असममा ‘रम्बास’ जनप्रिय हुँदैछ

रम्बास कविता: छोटो परिचय

मिलन बोहोरा
विश्वनाथ, असम, भारत

प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो।यसैले गर्दा प्रयोगवादीहरूले निषिद्ध क्षेत्रहरूलाई उघारो पारेका छन।कविताका शब्द र वर्णहरूलाई विभिन्न आकारमा, चित्रको रूपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन् । पाश्चात्य साहित्यमा यसको प्रयोग गरेको सयवर्ष पुगिसकेको छ ।

नेपाली साहित्यमा चित्रात्मक कविताको प्रयोग सुरुमा बैरागी काइँलाले गरेको थाहा लाग्छ । त्यसपछि रङ्गवादी कविहरूले अनि ‘सृजनशील अराजक समुह’ले पनि यसको व्यापक प्रयोग गरेका छन् । यी सबको विवरण गोविन्दराज भट्टराईको ‘उत्तरआधुनिक विमर्श; नामक ग्रन्थमा पाइन्छ ।

यथास्थितिवादी मनोभावदेखि फुत्किएर परम्परागत पर्खाल नाघेर उत्तरआधुनिक चेतना जाग्दामात्रै सिर्जनामा बहुरङ्ग र नविनता आउनसक्छ भन्ने कुरामा आज साहित्य जगतका साथसाथै संसारनै लम्किरहेको छ । यथार्थवादका नयाँ भेद्, विनिर्माणवाद,सन्दिग्ध सिद्धान्त, परिवृत्तीय, निसर्ग नारीवाद आदिहरू आज साहित्यमा समालोचनाका तत्व बनेका छन । साहित्याकाश फराकिलो पार्नलाई यो धारणा नितान्त जरुरी छ भन्ने चिन्ता समय सापेक्ष हो । पुरानो धरोहरको संरक्षण गर्नु र नविनताको खोजी गर्नुनै विकासोन्मुख जातिको लक्षण हो । नयाँ संसार देख्ने रहरले सिर्जनामा, कलामा, दर्शनमा, ल‍ोक जीवनमा सर्वत्र नै यो धारणा व्याप्त भइरहेको समयमा यस लेखकले पनि कविताको शैलीमा चतुष्कोण आकृतिमा चित्रात्मक कविता सिर्जना गर्ने जमर्को लिएको हो । यस प्रकारका कवितालाई पाश्चात्यजगतमा ठोस कविता, चित्र कविता जस्ता नामले जानिन्छ । यसै धारणाको वशवर्ति भएर भारतको असम प्रदेशमा रम्बास् कविता नामले चतुष्कोणी कविता लेख्ने विनम्र प्रयास भइरहेको छ । नेपाली भाषामा यही नै पहिलो प्रयोग हो। हाल असम (भारत)मा यो रम्बास उपविधाको कविता जनप्रिय हुँदैछ र नेपालमा पनि कसैकसैले लेख्न थाल्नुभएको छ ।

लेख्ने नियम:-

यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ ।

१. यसमा जम्मा सय अक्षर र उन्नाइस पंक्ति हुन्छन् ।
२. एउटा अक्षरको शब्ददेखि शुरु भएर एउटै अक्षरमा समाप्त हुन्छ ।
३. एक दुई अक्षर गर्दै दस अक्षरसम्म पुगेपछि फेरि नौ, आठ, सात गर्दै एक अक्षरमा टुङ्गिन्छ ।
४. सुरुको र अन्त्यको अक्षर भिन्नाभिन्नै या एकै हुनसक्छन् ।
५. यस शैलीमा भावपक्ष जति महत्त्वपूर्ण हो यसको रम्बासीय ढाँचापनि उत्तिकै महत्त्वपूर्ण हो ।

