
अमेरिकामा जोनी गर्भवती भइछ, यता कोपिला भन्छिन्, ‘खुर्सानीबिना भतेर अड्कदैन’
सत्यकथा
सुशीला चौरेल
आज पनि बसुधाको घरमा तीजको दर थियो । कोपिलालाई साथीहरुले खुब जिस्काए अनि तारिफ पनि गरे ।
‘अर्को साल त तिम्रो तीज उतै हुन्छ क्यारे, यसपाली दरचाहिँ खिर खाने कि पिज्जा ? ल खाउ यसपाली खिर …’, बीचमै बसन्ती प्वाक्क बोली ।
सँगै बसेकी मेनुकाले फेरि थपी हाली, ‘यसपाली एउटा पछ्यौरी गिफ्ट दिएर टार्यौं, अर्को साल त हामीलाई तीज मान्ने गरी डलर पठाऊ नि है कोपिला ।’
कोपिला मुसुक्क मुस्कुराइ मात्र । अघिपछि जस्तो उसको मुहारमा हाँसीखुसी पटक्कै छाएन ।
‘मनको बह कसैलाई नकह’, भन्थिन् उनकी आमा । त्यही त भयो । हिजो राती आँखा झिम्म पनि गर्न सकिनँ कोपिलाले । पुरै मलिन र बिरामीजस्ती थिई, बिरामी छु पनि भनी । तर, यथार्थ त अर्कै थियो । ‘अघिपछि चुरीफुरी गर्थी, आज चुमुक्क छे’ भन्लान् साथीसंगीले भन्ने पनि लाग्यो उसलाई । मनभित्र अर्कै उथलपुथल थियो उसको ।
हुन त ठूला कल्पना र सपना पनि कहाँ देखेकी थिई र उसले । ऊ त भन्थी, ‘दुःखसुखसहितको सादा जीवन नै ठीक छ ।’ अनि आफ्नो परिवारको खुसी झन् सर्वस्व ठान्थी ।
३ वर्षअगाडि त हो त्यतिकै ख्यालख्यालमा डीभी भरे दिनेश र कोपिलाले । दिनेशलाई डीभी परिहालेछ । बधाईको ओइरो लाग्यो घर, परिवार, सबै आफन्त, साथीभाइ खुसी भए । बल्ल २ वर्ष त भयो दिनेश अमेरिका गएको ।
यता कोपिलाको पनि जाने चाँजोपाँजो मिल्दै थियो । २ छोराछोरी, सासुससुराको हेरविचारमा दिन बिताउँदै सुनौला भविष्यका सपना बुन्दै मख्ख थिई कोपिला ।
यसपाली ‘छोराछोरीलाई बुबासँग बसेर पढाइ उतै सुरु गर्ने गरी अमेरिका पठाऊँ कि अनि आफू १-२ वर्षपछि जाने हो कि ? देवरको त्यति भर छैन फेरि सासु ससुराको रेखदेख कसले गर्ला ? विदेशबाट पैसा त पठाउला तर साथ माया ममता चाहिने बेलाका सासु ससुरा छन्’, बेला बेलामा दोमन हुन्थ्यो कोपिलालाई ।
घरमा सासु, ससुरा र छोराछोरी को हेरचाह गर्न, समय दिन भनेर त उसले स्कूलको जागिर छोडेकी हो ।
आजकल दिनेशले काममा व्यस्त छु भनेकोले कमै गफ हुन्थे । आफू, छोराछोरी अनि आमा बुवा सबैसँग गफ गर्दा लामो समय जान्थ्यो, यस्तै हो बुझेकी कोपिलाले ।
हिजो राती लामो भलाकुसारीको समय निकालेछ दिनेशले अनि गफै गफमा भन्यो, ‘जोनी पनि गर्भवती भई, अब म सधैं ऊसँगै यता हुन्छु । यो कुरा कसैलाई नभन्दा तिमीलाई राम्रो होला । छोराछोरीको पढाइ खर्च, घर व्यवहारको चिन्ता नलिनु । म जति चाहिन्छ, खर्च पठाउँछु । तिमी यता आउने प्रयास नगर । म २,४ वर्षमा यसो केही दिन नेपाल आउँला । भेट होला । आमाबुवासँग त्यतै बस । बरु कलेज पढ्ने बेला छोराछोरी यतै झिकाउन सकिएला ।’
कति सजिलै आफ्ना कर्तूत् अनि देखावटी सजिलोजस्तो योजना सुनायो दिनेशले । त्यसपछि त कोपिलालाई जिन्दगी आँधीबेरीको भूमरीजस्तो लाग्यो । जीवन बाँच्ने आधार आशा हो जस्तो लाग्थ्यो तर त्यो आशा पनि मर्न खोजे झैं लाग्यो उसलाई ।
विगतमा बनाएको योजना, सपना कल्पेर रमाउने दिन पनि हराएझैं भयो । वर्तमान परिस्थिति हेरेर भविस्यको खोजी कसरी गर्नु ? अन्यौलको घेरा लाग्यो एक्कासी कोपिलालाई ।
हुन त ‘दुई नाउँमा खुट्टा राखेपछि पार लाग्दैन’ भनेर सम्झाउन पहिले नै खोजेकी हो उसले दिनेशलाई ।
उतिबेला ‘यता विदेशतिर चलन नै यस्तै हो । सबैको यस्तै हुन्छ । यो सामान्य हो । लिभिङ रिलेसनसीप केही समयको लागि हो । खर्च वचतको लागि सजिलो अनि यहाँ एक्लो जीवन । खुशी, रमाइलो हुनु पर्यो क्या । पछि तिमी छँदैछौं’ भनेर दिनेशले सम्झाउँदा अलि मन अमिलो पार्दै ‘ठिकै छ त’ भनेकी हो कोपिलाले ।
दिनेशको जस्तो निर्णय अनि व्यवहार उसले गर्थी भने सहजै चरित्रहीनको ट्याग लाग्थ्यो उसलाई । तर उसको दिनेशको चाहना, निर्णय र व्यवहारलाई पुरुषत्व हो भनेर स्वीकार गर्छ यो समाजले । त्यही पुरुषत्वमा मातेको पत्तो किन पाउँथ्यो र दिनेशले ।
अहिले आएर कोपिलालाई भन्न मन त थियो नि, ‘खुर्सानीबिना भतेर अड्कदैन । तिम्रो खर्च चाहिँदैन ।’ तर, बुढा सासुससुरा र छोराछोरीको मुख हेर्दै मन नलागी नलागी बाध्यताले आश्रयको भिख माग्न पर्ने वा के गर्ने भन्ने अन्यौल छिन् कोपिला ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

