
कहाँ हुन्छ शान्त संसार गोला बारूद फुटेपछि, सोझासाझा अफगानीको कर्मथलो लुटेपछि
द्वन्दको पिडा
कुम्मराज सुवेदी
प्राध्यापक, टेफ क्याम्पस, दक्षिण अस्ट्रेलिया ।
कहॅा हुन्छ शान्त संसार, गोला बारूद फुटेपछि
सोझासाझा अफगानीको कर्मथलो लुटेपछि ।
बन्दुक फाल अहॅकारको, जुट शान्ति ल्याउनलाई
पछुताउला एकदिन हेर, साहस अफगानीको जुटेपछि ।
रगत तिम्रो अमूल्य छ, अमूल्य छ उनको पनि
तरल छ बगिहाल्छ, टाउको सबको फुटेपछि ।
रूढिवादी कानून भन्छौ, लाद्ने हो अफगानमाथि
बस भन्छौ, को बस्छ र मर्नेगरी कुटेपछि ।
विस्वाश नै हो सबैकुरा, फूल्छ फूल सिँचेपछि,
सग्लो छैन राज्य अब, धागो मनको टुटेपछि ।
खती हानी कति हुन्छ, गौंडा गौंडा ढुकेपछि
सप्रेको त्यो नागरिक बाली, असिनाले झै चुटेपछि ।
भाग छोड कुकर्म त्यो, हुन्न हेर राम्रो तिम्रो
नागरिकको होश सँगै न्याय निसाफ खुटेपछि ।
कहाँ हुन्छ शान्त संसार, गोला बारूद फुटेपछि
सोझासाझा अफगानीको कर्मथलो लुटेपछि ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