यस कविताको आकृति ज्यामितिको रम्बासको जस्तो बनाउन टंकणको स्पेस् कीको बढी मात्रामा व्यववहार गर्नुपर्ने हुन्छ । हालै मेरो पहिलो कृति (सायद नेपाली साहित्यमा नै पहिलो) ‘तानाबाना’ प्रकाश भईसकेको छ । असममा अहिले थुप्रै नवीन, प्रवीण कविहरू, डा. जगन्नाथ उपाध्याय, अर्जुन उप्रेती, भीम धमाला, मीना पौडेल, प्रकाश कुइँकेल, प्रीतम आचार्य, सृजना अधिकारी, प्रकाश बुडाथोकी, गौरव दाहाल, पद्मावति देवी, खडानन्द दुलाल, दुलुमनि देवी, मीना देवी फयेल, प्रियंका शर्मा, लोकनाथ शर्मा, आदिले यो शैलीमा कविता लेख्न थाल्नुभएको छ। नेपालमा पनि युवा कवि रेहित सैजु, शीतकवि पुष्कर रेग्मी, वसन्त हरियाली आदिले थालनी गरिसक्नु भएको छ ।

हाम्रो नेपाली साहित्यको बगैंचामा एक नयाँ प्रजातिको फूलको बिरुवा हो यो । अब यसको जीवन यसलाई रुचाउनेहरू माथि निर्भर गर्छ ।
उदाहरणको लागि केही रम्बास कविता दिएको छु । कृपया कविताहरू जसका तस छापिदिएर यो विधालाई अघिबढाउन सहयोग गरिदिनु होला ।
आकृति र भावना दुबै यस कविता उपविधाको आत्मा हुन ।

मिलन बोहोरा
शीत


शीत
सदृश
चिस्याउन
चाहन्छु पृथ्वी।
चाह ञ्छैनञ्बन्न
महासागरञ् सिन्धु
सरिताञ्बाढ या झरी।
निस्तब्ध शीत बनी झर्छु
मुक्ताफल बनि आर्द्र पार्छु।
टल्किन्छु सौर किरणमा
कविको कलममा म
गीत बनी लुक्दछु।
बाढ बन्दिन म
बिलाउँदिन
सागरमा
नदीझै।
शीत
हौँ।

पुरुषोत्तम दाहाल
असम, भारत

आँखा

त्यो
प्रेम
याचना
पलकमा
भई दिने यी
मेरा साथै तिम्रा
यी नयनको भाका
बुझिदिने छैन कोही!
तिमी कर्तव्य मा व्यस्त छौ
पीपीई किट् ञ् लगाएर ती
म चिन्ने भएँ ञ् नयनले
तिमी जे लगाऊ प्रिये१
शरीर ढाके पनि
चिन्छु आँखा ले नै
मृग नयनी
प्रभु दत्
युगल
तिम्रा
त्यी१

रविन्द्रनाथ पोख्रेल
नवलपरासी, नेपाल

एकलव्य

ऊ!
सानो
बालक
एकलव्य
भोको ज्ञानको!
विन्ती भाउ पोख्छ!
दोर्णाचार्य- सोध्छन् के!
तल्लो जात हुन्न भन्छन्!
कौरव पाण्डव पढाए!
हिंसाको घाइते मूर्छा पऱ्यो
कन्याय अन्याय सवाल के?
सोच दृष्टि गाण्डिव हो!
गुप्त भै तृष्णा मेट्यो!
श्रद्धा सिप जान्यो!
मृण्मूर्ति पुज्यो!
औंठा अर्प्यो!
विज्ञानी
त्यागी
ऊ!

शान्ति भुजेल
सामसिङ्ग खास अप्पर घुम्ती
कालेबुङ्ग, दार्जिलिङ

गोधुली

यो
साँझ
गोधुली
तिम्रो बाटो
हेरि ञ् रहने
पारि आकाशमा
लालिमाले छाएको
हरियो देखिने वन
छाँया परेर अध्याँरो भो
अब सामु छ त्यो अन्धकार
अन्धकार भन्दा गोधुली
असाध्यै रमाइलो छ
चौतर्फ ञ्शंखनाद्
घण्टीको ध्वनि छ
घामको रंग
पहेंलियो
छनिक
रमेँ
म।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button