विदेशमा बुढा, यता जमुनालाई आमा बन्ने रहर

कथा

सुशीला चौरेल

‘यो त फेरि पर सरिछे’, दलानको छेउमा बसेकी जमुनालाई देखाउँदै सालको पातको टपरी गाँस्नै छाडेर मनमाया फतफत् गर्दै उम्लिन पो थालिन् ।

‘पोहोर छुट्टीमा आउँदा नै मैले तिम्रो छोरालाई सम्झाउ भनेको हैन, यसरी कुर्नु हुँदैन भनेर । लौ नातिनातिनाको मुख नहेरी मर्ने भइयो कि क्या हो । हाम्राको सँगै बिहे गरेको बाटाघरे गोविन्देको छोरो स्कूल जाने भो । समाजका छरछिमेकीले औंला तेर्साइसके । कानेखुसी गर्छन् । यो बुहारी बाँझी होली भन्छन् । मलाई नि त्यस्तै लाग्छ’, बुढीले मुख फोरिन् ।

उता हरिशंकर बाजे आफूले तानेको हुक्का थान्कोमान्को लगाउँदै थिए । बुहारी र बुढीपट्टी हेर्दै विरक्तिए झै गरी बोल्न थाले, ‘अब के गर्ने त छोरा पोहोर आउँदा पनि कुरा भएकै हो । डाक्टरको सल्लाह लिँदै छौं, केही खराबी छैन, हेरौं, भनेका हुन् यिनीहरुले । धामी पनि देखाएकै हुन के रे । अब के गर्ने ? के भन्ने ? तैं भनेस् तेरो छोरालाई ।’

विहे गरेर २ महिनामै विदेश गएको ५ वर्षको कतार बसाईमा बर्सेनि छुट्टीमा आउने रमेश यसपाली पनि २ महिनाको छुट्टी सकेर अस्तिको हप्ता आफ्नो कर्मभूमि फर्कियो । पोहोरतिर भने १ महिना मात्र छुट्टी पाउने रमेशले यसपाली २ महिना घर बस्न पायो ।

यसपाली रमेश र जमुना डाक्टर भेटघाटमा अलि व्यस्त रहे । यी दुवैको आमाबुवा बन्ने रहरमा वर्षैपिच्छे डाक्टरले उचित सल्लाह र परामर्श गरेकै थिए । श्रीमान श्रीमती अलि लामो समय सँगै बस्नु पर्छ, छोरा छोरी जन्माउनका लागि पनि भने डाक्टरले ।

रमेशलाई पनि आफ्नो परिवार छोडेर कहाँ विदेशिनु मन हो र ।

भूकम्पले थला पारेको घर नयाँ बनाउनु उसकै जिम्मेवारी त हो । कतिन्जेलसम्म त्यही जस्ताको टहरामा आधा घाम आधा पानी छल्दै बिताउनु ? अरु छिमेकीले पक्की घर बनाइसके । यसपालीको बाढीले टारी खेत आधा बनाएछ । पोहोर मात्र टारी खेत किनेको ऋण बल्ल चुक्ता गरेको थियो रमेशले । रमेश आफ्नो परिवार र कर्तव्य प्रति संवेदनशील भइरह्यो ।

रमेशको बाध्यता बुझेर जमुनाले उसलाई रोक्ने आँट त त्यति गरिनन् तर बेला बेलामा नेपाल बसेरै केही गर्ने योजना भने सुनाउँथिन् ।

हिजो मात्र रमेशको फोन आउँदा महिनावरी नाघेको २,३ दिन भयो भन्दै दुवै जना आशावादी र केही मख्ख परेका थिए ।

आज बिहानै मनमायाले छोरालाई फोन गरेर बुहारी महिनावारी भएको कुरा सुनाइन् पनि ।

रमेशलाई नरमाइलो अनुभूति भइरह्यो । उसले जमुनाले नेपाल बसौं केही काम यतै गरौं भनी लेखेका चिट्ठीका खात पल्टायो । प्रत्येक चिठ्ठीका बीचमा लेखिएका हरफहरुमा आँखा अड्यायो ।

मिलीजुली पसिनाले यतै खोरिया खनौं
सँगै बसी जे जे खाउँला मीठै भा छ भनौं ।

आफ्नो गाउँमा मेहनत गरौं पराई ठाउँमा नजाऊ
आफ्ना मान्छे वरीपरी यही हेर्दै रमाऊ ।

बाढी आयो खेत भो बगर कहाँ बिटा लाउनु
यसपाली त सँगै दशैं मान्ने गरी आउनु ।

ज्याला गरी धान कुटेर चामल बनाइराछु
निर्वाह गरौं, यतै बसौं खोरिया खन्ने भा छु ।

खर निकाली टिनको छानो छाउनु पर्छ सानु
चौथाई पाक्ने भान्छामा पकाउनु मानु ।

दुई चार महिना आराम गर छुट्टी पछि जानु
आमा बन्ने रहर मलाई जागिराछ सानु ।

रमेशले आफ्नो बाध्यता परिस्थितिलाई अंगालो मार्दै जमुनाको कविताका हरफहरुमा लगातार आँखा लगायो । झन् पग्लियो ऊ । भविष्य र समाज सम्झेर बेस्सरी रोयो । लुकेर रोयो।

कता कता सन्तान बिनाको नारी भनी भविश्य अनि समाजले व्यङ्ग्य गर्ला भन्ने डर अनि आफूलाई आमा बन्न लागेको रहरको पिरलो छँदै थियो जमुनालाई । ऊ त्यही सोचाइमा बेचैन हुन्थी ।

उसले पनि सुनेकी छ छन् त मानिसका आवश्यकता भनेका गाँस, बास, कपास अनि सहबास हुन् भनेर । तर, यी सबै आवश्यकता सबैका पूरा कहाँ हुन्छन र । अनि यी आवश्यकता कुन समाजले निर्धक्क स्वीकार गर्ला । अहिले यी दुई जनाको लागि यस्ता आवश्यकता त छदै छन् भन्दा पनि अरूले काडेको जिब्रो टाल्नु अर्को आवश्यकता अनि बाध्यता बनेको छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button