइन्छ । यसका पछाडि केही ऐतिहासिक दलिलहरु छन् । त्यसमाथि, अरुभन्दा आफुलाई पृथक देखाउने अम्रिकानेहरुको सानैदेखिको बानी छ ।)

ससाङ् लामा
न्युर्योक, अमेरिका ।

हिजो अम्रिकाने श्रमिक दिवस ! सार्वजनिक बिदा । तर लाखौंँलाख रकम तिरेर मेक्सिकोको जंगल छिचोल्दै, टार्जन भिसामा,अम्रिका छिरेका बलबीरलाई हिजोको दिन पनि घण्टे ड्युटीमा नगै सुखै थिएन । इच्छा त थियो नि, साथीहरुसित पार्कमा गएर मासु पोलेर खानु, बियर टुन्क्याउनु ! बल्ल बल्ल पाएको काम छुटने डरले मन मारेर घण्टा हान्नु गयो | अम्रिका आको भन्नु मात्रै, उसले अम्रिका देखेकै छैन । १२ घण्टे ड्युटीमा जोतिएर थाकेर लोत भै कच्याक कुचुक्क परेको एपार्टमेण्टमा आइ ओछ्यानमा बङ्लङग पछारिन्छ ।

दु:ख पिर बिसाउने समय धरी छैन उसित, साथीभाइहरुसित बसिबियाँलो गर्ने फुर्सद पनि छैन । उसले सुत्नै पर्छ । कारण भोलिको लागि आफ्नो जिउलाई तम्तयार पार्नुपर्छ । शारिरिक श्रमले मात्र् नथाकेर, मनभित्र गह्रुङो भारी बोकेर बाँचेको छ । अम्रिका आउँदाखेरी लिएको चर्को ब्याज सहितको लाखौंँको ऋण, नेपालमा भएको परिवारको खर्च उसैले सल्टाउन परेको छ । परिवार त भैगए, नजिकका आफन्तले पनि उनिमाथि आश राखेका छन् । अस्तिको महिना मात्र ४००००$ को ढुकुटी उसले ४००० $ छोडेर खायो । नेपालको साहुले ताराम्तार फोन गरेर पैसा मागेकोले उनी यसो गर्न वाध्य भयो | समस्या पनि एउटा हो र ? अम्रिका बस्न पाउने कागतपत्र उसित छैन । वकिल राखेर कोशीश गर्दैछ । ग्यारान्टी छैन । बलबीर् मेशिन भएको छ । त्यही सडक, त्यही ७ नम्बरे मेट्रो-रेल, त्यही घुम्ती, त्यही ट्र्याक र त्यही काम … ।

Off the track हुन चाहेर पनि ऊ गर्न सक्दैन । उसले यो चुनौतीलाई स्वीकार् गरेको छ । ‘जीवन संघर्ष हो, संघर्ष नै जीवन हो’ भन्ने गितको मर्मलाई उसले आत्मासात गरेको छ । कर्मले भाग्य बनाउंछ भन्ने कुरो अब उसले बुझेको छ । तर कहिलेकाहीँ उसलाई दिक्क लाग्छ, जब नेपालबाट १००० $ पर्ने आइफोन पठाइ दे भन्दा … ऊ आँफै पुरानो सामसुङ ३ सेल्फोन चलाऊँछ ।

यो कथा फिक्सन होइन । हजारौँ हजार प्रवासी अम्रिकाने नेपालीहरुले जिएको जिन्दगी हो ।

(नोट: माथिको तस्विर हजारौँ हजार न्युयोर्केलीहरु काममा जाँदा चढ्ने ७ नम्बरे मेट्रो-रेलको हो । लेखमा पनि ७ ट्रेन उल्लेख छ ।)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button